प्रयोगकर्ता:Nandaram Budha Magar/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोटी जिल्लाको ठूला केदार एक परिचय


डोटी जिल्लाको सुदूर दक्षिणमा रहेको लानाकेदारेश्वर गा०वि०स० को वडा नं० ६ मा ठूला केदारको थानरुपी मन्दिर रहेको छ। यस केदारको मन्दिर रहेको स्थान समुन्द्र सतहदेखि झण्डै २५०० मिटरको उचाईमा पहाडको शिखरमा रहेको छ । वरिपरी चारैतिर अफ्ठ्यारो चट्टान रहेको र चट्टानको बीच भागमा यसको पवित्र थान रहेको छ । डोटी जिल्लाको सबैभन्दा महत्वपूर्ण स्थान ओगटेको यस यो धार्मिक स्थलमा कार्तिक शुक्ल पक्षको त्रैयोदशी तिथिमा मेला लाग्दछ र शिव बैकुण्ठ चतुर्दशीका दिन पुजिने गर्दछ । खास गरी लानाकेदारेश्वर घाङल र धिर्गाकामाण्डौ गा०वि०स० मा पूजिने बिभिन्न देवताहरुका धामी भराँडीहरु तथा उक्त देवता पुज्ने समुदायका मानिसहरु उक्त मेलामा जानै पर्ने कर लाग्दछ । यस क्षेत्रमा पूजिने देवताहरुमध्ये श्रीकेदारलाई सबैभन्दा शक्तिशाली देवताको रुपमा स्थान दिईएको छ । साथै श्री केदार भनेको भगवान कैलासपति शिबजीको रुप हो भन्ने जनबिश्वास समेत रहेको पाईन्छ । त्यसकारण उक्त अवसरमा सम्पूर्ण देवताहरु अनिवार्य रुपमा भगवानको दर्शन गर्न जानु पर्ने परम्परा रहेको जनश्रुति पाईन्छ । श्री केदारको मेला लाग्ने समयमा मात्र होइन शिबरात्रीको समयमा पनि यहाँ बिशेष मेला लाग्ने गर्दछ । यस अवसरमा डोटी तथा कैलाली जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजारौँ तिर्थयात्री यहाँ मेला भर्न अाउँदछन । यस तिर्थ स्थलप्रति मानिसहरुको श्रद्धा जाग्ने एउटै मात्र कारण के हो भने श्री केदारको दर्शन गर्नाले हरेक भक्तजनको मनोकाँक्षा पूरा हुन्छ । मनमा कुनै कुराको कामना गरेर केदारको दर्शन गर्नाले श्री केदारले भक्तजनलाई वरदान दिन्छन् भन्ने मान्यताले गर्दा कैयौँ दिन लगाएर बिकट उकालो काटेर मानिस यहाँ आउने गर्दछन ।

यहाँ सबभन्दा बढी आस्था र बिश्वासका साथ आउनेहरुमा कैलाली र कञ्चनपूरका थारु समुदायका मानिसहरु पहिलो नम्बरमा पर्दछन । थारु समुदायका मानिसहरु बिशेष गरी सन्तान नभएका दम्पत्तीहरु सन्तानको बरदान माग्न यहाँ आउने गर्दछन। यसरी सनतानको बरदान माग्न आउने प्राय सबै भक्तजनहरु अर्को एक दुई बर्षपछि साथमा सन्तान ल्याएर सन्तानलाई समेत केदारको दर्शन गराउने गर्दछन । त्यसैगरी कैलालीको सीमा सँग जोडिएका भारतीय मूलका मानिसहरु समेत यहाँ उल्लेख्य रुपमा आउने गर्दछन ।हाल एक दुई बर्ष यता केही बिदेशी प्रयटकहरु समेत उक्त अवसरमा मेलामा अाउने गरेको तथ्याँक रहेको छ । त्यसै गरी स्थानीय गा०वि०स० का बूढाबूढी युवायुवतिहरु कतिपय रमाइलोको लागि त कतिपय धर्म गर्न उक्त मेलामा जाने गर्दछन ।

यस श्री केदारको मन्दिरमा लानाकेदारेश्वर गा०वि०स० का बिनाडी परिवारका सदस्यहरु पूजारी रहने परम्परा रहेको छ । हाल यसका पूजारी डम्सिलाका आदरणीय ब्यक्तित्व श्री सिद्धराज बिनाडी हुनुहुन्छ । भक्तजनबाट प्राप्त भेटी केही मात्रामा मन्दिरको बिकासमा लगाउने गरिएको छ भने केही रकम पुजारीहरुको पारिश्रमिकमा खर्च हुने गर्दछ । यस मन्दिरको अत्याधिक महत्व भएको भएता पनि यसो प्रचार प्रसारको अभावले गर्दा यसको विकासको लागि सरकारी सहयोगको अभाव भोगीरहेको छ । तै पनि हाल डोटी जिल्ला क्षेत्र नं० २ का सभाषद प्रेम बहादुर आलेमगरको सकृयतामा हरेक बर्ष मन्दिर विकासको लागी भनेर प्रयटन तथा नागरिक उड्डेयन मन्त्रालयबाट केही रकम हरेक बर्ष आउने गरेको छ ।साथै यस मन्दिरको बिकासका लागि धिर्कामाण्डौ गा०वि०स० का प्रेम सिँह बोगटी पनि दिलो ज्यान दिएर लाग्ने भएको पाईएको छ ।