मेची बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेची बहुमुखी काम्पसको एक तसवीर

मेची बहुमुखी क्याम्पस नेपालको पूर्वी झापामा रहेको पुरानो क्याम्पस हो । विभिन्न विषयमा अध्ययन गराईने यो क्याम्पस वि.सं. २०२१ सालमा[१] स्थापना भएको हो । झापाको सुन्दर नगरी भद्रपूरमा अवस्थीत यो क्याम्पसमा विज्ञान, मानवीकी, व्यवस्थापन लगायतका विषयहरु अध्यापन गराईन्छ । वातावरणीय दृष्टिकोणले पनि एकदमै शान्त ठाउँमा अवस्थीत यो क्याम्पसमा अध्ययनका दृष्टिकोणले स्थापना काल तिर नेपाल लगायत भारतका समेत विद्यार्थी आउने गरेका थिए । स्थापना काल तिर झापाको एकमात्र क्याम्पसको रूपमा परिचित यो क्याम्पस, हाल आएर पनि उत्तिकै विद्यार्थीको चाप हुने त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सरकारी क्याम्पसमा गणना हुन्छ । विगत केहि वर्ष देखी स्नातकोत्तर विषय समेत अध्यापन गराउन थालेको यो क्याम्पसले निम्न विषयहरूमा स्नातकोत्तरका कक्षाहरु समेत सन्चालन गर्न थालेको छ ।

समय रेखा[सम्पादन गर्नुहोस्]

  • व्यवसायीक अर्थशास्त्र मा स्नातकोत्तर वि.सं. २०५७ बाट
  • नेपालीमा स्नातकोत्तर वि.सं. २०५५ बाट
  • व्यवसायीक अध्ययन मा स्नातकोत्तर वि.सं.२०६६ बाट
  • अंग्रेजीमा स्नातकोत्तर वि.सं. २०६७ बाट

मेची क्याम्पसमा आंशिक शिक्षक, शिक्षण सहायक, उपप्रशिक्षक, उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक विभिन्न पदका गरी १०९ जना प्राध्यापकहरू प्राध्यापनरत छन् । कार्यालय सहयोगीदेखि लिएर उपप्रशासक लगायतका प्राविधिक अप्राविधिक गरी ५४ जना कर्मचारीहरू कार्यरत छन् । स्नातक र स्नातकोत्तर तहका सबै सङ्कायका गरी विद्यार्थीहरूको संख्या एक हजार भन्दा कम रहेको छ ।

कानुन सङ्कायको पठन–पाठन स्थगन गरिएको छ । मानविकी र व्यवस्थापन सङ्कायका स्नातक र स्नातकोत्तर तह, विज्ञान सङ्कायको स्नातक तह, साथै स्थानीय स्रोतमा बीएस्सी टीटीएम, बीबीए कार्यक्रमहरू सञ्चालित छन् । त्रिविले क्याम्पसहरूबाट प्रमाण–पत्र तह हटाएपछि विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ । अन्य मानविकी सङ्काय त शुन्यप्राय भइसकेको अवस्थामा छ । देशभरिकै आङ्गिक क्याम्पसहरूकै जस्तो मेची क्याम्पसको पनि प्राज्ञिक शैक्षिक उन्नति प्रगति अध्ययन अध्यापनको वातावरण, राष्ट्रिय परिवेश, शैक्षिक नीति, शिक्षाको व्यापारीकरण, राजनीतिक भागवण्डाको संस्कृति, हड्ताल बन्द तालाबन्दी आगजनी जस्ता विकृत क्रियाकलापले ओइलाउदै र मुर्झाउदै गएको कुरा ढाकछोप गरेर पनि छोपिने अवस्थामा छैन ।

विशुद्ध सैद्धान्तिक शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण घटेर गएको छ । क्याम्पसहरूलाई बेरोजगार उत्पादन गर्ने फ्याट्रीकारूपमा चित्रण गरिदै छ । त्यसैले यस क्याम्पसमा पनि नयाँनयाँ र प्राविधिक विषयहरूको खोजी हुन थालेको छ । विज्ञान सङ्कायमा वातावरण विज्ञान, वीटीटीएम, वीवीएको अध्ययन अध्यापन सुरु हुनु र वीएन, सिभिल ओभरसियर, माइक्रोबायोलोजी, ग्रामीण विकास, पाँचवर्षे एलएलबी, कम्प्युटर साइन्स, आइटी, पत्रकारिता आदि जस्ता विषयको त्रिभुवन विश्वविद्यालयसँग स्वीकृतिको माग गर्दै पखाईमा बस्नु परेको नयाँ विषयको आवश्यकतालाई महसुस गरेर नै हो ।

त्रिविले क्याम्पसहरूबाट प्रमाण–पत्र तह हटाउनु र आङ्गिक क्याम्पसकै वरिपरिका निजी र प्राइभेट शिक्षालयहरूलाई स्नातक र स्नातकोत्तर तहको समेत स्वीकृति अन्धाधुन्द दिएपछि विद्यार्थी सङख्या घटनु मात्रै होइन आङ्गिक क्याम्पसको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

क्याम्पसमा हिजोका कतिपय शैक्षिक कार्यक्रमहरू आज स्थगन गरिएको छ भने सञ्चालित कार्यक्रमका कति विषयमा विद्यार्थी सङ्ख्या न्युन हुँदै शुन्यको अवस्थातिर ओरालो लागिरहेको छ । अहिले कानुन सङ्कायको पठन–पाठन स्थगन छ र मानविकी सङ्कायका इतिहास राजनीतिशास्त्र आदि जस्ता विषयमा विद्यार्थीको न्युन उपस्थिति रहेको छ । मेची क्याम्पसमा वर्तमान सञ्चालित शैक्षिक कार्यक्रमहरूमा मानविकी सङ्काय अन्तर्गत स्नातक तहमा–नेपाली, अङ्ग्रेजी, गणित, इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र÷मानवशास्त्र, संस्कृति, अर्थशास्त्र विषयमा पठन–पाठन भइरहेको छ । यसैगरी विज्ञान सङ्काय अन्र्तगत स्नातक तहमा–भौतिकशास्त्र, रसायनशास्त्र, प्राणीशास्त्र, जीवशास्त्र, गणित, वातावरण विज्ञान, चिया विज्ञान (वीटीटीएम) अध्ययन अध्यापन जारी छ । व्यवस्थापन सङ्काय स्नातक तहमा–लेखाशास्त्र, वित्त तथा अर्थशास्त्र, बजारशास्त्र, व्यवस्थापन विभाग अन्तर्गतका विषयहरूको पठन–पाठन चालु छ । शैक्षिक वर्ष २०७०÷०७१ देखि वीवीएको अध्ययन सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित छ । २०५५ सालबाट नेपाली विषयमा सुरु भएको स्नातकोत्तरको कार्यक्रम आज–अर्थशास्त्र, अङ्गे्रजी, व्यवस्थापन, समाजशास्त्र–मानवशास्त्र विषयमा पनि भइरहेको छ ।

हिजो छ–सातवटा कोठा भएको एकतले भवनबाट सुरु भएको मेची क्याम्पस आज भौतिक सुविधाले सम्पन्न हुँदै गइरहेको छ । ३५ कोठा भएको ३ तले विज्ञान भवन, ३१ कोठाको दुईतले मानविकी भवन, स्नातकोत्तर भवन, पुस्तकालय भवन, पाहुना गृह, छात्रावास, प्राध्यापक आवास गृह, स्ववियू भवन, गोदाम घर, पाले घर, जेनेरेटर घर, चिसो पानी पिउने घर, ग्यास प्लान्ट घर, दुई वटा साइकल–मोटरसाइकल स्टेड, १६ विगाहा क्षेत्रफललाई घेरेको ढुङ्गाको कम्पाउण्ड वाल आदि संरचनाहरू रहेका छन् । यसैगरी २०७०–०७१ सालमा मेची क्याम्पसको स्वर्णमहोत्सवको उपलक्ष्यमा निर्माण भएका र हुँदै गरेका सरस्वती मन्दिर, स्वर्णमहोत्सव स्मारक, सहिद राम थापा वाटिका चमेना गृह, क्याम्पस परिसरभित्रका आन्तरिक बाटाहरू, क्याम्पसको पूर्वतर्फ वन वाटिका, विज्ञान भवन छेउको बोटानिकल गार्डेन, सानो एउटा चिया वगान र वृक्षारोपण जस्ता संरचनाले मेची क्याम्पस सुशोभित छ ।

मानविकी सङ्कायको आइए तहबाट सुरु भएको यस क्याम्पसले शैक्षिक उन्नति प्रगति गर्दै बीए, आइकम–वीकम, आइएल, एलएलवी, आइएस्सी–वीएस्सी, वीएस्सी टीटीएम, बीवीए र पाँचवटा विषयमा एमएसम्मको पठनपाठन गराउँदै आएको छ । समय समयमा विषयगत गोष्ठी सेमिनारहरू हुँदै आइरहेका छन् । अध्ययन नामक अनुसन्धानमूलक जर्नलको प्रकाशनलाई नियमितता दिइरहेको छ । लघु अनुसन्धान परियोजना सञ्चालन भइरहेका छन् । विज्ञान प्रयोगशालाहरूको सुधार स्तर र क्षमतावृद्धि हुँदै आएका छन् । सभा हल, मिटिङ बैठक कक्षहरू निर्माण भइरहेका छन् । पठनपाठन तर्फ विद्यार्थीको ध्यान आकर्षित गर्न विभिन्न संस्था र व्यक्तिहरूद्वारा नयाँ नयाँ पुरस्कार र छात्रवृत्तिहरू स्थापना गरिदिने होड नै चलेको छ । पहिले क्याम्पसको एउटा कोठामा सिमित पुस्तकालयको अहिले अलग्गै भवन छ । अहिले पुस्तकको सङ्ख्यामा वृृद्धि मात्रै भएको होइन बेवसाइट इ–मेल, विद्युतीय पुस्तकालय सुविधा प्राप्त छ । क्याम्पसको शैक्षिक प्रशासनिक सुधारको निम्ति क्याम्पसका कर्मचारीहरूलाई अवलोकन भ्रमण गराउन सुरु गरिएको छ । यी सबै क्रियाकलापलाई हेर्दा आज क्याम्पस प्रगतिपथमै अगाडि लम्किरहेको छ भन्न सकिन्छ ।

क्याम्पसमा केही हदसम्म चाहिँ शैक्षिक गतिविधि भइरहेका भए पनि सन्तोष गरेर बस्ने अवस्था छैन । विज्ञान प्रविधिमा विश्वले फड्को मारेर धेरै अगाडि गइसकेको छ । त्यसलाई पछ्याउन आर्थिक, राजनीतिक, बौद्धिक किसिमले हामी सकिरहेका छैनौँ । युग अनुकूलका नयाँ नयाँ सोचहरू आउन सकिरहेका छैनन् । यसैले मेची बहुमुखी क्याम्पस आज जे छ त्यसैमा सन्तोष गरेर बस्ने अवस्थामा छैन । सामाजिक युगानुकूल अवस्था सुहाउँदो वातावरणको सिर्जना गर्दै विज्ञान सम्मत शैक्षिक प्रणालीको आजको युगको मागलाई पनि मेची क्याम्पसले आत्मसात् गरिरहेको छ । मेची बहुमुखी क्याम्पसको आजको स्थिति यही हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

मेची बहुमुखी क्याम्पसको आधिकारिक वेबसाइट