मोहनगोपाल खेतान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पढाइसँगै कलिलो उमेरमै व्यापार-व्यवसायमा लागेका मोहनगोपाल खेतान सधैँ नेपाली उद्योग-व्यवसाय क्षेत्रका सफल खेलाडीको रूपमा परिचित रहिरहे। चिनीको व्यापारबाट यस क्षेत्रमा प्रवेश गरेका उनले आफैँद्वारा स्थापित खेतान ग्रूप लाई पनि सफल व्यावसायिक समूहको रूपमा चिनाएका थिए। म्यूचुअल ट्रेडिङ कम्पनीको नामबाट कर्पोरेट व्यापार शुरु गरेका मोहनगोपालले सन् १९८६ यता उद्योगमा समेत हात हालेर खेतान ग्रूपको स्थापना गरेका हुन्। ब्याङ्क, बीमा, बियर, चाउचाउलगायतका दर्जनौँ उद्योग-व्यापारमा लगानी गरेको खेतान ग्रूपका अध्यक्ष मोहनगोपाल सामाजिक, शैक्षिक, स्वास्थ्य, धार्मिकलगायत विभिन्न क्षेत्रको उत्थानका निम्ति स्थापित केही कल्याणकारी संस्थाका संस्थापक समेत थिए। उनको सहयोगमा कतिपय शिक्षालय तथा अस्पताल समेत निर्माण भएका छन्। खेतान नेपालका लागि टर्कीका अवैतनिक महावाणिज्यदूत पनि थिए।

खरो मिजासका मोहनगोपाल खेतान नेपालका व्यापारीवर्गमा स्पष्टवक्ताको रूपमा चिनिन्थे। सामान्यतः राजनीतिबाट पृथक् रहने नेपालको व्यापारिक क्षेत्रको चरित्र भन्दा फरक देखिँदै उनी बेलाबेलामा विवादास्पद राजनीतिक अभिव्यक्तिका कारण चर्चामा आउने पनि गर्दथे।

१३ वैशाख २०६३मा मुलुकले उद्योगपति मोहनगोपाल खेतानलाई गुमाएको छ। उद्योगपति खेतानको ६१ वर्षको उमेरमा राजधानीको नर्भिक अस्पतालमा हृदयघातबाट निधन भएको थियो। उनी लामो समयदेखि मधुमेहबाट पीडित थिए।