निबन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निबन्ध सबन्धी पूर्वीय र पाश्चात्य निबन्धकारका भनाइहरु

१. जोन्सनका अनुसार, "अव्यवस्थित एबम् विश्रृखलित विचार, अपरिपक्व भावना तथा अपरिपक्व एबम् अनियमित क्रम भएको लेख नै निबन्ध हो।"

२. भैरव अर्यालका अनुसार, "कुनै विषयमा आफूले भनेको , सोचेको र मनमा लागेको कुरा रसिलो पारामा प्रकट गर्ने छरितो गद्य नै निबन्ध हो।"

परिचय[सम्पादन गर्नुहोस्]

निबन्ध शब्द अङ्ग्रेजी Essay शब्दको नेपाली रूपान्तर हो। संस्कृतको 'बन्ध' धातु धञ् प्रत्यय लागेर 'बन्ध' शब्दको व्युत्पादन हुन्छ र त्यही 'बन्ध' शब्दमा संस्कृतकै 'नि' उपसर्ग लागेपछि 'निबन्ध' शब्दको व्युत्पादन हुन्छ। निबन्ध तत्सम शब्द हो र यसले बाँध्नु भन्ने अर्थ दिन्छ। अङ्ग्रेजी Essay शब्दले पनि छरिएर रहेका भावहरूलाई एकै ठाउँमा बाँध्नु भन्ने अर्थ दिन्छ। साहित्यका सन्दर्भमा यो अर्थ साभिप्राय पनि देखिन्छ।

निबन्धलाई विभिन्न विद्वान्हरूले विभिन्न किसिमले परिभाषित गरे पनि यो आख्याननिरपेक्ष गद्यरचनाका रूपमा देखिन्छ र यसको तात्पर्यगत अर्थ पनि यही हो। वैयक्तिकता निजात्मकता, आत्मप्रकटीकरण, सङ्क्षिप्तता, विषयवस्तुगत स्पष्टता, बौद्धिकता, हार्दिकता, विचारको प्रतिपादन आदि निबन्धका आधारभूत तत्त्व हुन् भने संवेदना र अनुभूतिको सहजता, भावको सघनता, तार्किकता पनि निबन्धका उपकरण हुन्।

निबन्धको वर्गीकरण[सम्पादन गर्नुहोस्]

निबन्धका प्रकार यति नै हुन्छन् भनेर यसको अन्तिम र सर्वसम्मत वर्गीकरण गर्न सकिँदैन। साहित्यका अन्य विधाजस्तै निबन्ध पनि परिवर्तन शील विधा भएकाले पछिल्लो समयमा यसका नवनव प्रयोगशील रूपहरू देखिएका छन्। यस अर्थमा पनि निबन्धका प्रकारहरू तद्नुरूप परिवर्तित भइरहेको देखिन्छ। विभिन्न विद्वान्हरूले निबन्धलाई विभिन्न किसिमले वर्गीकरण गरेका छन् र त्यसका लागि आधारहरू पनि प्रस्तुत गरेको देखिन्छ। बाहृय तथा आन्तरिक तत्त्व, विषयवस्तु, भाषा, शैली, व्यक्तित्वको प्रधानता वा गौणता, आत्मपरकता, वस्तुपरकता आदि विभिन्न आधारमा निबन्धलाई वर्गीकरण गरिएको पाइन्छ। पछिल्लो समयमा देखापरेका विधाञ्जन, विधामिश्रण, विधान्तरण आदिका कारण सिर्जित नवविधा प्रवर्तनका रूपमा पनि निबन्धका नवप्रकारहरू सिर्जिएको पाइन्छ। उदाहरणका लागि राजेन्द्र सुवेदीको 'गुडबाई छोडिजानेहरूलाई' (२०६५) भित्रका सबै निबन्धमा संस्मरण, समालोचना, जीवनी, निबन्ध, नियात्रा, रिपोर्ताज आदि सबैको त्यत्तिकै उपस्थिति पाइन्छ। यस आधारमा हेर्दा निबन्धको वर्गीकरणलाई एकै किसिमले हेर्न मिल्दैन र स्थूल वर्गीकरणले मात्र पनि निबन्धलाई प्रकारीकरण गर्न सकिँदैन ! तसर्थ विभिन्न आधारमा निबन्धको सूक्ष्म वर्गीकरण गर्नु समीचीन हुन्छ। निबन्धको वर्गीकरणका लागि निम्नलिखित आधारहरू उपयुक्त हुनसक्छन् :

  • (१) आत्मपरकता वा निजात्मकताका आधारमा,
  • (२) वस्तुपरकता वा परात्मकताका आधारमा,
  • (३) शिल्पगत वा शैल्पिक आधारमा,
  • (४) नवउपविधात्मक स्वरूपका आधारमा, आदि।

यी आधारहरूका केन्द्रीयतामा निबन्धलाई यस किसिमले वर्गीकरण गर्न सकिन्छः

२.१ आत्मपरकता वा निजात्मकताका आधारमाः

क) भावात्मक निबन्ध, ख) विचारात्मक निबन्ध, ग) वैयक्तिक निबन्ध, घ) संस्मरणात्मक निबन्ध।

आत्मपरक निबन्धलाई निजात्मक निबन्ध पनि भनिन्छ। यस्ता निबन्धमा आत्मप्रकटी हुन्छ। यसका धेरै भेदोपभेदहरू देखिन्छन्। प्रथमपुरुष शैली वा दृष्टिबिन्दुमा लेखिने सबै किसिमका निबन्धहरू यसअन्तर्गत पर्दछन्। निबन्धको यस स्थूल वर्गीकरणभित्र पर्ने निबन्धहरू धेरै किसिमका छन् तापनि यसअन्तर्गतका प्रमुख भेदहरूलाई यसप्रकार देखाइन्छः

    • २.१.१ भावात्मक निबन्धः

स्रष्टाको 'स्व' बढी सक्रिय हुने र भावुकताको पक्ष प्रबल हुने निबन्धलाई भावात्मक निबन्ध भनिन्छ। यस्ता निबन्धमा हृदयका उदात्त अनुभूतिहरू र तीव्र भावनाहरूले प्रशस्त खेल्ने अवसर पाउँछन्। लेखकका अनुभूति जति गहनरूपमा प्रस्तुत हुन्छन् र उसको अन्तर्निहित हृदय जति प्रबल र तीव्ररूपमा प्रकट हुन्छ। त्यति नै भावात्मक निबन्ध शक्तिशाली हुन्छ। निबन्धकारका हृदयको निश्चल आत्मप्रकाशन नै यस्ता निबन्धको विशेषता हो। यस्तो निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन्।

      • (१) भावनात्मक निबन्धमा भावना र कल्पनाको बढी उपयोग गरिन्छ।
      • (२) यस्ता निबन्धमा लेखकका निजी भावना र कल्पनालाई अभिव्यक्त गरिन्छ।
      • (३) यस्ता निबन्धमा वैचारिक कार्यकारणको प्रस्तुति हुँदैन आदि।
    • २.१.२ विचारात्मक निबन्धः

लेखकका स्वतन्त्र विचार र चिन्तन प्रकट हुने, बुद्धितत्वको सम्बन्ध हुने र गम्भीर विषयमा आधारित निबन्धलाई विचारात्मक निबन्ध भनिन्छ। यस्ता निबन्धमा बुद्धिपक्ष बढी सक्रिय हुने हुँदा यस्ता निबन्धको सम्बन्ध हृदयपक्षसँग भन्दा मस्तिष्क पक्षसँग बढी हुन्छ। धर्म, दर्शन, विज्ञान आदि गम्भीर विषयलाई यस्ता निबन्धले समेटेका हुन्छन्। पाठकलाई विचारको भारी नबोकाई भावना र कल्पनाको आंशिक प्रयोग गर्दा यस्ता निबन्ध सुपाच्य हुन्छन्। यस्ता विचारात्मक निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन् ः

      • (१) विचारात्मक निबन्धमा गृहीत विषयका पक्ष/विपक्षलाई तर्कद्वारा प्रस्तुत गरिन्छ।
      • (२) यस्ता निबन्धका प्रत्येक वाक्यले 'स्व'को विचारलाई प्रकट गरेको हुनुपर्दछ।
      • (३) यस्ता निबन्धमा साङ्केतिक, बिम्बात्मक श्लेषपूर्ण भाषिक प्रयोग अपेक्षित हुन्छ, आदि।
    • २.१.३ वैयक्तिक निबन्ध :

व्यक्तिका निजी व्यक्तित्वको प्राथमिकता रहेको भावनात्मक अभिव्यक्ति हुने निबन्धलाई वैयक्तिक निबन्ध भनिन्छ। यस्ता निबन्धमा आत्मपरकता अत्यन्त स्पष्टरूपमा मुखरित भएको हुन्छ र लेखकका आफ्नै नितान्त वैयक्तिक अनुभूति, हर्ष, विचार, सुख-दुःख आदि संवेगहरूको आत्मप्रस्फुटन भएको हुन्छ। साथै लेखकका निजी जीवनका कुराहरूले मूलभूत भूमिका खेलेका लेखकीय वैयक्तिक जीवनका आशा-निराशा, भाव -अभाव आदि अनेकौँ स्वानुभूतिको आत्मप्रकाशन पनि यस्ता निबन्धको विशेषता हो। आत्मकथा वा आत्मसंस्मरणको नजिकरहने यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः

      • (१) वैयक्तिक निबन्ध भावनात्मक निबन्ध र संस्मरणात्मक निबन्धको नजिकहुन्छ र यस्ता निबन्धमा आत्मकथाको स्वरूप हुन्छ।
      • (२) यस्ता निबन्धमा गृहीत विषयमाथि लेखकको 'स्व' नै प्रकट भएको हुन्छ र त्यो अनौपचारिक एवं रागात्मक रूपमा अभिव्यक्त भएको हुन्छ।
      • (३) यस्ता निबन्धमा लेखकले आफ्ना निजी भोगाइहरू कथाकारले कथा भनेझैँ निश्छलतापूर्वक प्रस्तुत गरेको हुन्छ आदि।
    • २.१.४ संस्मरणात्मक निबन्ध ः

अतीतका, तात्कालिक वा केही समयपूर्वका अविस्मरणीय स्मृति बिम्बहरूमा आधारित 'स्व'को आत्मप्रकाशन भई स्वानुभूतिको आत्मप्रकटीकरण भएका निबन्धलाई संस्मरणात्मक निबन्ध भनिन्छ। यस्ता निबन्धमा स्वकीय जीवनमा घटेका महत्त्वपूर्ण क्षण, घटना, अनुभूति, भोगाइ आदिको शृङ्खलित अभिव्यक्ति हुन्छ। स्मृतिबिम्बहरूको प्रबलता हुनु यस्ता निबन्धको विशेषता हो। यथार्थ स्मृतिबिम्बहरूमा आधारित नभइकन काल्पनिक उडानमा यस्ता निबन्ध लेखिँदैनन्। कल्पनाको प्रयोगले यस्ता निबन्धलाई कलात्मकता भने प्रदान गर्दछ। संस्मरणात्मक निबन्धका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छः

      • (१) संस्मरणात्मक निबन्ध स्मृतिबिम्बमा आधारित हुन्छ र यस्ता निबन्धमा लेखकले स्मृति-अनुभूतिहरूलाई यथार्थरूपमा प्रस्तुत गर्नुपर्छ।
      • (२) यस्ता निबन्धमा स्मृतिबिम्बहरूको यथार्थपरक शृङ्खलित प्रस्तुति हुन्छ।
      • (३) यस्ता निबन्धमा स्मृतिसन्दर्भहरूलाई विवरणात्मक हुनुबाट जोगाउन कल्पना र आत्मकथात्मक शैलीलाई उपयोगमा ल्याइन्छ, आदि।
  • २.२. वस्तुपरकता वा परात्मकताका आधारमा ः

(क) वर्णनात्मक निबन्ध (ख) विवरणात्मक निबन्ध।

वस्तुपरक निबन्धलाई परात्मक निबन्ध पनि भनिन्छ। यस्ता निबन्धमा आत्मप्रकटीकरण नभई कुनै व्यक्ति, वस्तु आदिको वर्णन विवरण प्रस्तुत गरिएको हुन्छ। व्यापक अर्थमा भन्नुपर्दा कविता, आख्यान, नाटक र निबन्ध गरी सैद्धान्तिकरूपमा साहित्यका प्रमुख चार विधा मानिएकाले समालोचनाहरू/अनुसन्धान, प्रतिवेदनहरू/शोधप्रबन्ध र शोधपत्रहरू तथा अन्य सबै किसिमका विवरणात्मक अध्ययनहरू यस्तै वस्तुपरक निबन्धभित्रै पर्दछन्। तर विशिष्टीकृत वा सीमित अर्थमा वस्तुपरक निबन्धभित्र तृतीयपुरुष शैली वा दृष्टिबिन्दुमा लेखिने सबै किसिमका निबन्धहरू यस्ता निबन्धको कोटिमा अटाउँछन्। यस्ता निबन्धका प्रमुख भेदलाई यसप्रकार देखाइन्छ -

    • २.२.१ वर्णनात्मक निबन्ध ः

गृहीत विषयको वर्णनमा केन्द्रित वा वर्णनप्रधान निबन्धलाई वर्णनात्मक निबन्ध भनिन्छ। यस्ता निबन्धमा वर्ण्य विषयलाई लेखकका अनुभूति र कल्पनाले जीवन्त बनाउँछ र बाहृयपक्षको यथार्थ चित्रण गर्ने पद्धति अँगालिएको हुन्छ। लेखकीय 'स्व'को कुनै प्रयोजन नहुनु यस्ता निबन्धको विशेषता हो। वर्ण्य विषयको वर्णनलाई मौलिकता प्रदान गर्न लेखकमा दृष्टिवैचित्र्य हुनु अनिवार्य मानिन्छ र विषयवस्तुको पूर्ण ज्ञान पनि अपेक्षित हुन्छ। यस किसिमका निबन्धका प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः

      • (१) वर्णात्मक निबन्धमा वर्ण्य विषयको शृङ्खलित र व्यवस्थित वर्णन आवश्यक हुन्छ।
      • (२) यस्ता निबन्धमा विषयलाई सङ्क्षिप्तताभित्रै पूर्णताका साथ प्रस्तुत गर्नुपर्दछ।
      • (३) यस्ता निबन्धमा लेखकले सूक्ष्म निरीक्षणशक्ति र कल्पनाशक्तिलाई असाधारणरूपमा प्रस्तुत गर्नुपर्दछ, आदि।
    • २.२.२ विवरणात्मक निबन्ध ः

घटना वा वृत्तान्तको विस्तारपूर्वक वर्णन गरिएको वर्णनप्रधान निबन्धलाई वर्णनात्मक निबन्ध भनिन्छ। झट्ट हेर्दा यो वर्णनात्मक निबन्धजस्तै लागे पनि यी दुईमा फरक छ। वर्णनात्मक निबन्ध स्थिर हुन्छ भने विवरणात्मक निबन्धचाहिँ गतिशील प्रकृतिको हुन्छ। कथात्मकता, ऐतिहासिकता र कार्यकारण शृङ्खला यस्ता निबन्धका थप विशेषता हुन्। यस्ता निबन्धका मुख्यमुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

      • (१) विवरणात्मक निबन्धमा कल्पनातत्त्वको उपयोग गर्दै वृत्तान्तको अन्तर्पक्षलाई केलाईन्छ।
      • (२) यस्ता निबन्धमा वृत्तान्तको यथावत वा यथार्थ प्रस्तुति हुन्छ।
      • (३) यस्ता निबन्धमा कार्यकारण शृङ्खला र वृत्तान्तको पूर्वापर सम्बन्ध मिलेको हुनुपर्दछ, आदि।
  • २.३. शिल्पगत आधारमा ः

(क) व्याख्यात्मक निबन्ध, (ख) तार्किक निबन्ध, (ग) आख्यानात्मक निबन्ध, (घ) वक्तात्मक निबन्ध, (ङ) रिपोर्ताज निबन्ध, (च) आलङ्कारिक निबन्ध, (छ) हास्यव्यङ्ग्यात्मक निबन्ध आदि।

शिल्पगत आधारमा देखिने निबन्धको यो वर्गीकरण अत्यन्त स्थूल वर्गीकरण हो। यस किसिमको वर्गीकरणमा पर्ने निबन्धहरू अन्य वर्गीकरणभित्र पनि पर्दछन्। सबै आधारमा वर्गीकरण गरिएका सबै किसिमका निबन्धहरूलाई शिल्पका आधारमा समेत वर्गीकरण गरिने र गर्नसकिने हुँदा यस किसिमको वर्गीकरण एकअर्कामा अन्तर्गर्भित पनि भएको पाइन्छ। शिल्प भनेको शैली वा तरिका भएकाले यस आधारमा निबन्धलाई अत्यन्त सूक्ष्मरूपमा मात्र वर्गीकरण गर्न सकिन्छ। शिल्पका आधारमा निबन्धका प्रमुख भेदलाई स्थूलरूपमा यसप्रकार वर्गीकरण गर्न सकिन्छ ः

    • २.३.१. व्याख्यात्मक निबन्ध ः

सूक्ष्म विषयवस्तुलाई पनि विस्तृतरूपमा व्याख्या-विश्लेषण गरेर लेखिएका निबन्धलाई व्याख्यात्मक निबन्ध भनिन्छ र यसलाई विश्लेषणात्मक निबन्ध पनि भनिन्छ। यस्ता निबन्ध आत्मपरक र वस्तुपरक दुवै किसिमका हुन्छन् तापनि वस्तुपरकतातिरको झुकाउ बढी हुन्छ। यस्ता निबन्धमा सङ्क्षेप पद्धतिका विपरीत विस्तार पद्धति अवलम्बन गरिएको हुन्छ। व्याख्यात्मक निबन्धका प्रमुख अभिलक्षण यसप्रकार छन् ः

      • (१) व्याख्यात्मक निबन्धमा सूक्ष्म र सामान्य विषयलाई व्याख्या विश्लेषण गरेर प्रस्तुत गरिन्छ।
      • (२) यस्ता निबन्धमा कथ्यलाई पुष्टि गर्न धेरै प्रसङ्गहरू ल्याइएको हुन्छ।
      • (३) यस्ता निबन्धमा परिधीय विचारवस्तुको व्याप्ति हुन्छ, आदि।
    • २.३.२ तार्किक निबन्ध ः

कुनै विचारको पुष्टिका लागि तर्कहरूको खण्डन/मण्डनका साथ तर्क-वितर्कहरू प्रस्तुत गरिने निबन्धलाई तार्किक निबन्ध भनिन्छ। यस्ता निबन्धमा तर्कशास्त्र वा दर्शनशास्त्रको पद्धति अवलम्बन गरिएको हुन्छ र कुनै विचार वा वस्तुसँगको तुलनामा खण्डन/मण्डनका तर्कहरू प्रस्तुत गरी आफ्नो मतलाई पुष्टि गर्ने अभिप्रायः राखिएको हुन्छ। वादविवादात्मक अभिव्यक्तिको शैलीमा लेखिएका निबन्धहरूलाई तार्किक निबन्धका रूपमा मानिन्छ। यस्ता निबन्धका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

      • (१) तार्किक निबन्धमा आफ्नो विचार वा मतको पुष्टिका लागि तर्कहरूद्वारा अर्काका मतको खण्डन र आफ्नो मतको मण्डन गरिन्छ।
      • (२) यस्ता निबन्ध वादविवादात्मक हुनेहुँदा स्वतः तुलनात्मक प्रकृतिका हुन्छन्।
      • (३) यस्ता निबन्धमा लेखकको तर्कशक्ति र कल्पनाशक्तिको प्रशस्त उपयोग हुन्छ, आदि।
    • २.३.३. आख्यानात्मक निबन्ध ः

आख्यानात्मक शैलीको प्रयोग गरेर लेखिएका निबन्धहरूलाई आख्यानात्मक निबन्ध भनिन्छ र यस्ता निबन्धमा कथाकथनको शैली अवलम्बन गरिएको हुन्छ। यस्ता निबन्धमा प्रयोग हुने आख्यान 'स्वआख्यान' वा 'परआख्यान' जुनसुकै किसिमको हुनसक्छ। विचारप्रधान हुनु र आख्यानात्मक संरचनाको बान्की हुनु यस्ता निबन्धको विशेषता हो। यस्ता निबन्धका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

      • (१) आख्यानात्मक निबन्ध आख्यानात्मक शैलीमा लेखिएको हुन्छ। तापनि त्यसमा विचारकै प्रधानता हुन्छ।
      • (२) यस्ता निबन्धमा शैली मात्र कथाकथनको हुनेहुँदा घटना र पात्रको विकास हुँदैन।
      • (३) यस्ता निबन्धमा प्रथम र तृतीय दुवै दृष्टिबिन्दुको प्रयोग हुनसक्छ आदि।
    • २.३.४ वक्तात्मक निबन्ध ः

वक्तात्वकला/वाक्कला/भाषणकलाका रूपमा रहेका अभिव्यक्तिहरूलाई नैबन्धिक रूप दिँदा वक्तातात्मक निबन्धको सिर्जना हुन्छ। यस्ता निबन्धमा निश्चित वा निर्धारित विषयको प्रतिपादन हुन्छ। यस्ता निबन्धको अध्ययन भाषणशास्त्र वा वाक्कलाशास्त्र (वक्ताताशास्त्र)मा हुन्छ। प्राचीन ग्रिसेली साहित्यमा यस्तै किसिमका वक्तातात्मक निबन्धबाट निबन्धको विकास भएको पाइन्छ। यस्ता निबन्धको शैली मूलभूत रूपमा वक्तातात्मक किसिमको हुने भएकाले यस्ता निबन्धलाई वक्तातात्मक निबन्ध भनिएको हो। यस्ता निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन् ः

      • (१) वक्तातात्मक निबन्धमा आत्मपरक र वस्तुपरक दुवै तत्वको उपस्थिति रहन्छ।
      • (२) यस्ता निबन्ध औपचारिक र अनौपचारिक दुवै शैलीमा लेखिन्छन्।
      • (३) यस्ता निबन्धमा तार्किकता र प्रभावकारिताको अपरिहार्यता हुन्छ आदि।
    • २.३.५. रिपोर्ताज निबन्ध ः

कुनै घटना, कार्यक्रम, सभा, समारोह आदिका विवरणलाई समेटेर तयार पारिएका निबन्धलाई रिपोर्ताज वा रिपोर्ताज निबन्ध भनिन्छ र यस्तो निबन्ध विवरणात्मक र वर्णनात्मक निबन्धको अत्यन्त नजिकहुन्छ। त्यसैले यस्ता निबन्ध बढी वस्तुपरक हुने गर्छन्। कुनै स्थान, यात्रा आदिको यथावत् वर्णन गर्ने शैली पनि यसमा हुन्छ भने मूलतः पत्रकारिताको शैली यस्ता निबन्धको विशेषता हो। यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षण यसप्रकार छन् ः

      • (१) रिपोर्ताज निबन्धमा वर्णनात्मकता र विवरणात्मकताको आनुपातिक प्रयोग हुन्छ।
      • (२) यस्ता निबन्धमा सूचना नै मूलतत्वका रूपमा रहने हुँदा सूचनात्मकता यसको प्राणतत्व मानिन्छ।
    • (३) शृङ्खलित र औपचारिक प्रस्तुति यस्ता निबन्धका पहिचान हु्न् आदि।
    • २.३.६. आलङ्कारिक निबन्ध ः

भाषिक प्रयोगका दृष्टिले अत्यन्त आलङ्कारिक, काव्यात्मक वा साहित्यिक भाषाशैलीमा लेखिने निबन्धलाई शैलीय तत्वका आधारमा आलङ्कारिक निबन्ध भनिन्छ। यस्ता निबन्ध आत्मपरक वा वस्तुपरक दुवै किसिमका हुन्छन् र प्रथम वा तृतीयपुरुष दुवै दृष्टिबिन्दुमा लेखिन्छन्। यस्ता निबन्धमा लेखकीय 'स्व' र 'पर' दुवैको उपस्थिति हुनसक्छ। भाषाशैलीय दृष्टिले मात्र यी निबन्ध अरूभन्दा बेग्लिन्छन्। यस्ता निबन्धका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ।

      • (१) आलङ्कारिक निबन्धमा निबन्ध आत्मपरक वा वस्तुपरक जुनसुकै किसिमको भए पनि भाषाशैली पूरै आलङ्कारिक वा काव्यात्मक हुन्छ।
      • (२) यस्ता निबन्धमा भाषिक विचलनको प्रयोग प्रशस्त गरिएको हुन्छ र मानवीकरण गरिएको हुन्छ।
      • (३) यस्ता निबन्धमा सादृश्यविधान बढी हुन्छ र आलङ्कारिक वा काव्यात्मक भाषाशैलीय प्रयोगका कारण यस्ता निबन्ध बढी पठनीय र श्रुतिमधुर हुन्छन् आदि।
    • २.३.७. हास्यव्यङ्ग्यात्मक निबन्ध ः

हास्यतत्व र व्यङ्ग्यतत्वको उपस्थिति भएका वा यी दुई तत्त्व नै प्रमुखरूपमा रहेका निबन्धलाई हास्यव्यङ्ग्यात्मक निबन्ध भनिन्छ। यस्ता निबन्धमा भाषिक कलाका माध्यमबाट हास्यास्मकता र व्यङ्ग्यात्मकताको सिर्जना गरिन्छ। अत्यन्त अनौपचारिक भाषा प्रयोग गरिने यस्ता निबन्धमा विकृति र विसङ्गतिप्रति उपहास गरेर व्यङ्ग्य गरिने हुँदा अत्यन्त आकर्षक, रोचक र प्रभावकारी हुन्छन्। हास्यतत्व र व्यङ्ग्यतत्व दुवैको सन्तुलित संयोजन भएन भने यस्ता निबन्ध प्रभावकारी हुँदैनन्। रोचक र घोचक हुनु यस्ता निबन्धको विशेषता हो। यस्ता निबन्धका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

      • (१) हास्यव्यङ्ग्यात्मक शैलीका निबन्धमा हास्यतत्व र व्यङ्ग्यतत्वको समान उपस्थिति रहन्छ र मान्छेका वैयक्तिक कमजोरीलाई पनि देखाइएको हुन्छ।
      • (२) यस्ता निबन्धले सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक आदि क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबाट अन्तर्वस्तु ग्रहण गरेको हुन्छ।
      • (३) यस्ता निबन्धमा आत्मपरक, वस्तुपरक, वर्णनात्मक, आख्यानात्मक आदि प्रायः सबै किसिमका शैलीको प्रयोगका साथै आलङ्कारिक भाषिक चमत्कार हुन्छ आदि।
  • २.४. नवउपविधात्मक स्वरूपका आधारमा

(क) नियात्रा, (ख) निवार्ता, (ग) निसमीक्षा, (घ) निपत्र, (ङ) रुबन्ध, आदि नव उपविधात्मक स्वरूपका आधारमा देखिने यो वर्गीकरण पनि स्थूल वर्गीकरण नै हो र पछिल्लो समयमा देखापरेका विनिर्माणिक प्रक्रियाका विधाभञ्जन (विधामिश्रण/विधान्तरण/विधान्तरप्रभाव)का कारण पनि यस्ता निबन्धहरूको जन्म भएको छ। निबन्ध विधामा अन्य विधा/उपपविधाहरूको अन्तर्मिश्रण हुँदा यस्ता नवउपविधात्मक स्वरूपका नैबन्धिक रचनाहरू सिर्जिन्छन्। सैद्धान्तिक दृष्टिले यस्ता नैबन्धिक रचनाविधानलाई सोझै विधा भन्न सकिँदैन। तापनि बेलाबेलामा विधागत स्वायत्तताका कुरा पनि उठेका छन्। यस्ता नवउपविधात्मक स्वरूपका रूपमा देखिएका नियात्रा, निवार्ता, निसमीक्षा, निपत्र, रुबन्ध आदि रचनाविधानले निबन्धलाई स्वरूपगत वैविध्य प्रदान गरेका छन् र यसबाट निबन्धविधा समृद्ध भएको छ। नवउपविधात्मक स्वरूपका आधारमा देखिने निबन्धका प्रमुख भेदहरूलाई निबन्धका प्रयोगपरक वा प्रयोगशील भेदका रूपमा र अन्तर्विधात्मक प्रभावजन्य परिणतिस्वरूप सिर्जिएका निबन्धका रूपमा मान्न सकिन्छ। यस्ता निबन्धका प्रमुख भेदलाई यसप्रकार देखाइन्छ ः

    • २.४.१. नियात्रा ः

'निबन्ध' शब्दले 'नि' उपसर्ग र 'यात्रावृत्तान्त' शब्दको 'यात्रा' शब्दको योगबाट 'नियात्रा' शब्द बनेको छ र यस 'नियात्रा' शब्दले यात्रासंस्मरण वा यात्रावृत्तान्तमा आधारित निबन्ध भन्ने जनाउँछ। नेपालीमा नियात्रा शब्दको प्रयोग सर्वप्रथम तारानाथ शर्माको पुस्तकमा बालकृष्ण पोख्रेलले गरेका हुन्। नियात्रा यात्रावृत्तान्त वा यात्रासंस्मरणमा आधारित निबन्ध भएकाले यसमा संस्मरणात्मकता र वर्णनात्मकताको प्रयोग हुन्छ। नियात्रा पूरै आत्मपरक हुन्छ र वैयक्तिक अनुभूति, भोगाइ र अनुभवका साथै यात्रावृत्तान्तका सन्दर्भका सन्दर्भहरूलाई समेत स्मृतिविम्बका आधारमा प्रकटीकरण गर्ने काम नियात्रामा हुन्छ। यस्ता नियात्राका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

      • (१) नियात्रामा यात्रावृत्तान्तका स्मृतिबिम्बहरूको प्रयोग हुन्छ र त्यस्ता स्मृतिविम्बहरूलाई कल्पनाको रङले रङ्गाइएको हुन्छ।
      • (२) नियात्रामा लेखकीय 'स्व'को आत्मप्रकटीकरण हुन्छ र यसमा वैयक्तिकताको प्रशस्त उपयोग हुनाका साथै वर्णनको मनोहारिता, रोचकता र कुतूहलता हुन्छ।
      • (३) यस्ता निबन्ध प्रथमपुरुष दृष्टिबिन्दुमा नै लेखिन्छन् र यस्ता निबन्धमा कोरा वृत्तान्त वा वर्णनात्मकता अपेक्षित हुँदैन, आदि।
    • २.४.२. निवार्ता

'निबन्ध' शब्दको 'नि' उपसर्ग र 'अन्तर्वार्ता' शब्दको 'वार्ता' शब्द मिलेर 'निवार्ता' शब्दको निर्माण भएको छ। निबन्धात्मक शैलीमा प्रस्तुत गरिएका अन्तर्वार्तालाई निवार्ता भनिन्छ। नेपालीमा निवार्ता शब्दको सर्वप्रथम प्रयोग नेत्र एटमले 'सीमान्त आकाश'मा गरेका हुन्। निवार्ताकार अर्थात् वार्ताकार (अन्तर्वार्ता लिने व्यक्ति) र वार्तानायक (उत्तरदाता) दुवैको एउटै रचनामा उपस्थिति रहनु निवार्ताको मुख्य अभिलक्षण हो। यस्ता निवार्तामा अन्तर्वार्ता प्रत्यक्ष प्रश्नोत्तरात्मक शैलीमा लिइए पनि वार्ताकारको कला, कुशलता र कल्पनाशक्तिको प्रयोगले अप्रत्यक्ष प्रश्नोत्तरात्मक शैलीका माध्यमबाट भिन्नै रचनाविधान तयार हुन्छ। अन्तर्वार्ता लिने क्रममा वार्तानायकबाट आएका उत्तरहरूलाई कल्पनाशक्तिको प्रयोगद्वारा अनौपचारिक शैलीमा प्रस्तुत गर्नु निवार्ताको विशेषता हो। निवार्ताका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

      • (१) निवार्तामा पहिले वार्ताकार प्रथम पुरुषका रूपमा र वार्तानायक तृतीय पुरुषका रूपमा उपस्थित भई पछि दुवै प्रथमपुरुषका रूपमा पनि उपस्थित हुन्छन्।
      • (२) निवार्तामा निबन्ध तत्त्व र अन्तर्वार्ता तत्त्व दुवै रहे पनि मूलतः अन्तर्वार्ता तत्त्व र अंशतः निबन्ध तत्वको उपस्थिति भई अन्त्यमा अन्तर्वार्ता तत्वको निबन्ध तत्वमा अन्तर्मिश्रण र विलयन हुन्छ।
      • (३) निवार्तामा वार्तानायकको भन्दा वार्ताकारको कला, कुशलता, कल्पनाशक्ति र प्रतिभाको बढी भूमिका र महत्त्व भई वार्तासमेत निबन्धका रूपमा रूपायित हुन्छ र यसमा केहीरूपमा संस्मरणात्मकता पनि हुन्छ, आदि।
    • २.४.३. निसमीक्षा/निसमालोचना ः

'निबन्ध' शब्दको 'नि' उपसर्ग र 'समीक्षा' शब्दको योगबाट निसमीक्षा शब्दको निर्माण भएको छ। निबन्धात्मक वा नैबन्धिक शैलीमा लेखिएका समीक्षा/समालोचनालाई निसमीक्षा भनिन्छ। 'निसमीक्षा' शब्दको प्रयोग नेपालीमा नपाइए पनि 'नैबन्धिक समालोचना' शब्दको प्रयोग भने नेपालीमा भएको पाइन्छ। नेपालीमा 'नैबन्धिक समालोचना' शब्दको सर्वप्रथम प्रयोग सम्भवतः यसै पङ्क्तिकार (लक्ष्मणप्रसाद गौतम)बाट भएको हो। समीक्षा/समालोचनाको भाषाशैली वस्तुगत हुन्छ र हुनुपर्छ। कतिपय समालोचकहरूले आफ्ना समालोचनामा आत्मगत/आत्मपरक भाषाशैलीको प्रयोग गरेका हुन्छन्। त्यस किसिमका समालोचनामा निबन्धात्मक गुण रहने हुँदा तिनलाई निसमीक्षा/निसमालोचना/नैबन्धिक समालोचना भन्नु उपयुक्त हुन्छ। यस्ता निसमीक्षा/निसमालोचनाका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

      • (१) निसमीक्षा/निसमालोचनामा वस्तुपरक र आत्मपरक दुवै शैलीको प्रयोग हुन्छ र समीक्षा/समालोचनामा निबन्ध तत्वको उपस्थिति हुन्छ।
      • (२) निसमीक्षामा निबन्धमा समालोचना तत्वभन्दा पनि समालोचनामा निबन्ध तत्त्व बढी हुन्छ र यसै गुणले गर्दा यो सम्प्रेष्य हुन्छ।
      • (३) निसमीक्षामा विषय, कथ्य र समीक्ष्यवस्तुको ठोस नभई तरल विश्लेषण हुन्छ, आदि।
    • २.४.४.निपत्र ः

निबन्धात्मक शैलीका पत्र र पत्रात्मक शैलीका निबन्धलाई निपत्र भनिन्छ। नेपालीमा 'निपत्र' शब्दको प्रयोग नभए पनि कृतिगतरूपमा पत्रसाहित्यका नामले यस्ता रचना धेरै आएकाले तिनलाई निपत्र भन्नु समीचीन हुन्छ। यस्ता निपत्र आत्मपरक शैलीमा लेखिने हुँदा तिनमा प्रथम पुरुष दृष्टिबिन्दुकै प्रयोग हुन्छ। नेपालीमा वनमाली निराकारको 'पत्रसञ्चयन' यसको उदाहरण हो। विशेषतः साहित्यिक स्वरूपमा लेखिने अनौपचारिक पत्रहरूमा यस्तै निबन्धात्मक गुण हुने भएकाले निपत्र नाम उपयुक्त देखिन्छ। निपत्रका प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः

      • (१) निपत्रमा पत्रात्मक शैलीको प्रयोग हुन्छ र निबन्धात्मक गुण हुन्छ।
      • (२) यसमा प्रसङ्गअनुरूप वैयक्तिक, दार्शनिक, साहित्यिक, वैचारिक आदि विविध किसिमका अन्तर्वस्तुको अभिव्यक्ति हुन्छ।
      • (३) यसमा औपचारिक वा कार्यालयीय पत्रहरू प्रविष्ट हुँदैनन् र वैयक्तिक पत्रहरूमा मात्र निपत्रात्मक गुण हुन्छ, आदि।
    • २.४.५ रुबन्ध ः

नाटक/एकाङ्कीलाई बुझाउने 'रूपक' शब्दको 'रु' र 'निबन्ध' शब्दको 'बन्ध' शब्द मिलेर रुबन्ध शब्दको निर्माण भएको हो। रूपक वा नाटकीय शैलीमा लेखिएका निबन्धलाई रुबन्ध भनिन्छ। नेपालीमा 'रुबन्ध' शब्दको सर्वप्रथम प्रयोग बालकृष्ण पोख्रेलले गरेका हुन्। रुबन्धमा रूपकीय/नाटकीय संरचना र निबन्ध तत्वको सम्मिश्रण हुनेहुँदा यस्ता रचनामा संवाद र आत्मपरकता दुवैको प्रयोग पाइन्छ। रुबन्धका मुख्य अभिलक्षणहरू यसप्रकार छन् ः

      • (१) रुबन्धमा नाटकीय तत्त्व र नैबन्धिक तत्वको उपस्थिति रहन्छ।
      • (२) यस्ता रचनामा संवादहरूको समेत प्रयोग गरेर निबन्धलाई नाटकीयता प्रदान गरिन्छ।
      • (३) यस्ता रचनामा आत्मालापीय र वार्तालापीय दुवै किसिमको संवाद हुन्छ, आदि।

निबन्धका उपर्युक्त वर्गीकरण /प्रकारहरूका अतिरिक्त सूक्ष्मरूपमा हेर्ने हो भने अन्य धेरै प्रकारहरू देखिन्छन्। रेखाचित्र वा स्केच, आत्मालाप/आत्मकथा, दैनिकी आदिमा पनि नैबन्धिक गुण पर्याप्त मात्रामा हुन्छन् र ती व्यापक अर्थमा निबन्धअन्तर्गत नै पर्दछन्। निबन्धका जतिसुकै भेदोपभेद भए पनि/देखिए पनि मूलतः वस्तुपरक निबन्ध (प्रबन्ध) र आत्मपरक निबन्धभित्र निबन्धका सबै प्रकारहरू समाहित हुन्छन्। जीवनीमा पनि आत्मपरक नैबन्धिक गुण हुन्छ भने टिप्पणीहरूमा पनि नैबन्धिक तत्वको उपस्थिति रहन्छ। यसरी हेर्दा निबन्धका धेरै सूक्ष्म भेदहरू देखिन्छन्।

साराशं[सम्पादन गर्नुहोस्]

निबन्ध कुनै न कुनैरूपले आत्मप्रकटीकरण गर्ने सशक्त माध्यम हो र यो अनौपचारिक रचनाविधान हो। साहित्यका अन्य विधाजस्तै निबन्ध पनि गतिशील विधा भएकाले यसको स्वरूप, संरचना र शैलीमा पनि परिवर्तन भएको छ र नयाँ-नयाँ स्वरूप, संरचना र शैलीका निबन्धहरू देखिएका छन्। पछिल्लो समयमा आएर अन्तर्विधात्मक प्रभाव / विनिर्माण / विधाभञ्जन / विधामिश्रण / विधान्तरण / नवउपविधा प्रवर्तन आदिका कारण अबको निबन्ध पारम्परिक छैन।

आजको निबन्धमा नाटक छ, कविता छ, आख्यान छ, समालोचना छ, दैनिकी छ, पत्र छ, दर्शन र सिद्धान्तहरू छन्, त्यतिमात्र होइन साहित्येतर धेरै सन्दर्भ छन् र विज्ञान छ, अनि प्रविधि संस्कृति पनि छ। यी सबै कारणले अबको निबन्धलाई परम्परित वर्गीकरण गरेर पुग्दैन र निबन्धले मागेका निर्धारक आधारहरूमा आधारित भएर अबका निबन्धलाई वर्गीकरण प्रकटीकरण गर्नुपर्छ। निबन्धमा अन्तर्विषयकता र नवप्रयोगहरूका कारण पनि यसको अन्तिम वर्गीकरण त्यति सहज छैन। समग्रमा भन्नुपर्दा निबन्धका स्थूल र सूक्ष्म वर्गीकरणबाट यसका मानक प्रकारहरू खुट्याउन र छुट्याउन सकिन्छ।

प्रमुख सन्दर्भसूची[सम्पादन गर्नुहोस्]

  • त्रिपाठी, वासुदेव, साहित्य सिद्धान्त : शोध तथा सिर्जना विधि, काठमाडौँ : पाठ्यसामग्री पसल, २०६६।
  • प्रधान, शिव, सम्पा, बृहत् समालोचना, सिक्किम : गान्तोक प्रकाशन, २०४५।
  • बराल, ईश्वर र अन्य, सम्पा, नेपाली साहित्यकोश, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५।
  • शर्मा, मोहनराज, समकालीन समालोचना : सिद्धान्त र प्रयोग, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५।
  • सुवेदी, राजेन्द्र, सम्पा, स्नातकोत्तर नेपाली निबन्ध, काठमाडौँ : पाठ्यसामग्री पसल, २०५०।
  • सम्पा, दाडिमको रूखनेर चौथो संस्करण, ललितपुर : साझा प्रकाशन, २०५९।
  • [१] भाषा/साहित्य समीक्षा, डा. लक्ष्मणप्रसाद गौतम, मधुपर्क २०६७ जेठ