पुतली (वाल कविता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुतली(वाल कविता) लक्ष्मीप्रसाद देवकोटाका केही मुख्य कृतिहरू मध्ये एक हो ।

Butterfly


म रङ्गीचङ्गी छु वसन्त छोरी । म जन्मिएँ कोकिलले कर्राई ।। झुसिल्किराको सपना सिँगारी । दिए पखेटा प्रभुले मलाई ।।१।।

म हूँ पहीली बुझ पङ्खदार । वसन्तको फूल लिँदी सिँगार ।। कता कताको सुकुमार सार । फुलेर उठ्दो क्षणको विचार ।।२।।

आकाश जस्तो सुनसान चित्त । हुँदा फुरी भाव नयाँ विचित्र ।। इन्द्रनी जस्तो रंगरुप पाई । उचालिए झै म उडें रमाई ।।३।।

म बीउ झै ली सपना सुतेथें । झरी र छाया अनि घामभित्र ।। क्यै कुत्कुतीले बुझ पङ्खदार । बनी उडें क्या कलिली विचित्र ।।४।।

सिँगारिएका कति रङ्ग जाति । धुलो सुनौला दुइ पङ्खमाथि ।। हालै बनाएर परी मलाई । वसन्तको बाग दिए बनाई ।।५।।

ठिटी म सानी अनि रूपखानी । हूँ र्स्वर्गकी एक परी बयानी ।। बुन्छन् पखेटा प्रभुले मलाई । तरङ्गको तान लिई रँगाई ।।६।।

बनी हलूका सुख झैं सलक्क । म नाच्छु फुर्फुर्र घुमी फरक्क ।। जहाँ म जाने मन गर्छु फिर्छु फुका हँसीली रसिली विचर्छु।७।।

चुसेर मीठा रस फूलमाथि । गमक्क भै मस्त बसेर जाति ।। म बन्छु ध्यानी सुखको वसन्ती । न छोप्न खोजे तर यत्ति बिन्ति ।।८।।

सुरुक्क पारी रस फूलबाट । चुसेर मीठो अति मस्तसाथ ।। छोपी अँगालोसित पङ्खद्धारा । म देख्छु सातौँ सब र्स्वर्ग प्यारा ।।९।।

पिलिक्क पारिकन चट्ट आँखा । काला उज्याला कतिका चनाखा ।। म हेर्छु छन् फूल कहाँ उज्याला । भनेर आफ्ना रसदार प्याला ।।१०।।

बसेर प्यूँदो रस थोर बेर । मजा अनौठोसँग मस्त हेर ।। मर् इशको जो रस बासवाला । चाखिरहेको छु चुमेर प्याला ।।११।।

अरू उडेको सुखमा हलुका । अरू रमेको रसभित्र नीका ।। देखेर आफै पुतली बनेर । नाचें दिलैमा सुख मिल्छ हेर ।।१२।।

सौर्न्दर्यको रूप भजेर रङ्गी । त्यहाँ हुने जो रस चुस्नु सङ्गी ।। त्यही सबै र्स्वर्ग भनेर जान । मिल्ला त्यहा इश्वर गन्ध पान ।।१३।।

झुसिल्किराको सपना सिँगारी । दिए पखेटा प्रभुले फिजारी ।। म डुल्छु सारा वन खेत बारी । बनेर आँखाकन रूप भारी ।।१४।।

छ शक्ति क्या हेर विचित्र नानी । चोली रँगीलो लिनकी म ध्यानी ।। झुसिल्किरा तुच्छ खराबबाट । जन्में म कस्तो रँग-रूपसाथ ।।१५।।

बसेर यौटै मनभित्र ध्यान । गरेर सारा मनलाई तान ।। बदलिन्छ चोला रँग मिल्छ राम्रो । देखिन्छ त्योर् इश्वर हेर हाम्रो ।।१६।।

पाइन्छ मीठा रस चट्ट प्यूँन । पुगिन्छ क्या र्स्वर्ग वसन्त ज्यूँन ।। जहाँ छ राम्रो उसतर्फउड्न । लिई पखेटा फुर्रुर्रुर हिँड्न ।।१७।।