गोपाल सिंह बोहोरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपाल सिंह बोहोरा

कुनै धर्मविशेषमा नभई प्रकृतिपूजामा विश्‍वास राख्‍ने दार्चुला, व्यासीका गोपालसिंह बोहरा समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। ६५ वर्षीय बोहरा नेपाली सेनामा ३५ वर्ष सम्म सेवा गरेर सहायक रथी पदबाट २०५५ सालमा अवकाश लिएपछि २०५७ सालदेखि पार्टी राजनीतिमा सक्रिय हुनुभएको हो। उहाँले संयुक्त राज्य अमेरिकामा सुरक्षा गार्डका रूपमा समेत काम गरिसक्नुभएको छ। बोहरा हाल एमाले काठमाडौँ-दार्चुला सम्पर्क मञ्चका सदस्य हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक गोपालसिंह बोहरा एक छोरा, एक छोरीका पिता हुनुहुन्छ। समाजसेवामा रुचि राख्‍ने उहाँका लेख-रचनाहरू पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। उहाँले व्यासी भाषा सम्वन्धी शव्दकोष (व्यासी सौका आधारभूत शव्दकोष) (नेपाली र अङ्ग्रेजी) तयार गर्नुभएको छ। बोहराले संविधानसभामा सबै नेपालीको अधिकार सुनिश्चित गर्ने र आदिवासी-जनजाति-पिछडिएको वर्गलाई मूलधारमा ल्याउन केही समयसम्म आरक्षणको व्यवस्था गर्ने मुद्दाहरू प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ। सभासद बोहरा भन्नुहुन्छ- "सेनाबाट अवकास लिएपछि समाजसेवा गर्ने अभिप्रायले दार्चुला जिल्ला जाँदा पार्टीसँगको आवद्धता विना काम गर्न सम्भव नहुने देखेपछि एमालेमा प्रवेश गरेको हुँ। कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि त्यसमा आन्तरिक प्रजातन्त्र नभएको तर एमालेमा आन्तरिक प्रजातन्त्र रहेको देखेर यसमा आवद्ध भएको हुँ।"[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]