कर्तव्य (कथा)
यो पेजका लेखक हुन्: श्रीराम खड्का
म पछि भविष्यमा थप जानकारी र तस्बिर अवश्य थप्नेछु।
कथाको विशेष जानकारी: आदर्शोन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित 'कर्तव्य' कथामा नेपाली समाजमा जिउनीको विषयलाई लिएर हुने दाजुभाइ बिचको द्वन्द्व र विवादलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । कथामा पात्रहरू मुरलीधर र श्रीधरले सम्पत्तिको मोहमा परेर आफ्नो रगतको सम्बन्ध बिर्सिएका छन् । उनीहरूले बाबुको निधनपछि जिउनी खेतको विषयलाई लिएर भाइ भए भरोसलाई बिर्सेका छन् । दाजुभाइबिचको झगडाले उनीहरूले बोलचाल बन्द मात्र छैनन् आवतजावत पनि बन्द गरेका छन् । दाजुभाइको सम्बन्ध पानी बराबारको अवस्थामा पुगेको छ । शशिधरको विवाहपछि दुवै भाइको मनस्थितिमा परिवर्तन आएको छ । मुरलीधरको क्षमाशीलता र कर्तव्यपरायणताबाट श्रीधरको मन र स्वभाव बदलिएको छ । उनले आफ्नो गल्ती महसुस गरी बिरामी अवस्थामा दाजुलाई बोलाएर माफी माग्ने साहस गरी सम्बन्ध सुधारको प्रयास गरेका छन् । चारवर्षपछि दाजुभाइको पुनर्मिलन र दाजुले भाइलाई औषधोपचारका लागि लिएर हिँडे भन्ने सुनिनुले दाजुभाइ अर्थात् रगतको सम्बन्ध अन्य सम्बन्धभन्दा उच्च र माथि हुने देखाएको छ । कथाको समापनको घटनाले दाजुभाइबिचको सम्बन्ध सुमधुर र प्रगाढ , निस्वार्थ र आत्मीय हुनु पर्ने तथ्य उजागर गरेको छ ।