मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८
संयुक्त राष्ट्र सङ्घ मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ | |
---|---|
मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घको साधारण सभाले प्रस्ताव नं.. २१७ क (३)बाट सन् १९४८ डिसेम्बरमा अनुमोदन गरी जारी गरेको हो। यसमा ३० धाराहरू रहेका छन्।
प्रस्तावना
[सम्पादन गर्नुहोस्]मानव परिवारका सबै सदस्यहरूमा अन्तरनिहित प्रतिष्ठा तथा सम्मान र अविच्छिन्न अधिकारहरूको मान्यता नै विश्वमा स्वतन्त्रता, न्याय र शान्तिको आधार भएकोले, मानव अधिकारप्रति अवहेलना र अनादरको परिणाम स्वरुप मानव जातिको अन्तःकरणलाई नै आहत गर्ने बर्वरतापूर्ण कामहरू भएका र मानव जातिले आस्था र वाक् स्वतन्त्रताको तथा भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको सिर्जना सर्वसाधारण जनताको उच्चतम् आकांक्षाको रूपमा घोषित भएकोले, अत्याचार र दमनको विरुद्ध अन्तिम उपायको रूपमा विद्रोह गर्न मानिसलाई बाध्य नगराउनका लागि कानूनको शासनद्वारा मानव अधिकारको संरक्षण गर्न अत्यावश्यक भएकोले, राष्ट्रहरूका बीच मैत्रीपूर्ण सम्बन्ध विकास प्रवर्द्धन गर्न अत्यावश्यक भएकोले, संयुक्त राष्ट्र सङ्घका जनताहरूले बडापत्रमा मौलिक मानव अधिकारहरूमा ब्यक्तिको प्रतिष्ठा तथा मूल्यमा र महिला तथा पुरुषका समान अधिकारहरूमा आफ्नो विश्वास पुनः पुष्टि गरेको र व्यापक तर स्वतन्त्रतामा सामाजिक प्रगति र अझ राम्रो जीवनस्तर प्रवर्द्धन गर्न उनीहरू दृढ भएकोले, सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घसँगको सहयोगमा मानव अधिकार र मौलिक स्वतन्त्रताहरूको विश्वव्यापी सम्मान र पालनाको प्रवर्द्धन हासिल गर्न प्रतिज्ञा गरेकोले, र यो प्रतिज्ञाको पूर्ण प्राप्तिको लागि यी अधिकार र स्वतन्त्रताहरूको साझा वोध सर्वोत्तम महत्त्वको कुरा भएकोले, महासभाले यस मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई सबै जनताहरू र सबै राष्ट्रहरूले हासिल गर्ने एक साझा मापदण्डको रूपमा घोषणा गर्दछ र यस उद्देश्यका लागि प्रत्येक ब्यक्ति र समाजका प्रत्येक अंगले यस घोषणापत्रलाई निरन्तर ध्यानमा राखी शिक्षण र शिक्षाको माध्यमबाट यी अधिकार र स्वतन्त्रताहरू प्रतिको सम्मान प्रवर्द्धन गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रगतिशील उपायहरूको माध्यमबाट सदस्य राष्ट्रहरू स्वयंका जनता बीच र उनीहरूका क्षेत्राधिकार अन्तर्गतका इलाकाका जनता बीच यी अधिकार र स्वतन्त्रताहरूको विश्वव्यापी तथा प्रभावकारी मान्यता र पालना सुनिश्चित गर्न प्रयत्न गर्नेछ।
धारा १
[सम्पादन गर्नुहोस्]सबै ब्यक्तिहरू जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुन्छन् । उनीहरू विवेक र अन्तःकरणले युक्त भएका हुन्छन् । उनीहरूले भातृत्वको भावना लिएर एक अर्काप्रति व्यबहार गर्नुपर्छ ।
धारा २
[सम्पादन गर्नुहोस्]जाति, वर्ण, लिंग, भाषा, धर्म, राजनैतिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य कुनै हैसियत जस्ता कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव बिना प्रत्येक ब्यक्तिलाई यस घोषणापत्रमा उल्लिखित अधिकार र स्वतन्त्रताहरूको अधिकार हुनेछ साथै कुनै पनि ब्यक्ति रहेका मुलुक वा इलाका स्वतन्त्र, न्यास, स्वशासन रहित वा सार्वभौमसत्ताको अन्य कुनै पनि सीमाको अधिनमा रहेको जे भए तापनि त्यस्तो मुलुक वा ईलाकाको राजनीतिक, क्षेत्राधिकारगत वा अन्तर्राष्ट्रिय हैसियतका आधारमा कुनै पनि भेदभाव गरिनेछैन ।
धारा ३
[सम्पादन गर्नुहोस्]प्रत्येक ब्यक्तिलाई जीवनको स्वतन्त्रता र सुरक्षाको अधिकार हुनेछ ।
धारा ४
[सम्पादन गर्नुहोस्]कसैलाई बाँधा वा दास बनाई राखिने छैन । कुनै पनि किसिमको दासत्व र दास व्यापारलाई निषेध गरिने छ ।
धारा ५
[सम्पादन गर्नुहोस्]कुनै पनि ब्यक्तिलाई शारीरिक यातना दिईने वा क्रुर, अमानवीय वा अपमानजनक व्यबहार वा सजाय गरिने छैन ।
धारा ६
[सम्पादन गर्नुहोस्]कानूनको दृष्टिमा प्रत्येक ब्यक्तिलाई सर्वत्र ब्यक्तिको रूपमा मान्यता पाउने अधिकार हुने छ ।
धारा ७
[सम्पादन गर्नुहोस्]सबै ब्यक्तिहरू कानूनको दृष्टिमा समान र कुनै पनि भेदभाव बिना कानूनको समान संरक्षणका हकदार छन् । सबै ब्यक्तिहरूलाई यस घोषणापत्रको उल्लंघन गरी गरिएको कुनै पनि प्रकारको भेदभाव विरुद्ध वा त्यस्तो भेदभावको दुरुत्साहन विरुद्ध समान संरक्षण पाउने अधिकार हुनेछ ।
धारा ८
[सम्पादन गर्नुहोस्]प्रत्येक ब्यक्तिलाई संविधान वा कानूनद्वारा प्रदत्त मौलिक अधिकारहरूको उल्लघंन गर्ने कार्यहरू विरुद्ध सक्षम राष्ट्रिय न्यायाधीकरण हरूबाट प्रभावकारी उपचार पाउने अधिकार हुनेछ ।
धारा ९
[सम्पादन गर्नुहोस्]कसैलाई पनि स्वेच्छाचारी रूपले गिरफ्तार गरिने, नजरबन्दमा राखिने वा देश निकाला गरिने छैन ।
धारा १०
[सम्पादन गर्नुहोस्]कुनै पनि ब्यक्ति उपर लगाइएको फौजदारी अभियोगको र निजको अधिकार तथा दायित्वको निरुपण गर्दा स्वतन्त्र र सक्षम न्यायाधीकरणबाट निष्पक्ष र सार्वजनिक सुनुवाई गरी पाउने पूर्ण समानताको हक त्यस्तो ब्यक्तिलाई हुनेछ ।
धारा ११
[सम्पादन गर्नुहोस्]- दण्डनीय कसूरको अभियोग लागेको प्रत्येक ब्यक्तिलाई आफ्नो प्रतिरक्षाको लागि आवश्यक सबै प्रत्याभूतिहरू प्राप्त भएको सार्वजनिक सनुवाईमा कानून वमोजिम दोषी प्रमाणित नभएसम्म निर्दोष भएको अनुमान गरी पाउने अधिकार हुनेछ ।
- कुनै कार्य गर्दा वा नगर्दाको बखत राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानून अन्तर्गत दण्डनीय कसूर नमानिने त्यस्ता कार्यका लागि कुनै पनि ब्यक्तिलाई दण्डनीय कसुरको दोषि ठहराइने छैन । नत सो दण्डनीय कसूर गर्दाका बखत लागू रहेको सजाय भन्दा बढी सजाय नै गरिनेछ ।
धारा १२
[सम्पादन गर्नुहोस्]कुनै पनि ब्यक्तिको गोपनियता, परिवार, घर वा पत्रचारमा स्वेच्छाचारी वा गैरकानूनी हस्तक्षेप गरिने छैन न त निजको प्रतिष्ठा तथा ख्यातीमा गैरकानूनी आक्रमण नै गरिने छ । प्रत्येक ब्यक्तिलाई त्यस्तो हस्तक्षेप वा आक्रमण विरुद्ध कानूनको संरक्षण पाउने अधिकार हुनेछ ।
धारा १३
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई प्रत्येक राष्ट्रको सीमानाभित्र आवतजावत गर्ने तथा आफ्नो आवास रोज्न पाउने स्वतन्त्रताको अधिकार हुनेछ ।
- प्रत्येक ब्यक्तिलाई आफ्नो देश लगायत कुनै पनि देश छोड्न पाउने र आफ्नो देश फर्कन पाउने अधिकार हुनेछ ।
धारा १४
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई गैर कानूनी विभेद, डर, त्रास, दुव्र्यवहार वा यातनाबाट उम्किन अन्य मुलुकमा शरण खोज्ने र लिने अधिकार छ ।
- गैर–राजनीतिक अपराधहरू वा संयुक्त राष्ट्र सङ्घका उद्देश्य र सिद्धान्तहरू विरुद्धका कार्यहरूबाट वास्तविक रूपमा उत्पन्न मुद्दाहरूमा यो अधिकारको उपभोग गर्न सकिनेछैन ।
धारा १५
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई राष्ट्रियताको अधिकार हुनेछ ।
- कुनै पनि ब्यक्तिलाई स्वेच्छाचारी ढङ्गले निजको राष्ट्रियताबाट वञ्चित गरिने छैन नत राष्ट्रियता परिवर्तन गर्ने अधिकारबाट नै वञ्चित गरिनेछ ।
धारा १६
[सम्पादन गर्नुहोस्]- उमेर पुगेका पुरुष तथा महिलालाई जाति, राष्ट्रियता वा धर्मको कारणले लगाइने कुनै पनि सीमा बिना विवाह गरी परिवार बसाउने अधिकार हुनेछ । उनीहरूलाई विवाह गर्दाका बखत, वैवाहिक सम्वन्ध रहँदाका बखत र विवाह विच्छेदका बखत समान अधिकारहरू प्राप्त हुनेछ ।
- इच्छुक बरबधुको स्वतन्त्र तथा पूर्ण मन्जुरी बिना विवाह सम्पन्न गरिने छैन ।
- परिवार समाजको प्राकृतिक तथा मौलिक समूह इकाई हो र परिवारले समाज तथा
राष्ट्रबाट संरक्षण पाउनेछ ।
धारा १७
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई एक्लै एवं अरुसँग मिलेर सम्पत्ति राख्ने अधिकार हुनेछ ।
- कुनै पनि ब्यक्तिलाई स्वेच्छाचारी ढङ्गले निजको सम्पत्तिबाट वन्चित गरिनेछैन ।
धारा १८
[सम्पादन गर्नुहोस्]प्रत्येक ब्यक्तिलाई विचार, सदविवेक तथा धर्मको स्वतन्त्रताको अधिकार हुनेछ । यस अधिकारमा आफूले रोजेको धर्म वा आस्था परिवर्तन गर्ने स्वतन्त्रता र ब्यक्तिगत रूपमा वा अरुसँग मिलेर तथा सार्वजनिक वा निजी रूपमा पूजाआजा, नियम, अभ्यास तथा शिक्षणमा आफ्नो धर्म वा आस्था प्रकट गर्न पाउने स्वतन्त्रता समेत समावेश हुनेछ ।
धारा १९
[सम्पादन गर्नुहोस्]प्रत्येक ब्यक्तिलाई विचार र अभिब्यक्ति स्वतन्त्रताको अधिकार हुनेछ । यस अधिकारमा बिना हस्तक्षेप आफ्ना विचारहरू राख्न पाउने स्वतन्त्रता, सीमानाको बन्देज बिना कुनै पनि माध्यम मार्फत सूचना र विचारहरू प्राप्त गर्ने, खोज्ने तथा प्रसार गर्ने स्वतन्त्रता समेत समावेश हुनेछ ।
धारा २०
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई शान्तिपूर्वक सभा गर्ने र सङ्गठनको स्वतन्त्रताको अधिकार छ ।
- कुनै पनि ब्यक्तिलाई कुनै पनि सङ्गठनमा लाग्न बाध्य गराउन सकिने छैन ।
धारा २१
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई प्रत्यक्ष वा स्वतन्त्र रूपले छानिएका प्रतिनिधिहरू मार्फत आफ्नो देशको सरकारमा भाग लिन पाउनेअधिकार छ ।
- प्रत्येक ब्यक्तिलाई आफ्नो देशको सार्वजनिक सेवामा समान पहँच पाउने अधिकार छ ।
- जनताको इच्छा नै सरकारको अख्तियारीको आधार हुनेछ । यो इच्छा विश्वव्यापी र समान मताधिकारद्धारा हुने आवधिक र निष्पक्ष निर्वाचनहरूद्धारा अभिव्यक्त गरिनेछ र यस्तो निर्वाचन गोप्य मतदान वा त्यस्तै स्वतन्त्र मतदान प्रकृयाहरूबाट सम्पन्न हुनेछ ।
धारा २२
[सम्पादन गर्नुहोस्]प्रत्येक ब्यक्तिलाई समाजको एक सदस्यको हैसियतले सामाजिक सुरक्षाको अधिकार हुने र राष्ट्रिय प्रयत्न र अन्तर्राष्ट्रिय सहयोग मार्फत र प्रत्येक राष्ट्रको सङ्गठन र श्रोतहरू अनुरुप निजको प्रतिष्ठाकोलागि र निजको ब्यक्तित्वको स्वतन्त्र विकासको लागि अपरिहार्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको प्रप्तिको अधिकार हुनेछ ।
धारा २३
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई कामको, रोजगारीको स्वतन्त्र छनौटको, कामका उपयुक्त र अनुकूल अवस्थाहरूको र वेरोजगारी विरुद्धको संरक्षणको अधिकार छ ।
- प्रत्येक ब्यक्तिलाई कुनै पनि भेदभाव बिना समान कामको लागि समान पारिश्रमिकको अधिकार छ ।
- काम गर्ने प्रत्येक ब्यक्तिलाई आफ्नो र आफ्नो परिवारको लागि मानवीय प्रतिष्ठा अनुकूलको स्थितिको विद्यमानता सुनिश्चित गर्ने कामका उपयुक्त र अनुकूल अवस्थाहरूको अधिकार छ, र यस्तो अधिकारलाई आवश्यक भएमा सामाजिक संरक्षणका अन्य साधनबाट परिपूरण गरिनेछ ।
४. प्रत्येक ब्यक्तिलाई आफ्नो हितको रक्षाको लागि ट्रेड युनियन गठन गर्ने र त्यसमा सम्मिलित हुन पाउने अधिकार छ ।
धारा २४
[सम्पादन गर्नुहोस्]प्रत्येक ब्यक्तिलाई कार्य घण्टाको र तलबी आवधिक विदाको मनासिव सीमा सहितको आराम र विश्रामको अधिकार छ ।
धारा २५
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई आफ्नो र आफ्नो परिवारको स्वास्थ्य र कल्याणको लागि खाद्यान्न, कपडा, आवास र औषधोपचारको सुविधा र आवश्यक सामाजिक सेवाहरू लगायत पर्याप्त जीवनस्तरको अधिकार तथा वेरोजगारी, विरामी, अशक्तता, विधवा, बुढेसकाल वा आफ्नो काबू बाहिरका परिस्थितिहरूमा जीविकोपार्जनका उपायका अभावमा सुरक्षा पाउने अधिकार छ ।
२. आमा र शिसुहरूलाई विशेष स्याहार र सहायता पाउने अधिकार छ । विवाह भई वा नभई जन्मेका सम्पूर्ण बालबालिकाहरूले समान सामाजिक संरक्षण पाउनेछन् ।
धारा २६
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई शिक्षाको अधिकार हुनेछ । कम्तिमा प्रारम्भिक र मौलिक तहमा शिक्षा निःशुल्क उपलब्ध हुनेछ । प्रारम्भिक शिक्षा अनिवार्य हुनेछ । प्राविधिक तथा व्यबसायिक शिक्षा सबैका लागि सामान्यतः प्राप्य र पहुँचयोग्य वनाईनेछ र उच्च शिक्षा क्षमताका आधारमा सबैलाई समान रूपमा पहुँचयोग्य हुनेछ ।
- मानवीय ब्यक्तित्वको पूर्ण विकास र मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरू प्रतिको सम्मान सुदृढ गर्नेतर्फ शिक्षा निर्देशित हुनेछ । शिक्षाले सबै राष्ट्र तथा जातीय, सामाजिक तथा धार्मिक समूहहरू बीच समझदारी, सहनशीलता र मित्रता प्रवद्र्धन गर्ने तथा शान्ति कायम गर्ने संयुक्त राष्ट्र सङ्घका क्रियाकलापहरूलाई अघि बढाउने छ ।
- मातापितालाई आफ्ना बालबालिकाहरूलाई दिईने शिक्षाको किसिम छनौट गर्ने पूर्ण अधिकार हुनेछ ।
धारा २७
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिलाई समुदायको साँस्कृतिक जीवनमा स्वतन्त्र रूपले सहभागी हुने, कला उपयोग गर्ने र वैज्ञानिक प्रगति तथा सोको उपयोगको फाईदा उपभोग गर्ने अधिकार हुनेछ ।
- प्रत्येक ब्यक्तिलाई आफू लेखक भएको कुनै पनि वैज्ञानिक, साहित्यिक वा कलात्मक उत्पादनबाट उत्पन्न हुने नैतिक र भौतिक हितहरूको संरक्षणवाट फाईदा पाउने अधिकार हुनेछ ।
धारा २८
[सम्पादन गर्नुहोस्]प्रत्येक ब्यक्तिलाई यस घोषणापत्रमा उल्लिखित अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपले प्राप्त गर्न सकिने सामाजिक र अन्तर्राष्ट्रिय व्यबस्थाको अधिकार छ ।
धारा २९
[सम्पादन गर्नुहोस्]- प्रत्येक ब्यक्तिको समूदाय, जसमा मात्रै निजको ब्यक्तित्वको स्वतन्त्र र पूर्ण विकास संभव छ, प्रतिको कर्तव्य छ ।
- आफ्ना अधिकार र स्वतन्त्रताहरूको उपयोग गर्दा, प्रत्येक ब्यक्ति अन्य ब्यक्तिका अधिकार र स्वतन्त्रताहरूको उचित मान्यता र सम्मान हासिल गर्ने तथा प्रजातान्त्रिक समाजमा नैतिकता, सार्वजनिक व्यबस्था र जनकल्याण हासिल गर्ने एक मात्र उद्देश्यका लागि कानूनले निर्धारण गरेका प्रतिवन्धहरूको मात्र अधिनमा रहने छ ।
- संयुक्त राष्ट्र सङ्घका उद्देश्य र सिद्धान्तहरूको प्रतिकूल हुने गरी कुनै पनि अवस्थामा यी अधिकार र स्वतन्त्रताहरूको उपभोग गर्न पाईने छैन ।
धारा ३०
[सम्पादन गर्नुहोस्]यस घोषणापत्रमा उल्लिखित कनै पनि अधिकार र स्वतन्त्रताहरू नष्ट गर्ने उद्देश्यले कुनै पनि कृयाकलापमा संलग्न हुन पाउने वा कुनै पनि कार्य गर्न पाउने अधिकार कुनै पनि राष्ट्र, समूह वा ब्यक्तिलाई प्रदान गर्ने गरी यस घोषणापत्रमा उल्लिखित कुनै पनि कुराको ब्याख्या गरिने छैन [१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ मानवअधिकारको विश्वव्यापी घोषणा, संयुक्त राष्ट्रसङ्घ, १९४८।