हाँडे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Mumps PHIL 130 lores.jpg
हाँडे रोग लागेको बालक
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागInfectious disease
आइसिडी-१०B26.
आइसिडी-९ सिएम072
डिजिज-डिबी8449
मेडलाइन प्लस001557
इ-मेडिसिनemerg/324 emerg/391 ped/1503
प्यासेन्ट युकेहाँडे
एमई-एसएचD009107

हाँडेलाई कतैकतै गलफुलो पनि भन्ने गरेको पाइन्छ। नेपाली वृहत् शब्द कोशमा यसलाई कानका फेदमा च्यापुका दुवैपट्टि फुकुण्डो निस्केर सुन्निने रोग भनेर परिभाषित गरिएको छ। अङ्ग्रेजीमा मम्प्स वा इपिडेमिक पाराटाइटिस नामले चिनिने यो रोग मम्प्स भाइरसका कारणले हुने भाइरल रोग हो। हाँडे रोगका प्रारम्भिक लक्षणहरू ज्वरो, मांसपेसी दुख्ने, टाउको दुख्ने तथा थकाइ लाग्ने आदि हुन्।[१]त्यसपछि बिस्तारै एकातिर वा दुबैतिरको पराटिड ग्रन्थी सुन्निन थाल्छ र पीडा पनि बढ्दै जान्छ।[२] सामान्यतया रोगले आक्रमण गरेको १६ देखि १८ दिनमा लक्षणहरू देखापर्छन् र निको हुन ७ देखि १० दिन लाग्ने गर्दछ।[३][१] हाँडेका लक्षणहरू बालबालिकामा भन्दा वयस्कहरूमा जटिल हुने गर्दछन्। रोग लागेका मध्ये करीब एक तिहाई मानिसहरूमा धेरै कम लक्षणहरू देखापर्ने वा कुनै लक्षण देखानपर्ने हुन्छ।[१] हाँडे रोग बढ्दै गएमा दिमागको बाहिरी खोलको संक्रमण (१५%), प्यान्क्रियाटाइटिस (४%), बहिरोपना र अण्डकोष सुन्निने र दुख्ने हुन सक्छ जसले कहिलेकाहि बाँझोपनासमेत निम्ताउन सक्छ।[१] महिलाहरूको पनि ओभरी सुन्निने हुन सक्छ तर यसले बाँझोपनाको खतरा बढाउँदैन।[२]

हाँडे अति छिटो सर्ने क्षमता भएको रोग हो जुन एउटै कोठामा बस्ने मानिसमा सजिलै सर्ने गर्दछ।[४] यो रोग लागेका मानिहरूले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट वा बिरामीसँगको सम्पर्कबाट सिँधै मम्प्स भाइरस सर्ने गर्दछ।[३] हाँडे मानिसलाई मात्र लाग्ने र मानिसले मात्र सार्ने रोग हो।[१] यो रोगका लक्षणहरू चार दिनपछि मात्र देखापर्ने भए पनि संक्रमित मानिसहरू केही दिन पहिलादेखि नै रोग सार्ने माध्यम भइसक्छन्।[३]साधारणतया मम्प्स भाइरसले एकपटक आक्रमण गरेपछि मानिसको शरीरमा बन्ने प्रतिरक्षा प्रणालीका कारण जीवनभरको लागि यो रोग नलाग्ने हुन्छ।[१] यो रोगको पुन संक्रमण हुने सम्भावना पनि हुन्छ तर अत्यन्तै न्युन।[५] साधारणतया पराटिड ग्रन्थी सुन्निएपछि हाँडे लागेको हुनसक्ने सम्भावना हुन्छ। यसको निर्क्यौल गर्न पराटिड डक्टमा परीक्षण गरेर भाइरसको पहिचान गरिन्छ। रगतमा आइजिएम एन्टिबडीको परीक्षण गर्नु सहज र प्रभावकारी हुनसक्छ। यद्यपी खोप लगाएर वा पहिला रोग लागेर प्रतिरक्षा प्रणाली विकास भइसकेका मानिसहरूमा यस्तो परीक्षणले गलत नतिजा देखाउन सक्छ।[३]

हाँडेविरुद्धको खोप(मम्प्स भ्याक्सिन)को दुईमात्रा लगाएर यस रोगबाट बच्न सकिन्छ। प्राय सबै विकसित राष्ट्रहरूमा यो खोपलाई नियमित खोप अभियानमा सहभागी गराउँछन्। प्रायजसो यसलाई दादुरा र रुबेला खोपसँग मिलाएर लगाउने गरिन्छ।[१] खोप लगाउने दर कम भएका देशहरूमा माथिल्लो उमेर समूहमा बढी रोग फैलिएको पाइन्छ जसले स्थिति अझ नराम्रो बनाउँछ।[२] हाँडेको कुनै विशेष उपचार छैन।[१] एसिटामिनोफिनजस्ता पीडा कम गर्ने औषधि प्रयोग गरेर यस रोगका लक्षणहरू कम गर्ने प्रयास गर्ने गरिन्छ। नसामा सिधै इम्युनोग्लोबुलिन पठाएर गरिने उपचार केही जटिलतामा लाभदायक हुनसक्छ।[२] अवस्था बिग्रँदै गएर मेनिन्जाइटिस वा प्यान्क्रियाटाइटिस भयो भने अस्पतालमा भर्ना हुनु आवस्यक छ। हाँडे रोगबाट संक्रमित करीब दश हजार बिरामीमा एक जनाको मृत्यु भएको पाइन्छ।[१]

इतिहास तथा महामारी

खोप अभियान सञ्चालन नभएका देशहरूमा प्रत्येक वर्ष जम्मा जनसङ्ख्याको ०.१% देखि १% मानिसहरू हाँडे रोगको सिकार हुने गर्दछन्। खोपको सर्वव्यापी प्रयोग गरिएका देशहरूमा यो रोगमा ९०% भन्दा बढी ह्रास आएको पाइन्छ। हाँडे साधारणतया यसविरुद्धको खोपको पर्याप्त प्रयोग नगरिने विकासोन्मुख देशहरूमा बढी देखापर्छ।[६] यद्यपी यो रोगको महामारीले चाहिँ खोप लगाएका मानिसहरूलाई पनि छोड्दैन।[२] हाँडेविरुद्धको खोपको प्रयोग गरिनुभन्दा पहिला यो रोग विश्वभर बाल्यकालमा सबैलाई लाग्ने रोगको रूपमा रहेको थियो। साधारणतया प्रत्येक दुईदेखि पाँच वर्षमा ठूला-ठूला महामारीहरू देखापर्दथे। यस्ता महामारीहरूमा विशेषगरी पाँचदेखि नौ वर्षका बालबालिकाहरू प्रभावित हुने गर्दथे।[१] खोप लगाएकाहरू मध्ये प्रायजसो २० देखि २५ वर्षका मानिसहरू यस रोगबाट प्रभावित हुन्छन्।[२] भूमध्य रेखाको आसपासमा हाँडे रोग वर्षै भरी देखापर्छ तर त्यसको उत्तर वा दक्षिणतिर भने साधारणतया हिउँद तथा बसन्त ऋतुको समयमा यो रोग देखापर्छ।[१] पराटिड ग्रन्थी र अण्डकोष पीडासहित सुन्निने रोगको बारेमा हिप्पोक्रेट्सले इसापूर्व पाँचौं सताब्दीमा नै बर्णन गरेका थिए।[३]

लक्षण तथा चिह्नहरू

प्रायजसो हाँडे रोग देखापर्नुभन्दा पहिला मन्द ज्वरो आउने, टाउको दुख्ने र अप्ठेरो महशुस हुने जस्ता प्रारम्भिक लक्षणहरू देखिन्छन्।[७]यसको लगत्तै एउटा वा दुबैतिरको पराटिड ग्रन्थीहरू बिस्तारै सुन्निन थाल्छन्। पराटिड ग्रन्थीहरू सुन्निने प्रकृया एक हप्तासम्म चल्छ।[७] हाँडेका अन्य लक्षणहरू मुख सुक्खा हुने, अनुहारमा पीडा महशुस हुने र/वा कान दुख्ने आदि हुन् र केही बिरामीहरूले बोल्ने बेलामा अप्ठेरो महशुस गर्ने गर्दछन्।[८] हाँडेविरुद्धको खोप मम्प्स भ्याक्सिन सन् १९६० देखि उपलव्ध भएको हो।[१]

जटिलताहरू

  • हाँडेको संक्रमण भएका २५-४०% पुरुषहरूमा किशोरावस्था पार गरेपछि अण्डकोषमा पीडासहित सुन्निने समस्या देखापर्छ। यो समस्यामा सामान्यतया एकातिरको मात्र अण्डकोष (करीब १५-३०% अवस्थामा मात्र दुबै अण्डकोष सुन्निन्छ) सुन्निने गर्छ र प्रायजसो पराटिड ग्रन्थी सुन्निएको १० दिनपछि मात्र अण्डकोष सुन्निने गर्छ। हालसम्म दर्ता गरिएको तथ्य अनुसार पराटिड ग्रन्थी सुन्निएको ६ हप्तापछि पनि अण्डकोष सुन्निएको पाइएको छ। यो समस्यापछि असामान्य परिस्थितिमा मात्र बच्चा उत्पादन गर्ने क्षमतामा कमी आउँछ र बाँझोपना हुनु दुर्लभ मान्निछ।[७]

कारणहरू

मम्प्स भाइरस इनभेलोप्ड सिङ्गल-स्ट्रान्डेड, लिनियर नेगेटिभ-सेन्स आरएनए भाइरस हो। पारामोक्सिभाइरस परिवारमा पर्ने यो भाइरस रुबुलाभाइरस जेनसको हो। यसको जेनोममा नौ प्रोटिनहरूलाई इन्कोड गरिएका १५,३८४ आधारहरू हुन्छन्। यो भाइरस उत्पादनमा न्युक्लियोप्रोटिन, फस्फोप्रोटिन र पलिमराज प्रोटिन सहभागी हुन्छन् र जेनोमिक आरएनएले राइबोन्युक्लियोक्याप्सिड बनाउँछ।[२][७][९] यो भाइरस मानिसहरूमा मात्र देखापर्छ।

हाँडे रोग संक्रमित व्यक्तिको थुक, सिँगान वा खकारबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।[७] बिरामीले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरू हावामा मिसिन्छन् र आँखा, नाक वा मुख हुँदै अर्को मानिसको शरीरमा प्रवेस गर्छन्। त्यस्तै बिरामीको जुठो खानेकुरा वा पानीबाट पनि हाँडे सर्न सक्छ। यस रोगको भाइरस विभिन्न सतहहरूमा पनि बाँच्न सक्छ र स्पर्शबाट अर्को व्यक्तिमा सर्न सक्छ। हाँडे रोग लागेका मानिसहरू यसका लक्षणहरू देखिनुभन्दा ७ दिन पहिलादेखि, लक्षण सुरुभएको ८ दिनसम्म यो रोगका भाइरस सार्ने अवस्थामा हुन्छन्।[१०] शरीरमा भाइरस प्रवेस गरेपछि लक्षणहरू देखापर्न १२ देखि २५ दिन लागेको पाइन्छ तर सामान्यतया १६-१८ दिन लाग्ने गर्दछ। मम्प्स भाइरसले संक्रमित २०-४०% मानिसहरू लक्षण देखाउँदैनन् त्यसैले कुनै व्यक्ति थाहै नपाइ यो भाइरसबाट संक्रमित भएर रोग सारिरहेको पनि हुनसक्छ।[१०]

पहिचान

यो रोग लागेपछि संक्रमित व्यक्तिको संसर्ग र सुन्निएको पराटिड ग्रन्थीबाट रोगको पहिचान गर्न सकिन्छ। यद्यपी जब रोगको घटनाहरू कम भएको बेलामा भने एचआइभी, काक्साके भाइरस र इन्फ्लुएन्जाका कारण पराटिड ग्रन्थी सुन्निएको मान्नु पर्छ। इन्टेरोभाइरस जस्ता केही भाइरसहरूका कारणले हुने एसेप्टिक मेनिन्जाइटिसका लक्षणहरू पनि हाँडेका लक्षणहरूसँग मिल्दाजुल्दा हुन्छन्।[९]

सामान्य शारीरिक परीक्षणबाट पनि ग्रन्थीहरू सुन्निएको थाहपाउन सकिन्छ। प्रायजसो यो रोगको पहिचान गर्न कुनै किसिमको प्रयोगशाला परीक्षण गरिरहनु पर्दैन। यदि सामान्य परीक्षणबाट पक्का पहिचान हुन सकेन भने थुक वा रगत परीक्षण गरिन सक्छ। हालसालै हाँडेको पक्का पहिचान गर्नको लागि रियल टाइम नेस्टेड पलिमराज चेन रियाक्सन (पिसिआर) प्रविधीको विकास भएको छ।[११] स्यालिभरी ग्रन्थी सुन्निने अन्य अवस्थाहरूमा जस्तै हाँडे रोग लागेको बेलामा पनि एमाइलेज इन्जाइमको सेरम लेभल प्रायजसो बढेको हुन्छ।[१२][१३]

रोकथाम

हाँडेबाट बच्न अपनाइने सबैभन्दा सरल उपाय यसका विरुद्धको खोप मम्प्स भ्याक्सिन लगाउनु हो। यो खोपको आविष्कार अमेरिकी सुक्ष्मजीवशास्त्री माउरिस हिल्मनले गरेका थिए।[१४][१५] यो खोप छुट्टै वा दादुरा र रुबेलाको खोपसँग (एमएमआर इम्युनाइजेसन) मिलाएर दिइन्छ। अमेरिकामा एमएमआरको सट्टामा एमएमआरभी प्रयोग गरिन्छ जसले थप ठेउलाबाट (भ्यारिसेला, HHV3) पनि बचाउँछ। विश्व स्वास्थ्य सङ्गठनले सबै देशहरूलाई बालबालिका लक्षित खोप कार्यक्रमहरूमा हाँडेविरुद्धको खोपलाई पनि समावेस गर्न सिफारिस गरेको छ। बेलायतमा नियमित रूपमा बच्चा १३ महिनाको भएपछि मम्प्स भ्याक्सिन लगाइन्छ र पुनर्ताजगीका लागि बच्चा ३-५ वर्षको भएपछि थप अर्को मात्रा दिइन्छ।एक अमेरिकी बालरोग अध्ययन संस्था अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले बच्चाहरूलाई एमएमआर भ्याक्सिन नियमित रूपमा १२-१५ महिना र ४-६ वर्ष र यदि पहिला दिइएको छैन भने ११-१२ वर्षको उमेरमा दिन सुझाव दिएको छ।[१६]यो खोपको प्रभावकारिता यसको क्षमता (स्ट्रेन)मा भर पर्छ तर साधारणतया करीब ८०% हुन्छ।[१७][१८] विकसित देशहरूमा जेराइल लिन स्ट्रेन प्रयोग गरिन्छ तर यो स्ट्रेन हाँडेको महामारीको अवस्थामा भने यसको प्रभावकारिता घटेको पाइन्छ। विकासोन्मुख देशहरूमा लेलिन्ग्राद- जग्रेब स्ट्रेन प्रयोग गरिन्छ। महामारीको अवस्थामा पनि यसको प्रभावकारिता अत्यन्तै उच्चस्तरको रहेको पाइन्छ।[१९]

कलेज तथा विश्वविद्यालयहरूमा महामारी फैलिने सम्भावना भएकोले विश्वका धेरै देशका सरकारहरूले महामारीबाट जोगिन खोप कार्यक्रम सञ्चालन गरेका छन्। क्यानडामा प्रान्तीय सरकारहरू तथा पब्लिक हेल्थ एजेन्सी अफ क्यानडा सहभागी भएर कक्षा १ देखि कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूलाई खोप लगाउन उत्प्रेरित गर्ने खालका सचेतना अभियानहरू सञ्चालन गर्छन्।[२०]

केही खोप-विरोधी सामाजिक कार्यकर्ताहरू भने हाल प्रचलनमा रहेको हाँडेविरुद्धको खोपको स्ट्रेन हानिकारक रहेको भन्दै खोप कार्यक्रमको विरुद्ध प्रदर्शन गर्ने गर्छन्। उनीहरूको विचारमा खोपभन्दा रोग नै लाभदायक हुन्छ। यद्यपी अहिलेसम्म रोग लाभदायक भएर एमएमआर भ्याक्सिन हानिकारक भएको कुनै तथ्य फेलापरेको छैन। एन्ड्रिउ वेकफिल्डले गरेका एक अध्ययनसहित अन्यले हाँडेविरुद्धको खोप मानिसमा देखिने अटिजम तथा आन्द्रा सुन्निने रोगको कारक तत्व भएको दावी गरेका थिए।[२१][२२] वेकफिल्डको अध्ययनले (उनले गरेको अनुसन्धानमा सुनियोजित छलकपट भएको पाइएपछि यो प्रतिवेदनलाई गलत घोषणा गरियो र सन् २०१० मा यसलाई फिर्ता गरियो र पछि वेकफिल्डको अनुमतिपत्रसमेत रद्द गरियो)[२३] पेटको रोग, अटिजम तथा एमएमआरबीच अन्तरसम्बन्ध रहेको संकेत गरेको थियो। त्यसपछि गरिएका अन्य अनुसन्धानहरूले भने हाँडेविरुद्धको खोपको पेटको रोग तथा अटिजमसँग कुनै अन्तरसम्बन्ध नरहेको संकेत गरे।[२४] रोगले पुर्याउन सक्ने हानीको बारेमा स्पष्ट जानकारी भएको र खोपले पुर्याउन सक्ने हानी एकदमै कम भएको हुनाले प्राय सबै चिकित्सकहरू खोप लगाउने सल्लाह दिन्छन्।

व्यवस्थापन

हालसम्म हाँडे रोग निको बनाउने कुनै उपाय छैन र यसको असर कम गर्नको लागि मात्र उपचार गरिन्छ।[७] सुन्निएर भएको पीडा कम गर्न घाँटी तथा अण्डकोषमा बरफ वा तातोले बेला बेलामा छोटो समयको लागि सेकाउने र दुखाइ कम गर्न एसिटामिनोफेन (सिटामोल) प्रयोग गर्न सकिन्छ।[७] नुन पानीले गार्गल गर्ने, नरम खाना खाने र प्रसस्त झोल वा तरल पदार्थको सेवन गर्ने गर्नाले पनि यसका लक्षणहरूबाट राहत पाउन सकिन्छ। एस्पिरिन(एसिटाइलस्यालिसाइलिक एसिड)ले रेयेज सिन्ड्रोमको खतरा हुने भएकोले बालबालिकाहरूको उपचारमा यसको प्रयोग गरिँदैन।[२५]

हालसम्म हाँडेबाट एक व्यक्ति संक्रमित भइसकेपछि उसबाट अन्य व्यक्तिमा सर्न नसक्ने बनाउने कुनै उपाय छैन। त्यस्तै संक्रमणपछि खोप लगाउने वा इम्युनोग्लोबुलिन प्रयोग गरे पनि प्रभावकारी हुँदैन।[२६]

हाँडे संक्रमित व्यक्तिमा लक्षण सुरु भएको दिनदेखि पाँच दिनसम्म अत्यन्तै संक्रामक हुन्छ। त्यसैले चिकित्सकहरू यो अवधिभर बिरामीलाई अन्य व्यक्तिको सम्पर्कमा आउन नदिन सल्लाह दिन्छन्। यदि कुनै बिरामी अस्पतालमा भर्ना भएको छ भने पनि उच्चस्तरको सतर्कता (स्टान्डर्ड तथा ड्रप्लेट प्रिकसन) अपनाउनु आवस्यक छ। यदि स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तिलाई यो रोग लागेको छ भने उसले पाँच दिनसम्म काम गर्नु हुँदैन।[१०]

सन्दर्भ सामग्रीहरू

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ "Mumps virus vaccines.", Weekly epidemiological record 82 (7): 49–60, १६ Feb २००७, पिएमआइडी 17304707 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ Hviid A, Rubin S, Mühlemann K (मार्च २००८), "Mumps", The Lancet 371 (9616): 932–44, डिओआई:10.1016/S0140-6736(08)60419-5, पिएमआइडी 18342688 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ Atkinson, William (May 2012). Mumps Epidemiology and Prevention of Vaccine-Preventable Diseases (12 संस्करण). Public Health Foundation. pp. Chapter 14. . http://www.cdc.gov/vaccines/pubs/pinkbook/mumps.html. 
  4. Gupta, RK; Best, J; MacMahon, E (१४ मे २००५), "Mumps and the UK epidemic 2005.", BMJ (Clinical research ed.) 330 (7500): 1132–5, डिओआई:10.1136/bmj.330.7500.1132, पिएमआइडी 15891229, पिएमसी 557899 
  5. Sen2008 SN (२००८), "Mumps: a resurgent disease with protean manifestations", Med J Aust 189 (8): 456–9, पिएमआइडी 18928441 
  6. Junghanss, Thomas (2013). Manson's tropical diseases. (23rd संस्करण). Oxford: Elsevier/Saunders. प॰ 261. . https://books.google.ca/books?id=GTjRAQAAQBAJ&pg=PA261. 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ Davis NF, McGuire BB, Mahon JA, Smyth AE, O'Malley KJ, Fitzpatrick JM (अप्रिल २०१०), "The increasing incidence of mumps orchitis: a comprehensive review", BJU International 105 (8): 1060–5, डिओआई:10.1111/j.1464-410X.2009.09148.x, पिएमआइडी 20070300 
  8. Kasper DL, Braunwald E, Fauci AS, Hauser SL, Longo DL, Jameson JL, Isselbacher KJ, Eds. (2011). "194. Mumps". Harrison's Principles of Internal Medicine (18th संस्करण). McGraw-Hill Professional. . 
  9. ९.० ९.१ Longo, Dan L.; Kasper, Dennis L.; Jameson, J. Larry तथा अन्य, सं (2012). Harrison's principles of internal medicine. (18th संस्करण). New York: McGraw-Hill. . 
  10. १०.० १०.१ १०.२ Kutty PK, Kyaw MH, Dayan GH, Brady MT, Bocchini JA, Reef SE, Bellini WJ, Seward JF (१५ जुन २०१०), "Guidance for isolation precautions for mumps in the United States: a review of the scientific basis for policy change", Clinical Infectious Diseases 50 (12): 1619–28, डिओआई:10.1086/652770, पिएमआइडी 20455692 
  11. Krause CH, Eastick K, Ogilvie MM (नोभेम्बर २००६), "Real-time PCR for mumps diagnosis on clinical specimens--comparison with results of conventional methods of virus detection and nested PCR", J. Clin. Virol. 37 (3): 184–9, डिओआई:10.1016/j.jcv.2006.07.009, पिएमआइडी 16971175 
  12. Amylase: The Test, Lab Tests Online UK
  13. Skrha J, Stĕpán J, Sixtová E (अक्टोबर १९७९), "Amylase isoenzymes in mumps", Eur. J. Pediatr. 132 (2): 99–105, डिओआई:10.1007/BF00447376, पिएमआइडी 499265 
  14. Offit PA (2007). Vaccinated: One Man's Quest to Defeat the World's Deadliest Diseases. Washington, DC: Smithsonian. . 
  15. Buynak EB, Weibel RE, Whitman JE Jr, Stokes J Jr, Hilleman MR (मार्च १९६९), "Combined live measles, mumps, and rubella virus vaccines", JAMA 207 (12), पृ: 2259–62, पिएमआइडी 5818433 
  16. MMR Vaccine (PDF), Vaccine Information Statement, United States: Centers for Disease Control and Prevention, अप्रिल २०, २०१२, पृ: १, अन्तिम पहुँच फेब्रुअरी २२, २०१३ 
  17. Schlegel M, Osterwalder JJ, Galeazzi RL, Vernazza PL (१९९९), "Comparative efficacy of three mumps vaccines during disease outbreak in eastern Switzerland: cohort study", BMJ 319 (7206): 352, डिओआई:10.1136/bmj.319.7206.352, पिएमआइडी 10435956, पिएमसी 32261 
  18. "Summary", WHO: Mumps vaccine, अन्तिम पहुँच २००६-०४-१८ 
  19. Peltola H, Kulkarni PS, Kapre SV, Paunio M, Jadhav SS, Dhere RM (अगस्ट २००७), "Mumps outbreaks in Canada and the United States: time for new thinking on mumps vaccines", Clin. Infect. Dis. 45 (4): 459–66, डिओआई:10.1086/520028, पिएमआइडी 17638194 
  20. Table 2: Provincial and Territorial recommendations for mumps-containing immunization, 2007, Information on Outbreaks of Mumps In Canada - Information for Health Professionals, Public Health Agency Canada
  21. "Autism and Andrew Wakefield", Immunization, American Academy of Pediatrics, ३० अक्टोबर २०१३, मूलबाट ५ जनवरी २०१४-मा सङ्ग्रहित। 
  22. "Causes of Autism", aboutHealth, about.com 
  23. Cohen, Elizabeth;Falco, Miriam (५ जनवरी २०११), "Retracted autism study an 'elaborate fraud,' British journal finds", CNN, अन्तिम पहुँच १६ मे २०११ 
  24. Demicheli V, Rivetti A, Debalini MG, Di Pietrantonj C (२०१२), "Vaccines for measles, mumps and rubella in children", Cochrane Database Syst Rev 2: CD004407, डिओआई:10.1002/14651858.CD004407.pub3, पिएमआइडी 22336803 
  25. "Mumps - National Library of Medicine - Pubmed Health", अन्तिम पहुँच १४ जनवरी २०१५ 
  26. "Mumps Clinical Information - Minnesota Dept. of Health"