प्रयोगकर्ता:सुभक महतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

-सुभक महतो लिपुलेक : आफ्नै देशमा जान भारतको अनुमति पत्र आवश्यक !

एक पटक कल्पना गर्नुहोस्, आफ्नै धर्तीमा पाइला राख्नको लागि अनुमति चाहिँदा कस्तो होला? हो, यो सत्य हो। यदि तपाईँसँग अनुमति छैन भने तपाईँ आफ्नै देशको अर्को भूभागमा जान सक्नुहुन्न। पश्चिम नेपालको दार्चुला जिल्लाका उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने हाम्रा दाजुभाइहरुको पीडा हो यो। बाध्यता हो यो।

नेपालतर्फबाट पुग्न अत्यन्तै कठिन छ र त, महाकाली नदी पार गरेर भारतीय भूमि हुँदै आफ्नै देश छिर्नको लागि भारतीय अनुमति लिनुपर्छ। देशका अन्य सीमावर्ती क्षेत्रहरुबाट भारत आउजाउ गर्न निस्फिक्री पाइन्छ। तर, दार्चुलाको उत्तरी क्षेत्रमा जानु पर्‍यो भने भारतीय प्रशासनसँग ट्रान्जिट पास अर्थात् अनुमति लिनु पर्छ दार्चुलाबासीले।

हाम्रा आम नेपाली दाजुभाइहरुले पाइरहेको यो पीडा अनि राष्ट्रियतामा आँच पुग्ने गरी भारत र चीनबीच भएको लिपुलेक सम्झौताको पृष्ठभूमिमा लिपुलेक पुग्ने हाम्रो संकल्प थियो।

मिसन पिलर नम्बर एकका लागि हामी दार्चुलाको सदरमुकाम खलंगा बजार पुग्छौं। कस्तो अचम्म, हाम्रै लिपुलेक जानका लागि पनि जिल्ला विकास समितिमार्फत् बहुयात्रा अनुमति पत्र लिनुपर्ने रहेछ। ५० रुपैयाँ तिरेपछि मात्रै बहुयात्रा अनुमति पत्र दिन्छ जिल्ला विकासले।

आफ्नै भूमि लिपुलेक जानका लागि हाम्रै प्रशासनले बनाइदिएको बहुयात्रा अनुमति पत्र यस्तो छ हेर्नुस्-

आफ्नै देश जान पनि जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय धाएर अनुमति पत्र बनाउनु पर्ने? यसको पीडाले जोकोही आम नेपाली नागरिकको मन भारी हुन्छ र हाम्रो पनि भयो।

तर यति मात्रै पनि होइन पीडा। एउटा अनुमति पत्रको म्याद ६ महिना हुन्छ र त्यो पनि आम नेपालीले होइन, दार्चुलाका जनताले मात्र पाउँछन्। आफ्नै देशमा जाँदा पाइने झण्झट यति मात्र पनि होइन। जब दार्चुलाबाट महाकाली नदीको पुल पार गरेर भारतीय भूमि धार्चुला पुगिन्छ, अत्यन्तै कडा चेक जाँच हुन्छ भारतीय सुरक्षाकर्मीको।

नेपाली प्रशासनले बहुयात्रा अनुमति पत्र दिएपनि भारतीय प्रशासनले चाहेन भने हामी फर्किन बाध्य हुनुपर्छ। यदि भारतीय प्रशासनले स्वीकृति दियो भने नेपाल प्रशासनले दिएको अनुमति पत्रमा उनीहरुले लालमोहर लगाइदिन्छन्।

यसरी हाम्रो भूमि लिपुलेकलगायत दार्चुलाका उत्तरी भेगमा जानको लागि हामीले चाहेर वा हाम्रो प्रशासनले चाहेर मात्र हुँदैन। जबसम्म भारतीय प्रशासनले अनुमति दिँदैन तबसम्म हामी त्यस भागमा जान पाउँदैनौं। र यो पनि स्मरण गराउँछौँ कि नेपाल र भारतका नागरिकहरुले एक अर्काको देशमा बिना रोकटोक र पासपोर्टमा भिसा नलगाइकन घुम्न सक्ने कानूनी व्यवस्था नै छ।

(महतो एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन्।