नेपालको जनआन्दोलन २०६३

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जनआन्दोलन २

जनआन्दोलन २को एक दृष्य
अन्य नामहरू: जनआन्दोलन २०६२/६३
सहभागी: एकीकृत नेकपा माओवादी
स्थान: नेपाल
मिति: २०६२ चैत २२ देखि २०६३ वैशाख ११
मृत्यु सङ्ख्या: २० जना
परिणाम: नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना

जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। यस आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो।

आन्दोलनको पृष्ठभूमि

२०४६मा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र स्थापना भएको थियो।

बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनैतिक दलहरूको आपसी बेमेल तथा वि.स‌. २०५२मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरता तर्फ बढ्यो। २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माहिला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा संकटकालिन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो। फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विना संसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए।

राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनैतिक दलहरू आन्दोलनमा उत्रिए।

निर्णायक चरण

जनआन्दोलन २का घाइते मुकेश कायस्थ(जिउँदा शहीद)

विभिन्न राजनीतिक दलहरूको गठबन्धनले राजाको कदम विरूद्ध आन्दोलन गरिरह्यो। तर लामो समय सम्म पनि यसले कुनै परिवर्तन ल्याउन सकेन। यसै क्रममा शसस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनैतिक पार्टीहरूबीच २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँदिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि अन्य राजनीतिक दलसँगै माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी भयो। सबै मिलेर आन्दोलन भयोऽ सुरक्षाकर्मीको व्यापक दमनका बाबजूद मानव सागर सडकमा उत्रियो। राजाले बैशाख ८ गते एक घोषणा गरी जनताको नासो जनतामा नै फिर्ता गरेको घोषणा गरे। तर आन्दोलन मत्थर भएन त्यसपछि बैशाख ११ गतेको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद पुनर्स्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो।

अन्तरिम संविधान र अन्तरिम संसद

आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका स‌ंसदको निर्माण भयो। माओवादी समेत सम्मिलित स‌ंयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो।

संविधानसभाको निर्चाचन

मूल लेख नेपालको संविधान सभा

गणतन्त्रको स्थापना

वि. सं. २०६५, जेठ १५ गते बसेको संविधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादवउपराष्ट्रपतिमा परमानन्द झा चुनिए।

यो पनि हेर्नुहोस्

जनआन्दोलन २०४६

सन्दर्भ सामग्रीहरू