मधुपर्क मासिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साहित्यिक मासिक प्रकाशन ‘मधुपर्क’ को प्रकाशन २०२५ साल जेठ ३० देखि सुरु भएको हो । यसको पहिलो सम्पादक गोपालप्रसाद भट्टराई हुनुहुन्थ्यो । यसको दर्ता नं. २५।०२४ रहेको छ । ‘मधुपर्क’ ले देश र देशबाहिर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उल्लेखनीय सेवा गर्दै आएको छ ।

गोरखापत्र संस्थान व्यवस्थापनले यसलाई एउटा छुट्टै विभागमा परिणत गरेको छ । यसले आफ्नो १७ वर्षको प्रवेशाङ्कदेखि साजसज्जा र सिँगारपटारमा विशेष दृष्टि पु¥याउँदै आएको छ । यसै समयदेखि आवरण पृष्ठ र मुख पृष्ठ अफसेट प्रविधिबाट छाप्न थालिएको हो । २०४५ सालदेखि यसका सम्पूर्ण पृष्ठ अफसेट प्रविधिबाटै छापिन्छन् ।

विसं २०५७ मङ्सिर २५ गते गोरखापत्र संस्थान सञ्चालक समितिले प्रकाशन नीति तयार पारी लागू गरेको छ । नीति अनुसार ‘मधुपर्क’ मा नेपाली साहित्य, कला, संस्कृतिको संरक्षण, प्रवर्धन गर्नुका साथै सष्टाहरूको यथोचित सम्मान तथा प्रोत्साहन हुने खालका सामग्री प्रकाशन हुन्छन् ।

त्यस्तै, यसले आम नेपाली पाठकमा राष्ट्रको अस्मिता एवं पहिचानका रूपमा रहेका विशिष्ट वाङ्मय साधकप्रति उत्प्रेरणा जगाउने खालका, नेपालको बहुजातीय संस्कार र संस्कृतिलाई संरक्षण गर्ने, साहित्यिक क्षेत्रमा देखा परेका कुरीति, विकृति एवम् असामाजिक गतिविधि निरुत्साहित पार्ने सामग्री प्रकाशन गर्दछ ।

नेपाली वाङ्मयका विशिष्ट साधकको व्यक्तित्व तथा कृतित्वसम्बन्धी रचना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका सम्पदाको संरक्षण तथा संवर्धनमूलक रचना प्रकाशन गर्ने तथा साहित्यका कुनै पनि विधाका स्तरीय रचना प्रकाशन गरी ‘मधुपर्क’ लाई नेपाली साहित्यमा कोसेढुङ्गाका रूपमा स्थापित गर्ने नीति रहेको पाइन्छ । नेपाली साहित्यमा अभिरुचि राख्ने नवोदित प्रतिभालाई प्रोत्साहनस्वरूप स्थान दिने, साहित्यिक गतिविधिसम्बन्धी समाचार प्रकाशन गर्ने, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्रष्टाहरूको व्यक्ति एवं कृतित्व प्रकाशन गर्ने, नेपाल बाहिरका नेपाली भाषाभाषीका क्षेत्रमा साधनारत प्रतिभालाई प्रोत्साहित गर्ने नीति तय भएको छ ।

‘मधुपर्क’ ले विसं २०५९ देखि हरेक वर्ष दुई जनालाई ‘मधुपर्क सम्मान’ प्रदान गर्दै आएको छ । २०७६ सालदेखि भने थप एक युवा प्रतिभालाई समेत गरी बर्सेनि तीन जनालाई पुरस्कृत गरिँदै आएको छ । ‘मधुपर्क’मा प्रकाशित सामग्रीको ज्येष्ठतासहित जीवित स्रष्टालाई गद्य–१ र पद्य–१ विधामा र थप एक जनालाई युवा प्रतिभा गरी तीनवटा सम्मान प्रदान गर्ने गरिएको छ । त्यसका लागि उक्त सम्मान प्राप्त गरिसकेका स्रष्टा संयोजक र  ‘मधुपर्क’ मा कार्यरत सम्पादकीय मण्डलका व्यक्ति सदस्य रहने सम्मान छनोट उपसमिति बनाइन्छ । उपसमितिले सम्मानका लागि चयन गरिएका व्यक्तिको नाम हरेक वर्ष वैशाख २४ गते ‘गोरखापत्र’को वार्षिकोत्सवमा सार्वजनिक गरी जेठ ३० गते ‘मधुपर्क’ को वार्षिकोत्सवमा सम्मान प्रदान गर्ने गरिएको छ ।

मधुपर्कका सम्पादकको सूची[सम्पादन गर्नुहोस्]

क्र.सं  साल  र  महिना पद नाम

१. २०२५ जेठ सम्पादक गोपालप्रसाद भट्टराई

२. २०३२ साउन निमित्त सम्पादक नारायणबहादुर सिंह

३. २०३२ फागुन कामु सम्पादक भारतदत्त कोइराला

४. २०३३ साउन सम्पादक भारतदत्त कोइराला

५. २०३६ साउन कामु सम्पादक गोकुलप्रसाद पोखरेल

६. २०३८–२०३९ चैत–वैशाख सम्पादक गोकुलप्रसाद पोखरेल

७. २०४० चैत निमित्त सम्पादक रामचन्द्र न्यौपाने

८. २०४१ जेठ सम्पादक नारायणबहादुर सिंह

९. २०४२ पुस नायब प्रधान सम्पादक नारायणबहादुर सिंह

१०. २०४३ मङ्सिर प्रधान सम्पादक नारायणबहादुर सिंह

११. २०४४ असोज प्रधान सम्पादक कृष्णभक्त श्रेष्ठ

१२. २०४८ वैशाख प्रधान सम्पादक श्रीप्रसाद गौतम

१३. २०४९ मङ्सिर प्रधान सम्पादक कृष्णभक्त श्रेष्ठ

१४. २०५० कात्तिक सम्पादक कपिल घिमिरे

१५. २०६२ चैत सम्पादक उदय निरौला

१६. २०६३ जेठ सम्पादक लक्ष्मी गुरागाईं

१७. २०६३ मङ्सिर सम्पादक उद्धवदेव उपाध्याय

१८. २०६४ मङ्सिर कार्यकारी सम्पादक श्रीओम श्रेष्ठ

१९. २०६५ भदौ सम्पादक लक्ष्मी गुरागाईं

२०. २०६६ साउन सम्पादक विजय चालिसे

२१. २०६७ जेठ निमित्त सम्पादक श्रीओम श्रेष्ठ

२२. २०७० साउन निमित्त सम्पादक वसन्तप्रकाश उपाध्याय

२३. २०७१ असोज सम्पादक श्रीओम श्रेष्ठ

२४. २०७२ फागुन सम्पादक कमलप्रसाद रिजाल

२५. २०७३ असोज सम्पादक तुलसीहरि कोइराला

२६. २०७३ फागुन सम्पादक श्रीओम श्रेष्ठ

२७. २०७५ भदौ निमित्त सम्पादक तुलसीहरि कोइराला

२८. २०७५ असोज सम्पादक जयदेव भट्टराई (कार्यरत)