सामग्रीमा जानुहोस्

चतुर्भुज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णुको ग्रेनाइट मूर्ति, भारत, १६औँ शताब्दी। स्कटल्यान्डको राष्ट्रिय सङ्ग्रहालय, एडिनबर्ग।

'चतुर्भुज हिन्दू प्रतिमा लक्षणको एक अवधारणा हो जसमा देवतालाई चारवटा हातका साथ चित्रण गरिन्छ। धेरै हिन्दु देवताहरूलाई प्रायः उनीहरूको प्रतिमा लक्षणमा चार हातका साथ देखाइन्छ, जसको वर्णन हिन्दु धर्मशास्त्रहरूमा गरिएको छ। चार हातको प्रतिमा लक्षणलाई दिव्यता र शक्तिको प्रतीकका साथै ब्रह्माण्डका चारै दिशामा रहेको आधिपत्यको रूपमा मानिन्छ।[] 'चतुर्भुज' मुख्यतया संरक्षणकर्ता देवता विष्णुको एक विशेषण वा उपाधिको रूपमा पनि प्रयोग गरिन्छ।[][]

विद्वान् गेभिन फ्लडका अनुसार, प्रारम्भिक वैष्णव मूर्तिहरूमा उभिएका दुई वा चार हात भएका आकृतिहरू हुन्थे, जसले आफ्नो प्रतिमा लक्षणमा शङ्ख, चक्र र गदाको संयोजन धारण गर्दथे। चित्रणमा देवताहरूका धेरै हात र टाउकाहरू हुने यो 'बहुलमता'को परम्परा मथुरा क्षेत्रमा स्थापित भएको थियो जुन पछि हिन्दु प्रतिमा लक्षणमा एक प्रचलन नै बन्न पुग्यो।[]

लेखिका नन्दिता कृष्णका अनुसार, हिन्दु देवताहरूको मूर्तिमा देखिने चतुर्भुज स्वरूपले उनीहरूको असीमित क्षमतालाई चित्रण गर्दछ। यसले हतियार जस्ता धेरै वस्तुहरू चलाउन सक्ने र एकैसाथ धेरै कार्यहरू गर्न सक्ने उनीहरूको दैवी सामर्थ्यलाई प्रदर्शन गर्दछ।[] भारतविद् डोरिस मेथ श्रीनिवासनका अनुसार, वैष्णव र शैव दुवै चित्रणमा चतुर्भुज स्वरूपलाई ती देवताको अभिव्यक्तिका रूपमा मानिन्छ जो पृथ्वीमा अवतरण गरी मानव कल्याणका लागि शुभ कार्यहरू गर्दछन् र सामान्यतया मानवहरूबाट पूजा र सम्मान प्राप्त गर्दछन्।[]

विष्णुलाई सामान्यतया चार हातका साथ चित्रण गरिन्छ जसमा उनले आफ्ना चार आयुधहरू; पाञ्चजन्य (शङ्ख), सुदर्शन चक्र, कौमोदकी (गदा), र पद्म (कमल) धारण गर्दछन्।[] उनका दशावतारहरूलाई पनि प्रायः उनीहरूको प्रतिमा लक्षणमा यी चार आयुधका साथ देखाइन्छ जसमा विशेषगरी उनको कृष्ण अवतार पर्दछन्।[][]

लक्ष्मीले आफ्ना दुई हातमा कमलका फूलहरू समात्छिन् भने बाँकी दुई हातले अभय मुद्रावरद मुद्रा प्रदर्शन गर्छिन्। कहिलेकाहीँ मुद्राको सट्टामा कलश र ऐनालाई पनि देखाइन्छ।[१०]

शिवलाई उनको नटराज स्वरूपमा चार हातका साथ चित्रण गरिएको छ। उनको पछाडिको दाहिने हातमा डमरु हुन्छ, अगाडिको दाहिने हातले अभय मुद्रा प्रकट गर्दछ, पछाडिको देब्रे हातले पात्र वा हत्केलामा अग्नि बोकिन्छ भने अगाडिको देब्रे हातले 'गजहस्त' मुद्रा प्रदर्शन गर्दछ।[११][१२] उनका बहु-हातहरूको यो प्रतीकात्मक चित्रणले उनको सृष्टि र विनाशको कार्यलाई सङ्केत गर्ने मानिन्छ।[१३]

शिव पुराणमा पार्वतीलाई चार हात भएकी देवीको रूपमा वर्णन गरिएको छ जसमा उनले पाश र अङ्कुश समातेकी छिन् भने अन्य दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरिरहेका छन्।[१४]

अर्धनारीश्वर देवी र देवका एक संयुक्त स्वरूप हुन् जसले आफ्नो दाहिने आधा भाग (शिवको प्रतिनिधित्व) मा त्रिशूल समातेर वरद मुद्रा प्रकट गरेका छन् भने देब्रे आधा भागमा कमल समातेका छन् जसले पार्वतीको प्रतिनिधित्व गर्दछ।[१५]

हरिहर, अर्को एक संयुक्त स्वरूपले आफ्ना दुई दाहिने हातमा त्रिशूल र खप्पर समातेका छन् जसले शिवको प्रतिनिधित्व गर्दछ र दुई देब्रे हातमा शङ्ख र चक्र समातेका छन् जसले विष्णुको प्रतिनिधित्व गर्दछ।[१६]

ब्रह्मालाई आफ्ना चार हातमा वेदजपमाला समातेको रूपमा चित्रण गरिएको छ।[१७] सरस्वतीलाई आफ्ना दुई हातले वीणा नामक वाद्ययन्त्र समातेको र अन्य दुई हातमा पुस्तक, पाश, जपमाला, अङ्कुश र कमलको विभिन्न संयोजन बोकेको रूपमा चित्रण गरिएको छ।[१८]

गणेशले पाश, अङ्कुश, मोदक (एक प्रकारको मिठाई) बोकेका हुन्छन् र उनको अर्को हातले अभय मुद्रा प्रदर्शन गर्दछन्।[१९]

इन्द्रलाई भाला, अङ्कुश, वज्र र नीलो कमलका साथ चित्रण गरिएको छ।[२०]

हरिवंश पुराणमा अग्निलाई चार हात भएका देवताको रूपमा प्रस्तुत गरिएको छ।[२१] ललितालाई कालिका पुराणमा चार हात भएकी देवीको रूपमा वर्णन गरिएको छ।[२२]

चित्रदीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Stutley, Margaret (२०१९-०४-०९), The Illustrated Dictionary of Hindu Iconography (अङ्ग्रेजीमा), Routledge, पृ: 107, आइएसबिएन 978-0-429-62425-4
  2. Rama, Swami (१९८५), Perennial Psychology of the Bhagavad Gita (अङ्ग्रेजीमा), Himalayan Institute Press, पृ: 469, आइएसबिएन 978-0-89389-090-2
  3. Dowson, John (२००४), A Classical Dictionary of Hindu Mythology, and Religion, Geography, History, and Literature (अङ्ग्रेजीमा), Asian Educational Services, पृ: 388, आइएसबिएन 978-81-206-1786-5
  4. Bailey, Greg (२०१७-०१-०२), Hinduism in India: The Early Period (अङ्ग्रेजीमा), SAGE Publications India, पृ: 181, आइएसबिएन 978-93-5150-573-0
  5. Kirshna, Nanditha (२००९-०७-२०), Book of Vishnu (अङ्ग्रेजीमा), Penguin UK, पृ: 15, आइएसबिएन 978-81-8475-865-8
  6. Srinivasan, Doris (१९९७), Many Heads, Arms, and Eyes: Origin, Meaning, and Form of Multiplicity in Indian Art (अङ्ग्रेजीमा), BRILL, पृ: 157, 168, आइएसबिएन 978-90-04-10758-8
  7. Berg, Sebastian (२०२१-११-०३), Hindu Mythology: A Guide to the Gods and Goddesses of India (अङ्ग्रेजीमा), Creek Ridge Publishing, पृ: 18।
  8. Bhattacharya, Sunil Kumar (१९९६), Krishna-cult in Indian Art (अङ्ग्रेजीमा), M.D. Publications Pvt. Ltd., पृ: 58, आइएसबिएन 978-81-7533-001-6
  9. Cush, Denise; Robinson, Catherine; York, Michael (२०१२-०८-२१), Encyclopedia of Hinduism (अङ्ग्रेजीमा), Routledge, पृ: 181, आइएसबिएन 978-1-135-18979-2
  10. Coulter, Charles Russell; Turner, Patricia (२०१३-०७-०४), Encyclopedia of Ancient Deities (अङ्ग्रेजीमा), Routledge, पृ: 650, आइएसबिएन 978-1-135-96397-2
  11. Hoiberg, Dale (२०००), Students' Britannica India (अङ्ग्रेजीमा), Popular Prakashan, पृ: 93, आइएसबिएन 978-0-85229-760-5
  12. Jost, Diana Brenscheidt gen; Brenscheidt, Diana (२०११), Shiva Onstage: Uday Shankar's Company of Hindu Dancers and Musicians in Europe and the United States, 1931–38 (अङ्ग्रेजीमा), LIT Verlag Münster, पृ: 242–243, आइएसबिएन 978-3-643-90108-8
  13. Roberts, Helene E. (२०१३-०९-०५), Encyclopedia of Comparative Iconography: Themes Depicted in Works of Art (अङ्ग्रेजीमा), Routledge, पृ: 171, आइएसबिएन 978-1-136-78792-8
  14. Shastri, J. L. (२०१७-०१-०१), The Siva Purana Part 4: Ancient Indian Tradition and Mythology Volume 4 (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: 1661, आइएसबिएन 978-81-208-3871-0
  15. Dalal, Roshen (२०१०), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin Books India, पृ: 37, आइएसबिएन 978-0-14-341421-6
  16. Parmeshwaranand, Swami (२००४), Encyclopaedia of the Śaivism (अङ्ग्रेजीमा), Sarup & Sons, पृ: 290, आइएसबिएन 978-81-7625-427-4
  17. Chugh, Lalit (२०१६-०४-०८), Karnataka's Rich Heritage – Art and Architecture: From Prehistoric Times to the Hoysala Period (अङ्ग्रेजीमा), Notion Press, पृ: 186, आइएसबिएन 978-93-5206-825-8
  18. Chugh, Lalit (२०१७-०५-२३), Karnataka's Rich Heritage – Temple Sculptures & Dancing Apsaras: An Amalgam of Hindu Mythology, Natyasastra and Silpasastra (अङ्ग्रेजीमा), Notion Press, पृ: 529, आइएसबिएन 978-1-947137-36-3
  19. Wuthnow, Robert (२०११-०७-०१), America and the Challenges of Religious Diversity (अङ्ग्रेजीमा), Princeton University Press, पृ: 42, आइएसबिएन 978-1-4008-3724-3
  20. Dalal, Roshen (२०१४-०४-१८), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin UK, पृ: 559, आइएसबिएन 978-81-8475-277-9
  21. Chandra, Suresh (१९९८), Encyclopaedia of Hindu Gods and Goddesses (अङ्ग्रेजीमा), Sarup & Sons, पृ: 10, आइएसबिएन 978-81-7625-039-9
  22. Kinsley, David (१९८८-०७-१९), Hindu Goddesses: Visions of the Divine Feminine in the Hindu Religious Tradition (अङ्ग्रेजीमा), University of California Press, पृ: 147, आइएसबिएन 978-0-520-90883-3