सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Minendra Bhandari

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भाव, अभाव र प्रभाव

[सम्पादन गर्नुहोस्]

हरेक सचेत मानिस तीन चीजले आफ्नो व्यक्तित्व निर्माण गर्दछ– भाव, अभाव र प्रभाव । यी तीनवटै चीज सर्वप्रथम उसले आफ्नो परिवारबाट ग्रहण गर्दछ । साथीभाइहरुबाट सापट लिन्छ । विद्यालय वा विश्वविद्यालयमा गएर सिक्छ । हेरेर, भोगेर र गरेर सिक्छ । शिक्षाका आधुनिक सिद्धान्तमा पनि ज्ञानीहरुले यिनै तीन त¤वलाई सूत्र बनाएर भनेका छन् ।

सिक्न या नयाँ ज्ञान हासिल गर्न पुरानो कुरालाई बिर्सनुपर्छ । धोक्रो खाली नपारी नयाँ सामल राख्ने ठाउँ कसैको हुँदैन । यसर्थ, संसार नै भावले बनेको हो । सन्त र ज्ञानीहरु यसै भन्छन् । जीवनमा अभाव नभई कोही पनि दुःखको आरनमा खारिन सक्दैन । भनिन्छ– दुःख गुरू र सुख चेलो हो । गुरूले दिन खोज्छ, चेलाले लिन । असल गुरू र पितामा कुनै भेद हुन्न ।

प्रभाव संसारको मनोविज्ञान हो । पहिले आफूले नजिकका मानिसबाट अनुकरण गर्ने हो । अनि, त्यसपछि शनैःशनैः ज्ञानको क्षितिज बढाउँदै गएर दृष्टिकोणको दायरा दिगदिगन्तसम्म फराकिलो पार्दै जाने हो ।

आविष्कार भनौँ या सिर्जना, निर्माण भनौँ या कल्पना, यी सबै कामकुरामा भाव, अभाव र प्रभावको भूमिका जोडदार रुपमा हुने गर्छ । पीडाका झरीमा नरूझी आँसु खस्दैन । आँसु नै समूल सभ्यताकी जननी हुन् ।

संसारको सार भनेको मुक्ति हो । सबै प्रकारका सनातन परम्पराका सिकन्जाबाट मुक्ति चाहनु मानिसको चाहना हो । चाहे धर्म होस् या विचार, संकुचन संस्कार होस् या व्यवहार । पाखण्डका मेखाला हुन् या पर्मका पन्याला च्यादर च्यात्नैपर्छ । मानिसले अहिलेसम्म गरेका सबै प्रकारका शालीन द्रोह या गम्भीर विद्रोहमा यिनै जडहरुका विरूद्ध क्रान्ति कबोलेको छ । हतियार उठाएको छ । हुंकार गर्जेको छ ।

दुनियाँका सबै सफल र असल मानिसहरु कि त गरिब घरपरिवारबाट उठेका छन्, कि त दुःखका महासागरमा पौरी खेलेकाहरु नै छन् । मण्डेला भन या अब्दुल कलाम, गान्धी भन या माक्र्स, चार्ली च्यापलिन भन या शेक्सपियर, सबैसबै अभावका पर्याय हुन् । दुःखका पुरिया हुन् । अभावले आवश्यकतालाई निम्ता दिन्छ । आवश्यकता नै आविष्कारकी जननी हुन् । संसार जित्ने मानिस घरमा हारेको इतिहास साक्षी छ । रुप र सारको लडाइँमा अन्ततोग¤वा सारले जितेको छ । संसारमा सारको खोजीमा दुईवटा बाटाहरु छन् । एउटा षनानन् कुमारको जस्तो घुमाउरो बाटो अर्को लम्बोदर गणेशको जस्तो छोटो बाटो । जो जताबाट गए पनि आफ्नो गन्तव्यमा पुगेको छ । भलै, फल गणेशको पोल्टामा परे पनि ।

सन्तान शिक्षित भए पनि बाबुआमा रित्तै, सन्तान निरक्षर भए पनि बाबुआमा रित्तै । जुनै समयको मानिस पनि चराको नियति बाँच्न विवश छ । अहिलेको समयमा सन्तान नपढाउने एउटामात्रै विषयका दुःखी होलान्, तर सन्तान पढाउने बाबुआमाहरु अनेक विषयले दुःखी भएका छन् । मानिस आफूमा अनन्त शक्ति र प्रतिभा भएर बाहिरबाहिरै खोजी हिँड्छ । कस्तुरी नियतिमा मनुवा भौँतारिन्छ । उसलाई आफ्नो प्रतिभाको ज्ञान हुँदैन । प्रत्येक मानिस अरुले हौस्याएपछि मात्र काम गर्न थाल्छ । हरेक मानिसमा अनन्त सीप र ऊर्जा समाहित छ, तर अरु कसैले त्यो देखाइदिनु पर्छ । हनुमानलाई परायाले उनको बलको हेक्का दिलाएझैँ ।

मानिस तीन प्रकारका हुन्छन्– स्वार्थी, परार्थी र परमार्थी । स्वार्थी आफ्ना लागिमात्र बाँच्छ । परार्थी केही कार्य अरुका लागि र समाजका लागि पनि गरेर बाँच्ने गर्छ । तर, परमार्थी आफूलाई नामेट गराएर सधैँभरि अरुका लागि नै बाँच्ने गर्छ । परमार्थी मानिसहरु महामानव हुन् । बुद्ध, जिजस, मोहम्मद र कृष्णजस्ता लौकिक या अलौकिक पात्रहरु महामानव हुन् । हामी उनान्सय प्रतिशत मानिसहरु स्वार्थी छौँ ।

संसारलाई चलायमान गराउने साधन भनेका तीन चीज छन्– पावर, मनी र सेक्स । यी तीन चीजबाहेक अहिलेसम्म संसारमा चौँथो चीज देखिएको छैन । पावर भनेको ब्रह्मा हुन् । मनी भनेका विष्णु हुन् । उनैकी पत्नी लक्ष्मी धनधान्यकी देवी भनी पुकारिन्छिन् । अनि, सेक्स भनेका महेश हुन् । सेक्सबाटै संसारको सृष्टि आरम्भ हुन्छ । समागमपश्चात् ब्रह्माको कार्यादेश लागू हुन्छ । यो गोलचक्करमा मानिस हजारौँ वर्षदेखि घुमिरहेको छ । अझै हजारौँ वर्ष घुमिरहने छ ।

जुनसुकै मानिस पनि सफल र असल हुन चाहन्छ । असल मानिस सफल हुन सक्छ, तर सफल मानिस अरुका लागि असल नहुन पनि सक्छ । दुवै भयो भने संसारमा उसको कृति र कीर्ति दुवै रहन्छ ।

जीवन भन्ने कुरा बुझ्न थाल्दा मानिसको आधा जीवन सिद्धिसकेको हुन्छ । आमा, बाबु, पत्नी, मित्र, प्रेम, जीवन, मृत्यु, संसार, मुक्ति, दया, माया र रिसजस्ता सामान्य देखिने र लाग्ने शब्दका गुढार्थ जीवनभरि लगाए पनि सिद्धिँदैन । जति सरल शब्दहरु हुन्छन्, तिनीहरुका अर्थ पनि त्यति नै जटिल हुन्छन् । ओखरको नियतिमा संसार चल्छ ।

बाबु छोरो मजस्तो होस् भन्ने चाहन्छ, तर उसैको छोरो सधैँ म बाबुजस्तो कहिल्यै नहौँ भन्छ । द्वन्द्वको यही बिन्दुबाटै विकासको आरम्भ हुन्छ । आफूतिरबाट देखिएको सुल्टो र ठीक कुरा पनि अरुका दृष्टिबाट उल्टो र बेठीक देखिन्छ । मानिस आफूलाई एक र अन्य संसारका सबै मानिसलाई आधा देख्छ । त्यसैले, संसारमा डेढ अक्कल भन्ने पदावलीको सिर्जना भएको हो ।

ज्ञानी, गुनी र ठूला मानिसहरु जता लाग्छन्, जीवनको बाटो त्यही हो । मानिस अरुको देखेर आफ्नो पद र पथको मूल्यांकन गर्न खोज्छ । आजसम्म भएको पनि त्यही छ । रुप र विद्या दुवै एकै व्यक्तिसँग दुर्लभ छ । दुवै भयो भने कि त्यो अहंकारी हुन्छ कि देवत्व गुणले सम्पन्न ।

सरस्वती र लक्ष्मी सौता–सौता हुन् । दुवै एकै मानिससँग प्रायः देखिन्नन् । विद्या हुने गरिब र अकुत धन हुने अविद्या भएका उदाहरण संसारमा कति छन् कति ! तरबार र कलमको छिनाझपटी संसारको आदिदेखि अन्त्यसम्मै चलिरहन्छ । कहिले तरबारले राज गरेको देखिन्छ भने कहिले कलमले सत्ता चलाएको पाइन्छ ।

तपस्यामा एक जना, अध्ययनमा दुई जना, गानामा तीन जना, बाटो हिँड्दा चार जना, खेतीपातीमा पाँच जना र युद्धमा अनेकौँ जना हुनुपर्छ । चाणक्यको यो भनाइले भवसागरमा एकल र सहकार्यलाई प्रस्ट्याएको छ ।

अन्य जीवजन्तु र पशुबाट मानिसलाई छुट्टयाउने एउटै चीज बुद्धि र विवेक हो । अन्य प्राणीमा यी दुवै चीज हुन्नन् । मानिसमा यी दुवै चीज हुन्छन् । सूचना बाहिरबाट भित्र र ज्ञान भित्रबाट बाहिर प्रकट हुन्छन् । हरेक मानिस ज्ञानी हुन्छन्, तर तिनीहरुलाई ज्ञान प्राप्तिको मार्गमात्र सम्झाइदिनु पर्छ । सूचना प्रविधिले सिकिन्छ भने ज्ञानका लागि आत्मशक्ति नै उत्तम हो ।

शरीरले लिएको सुख क्षणिक र आत्माले पाएको सुख दीर्घकालीन हुन्छ । हरेक प्राणी उत्सर्जनमा अधिक चाहना राख्छ । सेक्स पनि उत्सर्जनकै चरम् रुप हो ।

भाव नै संसारको आधारशीला हो । भावको चरम जीवनरुपी गृह निर्माण गर्न सकिन्छ । अभावले मानिसलाई बाँच्न सिकाउँछ । प्रभावले असल प्रकार्यको निर्माणमा जोड दिन्छ । अतः संसारमा यी तीन चीज नै कामयाब छन्– भाव, अभाव र प्रभाव । जसको जगमा हरेक मानिस व्यक्तिबाट उठेर व्यक्तित्व बन्न सामथ्र्य राख्छ । आजसम्मको मानव इतिहासले त्यो कुरा दृष्टान्तमा देखाएको छ ।