सामग्रीमा जानुहोस्

ताजपुरिया जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताजपुरिया जाति Tajpuriya Caste"'

बसोबास

नेपालको सुदूरपूर्व दक्षिण तराईको समतल भू–भागमा परापूर्वकालदेखि बसोबास गर्दै आएको ताजपुरिया जाति नेपालको आदिवासी जनजातिमध्ये एक हो । ताजपुरियाहरू विशेषतः नेपालको पूर्वी जिल्ला झापा र मोरङमा बसोबास गर्दै आएका छन् । नेपालबाहेक भारतको बिहार, पश्चिम बङ्गाल, सिक्किम, दार्जिलिङ, तेजपुर, मजुरिङ आदि क्षेत्रमा पनि ताजपुरिया जातिको बसोबास रहेको विभिन्न समाजशास्त्रीको भनाइ छ । नेपालको कोशीनदीदेखि पूर्व भारतको आसाम र नेपालको उत्तर पहाडको फेदीदेखि भारतको गङ्गानदीसम्म ताजपुरिया जातिको बसोबास भएको पाइन्छ । नेपालमा कसरी ताजपुरियाहरूको बसोबास रह्यो भन्नेमा ताजपुरियाका बुजु्रकहरूले ताजपुरिया कोच राजाको सन्तान भएकाले कोच हौं भन्ने गरेका छन् । विभिन्न दस्तावेजको अनुसार ताजपुरियाहरू उद्गम स्थल मोरङ र झापा जिल्ला हो । यसलाई त्यस क्षेत्रमा पाइएका उनीहरूसँग सम्बन्धित पुरातात्विक मूर्ति, धातु, धर्मशास्त्र, भाँडाकुडा, आदिको अवशेषले पुष्टि गरेको छ । ताजपुरियाहरू नेपाल देशको नामाकरण हुनुभन्दा पहिलेदेखि नै यस क्षेत्रमा बसोबास गर्दै आएको पाइन्छ । त्यसैले ताजपुरियाहरू यस ठाउँ (नेपाल)को आदिवासी हुन् । न्यून जनसङ्ख्या रहेको ताजपुरियाहरूको आगमन कहाँबाट भयो? उनीहरू यस क्षेत्रमा कहिलेदेखि बसोबास गर्न थाले भन्ने ठोस प्रमाण पाइएको छैन । एसएल शर्माले ‘विराट पर्वको भूमि नेपाल : ताजपुरिया समाज एतिहासिक परिचय’ नामक पुस्तकमा ताजपुरिया राजा शुसेनको सन्तान हुन् भन्ने उल्लेख गरेका छन् । राजा शुसेन तृगत राज्यको राजा थिए । त्यस क्षेत्र हालको झापा र आसपासमा सीमित थियो । तृगत राज्यको राजधानी सेमेगढ हालको झापा जिल्लाको तोपगाँछी गाविसमा पर्दछ ।

परम्परा संस्कृती

ताजपुरियाहरूको आफ्नै संस्कार, संस्कृति, भाषा, भेषभूषा, रीतिरिवाज रहेको छ । उनीहरूको मातृभाषालाई ताजपुरी भनिन्छ । उनीहरूको परम्परागत पोसाकमा महिलाहरूले लगाउने पेटानी हो भने पुरुषहरूले लगाउने धोती, कुर्ता र गलामा लगाउने रुमाल हुन् । ताजपुरियाहरू प्रकृतिलाई पूजा गर्ने प्रकृतिपुजक जाति हुन् । उनीहरूले विशेषतः ग्राम देवता मान्दछन् । ग्रामपूजा र कुलदेवताको पूजा भूइँमै गर्दछन् । ग्रामपूजा सामुहिक तथा व्यक्तिगतरूपले गरिन्छ भने कुलपूजा परिवारको मुलीले गर्ने चलन छ । यी पूजाहरू विवाह र मृत्यु संस्कारमा पनि अनिवार्य गर्नु पर्दछ । कुल देवतालाई शिवको अवतारको रूपमा पूजा गर्ने चलन छ । प्रत्येक ताजपुरिया बस्तीमा ग्राम देवतालाई पूजा गर्न एउटा महाराजाथान निर्माण गरिएको हुन्छ । माटोको ढिस्कोलाई निराकार गरी बनाइएको ठाउँलाई माहाराजाथानको रूपमा पूजा गर्ने गर्दछन् ।

चाड पर्वहरु

उनीहरू विशेषतः सिरुवा, औसिया, फगुवा, एकादशी छटजस्ता चाडपर्वहरू मनाउँछन् ।

ताजपुरिया महिलाहरूले नाक छेंड्दैनन् । त्यसैले उनीहरूले नाकमा गहना लगाउँदैनन् । ताजपुरियाहरू झुप्प वस्ती बनाएर बस्ने गर्दछन् । उनीहरूले आफ्नो भाषा, संस्कृति र अधिकार संरक्षण तथा संवद्र्धनका लागि २०५३ सालदेखि ताजपुरिया समाज कल्याण परिषद् स्थापना गरेका छन् ।

उक्त सङ्गठन आफ्नो कार्यमा सक्रियरूपमा कार्यरत छ ।

जनसङ्ख्या

२०६८ सालको जनगणना अनुसार ताजपुरियाहरूको जनसङ्ख्या १८,८११ रहेको छ ।

भाषा

ताजपुरिया जातिको मातृभाषालाई ‘ताजपुरी’ भनिन्छ । यो भाषा भारोपेली भाषा परिवारअन्तर्गत पर्दछ । नेपालको सुदूरपूर्व र दक्षिणमा बोलिन मातृभाषा ताजपुरीको आफ्नै लिपि छैन । ताजपुरियाका अग्रज तथा बुढापाकाहरूका अनुसार ताजपुरिया भाषामा ठूलठूला शास्त्रहरू लेखिएका छन् । कृतिवासी रामायण, काशीदासी महाभारतमा बंगला अक्षरमा ताजपुरिया भाषामा लेखिएको अनुमान छ । किनकि, ती शास्त्रमा लेखिएको भाषा र ताजपुरी भाषा मिल्न जान्छ । ती पुस्तकलाई आधार मान्ने हो भने तथा ताजपुरिया बुढापाकाहरू बंगला लिपि पढ्न तथा लेख्न जान्ने भएकाले ताजपुरी भाषाको लिपि पनि बंगला नै हो कि भन्ने अनुमान लगाउन सकिन्छ । विभिन्न भाषाविद्हरूले नेपालको सुदूरपूर्व र दक्षिणमा बोलिने मातृभाषा ताजपुरीको विभिन्न पुस्तकमा उल्लेख भए पनि ताजपुरियाको भाषाको लिपि भने अहिलेसम्म पाइएको छैन् ।