धानमा सिथ ब्लाइट
'धानमा सिथ ब्लाइट' एक घातक रोग हो जसलाई राइजोक्टोनिया सोलानी भनिने फन्जाइले पैदा गर्छ। यो रोग विशेष गरी नपाल, भारत, एशियाका अन्य भागहरू र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा समेत धान उत्पादनको लागि ठूलो समस्या बन्दै गइरहेको छ।[१] यसले धानको उत्पादनमा ५०% सम्म कमी ल्याउन सक्छ र धानको गुणस्तर पनि घटाउँछ। यो रोगले धानको बोटमा दाग, धब्बा वा घाउहरू बनाउँछ र धानको वृद्धि विकासका विभिन्न चरणहरूमा असर पार्छ। यसले बिरुवा सुकाउने (जहाँ बोट मर्छ), पातहरू सुकाउने, धानको बालामा सङ्क्रमण गर्ने र बीउमा दाग पार्ने समस्या निम्त्याउँछ।[२]
रोगको चक्र
[सम्पादन गर्नुहोस्]जब बिरूवाहरू सङ्क्रमित हुन्छन्, तिनीहरूको तल्लो पातमा गोलाकार हरियो-खैरो र पानीले भिजेजस्तो देखिने दागहरू विकसित हुन्छन्। यो बिरूवाको वृद्धिको अन्तिम चरणमा हुन्छ। यदि मौसममा आर्द्रता (चिसो) भए र घाम कम लागेमा यी दागहरू पातलो धागोजस्तो रनर हाइफीको माध्यमबाट माथिल्लो भागसम्म फैलिन्छ।
जसै पातहरू सुक्न थाल्छन् र घामले दागहरू सुकाउँछ, तिनीहरूको रङ्ग फिक्का खैरो (ट्यान) हुन्छ र छेउमा गाढा खैरो घेरा बन्छ। सङ्क्रमण भएको करिब ६ दिनपछि साना कडा संरचनाहरू (स्क्लेरोटिया) दाग नजिकै उत्पन्न हुन्छन् र अन्ततः जमिनमा झर्छन्। यी स्क्लेरोटियाहरू माटोमा जीवितै रहन्छन् र नयाँ बाली लगाउँदा वा सिँचाइका लागि खेत डुबाउँदा फैलिन सक्छन्, जसले गर्दा अन्य बिरूवाहरूलाई समेत सङ्क्रमण गर्न सक्छन्।
स्क्लेरोटिया र राइजोक्टोनिया सोलानीको अर्को भाग "माइसेलिया" दुवै बोटको अवशेष, पराल वा झारमा जाडो वा उष्ण प्रदेशको मौसममा बाँच्छन् जसले गर्दा बर्षेनी सङ्क्रमण गर्न तयार हुन्छन्।
व्यवस्थापन
[सम्पादन गर्नुहोस्]जैविक तरिका
[सम्पादन गर्नुहोस्]बिरूवाको वृद्धि बढाउन सहयोग गर्ने राइजोब्याक्टेरिया (PGPRs) को प्रयोगलाई जैविक नियन्त्रणको रूपमा प्रस्ताव गरिएको छ। यी ब्याक्टेरियाहरू बिरुवाको वृद्धि बढाउन र माटोमा बस्ने अन्य हानिकारक ब्याक्टेरियालाई नियन्त्रण गर्न प्रयोग गरिन्छन्। यिनीहरूले ठाउँ र पोषणको लागि प्रतिस्पर्धा गरी बिरूवाको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाइ हानिकारक ब्याक्टेरियालाई नियन्त्रण गर्ने गरेको देखिएको छ।
अनुसन्धानहरूले देखाएका छन् कि केही किसिमका ब्याक्टेरिया धानको बीउ लगाउनु अघि लगाउँदा राइजोक्टोनिया सोलानीका स्क्लेरोटियाको जीवित रहने क्षमता घटाउँछ, जसले रोगको सम्भावना कम गर्छ र उत्पादन बढाउँछ। केही प्रजातिहरू जस्तै:— सिउडोमोनास फ्लोरिसेन्सका केही प्रकारले यो फन्जाइको वृद्धि र स्क्लेरोटियाको अङ्कुरणलाई रोकिदिन्छ जसले गर्दा तिनीहरू जैविक नियन्त्रण एजेन्ट बन्न सक्छन्।
रसायनिक तरिका
[सम्पादन गर्नुहोस्]धानमा लागेको सिथ ब्लाइट रोग नियन्त्रण गर्ने मुख्य तरिका फङ्गीसाइडहरूको प्रयोग हो। फङ्गीसाइडहरू दुई प्रकारका हुन्छन्: प्रणालीगत र गैर-प्रणालीगत। प्रणालीगत फङ्गीसाइडहरू अधिक प्रभावकारी मानिन्छन् किनभने तिनीहरूले बिरूवाको सम्पूर्ण भागमा काम गर्छन्। फङ्गीसाइडहरूको प्रयोगले रोगको संख्या, फन्जाइको फैलावट र उत्पादन सुधार गर्न मद्दत गर्छ। सामान्य रूपमा प्रयोग हुने रसायनमध्ये एक एजोक्सीस्ट्रोबिन हो जसले फन्जाइको श्वासप्रश्वास रोक्छ र तिनीहरूलाई मार्छ।
यो रोग प्रतिरोधी धानको जात फेला नपरेको र अन्य नियन्त्रण विधिहरू व्यवहारिक नभएकोले हालको लागि रासायनिक नियन्त्रणलाई सबैभन्दा राम्रो समाधान मानिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Jones, R. K. (१९८९), "Characterization and Pathogenicity of Rhizoctonia spp. Isolated from Rice, Soybean, and Other Crops Grown in Rotation with Rice in Texas", Plant Disease 73 (12): 1004, आइएसएसएन 0191-2917, डिओआई:10.1094/pd-73-1004।
- ↑ Kumar, Dharmendra; Amaresh Gouda, S. (जुलाई २०१८), "Evaluation of mycoparasitic efficacy of nematode-trapping fungi against Rhizoctonia solani inciting sheath blight disease in rice (Oryza sativa L.)", Biological Control 122: 31–40, आइएसएसएन 1049-9644, डिओआई:10.1016/j.biocontrol.2018.04.003।