साञ्चेप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किराँती समुदायमा चलेको 'साञ्चेप' प्रथा विशेष गरी माझकिराँत र पल्लोकिराँतमा प्रचलित र यसलाई साँचेप, साङ्चेप, साम्चेक पनि भन्ने गर्दछन् |साञ्चेप वास्तवमा आर्थिक सङ्कलन हो। दाजुभाइ, छरछिमेकमा आर्थिक रूपमा एकले अर्कोलाई सघाउने काम हो। सङ्गठित समाजमा यो प्रचलन व्याप्त छ। नयाँ बस्ती नभई परापूर्वकालदेखि बस्दैआएको समाजमा यो चलन छ। आफन्त र सीमित सेवा क्षेत्रका इष्टमित्रलाई बोलाएर एक-अर्कामा आर्थिक सहयोग गर्ने-गराउने गरिन्छ। यो साञ्चेपलाई वाम्बुले राईहरू 'सघौनी' भन्दछन्। सघाउ -सहायता), सघाउने काम, सहयोग, मद्दत, गुहार। सघाउनी- सघाएको काम। सघावट-सघाउ हो। -ऐ.) सोलुखुम्बुको नेचा बतासेतिर बाहिङ राई समुदायमा 'संझेब' भन्दछन्। जसलाई बिहे-कार्यमा आर्थिक सहयोग दिने काम हुने गर्दछ।

नेपाली बृहत् शब्दकोश, (नेराप्रप्र) का अनुसार यसको अर्थ -साँच्नु अर्थात् खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु, सञ्चित गर्नु, बचाउनु हो। एकत्रित गरेर राख्नु, जम्मा गर्नु। कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु।