सामग्रीमा जानुहोस्

आसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शास्त्रीय योग अन्तर्गत महर्षि पतन्जलि र महर्षि घेरण्डको योग विधि प्रयोगमा आउँछन् । दुबैको योग विधिमा आसनको प्रयोग भएको छ । आसन अष्टांग योगको तेश्रो अंग हो भने हठयोगको महत्वपूर्ण भाग पनि हो । योगदर्शनमा पतन्जलिले “स्थिरसुखमासनम्” भनी आसनको परिभाषा दिएका छन् । यसको अर्थ शरीरको स्थिर र सुखदायी अवस्था नै आसन हो अर्थात् जीउलाई हलचल नगरी, आरामपूर्वक, सजिलोस“ग एकै स्थान र स्थितिमा धेरैबेर रहेर गरिने अभ्यास नै आसन हो । योगदर्शनमा आसनहरुको विधि, संख्या आदि कुनै पनि चर्चा गरिएको छैन । तर घेरण्ड ऋषिले घेरण्ड संहितामा समस्त आसनहरु त्यति नै छन् जति संसारमा जीवजन्तु छन् । प्राचीन समयमा शिवले आसनको संख्या चौरासी लाख भएको बताएका छन् । तीनमा पनि चौरासी सय विशेष बताएका छन् र मनुष्यलोकमा ती मध्ये पनि विशेषतः बत्तीस आसन नै शुभ छन ।

घेरण्डका अनुसार निम्न आसनहरु प्रमुख छन्–

[सम्पादन गर्नुहोस्]
  1. सिद्धासन,
  2. पद्मासन,
  3. भद्रासन,
  4. मुक्तासन,
  5. वज्रासन,
  6. स्वस्तिकासन,
  7. सिंहासन,
  8. गोमुखासन,
  9. वीरासन,
  10. धनुरासन,
  11. मृतासन,
  12. गुप्तासन,
  13. मत्स्यासन,
  14. मत्स्येन्द्रासन,
  15. गोरक्षासन,
  16. पश्चिमोत्तानासन,
  17. उत्कटासन,
  18. संकटासन,
  19. मयूरासन,
  20. कुक्कुटासन,
  21. कूर्मासन,
  22. उत्तानकूर्मासन,
  23. उत्तानमण्डूकासन,
  24. वृक्षासन,
  25. मण्डूकासन,
  26. गरुडासन,
  27. वृषभासन,
  28. शलभासन,
  29. मकरासन,
  30. उष्ट्रासन,
  31. भुजंगासन,
  32. योगासन, कूल बत्तीस आसन मनुष्यलोकमा सिद्धि दिने

खालका छन् ।

हठयोगप्रदीपिका (१.१७) का अनुसार आसन हठयोगको प्रथम अंग हो र यसको नियमित अभ्यासले मानसिक तथा शारीरिक स्थिरता, स्वास्थ्य तथा शरीरमा हल्कापन प्राप्त हुन्छ । हठप्रदीपिकामा १५ वटा आसनहरुका बारेमा उल्लेख गरिएको छ , जस्तैः स्वस्तिकासन, गोमुखासन, वीरासन, कूर्मासन, कुक्कूटासन, उत्तानकूर्मासन, धनुरासन, मत्स्येन्द्रासन, पश्चिमोत्तानासन, मयुरासन, शवासन, सिद्धासन, पद्मासन, सिंहासन, भद्रासन ।


शास्त्रीय रुपमा योगका ग्रन्थहरुमा वर्णन भएको भन्दा असंख्य आसन तथा सूक्ष्म व्यायामहरु गुरुकूल पद्धतिबाट गुरुबाट शिष्यमा ज्ञान हस्तान्तरित हुँदै आइरहेको छ । देश, काल, गुरु आदि अनुरुप वर्तमान समयमा आसनको नाम, विधि आदिमा एकरुपता नपाइने, आसन अभ्यासका तरिकाहरुमा विविधता पाइने वा मूल रुपबाट परिष्कृत वा परिमार्जित भएका पनि पाइन्छन् ।

आसनसूक्ष्म तथा स्थूल व्यायामहरुः

[सम्पादन गर्नुहोस्]

आसनसँगै जोडिएर सूक्ष्म तथा स्थूल व्यायामहरु आउँछन् । विशेषगरी सीमित भाग वा अंग विशेषमा मा मात्र व्यायाम पुग्ने कारणले यस्ता यौगिक अंगव्यायामलाई यौगिक सूक्ष्म व्यायाम भनिन्छ । यस्ता व्यायामहरु सरल भएकै कारणले चिकित्साका लागि पनि बढी उपयोगी हुन्छन् । यस्ता सूक्ष्म तथा स्थूल व्यायामहरुको निरन्तरता गुरुशिष्य परम्पराबाट हालसम्म आइपुगेको पाउन सकिन्छ । यस्ता सूक्ष्म तथा स्थूल व्यायाम वा अंग व्यायामहरुको प्रयोगले विशेषतः आसन गर्नुपूर्व शरीरलाई लचिलो र मांसपेशीहरुलाई खुकुलो पार्ने वा तताउने वा खास अंगमा विशेष लाभ दिने गर्छन् । शरीरको अंग विशेषलाई सरलरुपमा अभ्यास गरी स्वास्थ्यलाभ दिन सकिने यस्ता यौगिक सूक्ष्म व्यायामहरुमा हात, खुट्टा, नाक, मुख, कान, आ“खा, पेट, छाती, मेरुदण्ड, गर्दन,

कम्मर आदिका निम्ति धेरै थरीका छन् । यसरी गरिने सूक्ष्म व्यायामहरुले पनि दृष्टिशक्ति, श्रवणशक्ति, बुद्धिशक्ति, स्मरणशक्ति, प्राणाशक्तिलगायत थुप्रै प्रकारका शारीरिक, मानसिक अवस्थाहरुलाई परिमार्जन गर्न मद्दत पुर्याउछ । यसरी नै धेरै भागमा एकैपटक प्रभाव गर्ने सरल व्यायामहरुलाई स्थूल व्यायाम भनिन्छ । अनेकौं थरिका सूक्ष्म तथा स्थूल व्यायामहरुको प्रयोग योग चिकित्सामा गरिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=आसन&oldid=1143694" बाट अनुप्रेषित