नैतिक दृष्टान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नैतिक दृष्टान्त (१९७४) कविता लेखनाथ पौड्याल द्वारा लिखित कविता हो। यस कवितामा कवि लेखनाथ पौड्यालले प्रकृति र धर्म/संस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएका छन् ।


मूलपाठ. नैतिक दृिष्टानट[सम्पादन गर्नुहोस्]

बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-संमत ।

छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। १ ।।

गर्दैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।

बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। २ ।।

दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।

रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। ३ ।।

कसैको लोकमा छैन एकैनास समुन्नति ।

अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। ४ ।।

छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।

उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ।। ५ ।।

ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽधिक ।

गरदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ।। ६ ।।

टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।

बोलने को अँध्यारोमा महाऽऽत्मा जुन्किरीसित ।। ७ ।।

सानै देखी छुचो हुन्छ दुष्ट मानिसकि मति ।

घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।। ८ ।।

मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।

एकता हेर कस्तो छ मौरीको महमा सदा ।। ९ ।।

जो दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।

जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ।। १० ।।

हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।

कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।। ११ ।।

गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।

कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।। १२ ।।

योग्य  स्थानविषे मान सानाले पनि पाउँछ ।

कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।। १३ ।।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। १४ ।।

मेटिँदैन कसैबाट आफनू कर्मपद्धति ।

बनवासी बनेर राम चौधै भुवनका पति ।। १५ ।।

धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।

मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।। १६ ।।

सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।

रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ? ।। १७ ।।

सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।

श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।। १८ ।।

मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।

दूधपान गरी सर्प खालि विष बहाउँछ ।। १९ ।।

सारांश[सम्पादन गर्नुहोस्]

  1. ठूलाले गरेका कार्यलाई सबैले मान्दछन्, जसरी भगवान् शिवको नाङ्गो र मगन्ते भेष कहीँ निन्दा गरिएको छैन ।
  2. ठूला व्यक्तिहरूले आफ्नो मर्यादा नाघ्न हुँदैन, जसरी ठूलाठूला नदी/समुद्रहरू आफ्ना सीमामै बसेका हुन्छन् ।
  3. गुणी मानिसको थोरै दोष भए पनि दबिन्छ, जसरी चन्द्रमा तेजले उसको दाग छोप्दछ ।
  4. संसारमा कसैको एकैनास उन्नति हुँदैन, अर्थात् उतार-चढाव हुन्छ नै । नत्र साँझमा सूर्यको गति हेर्दा हुन्छ ।
  5. सानो मानिस एकैचोटि बढ्दा फूर्ति बढाउँछ, जसरी उर्लँदो खहरे बेस्सरी गड्गडाउँछ ।
  6. सोझो हुनुभन्दा केही हदसम्म टेढिनु राम्रो हुन्छ । ग्रह सोझो भए कसैले पनि पूजा गर्दैनथे ।
  7. मूर्खमध्ये जस्तोसुकै मूर्ख पनि प्रतिष्ठित हुन्छ । अँध्यारोमा जुनकिरीसँग बोल्न को महात्मा आउँछ ?
  8. दुष्ट मतिका मानिस सानैदेखि छुच्चो हुन्छ, जसरी घोच्ने जङ्गली काँडाहरू पहिले कति तीखा हुन्छन् ।
  9. सँगै मिलेर एकजुट हुनु फाइदाजनक छ, जसरी मौरीले मह पार्दा एकजुट हुन्छ ।
  10. जो काम गर्दैन, उसैले बढी हल्ला गर्छ । त्यसैले त नवर्षिने मेघले नै सधैँ घर्घर गर्छ ।
  11. मौका पर्दा शत्रुको पनि सेवा गर्नुपर्छ, जसरी कोइली सानोमा कागकै बच्चाझैँ हुर्कन्छ ।
  12. गुण नमान्ने ठाउँमा गुणीले के गर्न सक्ला । भिल्लहरूका देशमा मणिजस्तो बहुमूल्य चीज कौडीमा समेत मिल्काइन्छ ।
  13. उचित स्थानमा बस्दा सानाले पनि मान पाउँछ, जसरी कालीगण्डकी नदीका तीरको ढुङ्गा पनि शालिग्राम देवताका रूपमा पुजिन्छ ।
  14. गुणी व्यक्ति सधैँ निहुरिन्छ अर्थात् आफूलाई ठूलो ठान्दैन, जसरी फलसहितको हाँगो झुकेकै हुन्छ ।
  15. आफ्नो भाग्यमा लेखिएको कुरा कसैले मेटाएर मेट्दैन, त्यसैले त चतुर्दश भुवनका स्वामी श्रीराम वनवासमा जानुभयो ।
  16. दुःख पर्दा धैर्य राख्नु धर्म हो, जसरी जाडोयाममा कोइली गाएको सुनिँदैन अर्थात् मौनव्रतमा बसेझैँ हुन्छ ।
  17. गुणीले सार वा भाव मात्र लिन्छ र वस्तुको मोह गर्दैन, किनकि भमराले रस चुसेपछि फूलमै वास बस्दैन ।
  18. दुष्ट मानिस असलका संगतमा रहँदा पनि दुष्ट नै हुन्छ, जसरी श्रीखण्डमा बसे पनि सर्पको विष यथावत् नै हुन्छ ।
  19. मूर्खलाई केही अर्ती दिँदा गाली गरेझैँ लाग्छ । त्यस्तै, दूध खाए पनि सर्प मात्र आफ्नो विष बढाउँछ ।