दीक्षा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गुरुका समीपमा बसेर सिकेको र जानेको शिक्षालाई समापन गर्नु नै 'दीक्षा' हो। शिक्षाले हाम्रो जीवनका अन्धकार र अज्ञानतालाई नाश गरेर हाम्रो चेतनालाई विकसित तुल्याउँदछ, तर दीक्षाले हामीलाई आफ्नो लक्ष प्राप्त गर्ने मार्ग निर्देशन गर्दछ। के भन्ने गरिन्छ भने हामीले पुस्तक, शास्त्र, परिवार, समाज र अनुभूतिका आधारमा निरन्तर रूपमा शिक्षा त प्राप्त गर्न सक्दछौं तर 'दीक्षा' प्राप्त गर्न वा लक्षतर्फ उन्मुख हुन एकजना मार्गनिर्देशक, सद्गुरु वा महापुरुषको प्रेरणा, उपदेश र निर्देशनबाट मात्र सम्भव छ। उदाहरणका लागि राज पृथ्वीनारायण शाहमा असीम सामर्थ्य र उत्साह थियो तर बिसे नगर्चीको सद्बुद्धिबाट मात्र नेपाल रज्यको एकीकरण सम्भव भयो, त्यस्तै स्वामी विवेकानन्दसित आधुनिक र भौतिक ज्ञानको अथाह समुद्र अर्थात् विशाल भण्डार नै थियो तर स्वामी रामकृष्णले दिनुभएको 'दीक्षा'बाट मात्र वहाँले जीवनको एउटा नयाँ लक्ष निर्धारण गर्न सक्नुभयो।[१]

पौराणिक अर्थ[सम्पादन गर्ने]

दीक्षा शब्दको अर्थ खोज्दै जाँदा वैदिक साहित्य र पुराणहरूमा भिन्नभिन्न सन्दर्भमा यसको प्रयोग गरिएको भेटिन्छ। यस शब्दमा दुईवटा व्यञ्जन र दुईवटा स्वर वर्णको सम्मीलन भएको पाइन्छ

"द्"

"ई"

"क्ष्" ('क्ष्' भित्र आधुनिक भाषाशास्त्रले 'क्' र 'ष्' को संयोग मान्दछ र उच्चारण प्रक्रियामा 'छ्य्' भएको ठान्दछ, तर संस्कृत भाषामा 'क्ष्'लाई एउटा छुट्टै वर्ण मानिन्छ)

"आ"

'द्'को अर्थ[सम्पादन गर्ने]

"द"को अर्थ हो दमन। सदगुरुबाट ज्ञान प्राप्त गरेपछि विवेकका माध्यमले सङ्कल्पवान् भई सांसारिकता र भौतिक शरीरमा विद्यमान विषयवासनाबाट निरासक्त हुनु र आफ्नो मनलाई एकाग्र बनाई अनुकूल जीवन धान्ने अभ्यास गर्नु नै दमन हो। अर्को शब्दमा इन्द्रियहरूलाई निग्रह र मनलाई वशमा राख्न सक्नु नै 'दमन' हो।

'ई'को अर्थ[सम्पादन गर्ने]

"ई"को अर्थ ईश्वर उपासना हो। विषयातीत मानसिक बुद्धिलाई सद्गुरु र शास्त्रले निर्देशन गरेको विधि र मार्गलाई अनुसरण गर्दै चित्तलाई एकाग्र तुल्याई परमात्मामा तन्मय भई स्थिर भाव कायम गर्ने प्रक्रियालाई 'ईश्वर उपासना' भन्दछन्।

'क्ष्'को अर्थ[सम्पादन गर्ने]

"क्ष"को अर्थ हो क्षय। ईश्वर उपासनामा तन्मय भएपछि जब व्यक्तिको मनस्थिति परमात्मामा लीन हुन्छ, त्यस विशिष्ट अवस्थालाई 'क्षय' भन्दछन्, 'क्षय'अवस्थामा पुगेपछि समस्त विषयवासना नष्ट हुनजान्छन्।

'आ'को अर्थ[सम्पादन गर्ने]

"आ"को अर्थ आनन्द हो। मन, बुद्धि, चित्त आदिका विषयहरू - काम, क्रोध, मद, लोभ, मोह, मात्सर्य आदि समस्त विकारहरू नष्ट भई जीवको भौतिक जीवनमा अन्तःकरणको दिव्य चेतना प्रकाशित हुनासाथ प्रसन्नता, समता र दिव्यप्रेम प्रकट हुन्छ, त्यस अवस्थालाई 'आनन्द' भनिन्छ। हामीभित्रको सांसारिक जीवले ज्ञान प्राप्त गर्दछ, त्यही अवस्थाको नाम 'आनन्द' हो, आनन्दलाई शब्दद्वारा होइन अनुभूतिका माध्यमले बुझ्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान