डिल्लीरमण शर्मा अर्याल
डिल्लीरमण शर्मा अर्याल | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | विक्रम संवत् १९८८ चैत्र ७ गते सिद्धलेक गाउँपालिका, नलाङ धादिङ |
मृत्यु | विक्रम संवत् २०७२ श्रावण ४ गते |
पेशा | शिक्षण, साहित्यसेवा |
डिल्लीरमण शर्मा अर्याल (जन्म विक्रम संवत् १९८८ चैत्र ७ गते - निधन २०७२ श्रवण ४ गते ) नेपाली तथा संस्कृत भाषाका साहित्यकार हुन् । उनले नेपाली साहित्यका विभिन्न विधामा गरेर २५ ओटा कृतिहरू सिर्जना गरेका छन् । काव्य, गीत, संस्मरण, निबन्ध तथा व्याकरणका विविध विधामा कलम चलाएका छन् । उनले पुरै जीवनकाल नेपाली भाषा साहित्य सिर्जना र अध्यापनमा समर्पित गरे ।
जीवनी
[सम्पादन गर्नुहोस्]धादिङ जिल्लाको नालाङ आवृछापमा जन्मिएका डिल्लीरमण शर्मा अर्यालको जीवन निकै सङ्घर्षपूर्ण रहेको थियो । उनका पिता वेदनिधि शर्मा कहलिएका ज्योतिष थिए, गाउँमा उनको ठुलो नाम थियो । उनले पितासँग घरमै डुङ्गाको पाटीमा खरी कोरेर कखरा सिकेका थिए । उनले ज्योतिष शास्त्रको अध्ययन पनि घरमै गरेका थिए । पिताको संस्मरणमा उनले लेखेको वेदनिधि शोक काव्यमा उनले पिता गुरु, वैद्य, समाजसेवी जस्ता अनेक भूमिकामा रहेका र घर नै विद्यालय जस्तो थियो भनी उल्लेख गरेका छन् । अध्ययन अध्यापन मात्र नभई कसैलाई गाह्रो साह्रो अप्ठेरो पर्दा, कोही बिरामी हुँदा पनि मानिसहरू उनकै घरमा आउँथे । वास्तवमा गुरु डिल्लीरमण शर्माको जीवन पनि त्यस्तै थियो । डिल्ली रमण शर्माले भारतको काशीमा रहेको रामानुज संस्कृत महाविद्यालयबाट मध्यमा र भारतकै वृन्दावनमा रहेको श्रीरङ्गलक्ष्मी आदर्श संस्कृत महाविद्यालय बाट शास्त्रीको अध्ययन पूरा गरेका थिए ।
डिल्लीरमण शर्मा अर्यालको जीवन यात्रा शिक्षासँग प्रत्यक्ष जोडिएको छ, विकट स्थान र विषम परिस्थितिका बाबजुद पनि शिक्षा प्राप्तिको भोकले उनलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न ठाउँमा डोर्याउँदै लग्यो । । उनले २०२० सालमा घर धादिङ फर्किएपछि नेवारपानीमा धादिङ जिल्लाकै पहिलो संस्कृत माध्यमिक पाठशालाको स्थापना गर्न भूमिका खेले । जागिरे जीवनको सुरुवात सहायक प्रधानाध्यापकका रूपमा हुँदै २०२१ देखि प्रधानाध्यापकको जिम्मेवारी लिई शिक्षाको ज्योति छर्न शर्मा निरन्तर लागिपरे । पिता वेदनिधि शर्माले समाजमा खेलेको भूमिकाजस्तै उनमा पनि समाजको लागि केही गरौँ भन्ने सेवा र सहयोग भाव सधैँ रहेको थियो । आफू विद्यार्थी हुँदा अरूलाई सहयोग गर्ने र पढ्न हौसला दिने लेखक अर्याल २०२१ देखि शिक्षाको ज्योति फैलाउने लोकहितको काममा दत्तचित्त भएर लागिरहे । उनमा पर्यावरण चेत पनि उत्तिकै थियो पेसाले शिक्षक भए पनि विकासको नाउँमा विनासोन्मुख हुँदै गएको समाजमा उनले वन र वातावरण संरक्षणमा पनि चेतना फैलाउन जोड दिएका थिए ।
धादिङ जिल्ला तथा बाहिर क्रियाशील साहित्यिक सङ्घ संस्थाले उनको साहित्यिक शैक्षिक योगदानलाई कदर गर्दै विभिन्न सम्मान तथा पुरस्कार दिएका छन् । छन्दमा काव्य रचना गर्ने अर्यालले 'मोतीकवि' उपमा पाएका थिए । धादिङ साहित्य समाज नामक साहित्य संस्था सञ्चालन गरी साहित्य अभियानमा नेतृत्वसमेत गर्नु भएको कवि तथा साहित्यकार अर्यालको वि सं २०७२ साल असार ४ गते स्वर्गारोहण भयो ।
प्रकाशित कृतिहरू
[सम्पादन गर्नुहोस्]संस्कृत भाषाको श्रीरङ्गस्तुती काव्यबाट सुरु भएको उहाँको साहित्य यात्रामा वेदनिधि खण्डकाव्य (२०४६) थोपल खण्डकाव्य (२०५८) गङ्गा जमुना कविता सङ्ग्रह (२०५८) संस्मरण सँगालो जीवनका कथा व्यथाहरू (२०५८) अष्टचिरञ्जजीवीहरू कथासङ्ग्रह (२०५९) मुटु खायो गीत सङ्ग्रह (२०६०) रेडक्रस खण्डकाव्य (२०६१) विद्यार्थीहरूको निबन्ध निबन्ध सङ्ग्रह (२०६२) अयोध्यादेवी शोक काव्य (२०६६) नेपाल दर्शन खण्डकाव्य (२०६७) मेलम्चीका तिर्खा कविता सङ्ग्रह (२०६७) गुरु दक्षिणा कविता सङ्ग्रह (२०६७) र जनआन्दोलन महाकाव्य (२०६७) रहेका छन् ।