प्रयोगकर्ता:49.244.96.188/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

३.२ शीर्षकीकरण र विचार झमक घिमिरेद्वारा रचित 'जीवन काँडा कि फूल' आत्मजीवनी परक निबन्ध हो। यस निबन्धमा झमकले आफ्ना मनका विचारहरू उल्लेख गरेकी झमकको जीवनमा जे-जति उथलपुथल भए ति सबै निबन्धमा प्रस्तुत गरिएको छ। यो निबन्ध झमकको जीवनीको खुल्ला किताब हो। झमक को हुन्?, के गर्छिन्, कसरी गर्छिन् जस्ता सम्पुर्ण कुराहरू यसै निबन्धबाट थाहा पाउण सकिन्छ। यसमा उनले जानेका, बुझेका र भोगेका कुराहरू समावेश गरिएको छ।

झमकले यस निबन्धमा विभिन्न शीर्षकहरू दिँदै त्यही शीर्षकहरूलाई अर्थ्याउने क्रममा आफ्नो जीवनको सम्पुर्ण वृतान्तहरू पोखेकी छिन्। उनको विचारहरू पनि त्यही शीर्षक, उपशीर्षक हुँदै निबन्धमा पोखिएका छन्। 'जीवन काँडा कि फूल' कृतिभित्र पनि उनले विविध शीर्षकहरूलाई आफ्नो कृतिमा समावेश गरेकी छिन्। ति शीर्षकहरूलाई तल छोटकरीमा वर्णन गरिएको छ।

यस 'जीवन काँडा कि फूल' निबन्धमा 'हजुरआमा र लिङ्ग भेद' नामक शीर्षक रहेको छ। यस शीर्षक झमकले लिङ्ग विभेदका बारेमा आफ्नो विचार प्रकट गरेकी छिन्। झमक नेपाली ग्रामिण समाजमा जन्म भएकी नारी भएकीले उनी पनि लिङ्ग विभेदबाट भने टाढा रहन सकिनन्। झमककै परिवारमा छोरा-छोरी बीच पनि भेदभाव गरेका छन्। तर झमक सबैलाई समान व्यवहार गर्नुपर्दछ भन्छिन्। छोरा-छोरी दुबै गर्वबाट जन्मेका हुन् र दुबैलाई समान माया-ममता दिनुपर्दछ भन्ने विश्वास राख्छिन्। उनलाई लिङ्ग भेद गरेको पटक्कै मन पर्दैन थियो।

त्यसैगरी "आशाका किरणहरू' शीर्षकमा उनले कालो बादलका धब्बाहरू बिस्तारै-बिस्तारै फाट्दै अनन्त आकाश छ्याङ्ङ देखिएझैँ उनले पनि निराशामा पनि आशाका किरणहरू देख्न थालेको विचार उजागर गरेकी छिन्। यस शीर्षकमा उनले आफ्ना आमाबाबु, समाजका ठूला-बढा भनिदाहरू प्रति आक्रोश पोख्नुका साथै समाजसँग प्रश्न समेत गरेकी छिन्। झमकले अक्षर सिक्नमा धेरै सङ्घर्ष गरिन्। सङ्घर्षका क्रममा उनले धेरै अपशब्द, खरोपना शुन्नु पर्यो। उनको जीवनमा सरलता भन्ने शब्द नै थिएन जस्तो अाभाश हुन्छ। समाजले शारीरिक रूपमा अपाङ्ग भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ। यहाँ सम्म की झमकलाई पनि बडा दशैँमा टिका लगाएर आर्शीवाद दिंदा सबैले मृत्युको कामना गरे। समाजले मात्रै होइन, उनको बाबाले पनि मृत्यको नै आर्शीवाद दिए। यसरी उनलाई अपूूर्ण भन्ने पूर्ण मानिसहरूसँग उनी पूर्णताको परिभाषा माग्दछिन्। ति स्मृतिका पानाहरू नियालेर झमक आज उनले आफ्ना खुट्टाले कलम समातेर लेख्न नजानेकी भए उनी आज अध्यारो कुनामा मृत्युको पर्खाईमा बसिरहेको हुन्थे भनेर ती काला दिनको कल्पना गर्छिन्। धन्न उनी जिउँदो लास हुनबाट जोगिइन्। यसमा न त समाजको साथ थियो न त परिवारको साथ, उनलाई उनकै स्वविवेकको र आत्माको साथ थियो।

'शब्दको उत्सव' शीर्षकमा झमकले स्वतन्त्रताका बारेमा आफ्ना अनुभवहरू व्यक्त गरेकी छिन्। अरूको अधिनमा बस्ने मानिसले भन्दा स्वतन्त्र बस्ने मानिसले खुल्ला रूपमा सोच विचार गर्न र निर्णयहरू लिन चाँडो सिक्दछ। झमकको बाबु-आमाले स्वतन्त्र रूपमा उनलाई छोडिदिएकोले नै १०।११ वर्षको उमेरमा नै उनले आफ्नै खालका विचार, भावना, आस्था र विश्वास बनाउँदै लगिन्। "सबै मान्छे भने म चाँहि के? के म मान्छे होइन? सबै मान्छे भने किन अरू र ममा भेद?" यी संस्कृतिका विभेदक पर्खालहरू भत्काएर समताको संस्कृति निर्माण गर्न उनी चाहन्थिइन्। सानो मन भएको सानो मान्छे। सानो मान्छेलाई स्वतन्त्रता दिइयो भने उसले धेरै कुरो सोच्न, गर्न सक्छ। त्यस्तै उनलाई पनि अभिभावकहरूले त्यस प्रकारको स्वतन्त्रता नदिएको भए, जीवनका यति धेरै रङ छुन, छाम्न, अनुभूति गर्न सक्दिनथे भन्ने उनको भनाइ छ।

झमकले यस निबन्धमा "जातीय विभेदहरू बिच म' भन्ने शीर्षकमा समाजमा जात कसरी छुट्याइन्छ, र ती जातिय विभेदमा पनि झमकको स्थिति कस्तो थियो भनेर उल्लेख गरेकी छिन्। नेपाली समाजमा पहिले देखि नै जातिय भेदभाव रहेको छ। झमक भन्छिन् मान्छेलाई मान्छे नठान्ने समाजको संरचना भित्र जन्मेकी उनी, ठूला जातको कुलघरानमा जन्मेकी भए पनि उनले कहिल्यैँ जातपातको करा मानिनन्। उनी सबैलाई समान दृष्टिले हेर्ने गर्थिन्। उनी ठकुरीको परिवारमा जन्मिएकी कारण उनको परिवारमा जातभातको विभेद गरिन्थ्यो। खासगरी उनको हजुरआमा। हजुरआमाको मृत्युपछि आमाबाबु। तर उनी सानै देखि सबै मानिसलाई समान ठान्ने भएकीले आमाबाबु घरमा नहुँदा भाइबहिनीसँग खेल्ने साना जातका केटाकेटीलाई आफ्नो घरभित्र पस्न दिन्थिइन्। समाजले उनलाई लाटो जातको श्रेणीमा राखेपनि उनले सबैलाई समान व्यवहार गर्थिन्। छुवाछुत रहित समाज भए कस्तो हुन्थ्यो होला भनेर कल्पना समेत गर्छिन्।

"विभेदको युद्धमा म एउटा बोझ" शीर्षक भित्र समाजले झमकका बारेमा प्रस्तुत गरेका विचारहरू र ती समाजका विचारहरू माथि झमकको प्रतिकारका बारेमा उल्लेख गरिएको छ। झमक शारीरिक रूपमा अशक्त थिइन्। समाजले मान्छेको जातहरूको बिचमा पनि उनको जात छुट्टै बनाएको थियो। उनलाई अपहेलितहरूको माझ पनि अपहेलित जात लाटो भनेर नाम भनौ या जात छुट्याइएको थियो। हाम्रो नेपाली समाजमा स्त्रीजातिलाई तल्लो जातमा हेरिन्छ। त्यसमाथि झमक त झन् स्त्रीमा पनि लाटी। त्यसैले समाजले उनलाई सँधै घृणित रूपमा व्यवहार गर्यो। त्यति सानो उमेरमा नै उनले आफ्ना आमाबाबु र समाजमा धेरै तिरस्कारका अपशब्दहरू सुन्नु परेकोमा उनलाई बाँच्न मन लाग्दैन थियो। जसले जति सुकै नचाँहिदा कुरा गरे पनि उनले के नै पो गर्न सक्थिइन्। उनी मान्छेकै हुलमा मिसिएर, जिन्दगीको युद्ध लडेकी थिइन्। उनले धार्मिक, सांस्कृतिक, सामाजिक पर्खालहरूसँग युद्ध गर्नुपरेको थियो। उनले आफ्नो परिवार समाजमा आँफैलाई बोझ सम्झिन थालेकी थिइन्। हाम्रो नेपाली समाजमा बालिकाको, युवतीको, नारीको र अपाङ्ग व्यक्तिहरूको स्थान सधै अपरिभाषित र असुरक्षित देखेर झमकले त्यस विरुद्ध विद्रोह जनाएकी छिन्। उनले समानतको विचारलाई अगाडी ल्याएकी छिन्।

"किशोरावस्थाका चेतना र उत्सुकता" यस शीर्षकमा भने जस्तै झमकले आफ्नो किशोरावस्थाको बारेमा चर्चा गरेकी छिन्। मानिसहरू सधै एउटै अवस्थामा रहदैँनन्। जन्मे पछि मृत्यु नहुन्जेलसम्म मानिसका हरेक शारीरिक अङ्गहरूको अवस्थामा परिवर्तन आइरहन्छन्। पहिले शिशु, बालक, किशोर, युवा हुदै बुढेसकाल लाग्छ अनि मृत्यु हुन्छ। त्यसैगरी झमक पनि किशोरावस्थामा पुगिन्। अब अरू स्त्रीहरूको जस्तै उनको पनि शारीरिक अंगहरू वृद्दि हुनथाले। बुद्धि, व्यवहारहरू बढ्दै गए। कोशोरावस्थामा मानिस अलि जिद्दी स्वभावको हुने गर्दछ। त्यसतै झमक पनि स्वभाविक रूपमा आवेग र अवेशमय थिइन्। उनी पनि एेनामा आफ्नो अनुहार हरि आफैँ लजाउने गर्थिन्। आफ्नो वयान आफै गर्थिन्। यो उमेरमा उनको विवेक र ज्ञान बढिसकेको थियो। उनी असल खराब छुट्याउन सक्ने भइसकेकी थिइन्। तै पनि आफूलाई चाहिएको सामानहरू नपाउँदा उनले आमाबाबुको पैसा पनि सफाचट गरिन्। पाप कसरी लाग्छ भनेर जान्न चल्लाहरू मारिन्। आफूलाई चित्त नबुझेका कुराहरूलाई लेखेर विरोध गरिन्। उनले नियति पनि कति निष्ठुरी! भनी नियतिमाथि नै प्रश्नचिन्ह उठाइन्। यो उमेरमा भावनात्मक रूपमा माया, ममताको कमीको आभास गर्न थालिन्। आफूलाई परिवार, आफन्तहरूको बीचमा पनि एक्लो महशुस गर्न थालिन्। झमक किशोरावस्थामा पुगे पछि बढी स्वतन्त्रताको चाहाना गर्थिन्, सबै कुरामा आफ्नो स्थान सुरक्षित होस् भन्ने चाहन्थिइन्। तर उनको यो चाह कहिले पूरा भएन। सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक, धार्मिक संरचनाहरू छोरी जातिका पक्षमा कहिले बलियो र सुरक्षित हुदैन भनेर उनले समाजमा नारीको स्थान कुन श्रेणीमा रहेछ भन्ने कुरा उल्लेख गरिन्। यहाँ पनी उनले समाजको संस्कारप्रति विरोध नै जनाएकी छिन्।

जन्मेको ११ औँ दिनमा पुरोहितले हरेक शिशुको नामाकरण गरिदिएका हुनछन्। त्यसैगरी झमकले पनि आफ्नो नाम पाइन्। तर विडम्बना उनी ११/१२ वर्षको हुँदा सम्मपनि उनलाई 'झमक कुमारी भनेर आफ्नो नाम थाहा थिएन भनेर 'नामसँग विद्रोह' शीर्षकमा उल्लेख गरेकी छिन्। जब उनले आफ्नो नाम थाहा पाइन् उनलाई आफ्नो नाम एकदमै राम्रो लाग्यो। अनि भन्नि गर्थिन् मेरो 'झमक' यति राम्रो नाम हुदाँहुदैँ पनि किन नामले कहिल्यैँ डाक्दैनन्। झमक सानै बेलादेखि अलि विद्रोही स्वभावकी भएकी कारणले उनलाई लिङ्गभेद गरेको मन पर्दैन थियो। त्यसमा पनि उनको नाम पछाडि पनि कुमारी भएकोमा उनले त्यो कुमारी हटाउने धेरै प्रयास गरिन्। उनले आफ्नो बाबु यहाँ सम्मकी सिडियो साहेबसँग पनि कुमारी हटाउनका लागि विद्रोह गरिन्। अन्तत! धेरै मेहनत र सङ्घर्षपछि उनले झमक घिमिरेका नामबाट नै नेपाली नागरिकताको प्रमाणपत्र लिइन्। यसरी झमकले मुखले मात्र होइन कि आफ्नै व्यवहारमा पनि लिङ्ग भेद गर्नु हुदैन भन्ने भावना राख्दथिइन्। उनी समाजमा उदाहरणको रूपमा नै प्रस्तुत भइन्। उनी झमक घिमिरेको नामबाट नै फुल्न, प्रक्रिन चाहन्थिइन्। उनी आफ्नो नामप्रति गौरव गर्थिन्। यसरी जति उमेर बढ्दै गयो, व्यवहारिक हुँदै गइन् र समाजको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, लैङ्गिक पक्षसँग त्यति नै विद्रोही बन्दै गइन्। उनलाई समाजका सबैकुरा अन्धविश्वास लाग्थयो। यसरी जिन्दगीसँग विद्रोह, प्रत्येक समयसँग विद्रोह गर्दागर्दै झमकले आफ्नै नामसँग पनि विद्रोह गरिन्।

'ऋतुधर्म र बैँस' शीर्षक भित्र पनि झमकले नेपाली समाजको अन्धविश्वासलाई वर्णन गरेकी छिन्। उमेर बढ्ने क्रममा उनमा ज्ञानको विकास पनि हुदै गयो। झमक बच्चै देखि जिज्ञासु र उत्सुक स्वभावकी थिइन्। उनलाई हरेक कुराको आफैले अनुभव गर्नुपर्दथ्यो। त्यही कारणले उनले भगवान् मान्ने ढुङ्गालाई फालिदिइन्, आफू भन्दा तल्लो जातको केटाकेटीलाई घरभित्र छिराइन्। उनी अरूलाई अन्धविश्वासबाट बाहिर निकाल्न नसके पनि आफू भने हरेक परिक्षण पश्चात समाजको कुरीति, कुसंस्कारबाट बाहिर निस्किन सफल हुन्थिन्। यसमा अरूले साथ नदिएपनि उनलाई आँसु, दु:खहरूले भने सधै नै साथ दिन्थे। यस शीर्षक भित्र पनि उनले अन्धविश्वासबाट बाहिर निस्कने त्यसतै सङ्घर्ष गरेको कुरा उल्लेख छ। नारीहरू किशोरावस्थामा पुगेपछि रजस्वला हुने गर्दछन्। रजस्वला हुदाँ हाम्रो नेपाली समाजमा महिलालाई अपवित्र मानिन्छ। त्यस्तै झमकलाई पनि पहिलोपटक रजस्वला हुँदा अध्यारो कोठामा थुनेर राखिएको थियो। जहाँ घामका किरणहरू छिर्दैनथे। घाम र आफ्ना दाजु/भाई र बाबुलाई हेर्न हुदैन पाप लाग्छ भनेर। तर झमकलाई यस्ता कुरामा विश्वास नभइका कारण भाइलाई हेरिन्, घामलाई हेरिन्, अनि भनिन् मैले त हेरे खै न त मेरो भाइलाई नै केही भयो न त मलाई, यो मानिसहरूको भ्रम मात्र हो भन्थिन्। उनलाई आमाले जे नगर्नु भन्नुभयो, उनले त्यही गरिन् र आमाको गाली पनि खाइन्। तर जसले जे सुकै भने पनि उनले समाजको एउटा कुरीति माथि भए पनि आफ्नो विद्रोह जनाइन्। उनी आफ्नो अस्तित्त्वको खोजीका लागि आफ्नो विचारमा सधै अडिग रहिन्। कसैको दबाबमा आफ्ना विचार र निर्णयहरू परिवर्तन गरिनन्।

"सम्भावनाहरूको खोजी" शीर्षकमा झमकले समाजमा शारीरिक अपाङ्गता भएका मानिसलाई कुन रूपमा हेर्छन् भन्ने कुरा बताएकी छिन्। हाम्रो नेपाली समाजमा शिक्षित मानिसहरूले पनि अज्ञानी सोचलाई बढवा दिने गर्दछन्। झमक घरमा आउने शिक्षित मानिसहरूले झमकलाई यसरी लेखपढ गर्नुको सट्टा बरु बाटोमा माग्न बस, चटक देखा अनि पो पैसा कमाइन्छ भनेर तल्लो स्तरको कुरा गरेर गिज्याउने गर्थे। तर झमक विद्रोही स्वभावकी भएकी कारण प्रतिकार स्वरूप उनले म मागेर र चटक देखाएर खाने कुनै वस्तु होइन भन्थिन्। उनका यि कुरा सुनेर उनीसँग रिसाए पनि। तर झमक स्वभिमानी भएकीले उनलाई आफ्नो त्यो विचार प्रति कहिले पछुतो लागेन। उनलाई उनको बुबाको साथीहरूले कहिले काहिँ कागत र रङहरू दिने गर्थे। त्यसमा उनी खुट्टाले राम्रा-राम्रा चित्रहरू बनाउँथिइन्। ति चित्रहरू बुबाको साथीहरूले विदेश पठाइदिने आश्वासन दिन्थे। उनी पनि त मानिस नै हुन्, उनी अब भने म पनि विदेशमा चिनिने भइ भनेर खुसी हुन्थिइन् तर त्यो उनको क्षण भरको खुसी मात्र हुन्थ्यो। उनको चित्र कहिले विदेश पुगेन। तर उनी चाँडै निराश भइनन्। उनमा आशाका किरणहरू भने बाँकी नै थिए। सम्भावनाहरू भए पनि उचित अवसर नपाएपछि मान्छे आँफैमा खुम्चिँदो रहेछ। जति बढी अवसर र खुल्ला वातावरण पायो ऊ आफैँमा फैलिन्छ। उससँगका सम्भावनाहरूले फक्रिने मौका पाउँछन्। झमकसँग कलासँग खेल्न सक्ने सम्भावना भए पनि त्यो आफैँमा खुम्चिएर रह्यो। झमक भन्छिन् 'मैले आफैँमा फैलिन खोजिरहेँ र जिन्दगीले पनि सधै फुल्न खोजिरह्यो, खोजिरह्यो।

झमकले किशोरावस्था सम्म आइपुग्दा धेरै कविका किताबहरू पढ्ने मौका पाइसकेकी थिइन्। ति किताबहरू केही उनकी बहिनी मिनाले ल्याइदिन्थिन् त कुनै उनका घरमा बस्ने विद्यार्थी दाइहरूसँग मागेर पढ्थिइन्। "पुस्तक संसारमा प्रवेश" भन्ने शीर्षकमा झमकले आफूले पाएको पहिलो पुस्तकको बारेमा लेखेकी छिन्। त्यो पल उनले आजसम्म बिर्सिएकी छैनन्। पुस्तकको संसारमा प्रवेश गरेपछि झमकले धेरै ज्ञान हासिल गरिन्। उनलाई झन् ज्ञानको तिर्खा लाग्दै गयो। उनी अरू मानिसहरूसँग भन्दा पनि अब किताबका पात्रहरूसँग रमाउन थालिन्। पुस्तकका पात्रहरूजस्तै उनी पनि स्वतन्त्र भएर बाँच्न चाहन्थिइन्। बाबाआमाको अनावश्यक कुरामा पनि आदेश जारी गर्ने प्रवृत्ति पटक्कै मन पर्दैनथ्यो। के हाम्रा आफ्ना इच्छा, आकाङ्क्षाहरू हुन सक्दैनथे? आफ्ना लागि आफै केही गर्ने स्वतन्त्रता हुँदैन। किन हामीमाथि हरेक कुरामा शासन गर्न खोज्छन् आमाबाबाहरू? हामी उनीहरूकै सन्तान भएकै आधारमा उनीहरूको चाहनाअनुसार मात्र चल्नुपर्छ किन? झमकको मनले यस्ता प्रश्नहरूको सधै जवाफ खोजी रहन्थ्यो। उनलाई जसले जस्तो व्यवहार गरेपनि उनी सधै माया, सद्भावको भोको रहिन्। उनी जस्तो सुकै वातावरणमा हुर्के पनि उनको विचार भने सधै उच्च रहन्थ्यो। उनी थोत्रा, पुराना विचारका घरहरू भत्काएर नयाँ विचार, नयाँ चेतनाका सुन्दर घरहरूको निर्माण गर्न चाहन्थिन्।

'सिर्जनाका कोपिला' शीर्षकमा उनले आफ्ना सिर्जनाहरू कसरी रचना गरिन् भनेर उल्लेख गरेकी छिन्। उनी सामान्य मानिसहरू जस्तै सोच्ने गर्थिन्। उनमा हर्ने, विचार गर्ने, अनुभव गर्ने, उत्सुकता, जिज्ञासाहरू थिए। अरूको पुस्तकहरू पढ्दा आफू पनि त्यस्तै लेख्न पाए हुन्थ्यो भनेर सोचिरहन्थिन्। त्यहि क्रममा उनले आफ्ना भावनाहरू अक्षर मार्फत पोख्न थालिन्। यसरी सिर्जनाका बियाहरू छरिन् र निरन्तरको प्रयास पश्चात उनको सिर्जनाले साकार रूप लिए। यही शीर्षक भित्र झमकले भनेकी छिन् कि उनको खुट्टाले अक्षर लेख्ने कलालाई देखेर उनको घरमा आउने मान्छे छ्क्क पर्थे। उनी विस्तारै विस्तारै हल्लै-हल्लामा खुट्टाले अक्षर ले्ख्ने केटीको रूपमा चर्चित हुँदै गइन् र उनको घरमा मान्छे आउने क्रम जारी भयो। यही सबै मान्छेको आवतजावतका कारण उनको घरमा जातीय पर्खाल भत्कियो, अछुत जातका मान्छेलाई घरभित्र पस्न दिनु हुदैन भन्ने परम्परागत धारणा भत्कियो। यो बर्सौदेखि उभिएको विभेदको पर्खाल भत्किएकोमा झमक सार्है खुसी भइन्। उनले सोचेको समताको चिन्तनको जीत भयो। उनको विचारहरू विस्तारै वास्तविकतामा परिणत हुँदै थिए।

'फराकिलो बाटाको यात्रा' शीर्षकमा झमकले आफ्ना सिर्जनाहरूले पाठकसामू पुग्नका लागि कसरी बाटोहरू निर्माण भयो भन्ने कुरा उल्लेख गरेकी छिन्। पहिला उनी खुट्टाले अक्षर लेख्ने अचम्मकी केटीको रूपमा परिचित भइन्। त्यसपछि उनीसँग धेरै मानिसहरूको भेट भयो। ति मानिसहरूको सहयोग र हौसलाका कारण नै आज झमक साहित्यकारको रूपमा सबैसामू चिनिएकी छिन्। जब उनका लेखहरू प्रकाशनमा छापिए, त्यसपछि भने सिर्जनाको क्षेत्रमा झमकलाई फक्रिने माटो उर्बर बनाइदिए। जिन्दगीको साँघुरो बाटालाई फराकिलो बनाइदिए। झमकमा पनि नयाँ आँट, हिम्मत, जोस र जाँगर थपिदिए।

'पत्रहरूमा मन पोखिँदा' शीर्षकमा झमकले पत्र मित्रहरूको बारेमा बताएकी छिन्। झमकले आफ्ना भावनाहरू, विचारहरू पत्र मार्फत पोख्ने गर्थिन्। भगवानले कुनै-कुनै तरिकाबाट सबैलाई सहयात्रीको साथ दिएका हुन्छन्। त्यसतै झमकले पनि आफ्ना परिवारसँग गर्न नसकेका कुराहरू ति पत्र मित्रसँग गर्ने गर्थिन्। पत्र मित्रबाट उनलाई भावनात्मक साथ र हौसला मिल्ने गर्थ्यो। उनी ति पत्र मित्रसँग आत्मिय व्यवहार गर्थिन्। उनीहरूमा चोखो मनले तर्कवितर्क गर्ने गर्थिन्। सबै पत्रमित्रसँग भावना पोखिदा झमकलाई मनको एउटा कुनामा छुट्टै आनन्दको अनुभूति हुन्थ्यो।

'विस्तृत जगत् तिरका पाइला' शीर्षकमा उनले काठमाडौँमा वास्तविकतालाई अगाडी ल्याएकी छिन्। उनी पहिलो-पटक काठमाडौँ छिरेकी थिइन्। उनलाई काठमाडौँ कोलाहल पूर्ण लाग्यो। जताततै भय सन्त्रास लाग्यो। काठमाडौँका मानिसहरूमा मानवीयता भन्ने कुरा नै छैन जस्तो लाग्यो। यहाँ कसैलाई कसैको मतलब नै थिएन। यहाँ सबै किसिमका मानिसहरू बस्दथे। झमकलाई लाग्यो सायद काठमाडौँ शहरले नै पूरै नेपालको प्रतिनिधित्व गरेको छ। काठमाडौँलाई झमकले कुरूप र क्रुर सरहको नाम दिइन्। मानवीय भावना, आफ्नोपन, आत्मियता उनले कतै भेटाइनन्। मान्छेका अनुहारमा शून्यपन पाइन्। घरको आगँनबाट कहिल्यै टाढा जान नसकेकी झमक पहिलो पटक काठमाडौँलाई देख्दा उनले ठूलो संसारमा पुगेको अनुभव गरिन्। काठमाडौँमा आएपछि उनले धेरै मानिसहरूसँग भेट्ने कुराकानी गर्ने मौका पाइन्। त्यहिक्रममा उनलाई राजारानीसँग भेट गर्नुपर्छ भन्नेहरू धेरै आए, उनलाई लोभलालच देखाउने मान्छे पनि भेटिन्। तर उनको मन चोखो र स्वतन्त्र विचारको भएकी कारण उनले ति सबै कुरामा विद्रोह जनाइन्। उनी मागेर र अरूको दयामा कहिले बस्न चाहिनन्। उनलाई राजा विरोधी भनि हल्ला पनि चलाए। तर स्वाभिमानी र सङ्घर्षलाई आत्मसाथ गर्दै उनी अगाडी बढिरहिन्। जहाँ गएपनि उनले स्वतन्त्र विचारको उपयोग गरिन्।

'समाजको दृष्टिमा अपाङ्गता' शीर्षकमा झमकले आफूले भोगेको समाज दृष्टिकोणको बारेमा लेखेकी छिन्। हाम्रो नेपाली समाजमा अपाङ्ग मानिसलाई निम्न स्तरको मानिसको रूपमा हरिन्छ। त्यसै झमकलाई पनि सबैले शारीरिक रूपमा मात्र अपाङ्ग नभएर मानसिक रूपमा पनि अपाङ्गकै श्रेणीमा राखेर हेरे। उनले पाएका हरेक सम्मान तथा पुरस्कारहरूलाई अपाङ्ग भएका कारण दयामा पाएको भनेर सोचे। जब झमकले यि कुरा सुन्नु पर्यो, उनले आफ्नो प्रगतिमा अरूले ईर्ष्या गरका हुन् भनी आफ्नो सिर्जनालाई झन् हिम्मतका साथ अगाडी बढाइन्। अन्धविश्वासी समाजले उनलाई कहिल्यै सकारात्मक दृष्टिले नहेरे पनि उनले आफूलाई सधै सकारात्मक दृष्टिले हेरिन्। उनले आफ्नो आत्माप्रति अपमान, अन्याय गरेर अरूमाथि न्याय गर्न सकिदैन, त्यसकारण मान्छेले आफैँमाथि न्याय गर्न सक्दैन भने उसले कसैमाथि पनि न्याय गर्न सक्दैन भन्ने उनको विचार थियो। समाजले उनलाई अपाङ्ग भने पनि उनले आफुलाई कहिल्यै अपाङ्ग देखिनन्। उनी समाजको दृष्टिमा कसरी अपाङ्ग भइन्? भन्ने प्रश्न गर्ने गर्छिन्।

"धार्मिक आस्थाभित्र मान्छे र देउताहरू" र "स्वतन्त्रता भोग्ने रहर" शीर्षकमा झमकले स्वतन्त्रताको बारेमा आफ्ना विचारहरू प्रकट गरेकी छिन्। मानिसहरूलाई हरेक कुराको स्वतन्त्रता हुनुपर्दछ। आफ्नो स्वतन्त्रताको उपयोग गर्दा अरूको स्वतन्त्रता भने खोस्नु हुदैन। त्यसैगरी मानिस आफ्नो स्वतन्त्रता अनुसार जनुसुकै धर्म लिन पाउँछ। त्यसैगरी मानिस आफ्नो जथाभावी विसङ्गतिहरू फैलाउन हुदैन। सबै मानिसले देवतालाई छुट्टाछुट्टै दृष्टिले पुज्ने गर्दछन्। त्यस्तै झमक भने देवता असल काम र व्यवहार गर्ने मानिसलाई मान्दछिन्। उनी कुनै धर्मको समर्थक र विरोधी दुबै बनिनन्। जसले धर्मको प्रचारप्रसार गर्थे झमक सबैको कुरा सुन्थइन् किनभने झमक भन्थिन् धर्मको प्रचार गर्नु, धर्ममा आस्था राख्नु त्यो सबै स्वतन्त्रता नै हो भन्थिइन्। मन चाहेको कुरा स्वतन्त्रपूर्वक गर्न पाउनु पर्दछ भन्ने उनको विचार थियो। त्यही भएर उनले व्यवहारिक जीवनमा आफूँले चाहे जसरी स्वतन्त्रता उपभोग गर्न नपाए पनि सिर्जनामा भने उनले खुलेर स्वतन्त्रता उपभोग गरिन्। सिर्जनामा उनले सांस्कृतिक, आर्थिक, लैङ्गिक सबै पक्षमा स्वतन्त्र रूपमा कलम चलाइन्। कलम र स्रष्टा स्वतन्त्र हुन् भन्दै सिर्जना गरिन् तर उनको यो स्वतन्त्रतामा पनि सीमारेखा कोर्ने धेरै दुश्प्रयासहरू भए। तर उनले ति सीमारेखाहरूलाई नाँघ्दै अगाडी बढिन्। "एउटी महिला सबै अर्थमा स्वतन्त्र हुन आर्थिक रूपमा आत्मनिर्भर हुन आवश्यक छ।" यो झमकलाई जिन्दगीले सिकाएको ठूलो कुरो हो भन्ने उनको विचार रहेको छ।

झमकले 'कलम र मृत्युको सन्त्रास' र 'रगताम्य समयसँग रतब्ध मन' शीर्षकमा वि.सं. २०५८ सालको विभत्स स्थितिको वर्णन गरिएको छ। २०५८ मा राजा विरेन्द्रको वंशनाश गरेियो, त्यस पछि देश नै शोकाकुल अवस्थामा रह्यो। त्यस्तो कडा सुरक्षाको बाबजुत त राजहत्याकाण्ड भयो भने हामी त आम जनता हाम्रो मृत्यु त कुकुरविरालो मरे जस्तो हुन्छ होला भन्ने विचार सबै नेपालीमा परेको थियो। अब मानिसहरू सबै आफूलाई असुरक्षित महशुस गर्न थाले। राजा ज्ञानेन्द्रले सङ्कटकालको घोषणा गरे। राजा ज्ञानेन्द्रले नै राजहत्याकाण्ड गरेको हो भन्ने विरोधहरू हुनथाले। त्यसपछि त मान्छे मार्ने क्रम झन् तिव्र भयो। देशद्रोहीको संज्ञा दिएर राजाका विरोधमा बोल्ने जनताहरूको निर्मम हत्या गरिन थालियो। अन्याय, अत्याचार, निरङ्कुशताले झन् तिव्र रूप लिन थाल्यो। देशको यस्तो अवस्था देखेर झमक पनि निराश भइन्। आफू निराश भए पनि आफ्ना सिर्जना भने उनले निराशावादीलाई त्याग गरिनन्। उनले आफ्ना कलमले न्यायका स्वरहरू बोलिन्, क्रान्तिका सकारात्मक र उज्याला पक्षहरू पछ्याइन्। जनतन्त्रको आवाज उठाइन्। देशको सुरक्षा संयन्त्रप्रति आशङ्का उठ्न थालेको समयमा झमकले पनि आफ्ना सिर्जनाबाट सम्पूर्ण नेपालीको आवाजलाई माथि उठाउने काम गरिन्। नेपाली जनताका असन्तुष्टिहरू र विचारहरूलाई कलमका माध्यमबाट बाहिर ल्याइन्। विद्रोही आवाज कलमका माध्यमबाट बोलेकाले उनलाई पार्टिको प्रतिनिधित्व गरेको भनेर ज्यान मार्ने धम्की समेत आयो। उनलाई मानसिक यातना र दबाबहरू धेरै आए। तर उनलाई मृत्युदेखि डर नभएका कारण उनले साँचो र सत्य कुरा लेख्न कहिल्यै छाडिनन्। स्वतन्त्रताको पक्षमा सधै कलम चलाइरहिन्। उनी भन्छिन् जिन्दगी स्वतन्त्रसँग जिउन पाइएन भने त्यो जिन्दगी जिउनुको कुनै औचित्य वा सार हुदैन्।

'सङ्कटकाल र सन्त्रस्त समय' शीर्षक भित्र २०५८/२०५९ मा दरबारहत्याकाण्ड पछि सङ्कटकाल लाग्यो। ज्ञानेन्द्र राजा भएपछि उनले देशको सबै शक्ति आफ्नो हातमा लिए। त्यसपछि जङ्गल पसेकाहरू पनि सक्रिय हुनथाले। अब जङ्गल पसेकाहरू र सेनाहरू बीच द्वन्द्व चर्कियो। गाउँ-गाउँमा सेनाहरूको गहिरो निगरानी रह्यो। सबै आम नेपाली जनता डरले त्राही-त्राही हुनथाले। रगतका खोला बगे। आनङ्कारीहरूलाई खोज्ने भन्दै गाउँ-गाउँमा सुरक्षाकर्मीले खोजतलास गर्थे। आम जनताहरू बोल्न डराउँथे। यो सङ्कटकालमा महिलाहरूलाई सामुहिक बलात्कार गरेका घटनाहरू पनि सुनियो। झमकले पनि ति सङ्कटकालको समयलाई आजसम्म पनि भुल्न सकेकी छैनन्। 'अध्यारोबाट मुक्तिको स्वर' शीर्षक भित्र चाहि जनताहरूले अब आफ्नो चुप्पीलाई तोडेर शान्ति, लोकतन्त्र र स्वतन्त्रताको लागि वकालत गरेको कुरा उल्लेख छ। अब आम जनताहरू अँध्यारोबाट उज्यालोतिर लम्कन एउटै आवाज गुन्जाउँदै छन्। त्यस्तै झमकले पनि आफ्नो कलमको माध्यमबाट लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रताको सन्देश फैलाइन्। त्यही सङ्कटकालको अफ्ठ्यारो समय र परिस्थितिको एउटा अभिव्यक्ति स्वरूप उनले 'नौलो प्रतिबिम्ब' (कविता-सङ्ग्रह- २०६०) प्रकाशित गरिन्। यो कृतिमा झमकले सङ्कटकालीन समयको तितो यथार्थलाई प्रस्तुत गरेकी छिन्।

"मान्छेको दिमागमा बसेको काती" शीर्षकमा झमकले समाजमा रहेका मानिसहरूले अपाङ्ग व्यक्तिहरू प्रति गर्ने व्यवहार र विचारहरू उल्लेख गरेकी छिन्। हाम्रो समाजमा शिक्षाले पनि मानिसहरूको अन्धविश्वासलाई हटाउन सकेको छैन। अन्धविश्वासका काला बादल हटाउन शिक्षाले समेत सकेको छैन भन्ने झमकको विचार रहेको छ। उनले ति काला अन्धविश्वासहरू देखेकी छिन्। हाम्रो समाजमा अपाङ्ग मानिसहरूलाई कोठामा थुनेर राखिन्छ। अपाङ्ग सन्तानलाई आफ्नै बाबुआमाले पनि हेलाको दृष्टिमा हेर्छन्। आफ्नो वंशको नाश गर्यो, यसले गर्दा अरू छोराछोरीले पनि दु:ख पाउँने भो भन्ने जस्ता गलत विचारहरू राख्ने गर्दछन्। यसरी अपाङ्ग मानिसलाई देखेपछि आफ्नो साइन नै बिग्रियो भन्ने सोच पनि समाजका शिक्षित मानिस भनौँदाहरूको रहेको छ। यसरी मानिसको दिमागमा अपाङ्ग प्रति गलत सोच रहेको छ। झमक भन्छिन् शिक्षा जीवनमा देखिनुपर्छ, व्यवहारमा देखिनुपर्छ र त्यो जीवन अलि व्यवहारमा काम लाग्नुपर्दछ। तर शिक्षाको ज्योतिले पनि समाजका शिक्षित भनौँदा मानिसहरूको अन्धविश्वासको अँध्यारो कालो बादललाई हटाउन सकेको छैन भन्ने झमकको विचार रहेको छ।

'बन्दुकसँग शब्दको परेड' शीर्षकमा झमकले राजा ज्ञानेन्द्रको शासन कालको बारेमा उल्लेख गरेकी छिन्। ज्ञानेन्द्रले सबै जनतालाई बन्दुकको डरको घेरामा राखेका थिए। सेना र सिपाहीहरूलाई छाडा छोडिएको थियो। राजाको बारेमा कसैले बोले भने मारिदिनु भन्ने आदेश थियो। त्यही मर्ने डरले जनताहरू अन्याय अत्याचार सहेर बस्न बाँध्य थिए। बन्दुकसँग जनता यति धेरै डराएका थिए कि आफ्ना आँखा अगाडी आफ्नो आफन्तको मृत्यु हुदाँ समेत कसैले आफ्नो मुख खोल्न सकेका थिएनन्। यति सम्म मान्छेहरू त्रसिद थिए। राजा ज्ञानेन्द्रले जनता यहि मौनतालाई अनुशासनको नाम दिएको थियो। यसरी त्यो समयमा बन्दुक एकदमै शक्तिशाली थियो। झमकलाई देश र जनताको यो स्थिति देखेर एकदमै दु:ख लाग्थ्यो। आफू बाँच्नुको केही सार नभएको जस्तो भान हुन्थ्यो। स्वतन्त्र भएर बाँच्न चाहने झमक यसरी निरङ्कुश शासनको बन्धन परेपछि पागल जस्तै भएकी थिइन्। झमकले त्यस्तो सङ्कटकालमा पनि आफ्ना सिर्जना रोकिनन्। कलमको माध्यमबाट लोकतन्त्रको आहवान् भने गरिरहिन्। उनको सिर्जनालाई छापामा पु्र्याउने काम भने उनकी बहिनी मिनाले गरिन्। उनी आफ्नो बहिनी मिनालाई यस्तो साहसी कामका लागि सलाम गर्छिन्। झमकले त्यस बन्दको समयमा बन्दुकसँग आफ्ना शब्दहरूले बन्दुककै विरुद्धमा परेड खेलिरहिन्। मौन समयमा पनि शब्दहरूले बोलिरहिन्। त्यो समयमा उनको सिर्जनाहरू यस्ता थिए:

मन सल्किएको बेला एउटा सहिद हुन मन लागेको छ। मानवता खोसिएको भूमिबाट एउटा अर्को बुद्ध जन्माउन मन लागेको छ, जो मेरो युगको प्रतीक बनेर उभियोस्, मृत्यु पर्यन्त अलग परिभाषा बोकेर उभियोस्।

तिम्रो कोखबाट सपुत मात्र होइन, कुपुतहरू पनि जन्मिइरहेछन् जसले तिम्रो मातृत्वको अपमान गरिरहेछन् तिम्रो गर्भमा बसेर तिम्रै विरुद्ध धावा बोलिरहेछन्।।

मान्छेले आफूले चाहेको जस्तो जीवन बाँच्न सक्दैन। जीवन बाँच्न सजिलो पनि छैन। समय सँगसँगै मानिसले आफ्नो जीवनचक्र चलाउनुपर्दछ। जीवन जीउने क्रममा कहिले दु:ख, कहिले सुख आउँछ। जीवन सङ्घर्षमय हुन्छ। यही सत्यतालाई अङ्गाल्दै झमकले पनि आफ्नो जीवन आफ्नै तरिकाले जिइन्। झमक भन्छिन् उनले जीवनमा थोरै खुसी पाएकी छिन् भने धेरै दु:ख कष्टको सामना गरेकी छिन्। उनले जीवनलाई बाँच्नका लागि पल-पल सङ्घर्ष गरेकी छिन्। आफू शारीरिक रूपमा अशक्त भएकोले परिवार, आफन्त र समाजबाट घृणित हुँदै हरेक मोडमा आँशुलाई साथी बनाँउदै जीवन बाँचिरहेकी छिन्। जति सङ्घर्ष गर्नुपरे पनि, जति सुकै अफ्ठ्यारा परिस्थिति आइपरे पनि उनले जीवनलाई आनन्दसँग भोगिरहेकी छिन् भने 'अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान' भन्ने शीर्षक भित्र उल्लेख गरेकी छिन्। झमक स्वतन्त्र जीवन बाँच्न मन पराउने व्यक्ति हुन्। उनको आफ्ना अक्षर, शब्दहरूमा जीवन जोडिएको थियो। शब्द, अक्षर मार्फत नै उनको आवाज अरू सामू पुग्थ्यो। उनका ति शब्द, अक्षर स्वतन्त्र थिए। कलम मार्फत उनले बन्द समयका अन्याय, अत्याचार र मानवताको विरुद्धमा बोलिरहिन्। उनका यि स्वतन्त्र विचार मन नपराउनेले उनलाई रोक्न छेक्न खोजे तर झमकको सङ्घर्ष र निडर प्रवृत्तिका कारण शत्रुहरूको मनोबल घट्दै गयो र उनीहरू बिफल भए। आफ्नो ज्यानको माया नगरी स्वतन्त्रताको बारेमा बोल्ने झमकको जीवनमा पारिवारिक, लैङ्गिक, सामाजिक, शारीरिक, आर्थिक र राजनैतिक अप्ठ्याराहरू आए। तर झमकले ति अप्ठ्यारा समयमा पनि आफू चट्टान सरी बनेर सार्थक जीवन बाँचिरहिन्। ति अप्ठ्यारा समयमा लाचार बनेर जीवनलाई धिकार्दै कहिले बसिनन्। जसरी अरूले जीवनको आनन्द लिए त्यसरी नै उनले पनि जीवनको आनन्द लिइन्। उनी भन्छिन् जसरी भीरमा सुनगाभा फूल्छ, हिलोमा कमल फुल्छ, सिँउडी फुल्दा आफैमा फक्रिनुको उत्सब मनाउँछ, त्यसरी नै उनले पनि अप्ठ्यारा परिस्थितिमा सधै उन्मुक्त भएरै जीवन बाँचिरहिन्।

समय परिवर्तनशील छ। दु:ख पछि सुख अनि अध्यारो पछि उज्यालो आउँछ भनेझैँ नेपालमा पनि निरङ्कुशता हटेर लोकतन्त्र आयो। करिब एक दशक लामो द्वन्द्वको अन्त्य (वैशाख ११, २०६३) मा भयो। झमकले "घुम्म आकाश उघ्रिएपछि मान्छेहरू" भन्ने शीर्षक भित्र देश लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि नेपालीको मनमा छाएको आनन्दको अनुभूति कस्तो रह्यो भनेर उल्लेख गरेकी छिन्। धेरै वर्षा पछिको मौसम जति राम्रो र हराभरा देखिन्छ, त्यस्तै आकाशमा लागेका काला बादलहरू हटेपछि आकाश छ्याङ्ग उघ्रिएर जति राम्रो देखिन्छ त्यस्तै लोकतन्त्रको आगमन पछि नेपाली अनुहारमा पनि हाँसो खुसी देखिएको थियो। सबै नेपालीहरूको ओठँमा पून: हाँसो उमङ्ग फर्किएको थियो। मनमा रहेको अशान्ति, डर, स्न्त्रासको कालो बादल हटेको थियो। झमक भन्छिन् साच्चै नै त्यो समय अविसमरणीय रहेको थियो। उनले पनि आफ्ना कलम बन्धनबाट मुक्त भएको, अक्षर, शब्दहरू आफैँमा मुक्त भएको र बन्द आवाजहरू आफैँ खुल्न थालेको अनुभव गरिन्। त्यो समय उनका लागि पनि एकदमै रमाइलो पल बन्यो किनकी झमकले आफू स्वतन्त्र भएको महशुस गरिन्।

'द्वन्द्वका घाउहरू छामेको अनुभूति' शीर्षक भित्र झमकले द्वन्द्वको समयमा नाश, जति क्षतिहरू भयो, ति क्षतिहरू भोग्ने मानिसहरूको अवस्थाको बारेमा चर्चा गरेकी छिन्। द्वन्द्वको समयमा धेरै मानिसले आफ्ना हातखुट्टाहरू गुमाए, धेरै बालबालिकाहरू अनाथ भए, धेरैको सिन्दुर पुछियो, सानै उमेरमा धेरैले बम बारुदसँग खेले, कतिका सन्तानहरू खोसिए, घरजग्गाहरू, धनसम्पति खोसिए, यस्ता धेरै घाउँहरू द्वन्द्वले दिएका छन्। द्वन्द्वका घाउहरूलाई आजसम्म पनि मानिसहरूले अनुभूति गरिरहेका छन्। अहिले सम्झदा पनि ति घाउहरू चहर्याउँछन् र धरधरी रून्छन्। झमक भन्छिन् यि घाउँहरू सिर्जनाका माध्यमबाट बाहिर ल्याउँदा उनलाई असह्य पिडा हुन्छ। उनीहरूका लागि केही गर्न मन लाग्छ तर आफ्नो सामर्थ्य नभएका कारण म लाचार छु भन्छिन्। जिन्दगी अरूका लागि पनि बाँच्नुपर्दछ। सधै आफ्नो लागि मात्र कति सोच्ने, कहिले काहीँ ति द्वन्द्व पीडितहरूका लागि पनि सोचौँ न, संसारका सबै मान्छेले आफ्नो अलिकति स्वार्थ त्यागिदिए, आफ्ना केही उमङ्ग अरूको लागि पनि बाँचिदिए संसारमा सबै हिंसाहरूको अन्त्य हुने थिए र केही मात्रमा भएपनि द्वन्द्व पिडित मान्छेको मनमा आशा पलाउने थियो र बाँच्ने इच्छा जगाउन सहयोग पुग्छ भन्ने झमकको विचार रहेको छ।

मान्छे एक्लै हिड्न खोज्दा धेरै ठाउँमा ठक्कर लागेर लड्न सक्छ। त्यो अवस्थामा उसलाई सहयोगी हातहरूको आवश्यकता पर्दछ। आफ्नो विचार, सोच र कार्यलाई सहमति जनाउने व्यक्तिहरूको हातको खाँचो पर्दछ। झमकले पनि 'सहमतिका हातहरू' शीर्षकमा त्यस्तै उनलाई सहमति दिने व्यक्तिहरूको बारेमा चर्चा गरेकी छिन्। उनले जीवनमा राम्रा-नराम्रा दुवै थरीका मान्छेहरूसँग सङ्गत गर्ने मौका पाइन्। ति मध्ये उनको सिर्जनालाई आत्मसाथ गर्ने व्यक्तिहरूलाई उनले यस कृति मार्फत धन्यवाद दिनुका साथै उनीहरूप्रति आभार व्यक्त गरेकी छिन्। झमकको सिर्जनाहरूलाई उनीहरूले राम्रो मानेका छन्। झमकको जीवन सरल बनाउनका लागि उनलाई हौसला र साथ दिएका छन्। झमकको विचारलाई आत्मसाथ गर्दै अझै फल्नु, फुल्नु पर्छ भनेर हौसला दिएका छन्। झमक भन्छिन् उनले सिर्जनाबाट नाम कमाइन्, जीवन जिउनको सार पत्ता लागाइन् र त्यहि जीवनलाई आनन्दमय बनाउनका लागि सहमतिका हातहरू फेला पारिन्। यही हो उनले आजसम्म कमाएका अमूल्य धनहरू।

जीवन सोचे जस्तो सरल र सहज कहिल्यैँ हुदैन। जीवनलाई सधै दु:ख सुखको सङ्गमको रूपमा लिइन्छ। जीवन सङ्घर्षमय छ भनेर 'जीवन काँडा कि फूल' शीर्षकमा झमकले बताएकी छिन्। झमकले मान्छेसँग धेरै दु:ख कष्ट भएका कारणले नै ऊ सुख र आनन्दका लागि सधै लडिरहन्छ भनेर भनेकी छिन्। उनले आफ्नो अस्तव्यस्त जीवनमा एक-एक पलसँग लड्दै जुढ्दै जीवन जिउनुको आनन्द मज्जा लिइरहेकी छिन्। उनी सिर्जनालाई नै आफ्नो जीवन बनाउँन चाहन्छिन्। सिर्जनाबाट नै समाज, देश, विश्वका लागि नयाँ युगको कल्पना गर्न चाहन्छिन्। उनी अब अरूका लागि बाँच्न र सङ्घर्ष गर्न चाहन्छिन्। आफ्नो जीवनलाई सिर्जनामा नै समर्पण गर्न चाहन्छिन्। उनले जीवनलाई फूलसँग तुलना गरेकी छिन्। जसरी काँडै-काँडाका बीचमा फूल फुल्छ, त्यस्तै मान्छेको जीवनमा पनि काँडारूपी दु:ख कष्ट पछि मात्र सुखको फूल फुल्छ भन्ने झमकको विचार रहेको छ।

यसरी झमकले यस "जीवन काँडा कि फूल" कृति भित्र विभिन्न शीर्षकहरू दिएर उनले जीवनमा भोगेका यावत् घटनाहरूको बारेमा आफ्नो विचार प्रकट गरेकी छिन्। उनले परिवार, आफन्त, समाज र देशले उनी प्रति कस्तो धारणाहरू राख्यो र ति धारणाहरू विरुद्ध झमकको विचार कस्तो रह्यो भन्ने कुरा यस कृतिमा समाविष्ट गरिएको छ। झमकले आफ्नो जन्म देखि हालसम्म जीवनका उतारचढाबहरूलाई शिलशिलाबद्ध रूपमा यस कृतिमा उतारेकी छिन्। आफू शारीरिक रूपमा कमजोर भएपनि, जति नै होला, घृणा अपमान सहनु परे पनि उनले आफ्नो आत्मविश्वास कहिल्यै खोइनन् उनी दृढसङ्कल्पका साथ अगाडी बढिन्। उनी सबैलाई यहि भन्न चाहन्छिन् कि मान्छे शारीरिक कमजोर हुदैमा मानसिक रूपमा जहिले पनि बलियो हुन्छ। शिक्षा भन्ने सर्टिफिकेट लिएर मात्र हुदैन त्यसलाई व्यवहारमा उत्तार्न सक्नपर्दछ र त्यो शिक्षा अरूका लागि उपयोगी होस् भन्ने उनको विचार रहेको छ।

'जीवन काँडा कि फूल' कृति झमक घिमिरेको आत्मजीवनीमूलक संस्मरण हो। यो कृति नेपाली साहित्यको एक अमूल्य निधि हो। दुई वर्ष लामो प्रयत्न र धैर्यको परिणाम स्वरूप 'जीवन काँडा कि फूल' कृति तयार भएको हो। यो ४७ वटा ठिक्कका पठनीय निबन्धले बुनिएको एक समग्र कृति हो। यसको साहित्यिक मूल्य एक उत्कृष्ट आत्मजीवनीपरक लेखनको रूपमा स्थापित हुनेछ। यो कृति आत्मजीवनीपरक गधलेखनको उत्कृष्ट नमूना हो।

'जीवन काँडा कि फूल' निबन्धमा झमकले विभेन्न दृष्टिकोणबाट आफ्ना विचारहरू उल्लेख गरेकी छिन्। यस कृतिको प्रमुख विचार पक्षहरू निम्न रहेका छन् :- १) यस निबन्धमा हाम्रो समाजमा रहेको जातीय, लैङ्गिक, वर्गीय, विभेद सम्बन्धी विचार प्रस्तुत गरेिएको छ। हाम्रो समाजको विकृति विसङ्गतिलाई उजागर गरिएको छ। २) यसमा धर्मको नाममा भएका विकृतिहरू, धर्मको आडमा हुने गरेको असमानतालाई वैचारिक पक्षको रूपमा उल्लेख गरिएको छ। ३) यो निबन्धमा प्रेम सम्बन्धी विचार प्रकट गरिएको छ। उनले आत्मीय प्रेमको कुरा गरेकी छिन्। ४) झमकले शिक्षालाई सर्टिफिकेटमा मात्र सीमित नराखी समाजले समेत उपयोग गर्ने शिक्षा हासिल गर्नुपर्दछ भन्ने शिक्षा सम्बन्धी विचार प्रकट गरेिएको छ। ५) समाजमा भएका विकृति, विसङ्गति, अभाव, गरिबी, भ्रष्टाचार र अन्धविश्वासलाई हटाउन सकेमा मात्र समाज परिवर्तन हुन्छ भनेर समाज परिवर्तन सम्बन्धी विचार उल्लेख गरिएको छ। ६) समाजमा हरेक किसिमका मानिसलाई बाँच्ने अधिकार रहेको छ। जबसम्म अपाङ्ग, अशक्त, बालबालिका र नारीलाई समाजको अङ्गको रूपमा स्वीकार गरिदैन तबसम्म स्वस्थ समाजको निर्माण हुदैन भनि अपाङ्ग बालबालिका र नारी सम्बन्धी विचार प्रस्तुत गरेिएको छ। ७) राजनीति सम्बन्धी विचारमा राजनीतिले देश जनता सबैको भलो हुनुपर्दछ व्यक्तिगत स्वार्थका लागि राजनीति गरिनु हुदैँन भन्ने कुरा उल्लेख गरेिएको छ। ८) स्वतन्त्रता पाएमा मात्र व्यक्तिले स्वविवेकले स्वनिर्णय गर्न सक्छ र सत्मार्गमा हिड्न सक्छ भन्ने कुरा स्वतन्त्रता सम्बन्धी विचारमा उजागर गरेिएको छ। ९) जीवन सम्बन्धी विचारमा जीवनमा जस्तो सुकै दु:ख पिर परेपछि आँशुलाई पिएर मानिसले हाँस्नु रमाउनुपर्दछ। जीवनलाई आनन्दसँग जीउनको लागि आशावादी भएर सधै सङ्घर्ष गरिरहनुपर्दछ भन्ने कुरा उल्लेख गरिएको छ।

वैचारिक दृष्टिले हेर्ने हो भने झमक घिमिरेको 'जीवन काँडा कि पूल' निबन्ध सबल र सशक्त रहेको छ। यो निबन्ध एक विद्रोही सुधारकको आहवान हो। आफूले भोगेका समस्त कष्टको कारण खोजी र तिनको दुस्परिणामको व्याख्या उनले गरेकी छिन्। झमकको निबन्धमा निराशावादी, पलायनवादी समाजप्रति अनुत्तर दायि व्यक्तिवादी विचारको विरोध देखिन्छ। उनको यो कृति समाजमुखी, अाशावादी, समाज परिवर्तन, क्रान्तिकारी, स्वतन्त्रता, मार्क्सवादी सौन्दर्य चिन्तनबाट अभिभूत छ। झमकले न्याय, समानता, स्वतन्त्रताको पक्षमा समाजलाई जागरुक र सङ्गठित गराउने सन्दर्भमा हरेक सामाजिक समस्याहरूको समाधानको एकमात्र विकल्प क्रान्ति हो भन्ने विचार व्यक्त गरेकी छिन्। स्वच्छ र स्वतन्त्र समाज निर्माण गर्नका लागि व्यक्ति स्वयम् मा आत्मविश्वासी हुनुपर्दछ अनि मात्र उसको सोच समाज र देशका लागि सहि साबित हुन्छ। अत: यस 'जीवन काँडा कि फूल' निबन्धको विचार पक्ष अत्यन्त उर्वर र उन्नत खालको रहेको छ र त्यो विचार व्यक्ति केन्द्रित र समाज केन्द्रित रहेको छ।

४) निष्कर्ष: 'जीवन काँडा कि फूल' कृति आत्मजीवनीमूलक निबन्ध हो। यस कृतिमा झमकको जन्म, बाल्यकाल, उनको शारीरिक अवस्था, उनले लिएको शिक्षा, उनका सिर्जनाहरू यावत् कुराहरू समेटिएको छ। बास्तवमा झमकले यो कृतिमा विभिन्न शीर्षकहरू दिदै त्यहि शीर्षक अनुसार सन्दर्भहरूको वर्णन गरेकी छिन्। ति शीर्षकहरूमा आफ्नो जीवनका तिता मिठा पलहरूलाई समेट्दै यो कृति तयार पारेकी छिन्। शरीरका धेरै अङ्गहरूले काम नगर्ने, यहाँ सम्मकी खान, कपडा समेत अरूले लगाइ दिनु पर्ने स्थिति भएकी सञ्चारका लागि कुनै अँगले साथ नदिने यस्तो शारीरिक रूपमा अपाङ्ग केटीलाई समाजले र परिवारले कस्तो व्यवहार गर्छ, ति बालिकाले माया ममता, सद्भाव नपाउँदा, परिवारले एउटा बोझको रूपमा लिदाँ उनलाई कस्तो अनुभव भएको थियो होला? यि सबै कुराको विरोध गर्न आवाज नहुँदा हिडेर जान खुट्टा नहुँदा, खालि मनमनै जल्नुपर्दा, आँखा भरि आँसु हुँदा उनले के गरिन् कसरी आफूलाई सम्हालिन्, यि सबै प्रश्नको उत्तर हामी यस कृतिको अध्ययन पश्चात थाहा पाउँन सक्छौँ। सामाजिक अन्धविश्वास, सङ्किर्णता, अभाव, गरिबी, कुरीतिले बेरेको परिवेशको विरुद्ध एउटी शारीरिक रूपमा अशक्त केटी कसरी लडिन्, उनले लड्नका लागि हौसला र सामर्थ्य कहाँबाट जुटाइन् भन्ने कुरालाई यहाँ अत्यन्तै सूक्ष्म, निहिन र जीवन्त पाराले प्रस्तुत गरिएको छ। साथै यस कृतिमा नेपालले भोगेको द्वन्द्वको पिडा त्यसमा सर्वसाधारणको पिडा, उनीहरूको सङ्घर्ष र देशको राजनीतिक अवस्थाको परिवर्तनहरूलाई पनि केहि हदसम्म भएपनि बाहिर ल्याउने काम गरिएको छ। यस्तै देशको राजनीतिक उथल पुथलमा झमकले पाएका यातनाहरूलाई पन ियस कृतिमा समावेश गरिएको छ। समग्रमा भन्ने हो भने यस कृतिमा झमकले आफ्नो जीवनकालामा घटेका हरेक घटनाहरूको वयान गरेकी छिन्। उनको जीवनमा आफ्नो परिवारको सदस्यले गरेका व्यवहार, समाजमा मानिसहरूको सोच, देशको शासनकालमा शासकहरूको व्यवहार, नेपाली जनताले भोगेका दु:ख, कष्ट, पिडाहरू आदि सबै घटनाहरूको चर्चा परिचर्चा यस निबन्धमा गरिएको छ। झमकको दु:ख, सुखका पलहरूको अनुभव उनको सोच विचारहरू यस कृतिको मुख्य पाटो हो।

हामीले यो कृतिको अध्ययनबाट धेरै शिक्षा ग्रहण गर्न सक्छौँ। झमकले जस्तै जीवनका हरेक पलहरूमा आफ्नो अस्तित्त्वको खोजी गर्न सक्छौँ। झमकले आफ्नो जीवनमा सुख भन्दा धेरै दु:ख कष्ट सहनुपर्यो। आफ्नो परिवार र समज विरुद्ध सधै सङ्घर्ष गर्नुपर्यो। आफूले पाउनुपरने हक अधिकारबाट सधै बञ्चित हुनुपर्यो। उनले आफ्नो लागि आफैँ खडा हुनुपर्यो। आफ्नो शारीरिक अवस्था जस्तो भएपनि अरूका अगाडी उनले आफ्नो आँसु कहिल्यैँ देखाइनन्। आफ्नो सफलतामा अरू नरमाए पनि आफू सधै खुलेर हाँसिन्। जीवन जिउने क्रममा धेरै लोभ लालच देखाए पनि उनले स्वाभिमानलाई कहिल्यैँ पनि बिर्सिनन्। सधै स्वतन्त्र भएर फुल्ने र फक्रिने गरिन्। जीवनमा सङ्घर्ष गर्न कहिल्यैँ पनि छोडिनन्। जीवनलाई सधैँ देश र जनताका लागि समर्पण गर्न तयार भइन्। समाजमा रहेका अन्धविश्वास, विभेद, विषमताका विरुद्ध कलम चलाइरहिन्। यि सबै व्यक्तित्त्वको धनी झमक घिमिरे सङ्घर्ष, साधना, स्वाभिमान, विचार, कल्पना र सिर्जनात्मक अभियानको पर्याय नै भएकी छिन्।

झमकको 'जीवन काँडा कि फूल' आत्मजीवनीपरक निबन्धबाट हामीले पनि जीवनलाई काँडै काँडा बीच फुलेको सुन्दर फूलको रूपमा हेर्नु पर्दछ। सबै मानिसलाई दु:ख पर्छ। दु:ख पछि सुखको कल्पना गर्दै जीवन जिउनुपर्दछ। हामीले पाएको शिक्षाले अरूको जीवनमा पनि सहयोग पुर्याउनुपर्दछ। हामी नि:स्वार्थ भावनाले अरूका लागि बाँच्नुपर्दछ भन्ने शिक्षा यो निबन्धबाट प्राप्त गर्न सकिन्छ। आफू सधै स्वतन्त्र भएर जिउनुपर्दछ र अरूलाई पनि स्वतन्त्रता दिनुपर्दछ। हामीले मानवतालाई कहिल्यैँ पनि बिर्सनु हुदैन। अन्याय अत्याचार विरुद्ध सधै आवाज उठाउनुपर्दछ। एउटा सफा स्वच्छ समाज, देश र विश्वको कल्पना गर्नु पर्दछ। यिनै झमकको जीवनप्रतिको विचारहरू हुन् र हामीलाई पनि यहि मार्गमा हिड्न उनले आग्रह गरेकी छिन्।

झमक घिमिरेको "जीवन काँडा कि फूल" कृतिको वैचारिक पक्ष।

१. शोध शीर्षक प्रस्तावित शोधको शीर्षक झमक घिमिरेको निबन्धको वैचारिक पक्षमा रहेको छ।

१.१. शोधको प्रयोजन प्रस्तावित शोधको उद्देश्य त्रि. वि. अन्तर्गत मानविकि तथा समाजशास्त्र सङ्काय स्नातक तह तृतीय वर्षको ऐच्छिक नेपाली (३१४) अन्तर्गतको लघु शोधपत्रको प्रयोजनार्थ प्रस्तुत गरिएको छ।

१.२. विषय परिचय झमक घिमिरे प्रतिभाशाली व्यक्तित्व हुन्। हामी जस्ता सबल शारीरिक स्वरुपका साहित्यकारहरूलाई उनका उत्कृष्ट कार्यले चुनौति दिँदै 'जीवन काँडा कि फूल' जस्तो उत्कृष्ट कृति रचना गरेकी छिन्। यिनका (सङ्कल्प कविता सङ्ग्रह - २०५५), आफ्नै चिता अग्निशिखातिर (कविता सङ्ग्रह - २०५५), मान्छे भित्रका यौद्धाहरू (कविता सङ्ग्रह - २०५७), सम्झनाका बाछिटाहरू (लेख सङ्ग्रह - २०५७), नौलो प्रतिबिम्ब (कविता सङ्ग्रह - २०६०), पर्दा समय र मान्छेहरू (कथा सङ्ग्रह - २०६२), बेमौसमको आस्थाहरु (निबन्ध सङ्ग्रह - २०६३), आदि साहित्यिक कृतिहरू प्रकाशित छन्। यिनले नेपाली साहित्यमा आधुनिकतावादी लेखनमा झण्डै दुई दशक लामो यात्रा पार गरिसकेकी छिन्। झमक घिमिरेको आत्मपरक निबन्धको आधार भूमि-नेपाली समाज हो। आफ्नो जीवनमा आइपरेका कठिनाइहरूसँग सङ्घर्ष गर्दै सफलताको शिखर चुम्न सफल भएका आत्मपरक कथालाई विषयवस्तु बनाई 'जीवन काँडा कि फूल' निबन्धको सिर्जना भएको छ।

"जीवन काँडा कि फूल" आत्मजीवनीपरक निबन्ध हो। यसमा उनले आफ्नो सङ्घर्षका कुराहरु लेखेकी छिन्। यस निबन्धले वि.सं. २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको छ। उनले आफ्नो जीवन भोगाइलाई यस कृतिमा प्रस्तुत गरेकी छिन्। 'जीवन काँडा कि फूल' कृतिमा वैचारिक स्वतन्त्रताको उद्घोष छ। यसमा प्रतिभाको चमत्कार र वैकल्पिक विचारको प्रस्फुटन भएकोले यस कृतिको वैचारिक दृष्टिकोणको अध्ययन विशलेषण गर्नु सान्दर्भिक छ। यसै सन्दर्भमा आधारित भएर प्रस्तुत शोधप्रबन्ध तयार पारिएको छ।


१.३. समस्या कथन झमक घिमिरेको 'जीवन काँडा कि फूल' निबन्धलाई वैचारिक पक्षबाट अध्ययन विश्लेषण गर्नु नै यस शोधकार्यको मुख्य समस्या कथन रहेको छ। घिमिरेको 'जीवन काँडा कि फूल' निबन्धको वैचारिक पक्ष अनुसार विश्लेषण मूल्याङ्कन गर्ने क्रममा प्रस्तुत निबन्धलाई हालको समसामयिक परिवेश अनुसार विश्लेषण गरिएको छ। यस शोध प्रबन्धको समस्या कथनलाई बुँदागत रूपमा यसरी प्रस्तुत गरिएको छ।

१. झमक घिमिरेको जीवन के-कस्तो छ? २. झमक घिमिरेका साहित्यिक कृतिहरू के-कस्ता छन्? ३. 'जीवन काँडा कि फूल' निबन्धमा के-कस्ता विचार प्रकट गरेिएको छ?

१.४. शोधको उद्देश्य शोधकार्यको समस्या कथनमा उल्लेखित विभिन्न समस्याहरूलाई समाधान गर्नु यस शोध कार्यको उद्देश्य सो उद्देश्य पूर्तिका निम्ति अध्ययन गर्दा आइलागेका समस्याहरूको निम्नानुसार समाधान गर्नु पनि प्रस्तुत शोधकार्यको उद्देश्य हो।

झमक घिमिरेको जीवनी के-कस्तो छ निरुपण गर्ने, झमक घिमिरेका साहित्यिक कृतिहरू के-कस्ता छन् विश्लेषण गर्ने, जीवन काँडा कि फूल निबन्धमा के-कस्ता विचार प्रकट गरिएको छ, औल्याउने।

१. ५. पूर्वकार्यको समीक्षा घिमिरेका हालसम्म यस बाहेक अरू कनै कृति प्रकाशित भएको छैन र यिनका बारेमा पनि कसैले कुनै लेख-रचना लेखेका पाईदैन। विभिन्न टेलिभिजन, पत्रपत्रिका र केही व्यक्तिका मन्तव्यहरू भने कहि कतै उपलब्ध भएको पाइन्छ। जसलाई बुँदागत रूपमा तल उल्लेख गरिएको छ:- २०६७ माघ १० गते 'जीवन काँडा कि फूल' का अङ्ग्रेजी अनुवाद नगेन्द्र शर्माले - झमक अन्तराष्ट्रिय प्रसिद्ध नोबेल पुरस्कार प्राप्त गर्न योग्य सक्षम विशिष्ट प्रतिभायुक्त साहित्यकार हुन् भनी चिनाएकी हुन्।

प्रसिद्ध लेखक जगदीश घिमिरेले २०६७ पौष १२ मा कान्तिपुर पत्रिका मार्फत झमकको यो कृति नेपाली भाषा साहित्यको मात्र शिखर होइन, मैले हालसम्म पढेका अमेरिकी प्रेरणा साहित्यका करिव एक दशक यताका बहुचर्चित बेस्ट सेलरहरू बीच एलवको टुडेज विथ मौटी, र्यान्डी पौस र जोफरी ज्यास्लोको दि लास्ट लेक्चरभन्दा उच्चस्तरीय छ भनेका छन्।

पत्रकार रचना झमकले पाठकलाई छुटै पाठकशाला दिइन्। आफ्नै जिन्दगी बिच्छ्याइ दिइन्। 'जीवन काँडा कि फूल' मार्फत भनी बुधबार साप्ताहिकलाई उजागर गरिन्।

प्रसिद्ध साहित्यकार एवम् विद्वान् मोदनाथ प्रश्रितले २०६७ चैत्र १७ गते झमकले 'जीवन काँडा कि फूल' यति लोकप्रिय भयो, जसले केही समयभित्रै स्रष्टाको गहन प्रतिभाले अफ्नो पाठकसङ्ख्या लाखौलाख बनायो। यो कृतिले अन्तराष्ट्रिय स्तरको उत्कृष्टता प्राप्त गरेकाले यसले नेपाली पाठकलाई मात्र हैन अनुवादको माध्यमबाट विश्वकै पाठकलाई प्रभावित पार्न सक्छ भन्ने मेरो ठम्याइ छ भनी टेलिफोनबाट भनेका थिए।

पूर्वकुलप्रति, रोनास्ट प्रा। दयानन्द बज्राचार्यले २०६७ मङ्सिर २३ गते कान्तिपुर पत्रिकामार्फत औपचारिक शिक्षा नपाए पनि भौतिक शरीर पुर्ण नभए पनि उनी देशकै एक महान् श्रष्टा बन्न सफल भइन्। झमक घिमिरे वास्तवमै सङ्धर्ष, साहस र इच्छाशक्ति प्रतिमूर्ति भएकी कुरा उनले बताए।

२. शोधविधि २.१. सामाग्री सङ्कलन विधि प्रस्तावित श्रोतका आवश्यक साम्ग्री प्रथमत: पुस्तकलायबाट सङ्कलन गरिएको छ। साथै आवश्यकता अनुसार विभिन्न व्यक्तिहरूसँग पनि सोधिएको छ। इमेल-इन्टरनेटबाट पनि सामग्री संकलन गरिएको छ। आवश्यकता अनुसार वार्तालाभलाई पनि समावेश गरिएको छ।

२.२. विश्लेषण विधि निगमनात्मक विधिको प्रयोग गरिएको छ। यहाँ वर्णनात्मक विधिक प्रयोग गरिएको छ। प्राप्त सैद्धान्तिक धरातलमा टेकेर सामग्रीहरूका विश्लेषण गरिएको छ। यसका साथै समस्याको पहिचान परिभाषाकरण तथा सामग्री विश्लेषण गरी निष्कर्षमा पगिएको छ।

३. शोधकार्यको औचित्य निबन्धकार झमक घिमिरेका निबन्धमा पाइने वैचारिक पक्षमाथि हालसम्म गहन अध्ययन अनुसन्धान हुन नसकेको परिप्रेक्ष्यमा प्रस्तुत शोधकार्यका उनका कथाभित्र रहेका वैचारिक पक्षको निरुपण गरिएको हुनाले यस शोधकार्यको औचित्य स्वत: स्थापित हुन आउँछ।

४. शोधकार्यको सीमाङ्कन घिमिरेका यस निबन्धलाई विभिन्न कोणहरूबाट अध्ययन अनुसन्धान गर्न सकिने सम्भावना हुँदाहुँदै पनि वैचारिक आधारमा मात्र अध्ययन गरी वैचारिक पक्षमाथि व्याख्या र विश्लेषण गर्नु शोधकार्यको सीमा रहेको छ।