प्रयोगकर्ता:Aruni acharya

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जैमिनि क्षेत्र कुस्मिसेरा

डा.टीकाराम आचार्य ‘आरुणि’

जैमिनि न.पा. १ कुस्मिसेरा ।

बागलुङ जिल्ला सदरमुकामको दक्षिणतिर पहाडी भेगमा पर्ने जैमिनि नगरपालिको वडा नं. १ मा जैमिनि क्षेत्र रहेको छ । ९.७६ वर्ग कि.मी. मा फैलिएको कुुस्मिसेराबाट बग्ने ठेउले खोलाको पुछार र कालगण्डकी नदीको किनारमा जैमिनि क्षेत्र अवस्थित छ । जैमिनि क्षेत्र कुस्मिसेराको मात्र नभएर दमेक, सकुर्वा, बिनामारे, अर्जेवा, जैदी, छिस्ती, पैयुँथन्थाप र राङ्खानी जस्ता ठाउँहरूको पनि आस्थाको धरोहर हो । उक्त ठाउँका करिब एकतिस हजार (२०७५ साल सम्ममा) जनताहरूले जैमिनि घाट भनेर सम्बोधन गर्छन् । यस क्षेत्रको उत्तरतिरबाट ठेउले खोला बग्दैे आएको छ भने दक्षिणतिर कालीनदी बगिरहेको छ । उक्त स्थानबाट उत्तरतर्फ लाग्दा कुस्मिसेराको टुनिबोट पुगिन्छ भने दक्षिणतिर अवस्थित कालीनदीको पुल तरेर पर्वतको फलेबास पुगिन्छ । पूर्वतिरको भूभागमा सरङ्गी र पश्चिमतिर बिनामारे÷थन्थाप अवस्थित छ । वर्तमान समयमा गण्डकीकै पश्चिमतिरबाट कालीगण्डकी (करिडोर) राजमार्ग बनाइएको छ । यस मार्गले जैमिनि क्षेत्रसम्मको पहुँच विस्तारमा थप टेवा दिएको छ ।

   जैमिनि क्षेत्रलाई स्थनीय भाषामा ज्यामिर घाट पनि भनिन्छ । ज्यामिर शब्द पनि जैमिनि शब्दबाट नै अपभ्रंश भएर बनेको हो । कुनै फल विशेषका नामबाट यस ठाउँको नाम रहन गएको होइन । जैमिनि घाट बागलुङ सदरमुकामबाट कालीगण्डकी करिडोरको बाटो हुँदै जाँदा १२ किलोमिटको दूरीमा रहेको सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र पनि हो । यो ठाउँ पञ्चायत कालमा अमालाचौर गा.वि.स.बाट शासित थियो । पछि आएर यसलाई तत्कालीन कुस्मिसेरामा गा.वि.स.मा समावेश गरिएको हो । हाल गण्डकी प्रदेश, बागलुङ जिल्ला, जैमिनि न.पा. वडा नं. १ मा जैमिनि क्षेत्र अवस्थित छ । 
   वेदव्यासका शिष्य जैमिनिको नामबाट यस ठाउँको नाम रहन गएको हो । महाभारतका अनुसार उनले व्यासबाट शास्त्रीय ग्रन्थहरूको अध्ययन गरेको खुल्न आउँछ । उनले लेखेका सात कृतिमध्ये मीमांसा सूत्र प्रमुख दार्शनिक कृति हो । जैमिनि ऋषिले यही ठाउँमा बसेर मीमांसा सूत्र को लेखन गरेका थिए भन्ने जानकारहरूको ठम्याइ रहेको छ । जैमिनिले यस ठाउँमा यज्ञ यज्ञादि समेत गरेका थिए । उनले सयकडौँ गाई पालन गरी गोसेवा पनि गरेका थिए । आफ्ना शिष्यहरूलाई पूर्वीय आध्यात्म विद्याको ज्ञान प्रदान गरेका थिए । उनै ऋषिका नामबाट यस ठाउँको नामकरण गरिएको हो । यो ठाउँ आर्य एवं अनार्य जातिहरूको अन्तिम संस्कार गरिने ठाउँ भएका हुनाले घाटका रूपमा बढी परिचित छ । घाट शब्दको अभिधार्थ अन्तिम संस्कार गरिने ठाउँ विशेष भए पनि यसको व्यञ्जनार्थ भने पवित्र धार्मिक तीर्थस्थल पनि हो । यस क्षेत्रमा विविधकिसिमका धार्मिक र ऐतिहासिक स्थानहरू रहेका छन् । तिनको क्रमशः परिचय प्रस्तुत गरिन्छ ः
   जैमिनि क्षेत्र पौराणिककालीन समयदेखिकै प्रख्यात धार्मिक केन्द्र हो । यसमा रहेको जैमिनिश्वर महादेवको मन्दिर कडा चट्टानमाथि अवस्थित छ । यस मन्दिरको वि.सं. १९९० सालतिर स्थापना भएको ठानिन्छ । यसको जीर्णोद्धार भने २०१६ सालमा भएको बुझिन्छ । त्यस्तै २०४१ सालतिर जनश्रमदानबाट वर्तमान अवस्थाको संरचना निर्माण गरिएको स्थानीय बासिन्दको अनुभव रहेको छ । मन्दिरको पूजाआजा र पूजारीको भरणपोषणका लागि बिनामारेमा सात मुरी धान फल्ने खेत गुठीका रूपमा व्यवस्था गरिएको छ । मन्दिरको स्थापना भएको ८५ वर्ष भए पनि यसको पौराणिककालीन महत्त्व बढी मात्रामा रहेको छ । यही शिवालय भएको ठाउँमा लङ्कापति राबणले समेत तपस्या गरी वाक्सिद्धि प्राप्त गरेका थिए भन्ने बुझिन्छ । मन्दिरको दयाँबाट बगिरहेको ठेउले खोलालाई प्राचीन समयमा स्वर्णनदी पनि भनिने गरिएको जानकारहरूको विचार छ । यस आधारमा यस जैमिनि क्षेत्र पौराणिक र ऐतिहासिक दृष्टिले बढी विशिष्ट रहेको छ । 
   शिवालयको ठिक अगाडि गण्डकीको जलले घेरिएको अवस्थामा देवशिला रहेको छ । यस शिलासम्म पुग्नका लागि पौडेर जानु पर्छ । यस शिलालाई जीवनमा एकपटक स्पर्श गरी परिक्रमा गर्नु पर्छ भन्ने जनविश्वास पाइन्छ । त्यसको उत्तरतर्फ जलले छुने गरि शङ्खशिला अवस्थित छ । यसमा शङ्खको जस्तो प्वाल रहेको छ । यसलाई शङ्ख बजाउन जान्नेले बजाउँदा शङ्खकै जस्तो नाद निस्किन्छ । यो शिला सत्य युगमा दिनमा र रातमा आफैँ बज्थ्यो भने त्रेता युगमा रातमा मात्र आफैँ बज्थ्यो । द्वापर र कलियुगमा मानिसले बजाउनु पर्छ भन्ने किंबदन्ती पनि छ । शङ्खशिलातिर मृतकको शिर फर्काएर दाहसंस्कार गरियो भने बन्धनमुक्त (मोक्ष) भइन्छ भन्ने जनास्था रहेको छ । स्थानीय भाषामा कसैलाई नराम्ररी गाली गर्नु प¥यो भने ‘तँलाई शङ्खेढुङ्गामा सेलाउन पर्ने’ भनिन्छ । यसले यस शिलालाई मृत्युको प्रतीकका रूपमा हेरिँदै आएको पनि देखिन्छ । 
   शङ्खशिलाको पश्चिम दिशामा पहराको आडमा जैमिन शिला (ताम्रशिला) छ । चकटी वा आसनको आकारमा रहेको यसै शिलामा बसेर जैमिनि ऋषिले तपस्या गरेको अनुमान इतिहासकारहरूले गरेका छन् । उक्त शिला जैमिनि गुफाको नजिक भएका हुनाले पनि यसै शिलामा जैमिनिले तपस्या गरेका हुन् भन्ने तर्क बढी ओजपूर्ण रहको देखिन्छ । त्यस्तै ताम्रशिलाको उत्तरतिर पहरामा जैमिनि ऋषि बसेको अनुमान गरिएको गुफा रहेको  छ । गुफाको भित्री भागमा पूजामण्डप पनि छ । पूजामण्डपमा कालीगण्डकी नदीमा पाइने शालग्रामको सङ्ग्रह गरिएको छ र त्यसै शिलामा विष्णु भगवानको पूजाआराधना गरिन्छ । त्यसै गुफाको अगाडि नागशिला रहेको छ । शङ्खशिला, देवशिला, नागशिला र ताम्रशिला वर्षायाममा कालीनदीको गर्भमा हुन्छन् भने गुफा नदी बाहिरै रहन्छ । गुफाको माथिल्लो भागमा घोडेटो बाटो बनेपछि त्यहाँको फाहोर मैला गुफातिरै फाल्न थालिएको छ । जसका कारण गुफाको अस्तित्व मेटिँदै गएको छ । पौराणिक महत्त्व बोकेको यस धार्मिक ठाउँको सम्पदा लोप हुन लागेकोमा धर्मानुरागीहरूले गहिरो चिन्ता प्रकट गर्दै आएका छन् । प्राचीन समयमा योगी, तपस्वी, साधक र ज्ञानीहरू बसी योगसाधना गर्ने यहाँको गुफा पछि आएर रातीमा मुर्दा कुर्ने, मलामी बस्ने र फक्कडहरूले अड्डा जमाउने स्थानमा रूपान्तरण भएको छ । यस्तो ऐतिहासिक ठाउँको जगेर्ना र संरक्षणका लागि सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नु पर्ने देखिन्छ ।
   शिवालयको पारिपट्टि ठेउले खोलाको किनारमा प्राचीन शिव मन्दिर रहेको छ । यो मन्दिर बिनामारेको पुछारमा अवस्थित छ । काठमाडौँका दिलानन्द पाण्डेले यस मन्दिरको स्थापना गरी बगौँचा बनाई गुठीको समेत व्यवस्था गरेर पूजाआजाको प्रबन्ध गरेको  बुझिन्छ । शिवालयदेखि उत्तरतर्फ गण्डकी नदीको किनारमा हरिशयनी एकादशी, बालचतुर्दशी (शतबीज छर्ने) र माघेसङ्क्रान्तिका अवसरमा २०४३ सालसम्म दुई रात दुई दिनसम्म ठुलो मेला लाग्ने गर्दथ्र्यो । यस्ता मेलापर्वमा नदीमाथि तोरण तार्ने प्रचल रहेको   छ । धार्मिक विधिअनुसार तोरणकोको पूजा गरेपछि नदीमा पौडिएर सुथरी (मसिनो डोरी) तार्ने मानिसको पनि पूजा गरिन्छ । सुथरी तारिसकेपछि त्यही सुथरीमा बाँधेर तोरणलाई नदीपारि पु¥याउने गरिन्छ । यसरी तोरण तार्दा स्वर्गमा पुगिने धर्मानुरागीहरूको विश्वास रहेको छ । ठुलोे र चिसो नदीमा पौडिएर तोरण तर्दा मानवीय क्षति हुन थालेपछि वर्तमान समयमा पुलबाटै तोरण तारिन्छ । यसरी तोण तार्दा पञ्चेबाजा बजाएर नगरा लाउने र भक्तका घरबाट डोलीमा तोरण राखी नदीसम्म पुराउने चलन पनि छ ।
   २०४८ सालमा जैमिनि क्षेत्रमा लाग्ने माघे सङ्क्रान्ति मेलाको सुरक्षार्थ खटिएका प्रहरी निरिक्षक स्व. ज्ञानेश्वर वैद्यको हत्या भएपछि मेला लाग्न छोड्यो र किसानहरूले पनि खेतमा हिउँदे बाली लगाउन थाले । त्यसपछि बन्द भएको माघे सङ्क्रान्ति मेला हिमालयन बोर्डिङ स्कुल कुस्मिसेराको प्राङ्णमा केही समय सञ्चालन गरियोे । त्यसपछि सहारा क्लब कुस्मिसेराको व्यवस्थापनमा माघेमेलाको अर्को संस्करणका रूपमा कुस्मिसेरा बजारको पारिपट्टि ठेउले र टिमुरे खोलाको सङ्गम स्थल दुलिबेसीको चौरमा हुने गरेको छ । वर्तमान समयमा यस मेलालाई परिमार्जन गरी जैमिनि महोत्सव नामकरण गरिएको छ र प्रथम जैमिनि महोत्सव पनि सम्पन्न भएको छ । यस महोत्सवमा भने धार्मिक पक्षलाई भन्दा व्यापारिक र साँस्कृतिक पक्षलाई बढी जोड दिएको पाइन्छ । 
   जैमिनीश्वर माहादेव मन्दिरको पारि बिनामारेको पुछारमा चाक्लो र बलौटे बगर छ । कालीनदीको यही सङ्गमस्थलमा समयसमयमा महायज्ञ पनि भएका थिए । जसअनुसार स्व. योगी नरहरिनाथको संयोजन र रत्नबहादुर के.सी.को अध्यक्षतामा वि.सं. २०४२ सालमा शिवपुराण महायज्ञ सञ्चालन भएको थियो । त्यसपछि वि.सं. २०४४ को धनधान्याचल हेमराज शर्माको अध्यक्षतामा भएको थियो भने वि.सं. २०४६ सालको धनधान्याचल उमाकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्ता कामको आरम्भ योगी नरहरिनाथले गरेका थिए । उनकै सुझबुझले यस ठाउँको महत्त्वलाई जनस्तरसम्म पु¥याउन प्रशस्त योगदान थपेको हो । उक्त यज्ञमा सङ्कलन भएको दानदक्षिणा, धान लगायतका अन्नको सङ्कलन गरेर वचत भएको रकमबाट ‘जैमिनि पाठशाला’को स्थापना वि.सं. २०४२ सालमा भएको हो । पूर्वीय चिन्तन पढाउने मनसायबाट स्थापित उक्त पाठशालामा विद्यार्थी र भौतिक संरचनाको अभाव भएपछि केही दाताहरूको सहयोगमा कुस्मिसेरा बजारको पारिपट्टि तत्कालीन दमेक गा.वि.स.को वडा नं. १ शिवपुरीमा विद्यालयलाई स्थानान्तरण गरिएको हो । वि.सं. २०४८ सालको फागुनमा विद्यालय स्थानान्तरण हुँदा खरको छाप्रोको संरचना मात्र थियो । संस्थापक अध्यक्ष उमाकान्त सापकोटाको पहलमा वाठशालाको पुनर्निर्माण गरियो । यस पाठशालका लागि पण्डित कृष्णप्रसाद रिजालले १२ आना जग्गा दान दिएका थिए । त्यसपछि केही रकमको जोहो गरी थप ८ आना जग्गा किनिएको हो । पाठशालामा अध्ययन कक्ष, हरिहर मन्दिर (वि.सं.२०५३ सालमा स्थापित), पुस्तकालय, वाचनालय, भोजनालय र शौचालय जस्ता भौतिक संरचना निर्मित छन् । यसैको आडमा आयुर्वेद औषधालय पनि छ । आजको अवस्थामा यस पाठशालामा संस्कृत वाङ्मयका साथै अन्य आधुनिक विषयको पनि पढाइ हुने गरेको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले मासिक ५०० रुपियाँ छात्रवृत्ति समेत पाउने गरेका छन् । उनीहरूलाई आवास तथा भोजनको व्यवस्था मिलाइएको छ । त्यहाँबाट अध्ययन गरेका विद्यार्थीले विद्यावारिधि तहसम्म अध्ययन सम्पन्न गरिसकेका छन् ।
   पौराणिककालीन यस जैमिनि क्षेत्रको उचित मात्रामा जगेर्ना गर्न सकिएको छैन । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाका बिँड भने जस्तै यस क्षेत्रको महत्त्वको मसिनोे गरी अध्ययन अनुसन्धान हुन सकेको छैन । अझै यसको प्रचार प्रसार त भएकै छैन । जैमिनि क्षेत्र कुस्मिसेराको मुख्य पर्यटकीय गन्तव्य भन्ने चेतनाको विकास भएको छैन । यसलाई वर्तमान समयका पदाधिकारीहरूले संरक्षण गर्नुका साथै पर्यटकीय क्रियाकलाप सञ्चाल गर्न भौतिक पूर्वाधार निर्माणमा पनि ध्यान दिनु आवश्यक छ । त्यसका लागि बृहद् जैमिनि क्षेत्रको अवधारणाको विकास गरी जैमिनि घाट, सकुर्वाको माईस्थान र बलेवाको कालभैरब मन्दिरको समानान्तर रूपमा विकास गर्ने परियोजना ल्याउनु आवश्यक छ । सर्व प्रथम त नगरपालिकाले यहाँका पुरातात्विक सामग्रीको संरक्षण, ऐतिहासिक वस्तुको सुरक्षा र पौराणिक महत्त्वको वस्तुको प्रचार गर्नु आजको अनिवार्य आवश्यकता हो । यस क्षेत्रको विकासका लागि जैमिनि अध्ययन केन्द्रको विकास, पुुस्तकालयको स्थापना, शिवालयको उचित संरक्षण, गुफामा सङ्ग्रहालयको स्थापना, विविध शिलाको वरिपरि प्रदक्षिणा पथको निर्माण, दाहसंस्कार गर्ने निश्चित स्थानको निर्धारण, पाटीपौवा वा समाजघरको निर्माण एवं शिवरात्री र श्रावण महिनाको सोमवारमा जैमिनि घाटदेखि दमेकको शिवपुरीसम्म कुम्भयात्रा सञ्चालन गर्नुपर्छ । यसो गर्न सकियो भने यस ठाउँको पर्यटकीय सम्भावना बढेर जान्छ र स्थनीयबासीहरूको आम्दानी पनि बढ्न जान्छ अनि यस ठाउँको उचित विकासमा टेवा पुग्नुका साथै ख्याति पनि आर्जन हुन्छ । अतः अहिले नगरे कहिल्यै गर्न सकिन्न, आजै, हाम्रै पालामा यस क्षेत्रलाई देश विदेशमा परिचित तुल्याउनु पर्छ । यो नै नगरपालिकाको प्रथम कर्तव्य हो ।  
   जैमिनि क्षेत्रको पौराणिक, ऐतिहासिक र पुरातात्त्विक विशिष्टा बढी मात्रामा रहेको  छ । यो कुस्मिसेराको मात्र नभएर बागलुङ जिल्लाकै गौरब र आकर्षक पर्यटकीय गन्तव्य  हो । यस क्षेत्रको धार्मिक र साँस्कृतिक महत्त्वलाई पनि कम आँकलन गर्न सकिन्न । यसको भौतिक विकासमा ध्यन दिँदै संरक्षणमा पनि ध्यान दिनुु अवश्यक छ । यस क्षेत्रको प्रचीनता अनुसार यसको प्रचारप्रशार पनि हुन आवश्यक छ । जैमिनि ऋषिको तपस्या स्थलका रूपमा परिचित यस क्षेत्रको नामाकरण पनि उनकै नामबाट रहन गएको हो । यहाँ रहेको मन्दिर करिब ८५ वर्ष पुरानो हो तर यसको धार्मिक महत्त्व ईसापूर्व भन्दा पहिलैदेखि नै रहिआएको विश्वास गरिन्छ ।