सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Hari Pd. Gautam/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
                        खुट्टा                 लेख   
                                                                  हरि प्रसाद गौतम ,  अमरबस्ती  
                                 
     " एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौ हित भनि ........."  भानुभक्तको सरस कल्पना जस्तै एकदिन मेरो पनि विचारले 

प्वाँख लगाएछ र सोच्न लागेछु .. यो धराधाममा सबै भन्दा महत्वपुर्ण चीज के होला? ढुङ्गे युगको असभ्य र पशुतुल्य मान्छे कसरी जीव श्रेस्ठ हुन पुग्यो ? के गरि मान्छेको उन्नति भयो ? यस्तो अचम्मको प्रगति कहाँबाट शुरु भयो  ? मनमा यस्तै गन्थन मन्थन चलिरहँदा एउटा विचार फुर्‍याे।

    उन्नति माने उन्नत् गति । प्रगति माने प्र गति अर्थात् गतिलो गति । गति पर्नुनै मान्छेको आध्यात्मिक ध्येय पनि हो । उन्नति 

र प्रगति गर्नु आजको युगको सान्सारिक ध्येय हो। यस उन्नति र प्रगतिलाइ ल्याउने को हुन् ? के आधार हो गतिको ? सोझो सोचाइमा मा पनि गतिको आधार खुट्टानै हो । त्येसैले मैले निश्चय गरें कि यही खुट्टाको बारेमा खोजि निति गरें , यसै खुट्टाको पाउ परे मेरो खुल्दुलीले बाटाे पाउला ।

   हुन पनि हो , खुट्टा नभए हामि सबै बोट बिरुवा जस्तो जीवन पर्यन्त एकै ठाउँमा रहने थिएउँ । मौसम र परिस्थिति अनुसार , 

आवश्यकता अनुसार चल फिर गर्ने कुरै आउने थिएन । जन्मेकै ठाउँमामरुन्जेल खडा रहनु पर्ने थियो होला । खुट्टाकै भरले त हुयान शाङ् चीनबाट हिँडेर नेपाल र भारत पसी वर्सौ घुमेर बुद्धको वार्ता चीन पुर्‍याएथे । पृथ्वीनारायन शाहले डाँडा काँडा घुमी घुमी नेपाल् एकीकरण गरी नेपालीलाई विश्व माझ आज पनि एक स्वतन्त्र राष्ट्रकाे रुपमा खुट्टा टेकाई राखेका छन् । उहिलेका का कुरा त त्यस्तै भै गए । आधुनिक कालमा सामाजिक र राजनैतिक नेताहरु पनि अरु उपायले दुनो सोजिएन भने पदयात्राको ट्रम कार्ड अपनाउने गर्दछन् । आज नेपालको पीडाले निकास नपाई अल्झिएर रहेको यही पदयात्रा नभएर पो हो कि ?

   खुट्टा दरिलो नहुनेको दुर्दशा हुन्छ भन्ने कुरा हाम्रा महाकवि देवकोटाले पनि उल्लेख गरेका छन् र बाँसखुट्टे भनेर लुतेलाई परिभाषित 
गरेका छन् । खुट्टामै मज्जा हुन्छ भन्ने कुरा त हाम्राबाले परेवा काट्ता खुट्टी पोलेर खान दिँदै मैले अलि अलि थाहा पाएको थिएँ । किन 

भने खुट्टी पोलेको खान पाउँदा हाम्रा पनि खुट्टा भुईमा हुँदैनथे । कुकुरले बाटामुनि गोरुको नलि खुट्टा भेट्दा रमाए जस्तै ।

   खुट्टाको यस्तो महत्व हुँदा हुँदै पनि यसको बेवास्ता गरिनु ,यसको गुणगान कतै नहुनु , कुनै पनि खुट्टी पुराण नलेखिनु ,यसबारे 

छलफल र विचार विमर्श नहुनुले मलाई आश्चर्य पनि लाग्यो । विचरा खुट्टा !

   अँ , खुट्टाको महत्व  मान्छेले घोषणा गर्दै हिँड्दा मात्रै हुने , विज्ञापन नगर्दा नहुने कहाँ रहेछ र ? "कोई न कोई पाखुरी पोई" भने झै 

खुट्टाले आफ्नो विकास आँफै गरेको छ । दृश्य अदृश्य नाना रुपमा यसले फड्को मार्दै खुट्टा घुमाएको छ । मान्छे र अरु जनावरहरुमा भएका खुट्टाको स्थानमा घस्रने सर्प , गडौलाहरुको शरीरको तल्लो भाग जम्मै अदृश्य खुट्टामय बनेको छ । अझै उच्चस्तरीय खुट्टा पनि रहेछन् । हाम्रा विचार , कल्पना र भावहरु सुक्ष्म र अदृश्य खुट्टा भएका होलान् र त आएको गएको देखिँदैन । सुर्य , चन्द्र , ग्रह र अरु ताराहरुका खुट्टा त झन् कत्रा र कस्ता होलान् ?

   "यत्र जीव तत्र शिव " भनेझै जहाँ जीव त्यहाँ खुट्टा अवश्यमेव छँदै थिए, उता निर्जीवहरुमा पनि खुट्टाले गतिलै पदार्पण गरेको छ । 

घर , खाट , कुर्सी , टेबल ईत्यादि पनि खुट्टा हालेर शोभायमान भएको देखेर हिजो आज म गदगद् हुन्छु र खुट्टालाई साधुवाद भन्न मन लाग्छ । सृजनात्मक अभिव्यक्ति कला पनि खुट्टा मा कम रहेनछ भन्ने कुरा त मान्छे र अरु प्राणीहरुका फोल्डिङखुट्टा देखेर नै थाहा पाइन्छ तर गाडीका पाङ्रारुपी खुट्टाहरु अवलोकन गरेपछि त खुट्टा प्रतिको मेरो आकर्षण झन् बढेर गयो ।

    हाम्रा पुर्वजहरु जो कि सुक्ष्म ज्ञान भएका थिए ,खुट्टाको वर्गीकरण गर्ने कुरामा पिछडिएका थिएनन् । उनीहरुको दृष्टि यति प्रखर र 

विलक्षण रहेछ कि कुन कुन खुट्टा कसरी र कति कति बेला ढोग्न योग्यर कुन् अयोग्य भन्ने तथ्य आजको विज्ञानले पनि ठम्याउन नसक्ने गरि खुट्याउने क्षमता राख्थे। जस्तै छोरीका ,ज्वाँईका छोराका र बुहारिका अनि पत्नीका खुट्टामा त्यो अदृश्य फरक खालि आँखाले नै ठम्याउँथे । कसका गोडा ढोग्दा पुण्य हुने र खुट्टा छुनै नहुने व्यक्तिका जुत्ता चप्पल यताउता सार्नु परे हातले नभै खुट्टालेनै सार्नु पर्ने किटान् समेत गर्न सकेका थिए । त्यसरी नै बडा र गुरु अनि पुज्य जनलाई पूजा गर्दा सबै अङ्ग मध्ये कुनलाइ पूज्ने भन्ने कुरामा पनि निश्चयताका साथ पाउनै पूजिने भन्ने निर्णय गरेका थिए ।

    खुट्टाको वर्गीकरण जातको आधारमा गर्ने चलन झन बलियो निस्क्यो । बाहुनका खुट्टा धुस्रे फुस्रे भए पनि सबैलाई पूज्य हुन्थे । 

अजातका खुट्टा जतिसुकै सुकिला किन नहुन् यहाँ सम्म नालायक गनिन्थे कि उच्च जातको मान्छेको छाँयालाई समेत कुल्चिएमा सामाजिक दण्ड दिइने गरिन्थ्यो रे !

     मान्छेलाई मात्र कहाँ हो र खुट्टाले कुन कुन जनावरलाई छुन नहुने ,के के लाई पाउ देखाउन नहुने भन्ने नियमहरु प्रशस्तै रचना

भै सकेका थिए । गाईलाई लात् लागेमा क्षमा प्रार्थना गरी ढोग गर्ने त छँदै थियो, अग्निलाई पाउ देखाई बसेमा पक्कै पाप लाग्छ भन्ने किटानै थियो ।

     नेपालीहरुले आफ्नो दण्ड संहितामा खुट्टा मार्फत् एउटा गजबको शास्तिको आविस्कार गरेका थिए । एउटा काठको वा बाँसको लौरी 

घुँडा पछिल्तिर राखि दुई हातलाई विशेष किसिमले बाँधे पछि अर्को कोही आएर नफुस्काउन्जेल बाँधिएको मान्छे कुनै अङ्ग भङ्ग नभै एकै ठाउँमा लडीरहन्थ्यो । नाम पनि "गोर्खे लौरी" भनेर गजबकै थियो । आजसम्म अमेरिकाले त अमेरिकी लौरी बनाउन सकेको होइन , छैन क्यारे खोई?

     अब ता पुरानै जमानाको कुरा भयो , तर हामी साना छँदा खाल्डामा गुन्द्रुक खाँदने बेलामा कन्या केटीहरु खुट्टाले गुन्द्रुक खाँद्थे । 

सागको मौसममा घरका बुढीहरु एक दुई दिन ओइल्याएको साग खाल्डोमा ओइरीहन्थ्ये र कन्याहरु कुर्कुच्चा र पैताला हरियो होइन्जेल त्यो सागलाई खाँदिरहन्थे । अहिले पो गुन्द्रुक गन्हाउने कुरा हुन लाग्यो त , उसबेला गाउँनै गुन्द्रुक गन्हाउनेगरी मान्द्रामा सुकाउँदा कसैले गुनासो गर्दैनथे ।

     खुट्टा नामक यो विषय सँग मेरो भेट्घाअट्को शुरुवात उहिले कपुरी क सिक्दा देखि हो । च , छ , ज सम्म त सजिलै भयो । खुट्टो 

झार्यो झ भने लर्तरो चोट्ले सिकिएन । त्यही खुट्टो झारेर बस्ने झ लेख्न नसक्दा गुरुले "दिनभरि खेल्न जान्छस् ,साउँ अक्षर आउँदैन ! तेरा खुट्टा भाँच्छु , पिडौला फर्काउँछु" भनेको त्रास अझै सम्झना आउँछ । हुनत त्यस्तो केही घटित भएन ,सामान्य हप्कीदप्की र कान निमोठ्नमै त्यो चरण सेलायो । अर्का एक जना गुरुलाई त मेरो खुट्टा हल्लाएर बस्ने बानी पटक्कै मन पर्दैनथ्यो । पढ्ने बेलामा र गुरुले सिकाएकाे बेलामा खुट्टा हल्लायो भने अमनोयोगी विद्यार्थी भन्नु हुन्थ्यो ।

     कुबेलामा खुट्टा हल्लाउनु जति नराम्रो , बेलामा सही ढङ्गले हल्लाउन सक्नु त्यत्तिनै राम्रो । केही दिन अघि त हो हाम्रै एक चेलीले 

एउटा खुट्टा नहुँदा पनि एउटा मात्र खुट्टा हल्लाएर नृत्य गरिन् र एक्जना इजरायलका कुट्नीतिगज्ञ बाट विदेशमा गै उपचार गर्न खर्च समेत पाइन् । खुट्टै हल्लाएको कुरा गर्नु हो भने गत विश्वकप फूटबलमा रोनाल्डोको लात्ती प्रहारले भकुन्डो गयो जालमा र दुनियाँ मोहित् भै सुनको जुत्ताले चुमे रोनाल्डोको खुट्टामा । वाह् रे लात् ! ल्याएकै हो पुर्पुरो तैले । अालिम्पिकमा कुदेर ,उफ्रेर तक्मा पाउनु पनि खुट्टै हल्लाएको कमाल न हो । हल्लाउन जान्नेले खुट्टै हल्लाएर भाग्य चम्काएका छन् भने हामी नजान्नेलाई त्यही खुट्टा हल्लाउँदा कत्रो आपत्ति विपत्ति !

    हामी जस्ता साना तिनाका खुट्टा पनि कहिले काँही काशी पुग्दा रहेछन् भनेर थाहा त्यतिखेर लाग्यो जब बिहेमा गोडा धुने बेला भयो। 

माघे जाडोमा जति भएका आफन्तहरु भेला भएर पालैपालो खुट्टाको बुडी औंला खोजी खोजी धोएर जल खाए ।

    हिजो आज हामी खुट्टाको वास्तै गर्दैनौ । अनुहार चिटिक्क देखिए भैहाल्यो । सेतो रातो जो लिप पोत गर्नु छ , अनुहार तिरै जोड तोड
छ । हाम्रा पूर्वजहरु टाउकामा लट्टै लट्टा भए पनि खुट्टामा चिल्लो नलगाई सुत्दैनथे । स्त्रीहरु दिनभरिको थकाइले सुत्न जतिसुकै हतारिए 

पनि पूज्यजनको गोडामा तोरीको तेल नलगाई हुँदैनथ्यो ।

   सङ्गत गुनको फल हुन्छ भन्छन । हुन पनि हो । ठूला बडाका पाउ त पूजिन्छन् नै उनीहरुका खुट्टाको सङ्गतमा रहने खराउ समेत 

राजगद्दीमा विराजमान शोभायमान हुन सक्छन् भन्ने कुरा अयोध्याका राजा रामका खराउले देखाएकै छन् । रामको कुरा टाडैको भयो ,अस्ति एकजना साधुले उनका स्वर्गे भएका गुरुका खुट्टा ढोग्न नपाई गुरुका पुराना खराउ स्थापना गरी दिन रात ढोग र प्रार्थना गरेको देख्दा हाम्रा बालाई पनि त्यस्तै कुनै महात्माका खराउ हात पार्ने सनक जागेको छ । अब ती खराउ खोज्न बुढा आफु जाने होइनन् , मैले नै कहाँ कहाँ खुट्टा भाँच्तै हिड्नु पर्ने हो त्यस्को निधो छैन ।

   तपाईँ हामी हिजो आज बाटोमा कसैको साइकलको टायर अचानक पडकिदा झस्किन्छौ । कतै बम नै त पड्केन भनेर । कत्रो त्रास् 

हुन्छ एक क्षणलाई ! हामी साना विद्यार्थी छँदा यसरी नै थर्रर मुटु काम्थ्यो जब हामी प्रधानाध्यापकको पदचाप् सुन्थेँउ । त्यही पदचाप आजको बमको थर्काई भन्दा कम हुँदैनथ्यो । यसरी थर्काउने कुरामा खुट्टाले निकै नाम कमाएको छ । खुट्टाको प्रहारलाई "लात्" भनिन्छ । लातको प्रहार सबै भन्दालज्जाजनक र तिरस्कारपूर्ण मानिन्छ । "लातको भुत बातले मान्दैन" भन्ने उखानले बातले मनाउन नसकिनेलाई महामान्य लातको प्रयोग रामबाण ओखति हुने कुरा दर्शाउँछ ।

   स्याहार नपुगेका , जुत्ता चप्पल सँग  मुलाकात नभएका खुट्टामा फाटेका कुर्कुच्चा देख्ने बित्तिकै यो मान्छेको भाग्यको दुर्बल पक्ष चल्दै 

रहेछ भनेर नभनी चाल पाईन्छ ।खुट्टाको बनावट रंग रुप हेरेर नै भविष्य कथन गर्ने सामुद्रिक ज्योतिषीहरुको पनि छुट्टै नियम र सिद्धान्तहरु छन् । जसरी हस्तरेखाको बारेमा प्रचलित छ ।

   खुट्टामा खोल , माने जुत्ता ,मोजा बुट लगाए पछि मान्छेको रवाफ् नै अर्को हुन्छ । निश्चिन्त भएर सुख शान्तिले  उपरखुट्टी लगाई 

पल्टेको मान्छे विशेष चिन्ता वा हतारमा छैन भन्ने कुरा सजिलै बुझिन्छ । तर यस्तै निश्चिन्त भै उपरखुट्टी लाउनेहरुलाइ सधैं भाग्यले साथ दिन्छ भन्न पनि सकिदैन । नत्र श्रीकृष्ण उपरखुट्टी लाएर सुतेकै बेला व्याधाको तीरले मर्नु पर्ने थिएन ।

    सबैलाई उच्च आसन मन पर्छ । उच्च आसनमा बस्दा मर्यादा बढेको सम्झिने गरिन्छ । खुट्टा पनि उचाइमा शोभयमान हुने गरेको छ 

। सगरमाथा माथि तेन्जिङ् र हिलारीका पाईला पर्दा धर्मराज थापाको गीत " हाम्रो तेन्जिङ् शेर्पाले चढ्यो हिमाल चुचुरा---------" हरेक् नेपालीहरुको ओठ र हृदयमा लामो समयसम्म उत्साह र उमंग छर्दै गुन्जियो । नील आर्मष्ट्रङ्को पाइला चन्द्रमाम्मा परेको दिन मानव इतिहासमा गौरवमय बनेको छ । सक्ने जतिले यस्तै उचाईमा पाइला राखेका छन् भने अरु कुरामा रंग र ढंग पुर्‍याउन नसक्ने पुरुषहरुले आफ्नै निरीह स्वस्नीलाई लात्तले भकुरेर पराक्रम देखाएका छन् । आधुनिकताले कुत्कुत्याएका चेलीहरुले खुट्टा मर्किने गरी हाईहिल लगाएर होचोपनको हीनतावोधबात आफुलाइ उकासेका छन् ।

     औषधि उपचार तिर पनि खुट्टाले  नाम कमाएको रहेछ  भन्ने कुरा अस्ति एकजना मित्रबाट थाहा पाएँ । तिनी मित्र रोगी र दुर्बल
भएका हुनाले कुनै हितैषीले उनलाई खसीको खुट्टाको झोल तातो तातै सुरुप्प सुरुप्प लिने गरे शरीरलाई बल मिल्छ भनेर उपदेश दिएका 

रहेछन् । मेरै घरमा आएर मित्रले त्यो प्रसङ्ग बारम्बार निकाले । खसीका खुट्टा खोज्न जानै पर्याे। " अतिथि देवो भव:" भनेर श्रीमतीको समेत चित्त बुझाएँ ।

    खुट्टा हुँदा सबै कुरामा सुविधा र सजिलो मात्र हुन्छ भन्ने रहेनछ । पोहोरको हिउँदमा रिठ्ठेका छोरा छोरी जङ्गलमा बाख्रा चराउन जाँदा
बम पड्केर मरे । खुट्टा नभएका भए ठाईला बाजेकीबुहारी राति भागेर पोइल जान्थिन र?
    राम्रो नराम्रो त्यस्तै हो । जहाँ राम्रो छ त्यहाँ नराम्रो हुन्छ नै । नराम्रोलाई बिर्सेर राम्रो जति लिने गर्नु पर्छ रे ! मलाई त खुट्टाको 

कृयाकलाप विचार्दा निकै महत्वको लाग्छ । परेडमा लामबद्ध र लयबद्ध खुट्टाको चालले मलाई विमोहित पार्छ । मनमनै खुट्टालाई स्याबासी दिन्छु । मेरो स्याबासी औपचारिक मात्र नभै भित्रै देखि पल्हाएर आएको सुमधुर भावनाको झन्कार हो । त्यसैले खुट्टाको कदर पत्र स्वरुप केहि प्रशस्ति गाथाको रचना गर्ने मन भयो । म छँदै यो काम पुरा भएन भने मालको मोल नबुझ्नेहरुले के गरि देलान्? के थाहा म मरे पछि यति ठुलो महत्वको खुट्टाको सम्झना र आदर कसैले गरी दिएनन् भने कस्तो अनर्थ हुनेछ ! यो सबै सोच विचार गरेर प्रचलित लयमा खुट्टाको आरति शुरु गरेँ ........

   जय पाउ , जय खुट्टा जय जय चरण गोडा ।     
   तिमिनै हौ जगतमा गति नभएमा सबै लङ्गडा ।।
       वामन अवतारमा प्रभु तिमिनै त्रिलोक धर्ता ।
       तिमिनै लगाउँछौ लिवर्टी , बाटा  र बाँसबारी जुत्ता ।।
   धनी गरीब देशी विदेशी , भुसतिघ्रे या हुन् भाटा  । 
   पाउ बिना  बिकामे हुन जान्छन् बाठा हुन वा लाटा ।।  
       दायाँ र बायाँ दुई रुप तिम्रा एकैमा पाँच औंला ।
       औंला माथि नङ् हुन गै जोगाउने ठेस् लाग्दा ।।
   साइकल रिक्सा मोटरसाइकल पैडन् मार्दा ।  
   यी पाउ नै हुन गुरुत्वका सबैका भर पर्दा ।।  
       तिमिनै हौ जगत चराचरमा रगरगि  हिँडने ।   
       सहाराको बालु होस् या पर्वत अग्ला चड्ने ।।
   हनुमानका पाउ दरिला फलामे स्प्रीङ् जस्ता ।
   पुगेथे लङ्कामा एकै उफ्राइमा खोज्न माता सीता ।।  
       दण्डमा दण्ड प्रचण्ड  तिमी दिन सक्छौ कस्ता । 
       लातरुपी दण्ड मिलेमा को गर्न सक्छ बेवास्ता ।।
   चरण  भै पुजिन्छौ तिमीनै सन्त महन्त गुरुको ।
   माथ लगाई भक्ति जगाई इज्जत हुन्छ हजुरको ।। 
       जो प्राणी यस धर्तीमा खुट्टै नभै बाँच्तछन् ।
       जीवन उनको अघोर दुखको पीडामै मर्दछन् ।। 
   खुट्टाको महिमा यति जानि नर लोकमा ।
   जो गर्छन् स्याहार चिल्लो लगाई रातमा ।।  
   धुन्छन् मिचि मिचि जालो र साबुन लगाई ।
   बिहान् उठी दगुर्ने कसरत बढिया  गराई ।।
   पद्मासन आदि आसन जति खुट्टाका छन्  । 
   गरेमा लौ सम्झ सखे तिनी गुणी र ज्ञानी हुनन् ।। 
 
  इति श्री खुट्टा नाम निवन्धे , खुट्टा बारे नाली बेली विचारे जाने जति लेखन् कार्ये , कनिकुथी एउटै मात्र अध्याये समाप्तम् ।