भिस्कोसिटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भिस्कोसीटिबाट अनुप्रेषित)
भिस्कोसीटि (गतिशास्त्र)
Viscosities
फरक भिस्कोसीटि भएका तरलहरूको बदलिएको रूप । दायाँ तर्फ भएको तरलको भिस्कोसीटि बढी र बायाँ तर्फ भएको तरलको भिस्कोसीटि कम छ ।
साधारण प्रतीकη, μ
अन्य मात्रा देखि
व्युत्पत्ति
μ = G·t

हामीलाई थाहा छ कि कुनै पनि ठोस वस्तु अर्को ठोस वस्तुसँग रगडीयो भने घर्षण उत्पन्न हुन्छ। सोही अनुरूप, कुनै पनि तरल अवस्थामा रहेको वस्तु अर्को तरल वस्तुको सतहसँग रगडीयो भने घर्षण बल उत्पन्न हुन्छ जसलाई भिस्कस बल भनिन्छ। यही बलले तरल पदार्थको चाललाई प्रतिरोध गर्दछ।

उदाहरणका लागि, एउटा भाँडो लिउँ र एउटा सिसाको डण्डीले उक्त भाँडोको पानीलाई चलाउँ। त्यहाँ भएको तरलको विभिन्न तहको भिन्न गति हुन्छ। भाँडोको सम्पर्कमा रहेको तहको गति न्युन हुन्छ भने भाँडोको केन्द्रतिर जाँदा तरलको गति पनि बढ्दै जान्छ। पानीलाई चलाउन छोड्नु हो भने, क्रमश: सम्पूर्ण तहहरूको गति घट्छ र अन्तत: सम्पूर्ण तहहरू स्थिर अवस्थामा आउँछन्।

कुनै पनि तरल वा ग्याँसको बहने गुणले गर्दा तरल पदार्थ चाल अवस्थामा हुँदा आन्तरिक घर्षण पैदा भई त्यही घर्षणले तरलको विभिन्न तहको सापेक्षिक चाललाई प्रतिरोध गर्नुलाई नै भिस्कोसीटि भनिन्छ ।

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

"भिस्कोसिटी" शब्द लेटिन भाषाको "viscum",बाट आएको हो जसको अर्थ हडचुर अथवा हडचुरबाट बनेको टाँस्ने चिज (glue) हुन्छ ।[१]

न्युटनको भिस्कोसीटि सम्बन्धी नियम, भिस्कोसीटि गुणाङ्क[सम्पादन गर्नुहोस्]

मानौँ, कुनै एक ठोस तेर्सो सतहमा तरल पदार्थ स्थिर रूपमा बहिरहेको छ । तरलका प्रत्येक तहहरू ठोसको तहसँग समानान्तर छन् । ठोस सतहको सम्पर्कमा रहेको तरलको तह स्थिर अवस्थामा छ भने अन्य तहको गति जति उँभो गयो त्यति नै बढ्दै जान्छ ।

मानौँ दुई तहहरू AB र CD क्रमश: v र v+dv गतिमा अगाडि बढिरहेका छन् । AB तह ठोस सतहदेखि x दुरीमा छ भने CD तह ठोस सतहदेखि x+dx दुरीमा छ ।

प्रति एकाई दुरीमा हुने गति परिवर्तन (dv/dx) लाई नै गति प्रविणता (Velocity gradient) भनिन्छ ।

न्युटनका अनुसार, भिस्कस बल निम्न कुराहरूमा निर्भर हुन्छ: (१) भिस्कस बल सम्पर्कमा रहेका सतहहरूको क्षेत्रफलसँग समानुपातिक हुन्छ । F α a (२) भिस्कस बल दुइ तहको गति प्रविणता सँग समानुपातिक हुन्छ । F α (dv/dx) माथीका दुइ समीकरण लिँदा F α a (dv/dx) वा F = - η a (dv/dx) ...(i) जहाँ,η एउटा अचर राशि हो जसलाई भिस्कोसीटि गुणाङ्क भनिन्छ । यसको मान तरलको गुणमा निर्भर रहन्छ ।

समीकरण (i) मा रहेको ऋणात्मक चिन्हले भिस्कस बल तरलको चालको दिशाको विपरित दिशामा लाग्छ भन्ने जनाउँछ ।

यदि a=1 र dv/dx =1 भए, समिकरण (i) बाट,

η = - F अत: भिस्कोसीटि गुणाङ्कको परिभाषा

तरलको तहको प्रतिएकाइ क्षेत्रफलमा लाग्ने भिस्कस बल जसको गति प्रविणता एक एकाइ छ र तरलको बहनको दिशाको लम्ब छ , त्यसैलाई भिस्कोसीटि गुणाङ्क भनिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "viscous", Etymonline.com, अन्तिम पहुँच २०१८-०९-२२