श्रेणी:संस्कृति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संस्कृतिसंग सम्बन्धित लेखहरुको संग्रह।

मगर जातिको रीतिरिवाज र संस्कृति

                                       

नेपालको भूमिमा बसोवास गर्ने विभिन्न जातजातिहरू मध्येको एक महत्वपूर्ण जाति हो मगर । आदिवासी जनजातिको नाममा सूचीकृत ५९ जनजातिहरू मध्ये संख्यात्मक रूपमा सवैभन्दा बढी जनसंख्या रहेको जाति मगर नै हो । नेपालको कुल जनसंख्यामा तेस्रो स्थानमा रहेको मगर जातिहरू बसोवासको हिसावमा अन्य जनजाति भन्दा पृथक वसाईको विशेषता मगर जातिको पाइन्छ ।

आरम्भमा पश्चिमका  बाइसे, चौविसे  राज्यमा वस्ने मगर बस्तीलाई पहिले मगराज भनिन्थ्यो, पछि मगरात हुनगएको मानिन्छ । मेचीदेखि महाकालीसम्मै मगर जातिको बसोबास धेरैथोरै मात्रामा सवै ठाउँमा रहेको पाइन्छ ।

आफ्नै मौलिक संस्कार संस्कृति रहेका मगर जातिको अन्य जातिको भन्दा फरक प्रकृति देखिन्छ । नेपालको बाह्र मगरात क्षेत्रमा घनावस्ती रहेता पनि अन्य प्रदेशमा पनि मगर जातिको उपस्थिति  उल्लेख्य मात्रामा रहेको छ । अन्य जातजातिको  तुलनामा धेरै थर, उपथर रहेको मगर जातिको आफ्नै भाषा, धर्म, संस्कार र सांस्कारिक पद्धति  छ । नेपालको सन्दर्भमा लामो राजनीतिक उत्तार चढावमा सहभागी मगर जातिहरू वर्तमान समयमा राजनीतिक, प्रशासनिक तथा अन्य क्षेत्रमा उपस्थिति कमी नै रहेको  देखिन्छ ।

आफ्नो रीतिरिवाज तथा संस्कृतिमा मगर समुदायमा कट्टरता भन्दा सामान्यीकरणतर्फ गएको देखिन्छ । तसर्थ यसै सन्दर्ममा मगर जातिको विविध पक्षको बारेमा प्रस्टाउने प्रयास गरिएको छ ।


१, मगर जातिको उद्गम स्थल तथा आगमन

मगर जातिलाई मंगोल जातिको एक शाखाको रूपमा मानिन्छ । मगर जातिको उद्गम तथा उत्पति स्थल कहाँ हो ? कुन दिशा हँुदै आए वा कुन परिस्थितिमा कहिले आए ? भन्ने सन्दर्भमा मगर जातिको अध्ययन गर्ने विभिन्न विद्वानहरूको विभिन्न मतहरू रहेको पाइन्छ ।

प्राडा केसरजङ्ग बराल मगरले किराँत संस्कृतिविद् इमानसिंह चेम्जोङ्को भनाई उद्धृत गर्दै मगर जातिको उद्गम चीनको सीम भन्ने ठाउँबाट भएको हो र सिमबाट सिंङ्  र चितु मगरको नेतृत्वमा सर्वप्रथम नेपालको दक्षिणी भेगबाट आएका हुन ।

त्यस्तै बीके रानामगरले मगर जातिको उत्पति मध्ये चीन तिब्बतबाट भएको भन्ने तर्क राख्नुहुदै प्रमाणित गर्ने ३ वटा आधार (क) शारीरिक बनोट,  (ख) भाषा, (ग) संस्कृति समान रहेको उल्लेख गर्नु भएको छ ।

पण्डित शरदचन्द दासले मगर जातिको उत्पति चीनको काङ्पाचान उपत्यकाबाट भएको हो , त्यहाँको शेर्पा जातिसँग पराजित भएर दक्षिणतर्फ लाति पच्चीस सयपूर्व तिर सिम्रोनगढमा आएर बसेको उल्लेख गर्नु भएको छ ।

अर्का विद्वान एमएस थापामगरले मगर जाति मंगोलियाको दक्षिण पठारदेखि पूर्व र तिब्बतको उत्तरी क्षेत्रलाई मानेका छन् । उनले मगर साथै अन्य मंगोलियाली समूहहरू शिकारी युगतिर वा आजभन्दा चारहजार वर्ष अगाडि त्यस क्षेत्रमा भौगर्भिक प्रलय भई सामुद्रिक बाढीले आवादी क्षेत्र बलौटामा परिणत भए पछि त्यहाँबाट स्थानान्तरण हँुदै अघि बढ्ने क्रममा भारतीय उपमहाद्विपमा प्रवेश गरी नेपाल प्रवेश गरेको हो, सो स्थानमा भौगोलिक उथलपुथल भएको चीनको ऐतिहासिक वृत्तान्तमा पनि उल्लेख भएको पाइन्छ ।

मगर जातिको मूल स्थान भूमध्ये सागरीय क्षेत्र रहेको र उक्त क्षेत्रमा बढी गर्मी भएकोले गर्मी खप्न नसकी मंगोल नामका व्यक्तिको ३ भाइ छोराहरू ८ हजार वर्षअघि पूर्वतर्फ बढ्दै गए । केही वर्षपछि ३ भाइ आपसमा छुट्टिएपछि जेठा मुनाइङ्वाका सन्तानहरू हिन्द महासागर, पञ्जाव, नैनीताल, गढवाल हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरे ।  

अर्कोतर्फ बालाराम घर्तीमगरको भनाई उद्धृत गर्दै मगर जातिको उत्पत्ति वर्तमान नेपालको रूकुम मैकोटलाई मानेको पाइन्छ । यस सम्वन्धमा मगर जाति रूकुम जिल्लाको हुकाम मैकोट स्थित पिल्मा नदीको किनारमा रहेको ओडारबाट भएको हो । खाम भाषामा ओढारलाई पु भनिन्छ । ‘पु’बाट पुन मगर भएको हो, सवै मगर जातिको पूर्खा पुन मगरबाट भएको दावी गरेको पाइन्छ । मगरका पूर्खाहरू गोरप्पा र शेरप्पा मध्ये एक भाइ महाभारततर्फ लागे र अर्को भाइ हिमालतर्फ लागे ।  मगर समुदायको अभियन्ता बमकुमारी बुढामगरले नेपालमा मानव सभ्यताको विकाशक्रम रूकुम जिल्लाको मैकोट गापाको योमाखार र पेल्माखारबाट भएको हो । त्यहीबाट झाङ्क्री सभ्यताको विकाश भएको थियो ।

सुरूमा रिन्दु रमा र पुरन चन्द रमाको जन्म भयो, रमाको धूर(तान्त्रिक आख्यान) अनुसार रूकुमको योमाखार पू (अरिङ्गाल बस्ने ओढार) र पेल्माखार पू (जौ छर्ने ओडार) बाट रिन्दु र पुरन नामको रमा झाङ्क्रीको उत्पत्ति भयो । तिनैका सन्तानहरू नै मगर जाति हुन् ।

इतिहास शिरोमणी बावुराम आचार्यको मत उद्धृत गर्दै प्राडा सूर्यमणि जीसीले पश्चिम अफ्रिकाको मेगाडास्कर दीपदेखि इस्टर दीप समूहसम्म उत्पत्ति भएका मानव जातिको एक शाखा पूर्वोतर भारत र नेपालमा प्रवेश गरे । ती जाति समूहमा मगरहरू पनि पर्दछन् । यस आधारबाट मगर जातिको उद्गमस्थल पश्चिम अफ्रिका रहेको देखिन्छ ।

अर्का किराँत इतिहासकार बमबहादुर राईले मगरजातिको उत्पत्ति र नामाकरणको वारेमा थुथुरी वेद (किराँत मुन्दुम)लाई आधार मान्दै मगर जातिलाई सुम्नीमाको सन्तान मानेका छन् ,  उनले सुम्नीमाको कान्छो छोरा हङ्छाबाट सप्तरूपाको जन्म भयो, उनका छोरा मोङ् भए, यिनका पनि तीन भाई छोराहरू भए, त्यसमध्ये जेठाका दश भाइ छोराहरू मध्ये एक भाइका सन्तानहरू मगर भए ।

अर्का इतिहासकार प्रेमबहादुर मावोहाङ्ले मगर जातिको उत्पति सम्वन्धमा स्वयम्भू मनुसँग जोडेको पाइन्छ । जस्मा स्वयम्भू मनुका छोरा मंगोल उनका ३ भाइ छोराहरू मध्ये मुनाइङ्वाका छोरा किरातइङ्वाका १० भाई छोराहरूमध्ये मगप्पाका सन्तानहरू मगर भएका हुन् ।

त्यस्तै मगर जातिको उद्गम स्थलको वारेमा सरजोन हेमिल्टनले  ४ हजार वर्ष अघि प्रसियाको उत्तर समतल मैदानमा २ वटा सभ्य जातिहरू आकाद वंशी र सौभार वंशी वस्दथे । ३ हजार वर्ष अघि सौभार वंशले चीनको वेजिङ्मा राज्य स्थापना गरेका थिए त्यसै वंशको एक शाखा नेपाल प्रवेश गरे जुन मगर जातिका थिए ।१२ त्यस्तै मगर जातिको अगुवा डा. हर्ष बहादुर बुढामगरले मगर जातिलाई किरात वंशसँग जोडेर मगरहरू किरात कुलकै भएकोले किरातहरूको मूलथलो बेविलोन थियो । कालान्तरमा हेब्रुजातिको आक्रमणले त्यहाँका बासिन्दाहरू यत्रतत्र लाग्दा एक समूह नेपालमा प्रवेश गरेका थिए ।

  मगर जातिको उत्पत्ति र आगमनको सम्वन्धमा धर्मप्रसाद श्रीसमगरले आठ हजार वर्षअघि भूमध्येसागरीय क्षेत्रमा सभ्य बनिसकेका जातिमा मंगोल नामका व्यक्तिका तीनभाइ छोराहरू मुनाइङ्वा, थोवोइङ्वा, योवोइङ्वा मध्ये मुनाइङ्वाका सन्तानहरू ४ हजार ३ सय वर्ष अगाडितिर नेपालको पश्चिमी दिशाबाट प्रवेश गरेका थिए । त्यसपछि क्रमश: चरणवद्ध रूपमा विभिन्न समयमा प्रवेश गर्दै पाँचौ–छैटौ  समूह प्रवेश गरे ।

प्राध्यापक टुचीले मगर जातिको उद्गम थलो मध्येएशिया, चीन र रूसको बीचको स्टेम्पसपा मैदानलाई मानेका छन् । सो स्थानमा पाँचौ शताव्दी तिर विशाल घोडचढी युग थियो ।

स समूहलाई पहिले टर्को–मंगोल जाति पनि भनियो । यसमध्ये ठूला लडाकु हुँणहरूको अभियान हंगेरी, रोम हँुदै बेइजिङसम्म पुगेका थिए । साथै मंगोलियाका मगर सेनाले भोट तिव्वतदेखि मध्ये नेपालसमेत कव्जा गरेका थिए ।  त्यसैले यस भागलाई मगरात भनियो ।

यसरी मगर जातिको उद्गमस्थल तथा आगमनको सम्वन्धमा विद्वानहरूको फरक–फरक विचारहरू रहेता पनि विचारहरू दुई समूहमा विभाजित भएको देखिन्छ । एउटा समूहले मगर जातिको उत्पत्ति नेपालभित्रै र अर्को  समूहले नेपाल वाहिर उत्पति भै विभिन्न समयमा नेपालमा प्रवेश गरेको मानेका छन् । अत: मानव श्रृष्टीको सुरूवात कहाँ कसरी भएको हो यसवारेमा नेपालकै भूमिमा कुन–कुन जातिहरूको उत्पत्तिस्थल हो यसवारे पनि अध्ययन हुनु आवश्यक  देखिन्छ ।

मगर जातिवारेमा अध्ययन गर्ने अधिकांश विद्वानहरूको विचार मगर जातिको उत्पत्ति नेपालको भूमिभन्दा बाहिरै भएको भन्ने राय रहेकोले तथ्यात्मक रूपमा प्रमाणहरूबाट पुष्टी नभएसम्म  यसै विचारलाई आजको मगर समूदायले स्वीकार्नु पर्दछ , तर पनि जे जस्तो अवस्थामा यस भूमिमा प्रवेश गरेपनि मगर जाति यस अवस्थामा आई पुग्नको लागि यसै भूमिको योगदान रहेको मान्न सकिन्छ । अन्य जातजाति भन्दा अगाडि प्रवेश गरेको कुरामा दुईमत छैन , किनकि धेरै मगर बस्तीरहेको बस्ती तथा ठाउँहरूको नाम मगर भाषाबाट रहेको पाइन्छ ।

२, मगर शब्दको नामाकरण  

नेपालमा वसोवास गर्ने एक सय २५ जातजातिहरूको आ–आफ्नै जातीय नामाकरण  छ । कुनै विशेष परिस्थिति , घटना, स्थानको नामबाट जातको नामाकरण भएको देखिन्छ । यसै सन्दर्भमा मगर जातिको नाम कसरी कुन घटना परिवेशबाट रहन गयो, ऐतिहासिक तथ्यहरू केलाउनु पर्ने हुन्छ ।

मगर शब्दको उत्पत्ति सम्वन्धमा विभिन्न किम्वदन्तीहरू, कथाहरू , जनश्रुतिहरू फरक–फरक ढङ्गले प्रस्तुत भएको पाइन्छ । मगर शब्दबाट परिचित हुनुपूर्व मगर जातिलाई कुन नामबाट चिनिन्थ्यो, यसवारे पनि अध्ययन हुन आवश्यक देखिन्छ । प्राचीन कालमा मगर जातिलाई लिच्छवी, मेदेश, वेडाल, भाटी, अवाटी, सिंघियन,र चिनिया इतिहासकारहरूले यूची भनि चिनिन्थ्यो ।

त्यस्तै पूर्वी नेपालको इलाम, पाँचथरमा महर, सिक्किमतिर च्याङ भन्ने गरेको पाइन्छ भने कर्कपेट्रिकले मगर नलेखी मुग्गर लेखेका छन्,  सुदूरपश्चिम तिर एकआपसमा कुरा गर्दा परे भनेर सम्वोधन गर्ने गरेको पाईन्छ ।

साथै कुमाउ, डोटी , जुम्लातिर मगरलाई महर भनिन्छ, भने महेशचन्द्र रेग्मीले पहिले मगर जातिलाई प्रजाजात पनि भनिएको पाइन्छ । त्यस्तै भारतीय इतिहासकार शेखरसिंह गौतमले प्राचीनकालमा मगर जातिलाई नाग जाति भनिन्थ्यो ।

इतिहास शिरोमणी बावुराम आचार्यले लिच्छवीकालमा मगरहरू सुङ्गुर पाल्दथे, लिच्छवीहरू आफूलाई पवित्र सम्झेकाले मगरसँग सम्बन्ध राखेनन्, जव खसहरू आए तव मगरलाई मंगोल सम्झे त्यही मंगोल शब्द अपभ्रंश भएर मगर शब्द उत्पति भएको हो ।

त्यस्तै महाकाली नदी र चन्द्रभङ् नदी बीचको भू–भागलाई महर उपत्यका भनिन्छ,  त्यही  महर शब्दवाट मगर शब्द उत्पत्ति भएको मानेका छन् । मगर शब्द उत्पत्तिका बारेमा पुस्कर लोहनीले मगर जाति फरक नभएर ठकुरीकै एक शाखा हो, भन्दै गोर्खा राज्यमा गोरखनाथलाई पूजा गर्नु अघि भैरवलाई सुङ्गुर बली चढाउनु पर्ने हुँदा राजाका ५ छोराहरू मध्ये कान्छाले सुङ्गुर छोएर पूजा म गर्छु भनेकाले त्यही मगर्छु भन्ने शब्दबाट मगर भएको हो र तिनै कान्छाका सन्तानहरू नेपालका विभिन्न ठाउँमा फैलिए ।

त्यस्तै पुण्य मल्लको कनक पत्र शाके १२५८ मा महाराजिक, महरा, महतौ र मगर राजाको उल्लेख गरिएको हुँदा तिनै शब्दहरू अपभ्रंस हुँदै मगर भएको हुन सक्ने सम्भावना देखिन्छ । भाषाशास्त्री कालकृष्ण पोखरेलले मगरहरू मर्कट अथवा वाँदरका सन्तान हुन् र मर्कट शब्द अपभ्रंस भएर मकर, मगर शब्द उत्पत्ति भएको उल्लेख गरिएको छ ।

प्राध्यापक राजनाथ पाण्डेले प्राचीनकालमा मगरहरूलाई मंगल भनिन्थ्यो मगर जाति मंगोल जातिकै एक शाखा भएकोले मंगल भन्नु औत्यिपूर्ण देखिन्छ । त्यही शव्दबाटै मगर शव्दको उत्पति भएको हुन सक्दछ ।

यसरी मगर शव्द नामाकरणको विषयमा विभिन्न विद्वानहरूको भनाई कथा, जनश्रुती, वंशावली, ताम्रपत्र, कनकपत्र लगायतको भनाईबाट मगर शब्द महाराजिक, महरा, महर, मङ्गर मगर भएको हुन सक्दछ । अर्कोतर्फ पहिले खानीभित्र काम गर्नेलाई खनाल र बाहिर काम गर्नेलाई मगरा भनिन्थ्यो , त्यही मगराबाट मगर भएको मानेका छन् ।

अत: मंगोल , मंगल, महर, मंगर तथा ‘म गर्छु’ बाट पनि मगर भएको मान्नु पर्ने अवस्था  छ ।  नेपालको सन्दर्भमा जनजातीय इतिहास लेखिने परम्परा नरहेको र प्राचीनकाल देखिनै राज्यस्तरबाट पनि हरेक जातिको इतिहास लेखेर संरक्षण गराउने चलन नरहेको देखिएकोले कथा, किम्वदन्ती, जनश्रुती तथा वंशावलीहरूमा उल्लेखित कुराहरूमानै भर पर्नु परेको हुंदा ऐतिहासिक तथ्यले प्रमाणित नगरेसम्म यिनै स्रोतहरूलाई मान्नु पर्ने वाध्यता देखिन्छ ।

         ३, मगर जाति भित्रको भिन्नता

नेपालको मेची महाकालीसम्म हरेक कुनाहरूमा वसोवास गर्ने वर्तमान मगर जातिलाई पहिचान गराउने नाम शब्द मगर रहेतापनि मगर जाति भित्र आ–आफूलाई परिचित गराउँने भिन्नताहरू  छन् । फरक–फरक समय समूहमा  प्रवेश गरेका र भिन्न भिन्न स्थानमा वसोवास गरेका हुनाले पनि मगर समुदाय भित्र केही भिन्नताहरू  पाइन्छ । यस सन्दर्भमा हरेक जाति, जनजातिहरूको थर उपथर, रहनसहन , गोत्र आदिको विभाजन तिनिहरूको मूल पुरूष, ठाउँ, कार्य गुण आदिको आधारमा भएको पाइन्छ भन्ने उल्लेख भागवत पुराणमा पनि पाइन्छ । मगर जातिभित्र प्रवेश गरेर अध्ययन गर्दा निम्न आधारमा मगर जातिभित्र भिन्नता रहेको पाइन्छ ।

  ३–१ समूहगत आधारमा भिन्नता

मगर जातिलाई समूहगत आधारमा दुई भिन्न–भिन्न समूहको नाम दिएर विद्वानहरूले विभाजन गरेको पाइन्छ । जस्तै :  प्राडा केशरजङ्ग बराल मगरले मगर जातिलाई दुई पन्थी समूहमा विभाजन गरेका छन् :  अठार पन्थी र बाह्र पन्थी समूह ।

मगर जातिलाई दुई पन्थीमा विभाजन गर्ने आधारको रूपमा आदिम कालमा मगर जातिका दुई मूल पुरूष थिए । दुवै दाजुभाइमा दाजुका सन्तान १८ भाइ र भाइका सन्तान १२ भाइ भए । अत: अठार पन्थीले आफूलाई जेठाका सन्तान र अर्काले कान्छाका सन्तान मान्दछन् । यिनै दुई भाइका सन्तानहरूनै आजका विभिन्न गोत्र, थर, उपथरमा विभाजित भएका हुन् ।  त्यस्तै खीलध्वज थापा मगरले  पनि समग्र मगर जातिहरूलाई दुई समूहमै विभाजन गरेका छन् ।  खानि गाउँले मगरहरू र कृषक तथा पशुपालक मगरहरू

अर्का जापानी  समाजशास्त्री कावाकिताले पनि दुई पन्थीमा विभाजन गरेका छन् । अठार पन्थी र चौध  पन्थी ।

चौध पन्थी मगर जातिभित्र निम्न थरका मगरहरू रहेको उल्लेख गरेका छन्  । जस्तै : थिलेजा, पूर्जा, गर्वुजा, वुङ्जा, आराम्जा, चउचुङ्गी, खोरौजा, कोकनै, रजित, रोकाई, सेरपूर्जा, साङ्जाली, थुजाली, पुन ।

२–२ भाषागत आधारमा भिन्नता : मगर जातिलाई भाषा बोलीको आधारमा मुख्य तीन वटा समूहमा विभाजन गरिएको भएपनि मगर भाषाको कुनै समूहको भाषा नबोली नेपाली भाषालाई मात्र मातृ भाषाको रूपमा प्रयोग गर्नेलाई अर्कै चौथो समूह सिर्जनागरी विभाजन गर्न पनि सकिन्छ ।

काइके मगर भाषा : यो भाषा अल्पसंख्यामा डोल्पा जिल्लाको केही गाउँहरूमा बोल्ने गरिन्छ ।

खाम मगर भाषा : यो भाषा १८ पन्थी तथा पुन, बुढा, रोक्का लगायतका मगरहरूले बोल्दछन् ।

ढूट् तथा मगराती भाषा : यो भाषा बोल्ने मगरहरू पूर्वी नेपाल तथा थापा, राना, आले आदि थर उपथरले बोल्लछन् । भाषा शास्त्री डा.माधव प्रसाद पोखरेल ज्यूले धेरै मगर जातिहरूले बोल्ने ढूट् मगर भाषामा मौलिकता कम रहेको तर पश्चिम लसर्घाको मगर भाषा मलाई सवभन्दा आदर्श र ऐतिहासिक भाषा विज्ञानको आधारमा सवभन्दा मौलिक लाग्दथ्यो भनि लेख्नुभाएको पाइन्छ ।

नेपाली मातृभाषा बोल्ने  मगरहरू विशेषगरी खानीगाउँले मगरहरूले कुनै मगर भाषा नबोली नेपाली भाषालाई मातृभाषाको रूपमा बोल्दछन् । हुनत यिनीहरू पनि खाम र ढुट् मगर भाषा बोल्ने मगरहरू अन्तरगत नै पर्ने भएपनि विषेश कारणवश नेपाली भाषालाई मातृ भाषाको रूपमा प्रयोग गर्ने परम्परा रहँदै आएको देखिन्छ ।  

गोत्यारको आधारमा भिन्नता : मगर जातिभित्र रहेका भिन्नतामा गोत्यारको आधारमा भिन्नता देखाउनु सान्दर्भिक देखिन्छ, साथै मगर जातिभित्र रहेको गोत्यारलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ ।

झर्रा गोत्यार भएका मगरहरू, आयातित गोत्यारका मगरहरू ।

झर्रा गोत्यार भएका मगरहरूको गोत्यार विभिन्न परिवेश, घटनाबाट सर्जित भएको देखिन्छ । जस्तै : गंगा, देउ कन्या, देउनामे, सालिमे, हितासे, नाककाने , गरगर, गनाई, दुर्नासे, तील, सार, स्या, सियो, गर्ग, धुरासी, श्रीजल, भलोदर , फार्सालगायत ।

त्यस्तै आयातित गोत्यार भएका मगरहरूको गोत्यार हिन्दु वेद तथा खस आर्य जातिका गोत्यारहरूसँग समान रहेका छन् । खासगरी आफ्नो  गोत्यार विर्सेका, राजनीतिक रूपमा दरवारी भारदारीमा रहेका मगरहरूको गोत्यार खसआर्य जातिको गोत्रसँग समान रहेको देखिन्छ । साथै गोत्यार विर्सेका मगरहरूले राजाको गोत्र राख्नु भन्ने प्रचलन रहेकोले पनि यस्तो गोत्यार रहेको देखिन्छ  ।  जस्तै : कश्यप, वशिष्ठ, आत्रेय (आत्रस्य), मत्स्य , कौशिला, भारद्वाज, भारद्धारे इत्यादी ।

३–३ थरगत आधारमा भिन्नता

नेपालको आदिवासी जनजाति मध्ये संख्यात्मक र थरगत हिसावमा सवैभन्दा बढी रहेको जाति मगर नै हो । मगर जातिको थर, उपथर यती नै छ भनेर कसैले किटान गर्न सकेको छैन । सवै अध्ययनकर्ताहरूले आ–आफ्नो खोजको आधारमा फरक–फरक संख्याहरू लेखेको पाइन्छ । मगर जातिको थर उपथरहरू मूल वा आदिम पूर्खा ठाउँ, गुण, कार्य आदिको आधारमा भएको पाइन्छ ।

मगर जातिमा थर  उपथरको आधारमा एक अर्कामा सानो ठूलो भन्ने गरेको कतै पाइँदैन । यस जातिको थर उपथरको वारेमा आफ्ना मतहरू राखेको र संख्याहरू उल्लेख गरेको पाइन्छ । समूह, पन्थी, थर उपथरहरूमा विभाजित भएपनि कुन थर कुन समूहमा मात्र पर्दछन् भन्ने एकिन गर्न सकिदैन । एउटै उपथर विभिन्न समूह तथा थरहरूमा रहेको पाइन्छ । विद्वानहरूको मत अनुसार बीएच हडसनले मगर जातिलाई मुख्य तीन थर र त्यसभित्र ६८ उपथर रहेको उल्लेख गर्नु भएको छ ।  जस्मा मुख्य थरहरू थापा, राना, आले  छन् । पोर्सिवल ल्याण्डन, टिवर सेकेल्ज, नर्दी र मरिसले मगर जातिलाई ६ वटा थरमा विभाजन गरेको पइन्छ, जस्तै : थापा, राना, आले, बुढा, घर्ती, पुन इत्यादि ।  यस्तै इमानसिंह चेम्जोङ्का अनुसार मगर जाति १२ वटा थरमा विभाजित रहेको उल्लेख गर्नु भएको छ । जस्तै : थापा, राना , आले, पुन, घर्ती, बोहरा, रोक्का, बुढाथोकी, कुँवर, झाङ्क्री, उचाई, एक्चै । समाजशास्त्री डोरवहादुर विष्टले १७ वटा मुख्य थरमा विभाजन गरेका छन् ।

विभिन्न लेखकहरूले अध्ययन गरेर प्रकाशित स्रोतहरूको आधारमा मगर जातिको थर उपथरको संख्या एक हजार एक सय भन्दा बढी रहेको उल्लेख पाइन्छ । अत : हालसम्म देखा परेका मुख्य थरहरू राना, थापा, आले, पुन रहेको पाइन्छ ।

यी थरहरू अन्तरगत उपथरहरूमा राना मगरको उपथर १ सय ७९, थापा मगरको उपथर ३ सय ९७, आले मगरको उपथर १ सय ६२, बुढाथोकी मगर अन्तरगत उपथर २७, घर्ती मगरका  उपथर ५७, पुन मगरको उपथर ४९, गरी जम्मा ८ सय ७१ वटा देखिन्छ ।  यसरी मगर जाति थरगत आधारमा फरक–फरक थर उपथरमा विभाजित देखिन्छ ।

       जनै लगाउने र नलगाउने  मगरहरू

मगर जातिमा जनै भन्नासाथ अनौठो लाग्दछ । तर केही ठाउँमा जनै धारण गर्ने मगरहरू पनि रहेको पाइन्छ । विशेष गरी जुम्ला र डोटी भेगमा र भारतको कुमाउमा जनैधारी मगरहरू रहेको पाइन्छ । कुन परिस्थितिमा जनै लगाए वा जनै खोले भन्नेतर्फ जाँदा राजनीतिक प्रसंगसँग जोडिएको देखिन्छ । यस सम्वन्धमा कुनै समयमा मगर राज्य माथि मुसलमानले आक्रमण गर्दा मगर राजा र प्रजाहरूले आफ्नो अस्तित्व वचाउन जनै फुकाली सुङ्गुरको पाठो साथमा लिएर प्रत्याक्रमण गर्दा मुस्लिम सेनाहरू भागेका थिए ।

अर्को कथा अनुसार मगर राज्यमा महामारी फैलिदा झाङ्क्रीहरूसँग सल्लाह लिए , झाँक्रीले पनि बराही देवी रिसाएको जानकारी दिए । सुङ्गुर बलि दिएपछि मात्र शान्ति हुन्छ भन्ने सल्लाह दिए । त्यसवेला मगरहरूले जनै धारण गर्दथे, राजाका कान्छा छोराले जनै फुकाली सुङ्गुरको पूजा गरे र प्रसाद स्वरूप मासु खाए । राजाका छोराले जनै फुकाली मासु धमाधम खाएको देखे पछि प्रजाहरूले पनि जनै फुकालेर मासु खान थाले । त्यही समयदेखि जनै फुकालेर मासु खानेका सन्तानहरू तागाहीन मगरहरू भए भने जनै नुफुकालेका र मासु नखाएका मगरहरू तागाधारी नै रहे जस्को अहिलेसम्म जनै रहेके पाइन्छ  ।

धार्मिक विश्वासको आधारमा भिन्नता :  मगरजातिको धर्म के हो भन्ने विषयमा व्यक्तिगत सामूहिक र संस्थागत रूपमा निकै चर्चा परिचर्चा भएको पाइन्छ । मगरहरूले मान्ने गरेको धर्महरू वौद्ध, हिन्दु, वोन, इसाई  इत्यादी रहेको छ । मगर जातिको धर्म वुद्ध हो भन्दै एमएस थापामगरले केही उदाहरणहरू पेश गर्नु भएको छ । जस्तै : वडा पूजा गर्नु, मामाकी छोरी र भाउजु व्यहोर्नु, भीमसेनपाती पुज्नु , सुङ्गुरको मासु खानु, जाँड रक्सी खानु, कान छेड्नु, आदि ।

त्यस्तै हिन्दु र वौद्ध धर्मको आगमन तथा विकास हुनु भन्दा अगाडिदेखि बसोबास गरेको हुँदा मगरहरूको आफ्नै संस्कार परम्परा रहेको वोन धर्म हो । उदाहरणको रूपमा मगरहरू बलि पूजक, मृत्यू संस्कारमा मासु प्रयोग गर्नु, कुलपूजा गर्नु आदि वोन धर्मको अवशेष मान्न सकिन्छ ।

प्राडा केशरजंग बराल मगरले मगरहरूको मुख्य धर्म प्रकृति पूजक हो । धर्ममा दर्शनको विकाश हुन्छ , तर मगरको धर्ममा दर्शनको नभै कार्यको पूर्णता भएको पाइन्छ । जस्तै : वायू, पर्वत, नदीनाला, रूख, ढुङ्गा, शीर , र सीमसार आदिको पूजा गर्दछन् । अत: मगरको देवी देवता भनेको नै प्रकृतिहरू हुन् ।

त्यस्तै धेरै मगर समुदायले हिन्दु धर्मलाई पनि मानेको पाइन्छ । त्यस्तै पछिल्लो समयमा मगर जातिहरू इसाई धर्मप्रति पनि आकर्षित भइरहेको पाइन्छ । यसरी सवै धर्महरूलाई मगर समुदायले अगाल्न थालेको छन् ।

मगर जाति र रीति रिवाज : हरेक जातजातिको परापूर्वकालदेखि मान्दै आएको मौलिक संस्कार पद्धतिहरू रहेको हुन्छ । वर्तमान नेपालको मिश्रित समाज विकाशले गर्दा एकल जातीय संस्कार पद्धतिमा केही न केही प्रभाव पारेको देखिन्छ । यसै सन्दर्भमा मगर जातिको जन्मदेखि मृत्युसम्मका  संस्कार, चाडवाड, खानपान, भेषभूषा, आदिमा पनि बाह्य प्रभावहरू परेको देखिन्छ । अत: मानव समाजमा रहेको धर्म, संस्कार, खानपान, भेषभूषा लगायत विविध पक्षलाई सामाजिक रीतिरिवाज भित्र समेटिएको देखिन्छ । मगर जातिको सामाजिक, राजनीतिक, धार्मिक अवस्था जे जस्तो भएता पनि सांस्कृतिक सभ्यता विकशित रहेको मान्न सकिन्छ ।

मगर जातिको जन्मदेखि मृत्युसम्म गरिने संस्कार पद्धति आफ्नै रीत परम्परामा चलेको पाइन्छ । विधि व्यवहारमा केही भिन्नता रहेको भएतापनि अधिकांश रित र व्यवहारमा समानता रहेको पाइन्छ । मगर जातिको संस्कारगत रीतिरिवाज निम्न रहेको र मनाउने गरेको पाइन्छ ।

जन्म संस्कार तथा न्वारान : मगर जाति भाषिक रूपमा तीन समूहमा विभाजन भएको साथै धार्मिक रूपमा पनि विभिन्न धर्मप्रति आस्था राख्ने भएकोले संस्कार विधि परम्परामा पनि त्यसैको प्रभाव परेको देखिन्छ । मगर जातिमा जनजिव्रोबाट हस्तान्तरित विधि परम्परा पनि जन्मदेखि मृत्यु संस्कारसम्म कायम रहँदै आएको पाइन्छ ।

मगर समाजमा महिला गर्भवती भएदेखि वच्चा को न्वारान नभएसम्म महिला र नीजको पति धार्मिक कार्य पूजापाठ काटमार, देवदेवीको मन्दिरमा दर्शन गर्न अशुद्ध मानिन्छ ।  तर जन्मनु अघिसम्म आफ्नो कुलपितृ थानमा धुपदीप गर्न छुट मानिन्छ । शिशुको जन्म भएदेखि न्वारान नभएसम्म सूतक बार्ने परम्परा मगर समूदायमा पनि प्रचलनमा छ । मगर जातिले परिस्थिति अनुसार तीन, पाँच, सात, नौ र एघार दिनमा न्वारान गर्ने प्रचलन रहेको पाइन्छ ।

न्वारान गर्दा विवाहित चेली फूपूवाट सुत्केरी वसेको स्थानमा लिपपोत गरी तीतेपातीले गहुँत छर्केर पवित्र पार्ने काम सम्पन्न गर्दछन् । मगर पुरेतले दिएको नाम न्वारानको समयमा चेलीबेटीबाट सुनाइन्छ । कतै कतै बुढापाकाले शिशुको नाम राख्ने गर्दछन् । साथै न्वारानमा भलायो, बिमिरा, अमिलो, टिमुर लगायतका सात प्रकारको विरूवाको हाँगा मिलाएर आगो बालिन्छ । यसको धुवाँबाट शिशुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास रहेको छ । साथै मगर जातिमा शिशुको नाइटो झरेपछि सुरक्षित राखी पछि जन्तर बाँधि दिने र यसो गर्दा दुरात्माबाट जोगिने विश्वास पनि गरिन्छ ।

तर कतिपय मगर समूदायमा हिन्दु परम्परा अनुसार नै ब्राह्मण पुरेतबाट न्वारान गर्ने प्रचलन रहेको छ । अहिले पछिल्लो समयमा मगर वापा, मापाद्वारा पनि मगराँति परम्परा अनुसार न्वारान गर्ने चलन विकाश भएर गएको पाइन्छ ।

अर्काेतर्फ खामभाषी समूहका मगरहरूले न्वारानको विधि केही फरक रहेको छ । जस्तै : शिशुको नाइटो झरेपछि पाँच वा सात दिनमा जेठी महिलाद्वारा न्वारान सम्पन्न गराउँदछ । न्वारनको दिन जेठी महिलाले बच्चालाई बाहिर निकाली नुहाई दिने सुत्केरीले पनि नुहाएपछि साविक ठाउँमै राखिन्छ । एउटा ढुङ्गा पोतेर घ्यू, तेल मलेर धुप बालिन्छ, सुत्केरीले सात पटक धुप नाघ्दछ, सोही महिलाले रक्सी, रोटी, भात, मासु भाग लगाउँदछन्, सवै भागबाट नौ–नौ वटा साना भाग लगाएर बच्चाको छेउमा बसी यसरी फलाक्दछन् । यसरी थैच्यो वज्यू, परङ्गीयाङ्, जे नाति पनाति जनमिलन जोगाइच्यो, रिलन जोगाइच्यो, सिंलन जोगाइच्यो, हाङ्लन जोगाइच्यो , सुन बज्यू परङ्गी तिम्रो नाति पनातिलाई आगोबाट, पानीबाट, रूखबाट, भीरबाट जोगाए भन्दै पूजा गर्दछन् । सुनपानी छर्केर दही चामलको सेतो टीका सवैलाई लगाई दिइन्छ । धूप हालेको ढुङ्गा अलि पर सारी खानेकुराहरू वच्चाको भाग लगाई आमालाई दिने र अन्यले पनि खाने गरिन्छ ।

अर्कोतर्फ बच्चालाई सुनपानीले नुहाई दिने, धामी झाँक्रीबाट घडी पला छुट्याई झाँक्रीले शिशुको कानमा तिम्रो यो नाम भयो भनी सुनाउने र आमावुलाई पनि सुनाइन्छ । आमा बुवालाई थप दुई वटा नाम राख्न भनिन्छ । नाडीमा धागो बाँधी दिन्छन् । पाहुना पातलाई खान दिइन्छ ।

                     

                 

मगर जातिको पास्नी र विवाह संस्कार

मगर समुदायमा बच्चा जन्मेको ६ महिनाभित्र छोराको र ५ महिनाभित्र छोरीको पुरभदै (पास्नी) वा भातख्वाई कर्म गरिन्छ । यो कर्म मगरहरूले धुमधामको साथ मै मनाउने गर्दछन् । अन्तिम महिनाको राम्रो दिन पारेर साइत निकाल मगर वापा, मापा, भुषाल वा ब्राम्हण पुरेतलाई लगाइन्छ । दिन निकालेपछि राशिफल मिल्ने दाजुभाइको छोरी ‘कन्या’को हातबाट भात खुवाएपछि थप दुई कन्याको हातबाट भात खुवाएपछि मात्र आमा वुवाले खुवाउँदछन् । त्यसपछि आमन्त्रित अन्य पाहुनाहरूले भात खुवाएर टीका लगाई उपहारहरू दिने गरिन्छ ।

खानाको प्रकारहरू  सकेसम्म तेह्र प्रकारको जुटाइन्छ र बरको पात त्यो नभए सालको टपरीबाट खुवाइन्छ ।  साथै मासुपनि खुवाउने चलन रहेको छ । खाना खुवाउँदा बच्चा रूनुपर्ने हुन्छ, यदी बच्चा नरोएमा चिमोटेर भएपनि रूवाइन्छ ।  घरपरिवार र आमन्त्रितहरूले बच्चालाई उपहारमा सुन, चाँदीको आभूषण, कपडा, साथै गच्छे अनुसार नगद रकम पनि दिने चलन रहेको छ । कतै कतैको मगर समुदायमा आमन्त्रितको घर–घरमा कोसेलीको रूपमा मासु पनि पठाउने गरिन्छ, जस्लाई जीर चोक्टा भनिन्छ । अन्तमा बच्चालाई खुवाएर बाँकी रहेको जुठो तीन वच्चालाई खुवाइ चौबाटोमा फाल्ने गरिन्छ । घरमा नाचगान गरिन्छ । साथै आसेपासको लागि टपरीमा कालो मासको दाल, चामल, फूल, पैसा, दुनामा पानी, धुपवत्ती राखेर हे † आसेपासेहरू तिमीहरूका लागि अन्न, जल, धूपदिप अर्पण गरेको छु , बच्जन तथा स्वास्थ्यमा कुनै किशिमको कुदृष्टि नलगाउनु भनी दोवाटोमा राखी दिइन्छ ।  यसरी यिनै विधिबाट मगर  समाजमा पुरभदै गर्ने चलन रहेको छ ।

छेवर, छेप्राई : छेवर मगर समुदायमा गरिने अर्को महत्वपूर्ण कर्म संस्कार हो । यो कर्मलाई धुमधामको साथमा गर्ने प्रचलनको विकास भएको पाइन्छ । छोराको उमेर पाँच, सात, र नौ वर्षभित्र गरिने यो संस्कारमा मामाको भूमिका महत्वपूर्ण हुन्छ । यो कर्म साइत निस्केको दिन र समयमा गाईको थलामा बच्चालाई लगिन्छ, गाईको दाम्लाले बाँधी  मामाको हातबाट केस मुण्डन गरिन्छ । घरभित्र कुलकुलायनलाई धुपबाती गरिसके पछि दियोकलसको साथमा सक्नेले पञ्चैबाजासहित बच्चालाई गाईको थलामा लगिन्छ । केस काटेर टपरीमा राखिन्छ । त्यसपछि बच्चालाई नुहाएर नयाँ कपडा लगाई दिइन्छ । घरपरिवार, आफन्त र आमन्त्रित सवैले टीका लगाएर उपहार तथा नगद रकम दिने चलन रहेको छ ।

यो संस्कार पश्चिम नेपालमा सामान्य रूपमा गरिए पनि पूर्वी नेपालमा भव्यताका साथ मनाइन्छ । आमन्त्रितहरूलाई जाँड, रक्सी, सुङ्गुरको वा राँगा नै काटेर भोज गराउँदछन् । साथै साञ्चेप गराउने चलन पनि रहेको छ ।

गुन्यू–चोली :  मगर समुदायमा छोरीको उमेर पाँचदेखि तेह्र वर्षको उमेरभित्र गुन्यू चोलीको कर्म गरिन्छ । गुन्यूचोली दिएपछि छोरीको विवाहको लागि बाटो खुलेको मानिन्छ । ज्योतिष वा मगर वापा, मापा, भुषाल तथा व्राम्हण पुरेतले निकालेको साइत अनुसार नै विहान घर आँगन लिपपोत गरी वुवाआमाले अन्न ग्रहण नगरी नै रातो, सेतो ध्वजा, फलफूल, जल, धुपवाती कुलपितृलाई चढाइन्छ । एकजोर फुको ध्वजा आसेपासेको लागि रूखको हाँगामा बाँधिन्छ । त्यसपछि टीका लगाई दिएर गुन्यूचोली छोरीलाई लगाइ दिई शुद्ध भोजन गराइन्छ ।

पूर्वि नेपालको मगर समुदायमा छोराको छेवर कर्ममा जस्तै छोरीको गुन्यूचोलीमा पनि खानपान भोज गरिन्छ । उपहार तथा नगद टीका लगाए पछि दिइन्छ , साथै आमावुवाले दाजुभाई वा माइती तथा छोरीको मावली , बुढा मावलीहरूलाई भोजमा काटेको सङ्ुगुर, राँगाको फिला, टाउका,े भुटेको मासु, चामल, रक्सी , जाँड, अचार, आदि नाङ्लोमा राखी दियोकलश, अक्षता पनि राखेर सवै मावलीहरूलाई बरण्डामा वरीपरि राखी वीचमा सामान राखेर ढोग गरिन्छ । मावलीले पनि आफ्नो चेलीलाई टीका लगाएर दक्षिणा दिइन्छ ।

सवै मावलीहरूले दामासाही भाग लगाई घरमा लगिन्छ । तयारी समानहरू रमितेहरूलाई बाँडी खान्छन् । यसरी गुन्यू चोली संस्कार सम्पन्न हुन्छ । लेखक स्वयं उक्त संस्कारमा सहभागी हुँदै आएको छ ।   

विवाह संस्कार : विवाह संस्कार मगर जातिको सवैभन्दा महत्वपूर्ण संस्कार हो । मगर जातिमा विवाह अनेक प्रकारको प्रचलनमा रहेको छ ।  विधवा वा विधुर विवाह, मगनी, प्रेम वा चोरी, जारी, सारी आदि समाजमा स्वीकार्य वैवाहिक प्रचलन रहेको छ । अर्को पनि विवाह छ, पुङ्डी, जुन विवाहलाई मगर समाजमा स्वीकार गरेको पाइदैन ।

यी सम्पूर्ण प्रचलित विवाहलाई दुई भागमा विभाजन गरिएको पाइन्छ । औधन्या र लगन्या, मागी विवाह वाहेक अन्य प्रकारको विवाहलाई औधन्या विवाह भनिन्छ । मगर  जातिमा मामाचेली  र फुपू चेला विवाह गर्ने प्रचलन रहेको भएपनि अहिले कमी आएको पाइन्छ ।

प्रेम,चोरी वा भागी विवाह : मगर जातिमा निकै प्रचलनमा रहेको यो विवाह प्रचलन हो । चोरी विवाह दुई प्रकारको हुन्छ । घर परिवारसँगको सल्लाहमा र घरसल्लाह वेगर केटाकेटीको सल्लाहमा वा केटीको पनि राजी नभैकन गरिने विवाह ।

सल्लाहमा गरिने चोरी विवाहमा केटाकेटी दोहोरो मन परापर भएपछि छोरीलाई रातिनै घरवाट निकाली पठाइन्छ र केही दिनपछि मगर रित परम्परा पूरा गरी सामाजिक मान्यता प्रदान गरिन्छ । केटाकेटीको सल्लाहमा मात्र गरिने चोरी विवाहमा केटा पक्षलाई घर परिवार वा समुदायको स्वीकृति पाउन निकै कठिन पर्दछ । चोरी विवाह अन्तरगत केटी छोप्ने प्रचलन पनि मगर समुदायमा रहेको थियो । यो विवाहमा स्वीकृति पाउन झन निकै कठिन पर्दथ्यो ।

यदी केटीले राजी नभैकन छोपेर जवरजस्ती लगेको भनि मञ्जुरी नदिएमा केटा पक्षलाई फिर्ता पठाउने प्रचलन रहेको थियो । लेखकको स्वयं फुपूलाई छोपेर लैजादा लेखकको वुवालाई समातेर बाँधी बन्दुक देखाएर लगेको भए पनि पछि फुपूले विवाहको लागि अस्वीकार गरेको हुँदा केटा पक्षलाई फिर्ता पठाएको थियो । (वुवाले सुनाएको घटना विवरणअनुसार ) यो प्रचलन मगर समुदायमा प्रशस्तै रहेको थियो ।

घर सल्लाहमा भएको चोरी विवाहमा केटी लगेको केही दिनपछि केटा पक्षबाट रित कोसेलीहरू एक थुन्से सेल रोटी, एक घैला रक्सी, ठेकी र अन्य सामग्रीको साथमा केटीको घरमा केटाकेटीसँगै अभिभावकहरू पनि सरासरी आउने गर्दछन् । ठेकी कोसेली राखेर आमावुवा छोरीले ढोग गरेपछि कोसेली समाए पछि ज्वाईसँग पनि ढोगभेट गरिन्छ । यदी घर सल्लाह विना नै विवाह भएको छ  भने छोरी भगाएको खवर माइती पक्षलाई दिइन्छ ।

केही दिनपछि ठेकी कोसेलीको साथमा केटाकेटी र अभिभावकहरूको साथमा केटीको घरमा आउँदछन भने माइती पक्षको पनि अभिभावकहरू भेला भएर बसेको हुन्छ । यसरी ठेकी कोसेलीको साथमा पहिले केटा पक्षको अभिभावक केटीको घरमा जानु पर्दछ , यसरी जानुलाई चोरको सोर भनिन्छ ।  यसमा पहिले छोरीलाई बोलाएर राजी विराजी सोधिन्छ, यदि राजीखुसीको साथमा विवाह गरेको भए रितपूर्वक आएको कोसेली समातिन्छ र ढोगभेट गरिन्छ । यसपछि अन्य रितहरू बुझाउनु पर्ने हुन्छ ।

अनुकुल समय पारी छोरी ज्वाईलाई माइती पक्षबाट टीको दिने चलन रहेको छ । अहिले पूर्वी नेपालको मगर समुदायमा चोरी विवाहलाई पनि मागी विवाह जस्तै गरी जन्ती मगाएर कर्म गरिदिने चलनको विकास भएको पाइन्छ ।

साइमुन्द्री र सघाउनी

                     

जारी, सारी, पुङ्डी, विधुवा तथा भाउजु व्यहोर्ने विवाह मगर समुदायमा प्रचलनमा छन् । यी प्रचलनमा रहेका यी विवाहमा पुङ्डी बाहेक सवैलाई सामाजिक मान्यता प्राप्त  छ । एक पटक विवाह भै सकेको छोरी अर्कै पुरूषसँग दोस्रो विवाह गरेमा जारी विवाह भनिन्छ । पछिल्लो पतिले अघिल्लो पतिलाई जारीकल रकम नबुझाएसम्म ढोगभेट फुकाइँदैन । यदी माइती पक्षले ढोगभेट फुकाएमा माइती पक्षले नै जारी रकम तिर्नु पर्ने हुन्छ ।

पहिले–पहिले जारीकल वापतको रकम ६० रुपैयाँ थियो । पछि–पछि कचहरीले तोकेको रकम बुझाउनु पर्ने चलन थियो । फेरि दोस्रो विवाह गरि सकेको चेली  पुन: तेस्रो पटक विवाह गरेमा त्यस्तो विवाहलाई सारी विवाह भनिन्छ । यसमा पनि जारीकल वापत तिरेको रकमको आधा रकम वुझाउने वा लिने गरिन्छ । यसपछि माइती पक्षसँग ढोगभेट खुलाइन्छ । तेस्रो विवाह गरि सकेपछि पनि पुन: चौथो विवाह गरेमा त्यस्तो विवाहलाई पुङ्डी विवाह भनिन्छ ।

यस्तो विवाहलाई चाहिं मगर समुदायमा स्वीकार गरी ढोगभेट गरेको पाइदैन । त्यस्तै यदी विवाह गरेको दाजुको अल्पआयूमै निधन भएमा भाइले विवाह गरेको छैन भने भाउजुसँग विवाह गर्ने चलन मगर जातिमा  छ । देवरले भाउजुलाई चुरा लगाई दिएपछि भाउजु साथै छोराछोरी  र दाजुको नाममा रहेको सवै सम्पती भाइले नै जिम्मा लिन्छ, यस्तो विवाहलाई पनि मगर समाजले स्वीकार गरेको पाइन्छ ।

लगन्या तथा मगनी विवाह : मगर समुदायमा मागी वा मगनी विवाह निकै प्रचलनमा रहेको विवाह हो । छोराको विवाहयोग्य उमेर भएपछि वावु नै मामाको छोरी भए सालीलाईनै ठेकी लिएर  माग्न जान्छन् । मामाकी छोरी नभएमा मात्र अन्यत्र कन्याको खोजीमा एक ठेकी दही र रक्सी लिएर वुवा र अन्य अभिभावक केटी खोज्न जान्छन् । केटीको घरमा ठेकी राखी कन्या माग्दा यदी स्वीकारेको खण्डमा ठेकी  समातिन्छ । अन्यथा ठेकी फिर्ता गरिन्छ । मामाकी छोरी अन्यत्र विवाह गरिदिएमा साथै साली हुँदाहँुदै  अर्को कन्या विवाह गरेमा दुवै पक्षले एकअर्कोलाई जरिवाना तिर्नु पर्ने परम्परा रहेको छ । तर अहिले त्यो परम्परा हटिसकेको छ ।

केटाको उमेर भएपछि अनौपचारिक रूपमा हेरिएको कन्याको घरमा घटीमा २ जनालाई एक ठेकी दही र एक बोतल रक्सी ,सुपारी, ढ्याके पैसा राखी पठाइन्छ । यसी जाने समूहलाई कलिया जाने भनिन्छ । कलियाले लगिएको ठेकी र रक्सी कन्याको घरमा पुगेपछि भूईमा राखिन्छ । झुण्डाएर राखिएमा कुरो अल्झिन्छ भन्ने विश्वास रहेको छ । (लेखक स्वयं यसकार्यमा सहभागी भएकोले प्रत्यक्ष अनुभव) कलिया सामान्यतया साँझमा मात्र जाने प्रचलन रहेको छ ।

  माइती पक्षको अभिभावकहरू भेला भएपछि ठेकी रक्सी अगाडि सारिन्छ र कन्या माग्न आएको औपचारिक जानकारी गरइन्छ । पहिले पहिले आमा वुवा राजी भए हुन्थ्यो तर अहिले कन्यालाई सोधिन्छ, कन्याको स्वीकृति भएपछि मात्र कन्यालाई अक्षताले पर्छेर ठेकी रक्सीलाई आफुतिर ठाउँ सार्न लगाइन्छ । त्यसपछि आमावुवाले समाएर भित्र लगी त्यही रक्सी सगुनको रूपमा माइती पक्षका अभिभावकहरूलाई दिइन्छ ।

कलियाहरूलाई पनि घरको रक्सी दिइन्छ । पहिले–पहिले दुई तीन पटक ठेकी लगेपछि मात्र विवाहको लागि टुङ्गो लाग्दथ्यो भने अहिले एकै पटकमा विवाहको अन्तिम छिनोफानो गरिन्छ । ठेकी रक्सी स्वीकारे पछि केटाले केटीको लागि कपडा वा औंठी लगाई दिइन्छ ,यस्तो कार्यलाई मगर परम्परामा साइमुन्द्री खसाउनु भनिन्छ । यो खसाए पछि यदी कन्या भागेर अर्कैसँग विवाह गरेमा जारी उठाउन पाउने मगर परम्परा रहेको छ ।

यसरी ठेकी रक्सी राख्नुलाई ठेकी भारी काके भनिन्छ । पहिले मगर समाजमा  दोहोरो विवाहको खाना खर्च व्यहोर्नु पर्दथ्यो ।  कन्याको कुरा छिनेपछि अभिभावक वीचमा पाहुरपात, छ्याग्रा वा वाक्छुरूको वारेमा कुरा सुरू हुन्थ्यो ।  जुन विवाहको एक दुई दिन अगाडिनै कन्याको घरमा पुर्‍याउनु पर्दथ्यो । अहिले विवाहकै दिन मैतालु भनेर खसी वा बोका लाने गरिन्छ ।

मगर जातिको छोराछोरीको विवाहमा भाइहरूले पनि सहयोग गर्ने चलन रहेको छ जस्लाई पश्चिमतिर भाइडुस्के भनिन्छ  र पूर्वतिर सघाउनी भनिन्छ । विवाहमा जन्तीसँग महिला युवतीहरू पनि जान्छन यस्ता महिला समूह जस्ले सोली, रोटी, रक्सी आदि बोकाइन्छ । जस्लाई : ग्योकहारी भनिन्छ ।

  घरबाट जन्ती बाटो लागेपछि मूलबाटोमा वा दोबाटोमा चेलीबेटीले जाँड, रक्सी, रोटी, अचार, आदि सामग्रीको साथमा गुन्द्री ओछ्याएर बाटो छेक्दछन् यस रितलाई माइत  डाकी वा लाम छेक्डीकी भनिन्छ । माइतको सामग्री हेरी बेहुलाले चेलीलाई टीका लगाइदिएर दक्षिणा दिएपछि सवै खानेकुरा जन्तीहरूलाई बाँडिन्छ ।

यस्तो माइत आउँदा जाँदा दुवै पटक राख्ने परम्परा रहेको छ । पश्चिमी मगर समुदायमा बाटोमा पछ्यौरा ओछाएर बाटो छेक्छन् । पैसा नदिएसम्म बाटो अघि बढ्दैन, यस्तो कार्यलाई फागु ठुन्के भनिन्छ । कुनै ठाउँमा पछ्यौरामा बन्दुक, गहना, पैसा, राखी बाटो छेक्छन् यस्तो गर्नुलाई चाँखे ठोछ भनिन्छ ।

जन्ती कन्याको घरमा पुगेपछि माइती पक्षका युवाहरूले चिराग बालेर जन्तीको दाहिने तर्फबाट तीन फेरो मार्दछन् र यसो गर्नुको कारण पहिले यातायातको व्यवस्था नहुँदा जन्ती राती पुग्ने भएकोले आसेपासे दुरात्मा भगाउने उद्देश्यले गरिन्थ्यो । अहिले यो चलन पनि हटि सकेको छ । अहिले जन्ती कन्याको घर छेउमा पुगे पछि सातदेखि एघार जनासम्म फलफूल रोटी लिएर साइपाटा पठाइन्छ । साथै एकछिन पछि चारदेखि छ जनासम्मको भत्खौरे पठाइन्छ , जस्लाई ठेकी, रक्सी, माछा, उखु आदि सामान दिएर पठाइन्छ । जस्ले जन्तीको अवस्था बोध गराउँछ ।

मगर समुदायको विवाहमा सिन्दुर लगाउने चलन नभए पनि हिन्दुधर्मबाट प्रभावित मगरहरूले व्राम्हण पुरेतद्वारा वैवाहिक कार्य सम्पन्न गराउने भएकोले धेरै ठाउँमा वैदिक परम्परा अनुसार विवाह सम्पन्न गरेको पाइन्छ ,  वौद्ध परम्परावाट वापा, मापा तथा भुषालबाट पनि विवाहकार्य सम्पन्न गरिन्छ । जस्मा सिन्दुर लगाउने कार्य नभए पनि गोडा धुने , गोडधुवा दिएर टीका लगाउने चलन भने रहेको छ ।

कन्याको घरमा गरिने वैवाहिक विधिहरूको अन्तमा कन्याको आमालाई छोरीसँग साथ छोडाउनी भनेर  दुधेलो भारा कटाउनी वेहुलाले सासु आमालाई भूईमा सालको पातमा उभाएर तीन फेरो कलसको पानीले फेरो मारी कपडा वा नगद दिएर तीन पटक ढोग गरिन्छ , साथै मावली मामालाई फिला, भाले, रक्सी, सेलरोटी राखेर भाञ्जी र ज्वार्इंले ढोग गर्दछ  । साथै मामाले पनि टीका लगाएर दक्षिणा दिई विदावारी गर्दछन् ।

जन्ती घरमा आई सकेपछि वेहुली भित्र्यााउन घरको बरण्डादेखि कुलथानसम्म गोबर वा पुछेर गोबरको दियोमा वाती बालिन्छ र दियोलाई बाहिरदेखि भित्रसम्म धानको मुठीमाथि राखिन्छ । दियोकलशको साथमा बेहुलीलाई अगाडि र पछि–पछि बेहुलालाई राखी  भित्र लगिन्छ, बेहुलीले बलेको दियो कुल्चिदै हिड्नु पर्दछ ,ढोकामा चेलीवेटीले भित्रबाट तौलियाले बाटो छेक्दछन् । त्यसवेला वेहुलाले नगद दिएर बाटो खुलाउनु पर्दछ । बाटो खोलेपछि पुन दियो कुल्चदै कुलथानमा देखाइन्छ । घरभित्र धान घोप्टाएको हुन्छ धान उठाएर ढीकुटीमा हाल्न सासुले देखाई दिन्छिन् ।

यो विधि सकेपछि विछाएको राडी वा गुन्द्रीमा दुवैलाई राखी आमावुवाले पहिले र त्यसपछि साइनोमा माथि पर्ने सवैले टीको लगाई दिन्छन् ।  खाजा खाए पछि विवाहको कार्य सकिन्छ ।

मगर जातिको कुनैपनि शुभ कार्यहरूमा साञ्चेप परम्परा महत्वपूर्ण पक्ष रहेको छ । साञ्चेप गराउँदा निम्तालुहरूलाई घरमा आएपछि खाजा खुवाउन कोठामा लगिन्छ । मासु, रक्सी लगायत विभिन्न सामग्री खुवाउंनु पर्दछ । त्यसपछि भान्सामा लगिन्छ, खाना खुवाइन्छ । खाना खाई सकेपछि अन्तिम सगुनको रूपमा बाहिर टेवल कुर्सी राखी दियो कलसको साथमा रक्सी,जाँड, भुटेको मासु राखिन्छ , सघाउनी पनि लेखिन्छ र एक चोक्टा मासुको साथमा एक प्याला रक्सी वा जाँड दिइन्छ । यो निम्तालु स्वागतको अन्तिम चरण हो ।

मगर जातिको कुनैपनि शुभ कार्य संस्कारको अन्तिम विधि माइती, मावलीको शीर उभ्याउनु हो । मावली, बुढामावलीलाई यो विधि गरी कार्यको विसर्जन हुन्छ ।  विवाहमा काटिएको सुङ्गुर, खसी, रांगाको दाहिने फिला र टाउको सिङ्गै राखिन्छ । वरण्डा वा आँगनमा राडी गुन्द्री विछाएर मावलीलाई एकातीर र बुढामावलीलाई अर्कातिर राखिन्छ ।

मावलीलाई फिला र बुढामावलीलाई टाउको र दुवै नातालाई भुटेको मासु, चामल, अचार आदि राखेर चेलीले केही कुरा बखान गरेर ढोग गरिन्छ । मावलीहरूले पनि सहभागी सवैले दामासाहीमा दक्षिणा उठाएर सवभन्दा जेठोले बखान गर्दै टीका लगाई दक्षिणा दिइन्छ  र सवैले दामासाहीले भाग लगाएर घरमा लैजान्छ । पाकेको सामग्री उपस्थित रमितेहरूलाई बाँडिन्छ । यसरी मगर समुदायको विवाहको रित समाप्त हुन्छ । ( लेखक स्वयं यस्तो कार्यको भुक्तभोगी )

         

                    मगर जातिको मृत्यु संस्कार  

नेपालको आदिवासी जनजातिमा सबैभन्दा बढी जनसंख्या मगरको जातिको रहेको तथ्याङ्कले देखाउँदै आएको छ । यहाँका विभिन्न जातिका छुट्टाछुट्टै विभिन्न संस्कार भए जस्तै मगर जातिको पनि छुट्टै संस्कार छ । मगर जातिको जन्मदेखि मृत्युसम्म मात्र नभएर मृत्युपछि गरिने पनि विभिन्न संस्कार छन् ।

मगर समुदायको विभिन्न संस्कारहरूमा मृत्यु संस्कार पनि एक हो । मगर जातिको ठूलो जनसंख्या भएर होला  यो संस्कार यसका विधि र चलन पनि स्थान र समूहवीच पनि फरक फरक पाइन्छ । मगरको घनावस्ती भएको स्थानमा मगरात संस्कार बढी प्रचलनमा छ । यस्तै हिन्दू अधिक भएको स्थानमा हिन्दु संस्कार बढी र बौद्ध धर्मको प्रभाव क्षेत्रमा बौद्ध संस्कार अनुसार कृयाकर्म गरिदै आएको पाइन्छ । अझ मगर समुदायको बसाई सराई र अन्य समुदायको घुलमिलको कारण पनि हिजोआज मगरहरुले आफ्नो जातीय संस्कारलाई सम्मान गर्दै स्थानीय स्तरमा कृयाकर्म गर्ने गरेको पाइन्छ ।  

मृत्यु संस्कार मानव जातिको सशरीर गरिने अन्तिम संस्कार विधि हो । यो संस्कार जाति, धर्म र परम्परामा आधारित भएर गरिदै आएको पाइन्छ । मगर जातिमा मृत्यु संस्कार परम्परा ठाउँ अनुसार फरक–फरक रूपमा सम्पन्न गरेको पाइन्छ । मगर समुदायमा तीन, पाँच, सात, दश, बाह्र  र तेह्र दिनमा शुद्ध शान्ति गर्ने गरिन्छ ।

हिन्दु वैदिक परम्परा मान्ने मगरहरूले दश र तेह्र दिनमा शुद्धशान्ति गर्दछन् । बौद्ध विधि र मगराति विधि अनुसार सात दिनमा यो काम गरिन्छ । मगर वापा, मापा, भुषाल तथा लामाद्वारा कृयाकर्म सम्पन्न गराइन्छ । स–साना दूधे शिशुको कृयाकर्म ३ दिनमै गर्ने प्रचलन पनि रहेको छ । मृत्यु भएका मानिसको मृत शरीरलाई अन्तिम संस्कारको रूपमा जमिनमा खाल्डो खनेर गाड्ने गरिन्छ । तर अहिले जलाउने पनि चलन छ । तर धामी, झाँक्रीको मृत्यु भएमा अन्तिम संस्कारको रूपमा बाँसको चोयाको झोलुङ्गो अथवा काठको  लाथ्राहरू काटी झोलुङ्गो बनाएर रूखको हाँगामा झुण्डाएर राखिन्छ । ( लेखक आफै प्रत्यक्षदर्शी तथा कार्यमा सहभागी )

मगर समुदायमा मृत शरीरलाई अन्य जातलाई छुन दिदैनन् तर अहिले यस्तो कट्टरता हट्दै गएको छ । मानिसको मृत्यु भएपछि पहाडी भागतिर डाडाँमा बसेर एकोहोरो रान्ही है (आउनु है ) भनेर बोलाइन्छ ।

मलामी जम्मा भएपछि अरूको जस्तै घारमा बाँधेर छोराहरू वा दाजुभाइले लासलाई उठाएर लगिन्छ । लाशको अगाडि एउटा मान्छे सेतो कपडाको तुन बाँधेको लठ्ठी र अम्खोरा झुण्डाएर मरेको मान्छे ल्याएको छ भन्दै हल्ला गरेर  हिड्छ , त्यस कार्यलाई लाम ह्वास्च वा बाटो देखाउने भनिन्छ ।

मृत्यू संस्कार जति दिनमा गरे पनि अन्तिम दिनको कर्मकार्य सकिए पछि चेलीहरूले आफ्नो घरबाट ल्याएको कुखुराको मासु दाजुभाइहरूलाई जुठो लगाई दिन्छ । यो पनि मगर जातिमा रहेको एउटा विशेषता हो ।

यसरी मृत्यु संस्कार सकिएपछि हिन्दु परम्परा मान्ने मगरहरूले पैतालिसे, वार्षिकी राख्दछन् ।  कतिपयले वार्षिक श्राद्ध गर्दछन् भने कतिपयले माघे सङ्क्रातिको दिन मात्रै सम्झिने गरेको पाइन्छ ।

जे भएपनि मगर जातिका समुदायले आफ्नो रीतिरिवाज संस्कृतिलाई जोगाउने प्रयत्न गरिरहेका छन्, चाहे त्यो विवाह संस्कार होस् या मृत्यु संस्कार । तर नयाँ ठाउँ र रीतिरिवाज एवम् आफ्नो समुदायका सदस्यको जनसंख्या कम भएको स्थानमा अन्य समुदायसँग सहकार्य गर्नु पर्ने एकातिर बाध्यता छ । अर्कोतिर आधुनिक शिक्षा दीक्षाले युवा पुस्ताले आफ्नो संस्कार र भाषा विर्सदै गैरहेको अवस्था छ ।

आफ्नो जातीय संस्कार एवम् भाषालाई संरक्षण र विस्तार गर्न मगर समुदायको उपस्थिति रहेको स्थानमा मगर संघ खोलेर संगठनमार्फत आफ्नो चाड, पर्व, संस्कारको विस्तार एवम् निरन्तरता दिने काम भैरहेका छ ।


       

मगर जातिका चाडपर्वहरू  

मगर जाति र चाडपर्व  एकअर्काको परिपुरकको रूपमा लिन सकिन्छ । किनकी मगर जातिले नमनाउने नेपालको राष्ट्रिय, क्षेत्रीय, जातीय, स्थानीय चाडपर्वहरू सायद कमै होला । हरेक  चाडपर्वलाई यस जातिले मनाउने गरेको पाइन्छ । वर्षभरीमा आउने पर्वहरू जस्तै : बडादशै, तिहार, छठ, मंसिरे पूर्णिमा, माघे सङ्क्राति, होली (फागू पूर्णिमा), चैते दशैं , चण्डी पूर्णिमा, साउने सङ्क्रान्ति, तीज आदि । मानव समुदायमा चाडपर्वहरू स्थानीय प्राकृतिक वातावरण र धार्मिक संस्कारसँग अन्तर सम्वन्धित भएर आएका हुन्छन् ।

ऋतु एवं मौसमको परिवर्तनले गर्मी, वर्षात र खडेरीका कारणले रोगव्याधी तथा दैवी प्रकोप आदिबाट आफू सुरक्षित हुन मानव समाजमा विभिन्न संस्कार र चाडहरूको विकाश भएको मानिन्छ ।

प्राकृतिक र सामाजिक बन्धन वलियो बनाउने चाडहरूमा मगर जाति अग्रपङ्तीमै रहेको मान्न सकिन्छ । मगर जातिले केही चाडहरूलाई आफ्नै विशेष चाडको रूपमा मनाउँदछन् ।

  माघे सक्राटी :  माघे सङ्क्रान्ति पर्वलाई मगर जातिले आफ्नै मौलिक चाडको रूपमा  माघे सक्राटी  भनेर मनाउने गरेको पाइन्छ । पूर्वी नेपालमा एक दिन र पश्चिम नेपालमा दुई दिन मनाउने गरेको पाइन्छ । पहिलो एक गतेलाई जेठी सक्राटी र दोस्रो दिनलाई कान्छी सक्राटीको रूपमा मनाउँदछन् ।  कतै पितृ चाडको रूपमा पनि मनाउने चलन छ ।

नेपाल मगर संघले नयाँ वर्षको रूपमा माघे सक्राटी पर्वलाई विभिन्न कार्यक्रमसहित मनाउने गरेको पाइन्छ ।

यसदिन खिचडी, तरूल, पिडालुुको परिकार, सेलरोटी, बटुक  रोटी, मासु, रक्सी आदि परिकार खाने गर्दछन् । साथै खानअघि पातमा सुकुटी, ध्यूमा फुराएको चामल पोका पारेर पितृको नामामा छानामा घुसार्ने चलन रहेको छ ।

जेठी र कान्छी दुवै सक्राटीमा पश्चिमका मगरहरूले चेलीबेटी बोलाएर खुवाउने चलन छ । चेलीले पनि कोसेलीमा तरूल, रोटी, रक्सी बोकेर आउने चलन रहेको छ । यदी चेलीहरू आउन नभ्याएमा घरमै भएपनि पठाई दिइन्छ । साथै केही मगरहरूले विहानै नदी किनारमा गएर पिण्ड दिने गर्दछन् । यस कार्यमा पँधेरामा १ मुठी चामल, मासको दाल, अदुवा, पितृको नाममा चढाउँदछन् । यसलाई मुठी दिने भनिन्छ, तर श्राद्ध गर्ने मगरहरूले यो गर्दैनन् ।

  त्यस्तै मगर संघले संस्थागतरूपमा नयाँ वर्षको रूपमा मनाउँदछन् । किनकि प्राचीन तथा मध्येकालमा धेरै ठाउँमा मगर राज्यहरू रहेको बेला यही दिन वर्षभरीको राज्यको हरहिसाव सार्वजनिक गर्नुका साथै आउने वर्षको लागि पनि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरेकोले नयाँ वर्षको रूपमा  मनाउने गरेको देखिन्छ । यसरी मगर जातिले मनाउने यो विशेष चाडको रूपमा लिइन्छ ।

तिहार :  तिहार नेपालको राष्ट्रिय चाड भएपनि मगर जातिले आफ्नो जातिसँग सम्वन्ध रहेको मानि विशेष रूपमा मनाउने गरिन्छ । तर पश्चिम नेपालका केही क्षेत्रमा सामान्य रूपले मनाउने गरेको पाइन्छ । किनकी  बाग्लुङ् जिल्लाको  गल्कोट क्षेत्रमा ( कार्तिक २६ से चाड ) मनाउने गरेको हुँदा तिहारलाई त्यति भव्यताका साथ मनाउने गरेको पाइदैन ।

तर अन्य क्षेत्रमा चाहिं तीन दिनसम्म भव्यताका साथ मनाउने गरिन्छ । तिहार पर्वको वारेमा मगर जनसमुदायमा रहेको जनश्रुती अनुसार प्राचीनकालमा पश्चिम नेपालको बल्ढेङ्गढीमा शासन बलिहाङ् नामका मगर राजाले यो चाडको प्रचलन चलाएको भन्ने जनविश्वास रहेको छ  ।  जुनवेला बलिहाङ्को शासन थियो, उनी प्रजाप्रिय हुनुको साथै भूत, भविश्य देख्ने ज्ञानी राजा पनि थिए । एक दिन आफ्नै भविश्य  देखे र आफू चाडै मृत्यु हुने भएकोले सवै प्रजाहरूमा यो समाचार प्रचार गरियो । साथै प्रजाहरूले पनि राजालाई नै मृत्यूको मुखबाट जोगिने उपायको वारेमा सोधी सोही अनुसार यमराजको प्रार्थना गरी राजालाई मृत्यु हुनबाट जोगाए । राजाले पनि आफूप्रति प्रजाको भक्ति र माया रहेको देखेर त्यही खुसियालीमा तीन दिनसम्म हरेक वर्ष खुसियाली मनाउन छुट्टी साथै आदेश  दिए । त्यही समयदेखि हरेक कात्तिक महिनामा तिहार पर्वको रूपमा मनाउन थालिएको  जनश्रुति पाइन्छ । यसरी बलिहाङ् राजाले प्रचलनमा ल्याएको मानिन्छ ।

मगरहरूले गाईतिहारदेखि भैलो खेल्छन् र गोरू तिहारदेखि देउसी रे खेल्छन् , भाइटीकाको दिन तिहारको औपचारिक समापन भए पनि मगरहरूले केही–केही ठाउँमा एकादशीसम्म पनि देउसी खेल्ने गरेको पाइन्छ । पूर्वी नेपालको मगर गाउँहरूमा देउसी भैलीको साथमा मारूनी नाच र हुर्रा नाच घरघरमा गएर नाच्ने र गाउँने गरिन्छ ।

पूर्वी नेपालको धनकुटा मुढेवासबाट सुरू भएको हुर्रा नाच अहिले सवै पूर्वको जिल्ला तथा गाउँहरूमा विकास भैसकेको पाइन्छ ।  तिहारमा गाइने भैली र देउसीको पनि अलग अर्थ रहको छ, पहिले भैलो नभै फाइलो भनिन्थ्यो, फाइलोको अर्थ हामीले सहयोग गर्‍यौ , देउसीको अर्थ पुरेत र रे  को अर्थ राजा , अत : पुरेत राजालाई सहयोग गर्‍यौ भन्ने हुन्छ ।  फाइलो शव्द अपभ्रंश भएर भैलो भएको मानिन्छ । यसरी मगर जातिले यस पर्वलाई आफ्नो चाड मानी धुमधामको साथ मनाउने गरेको पाइन्छ ।

चैते दशैं : चैते दशैं नेपालभरिका मगर समुदायले मनाउने अर्को ठूलो चाड हो । यस चाडलाई ठाउँ अनुसार कम बेसी मात्रामा आफ्नै तरिकाले मनाएको पाइन्छ । पूर्वी नेपालमा भन्दा पश्चिम  नेपालका मगरहरूले यस चाडलाई खेतीपातीसँग सम्वन्धित चाडको रूपमा मनाउने गरेको पाइन्छ । कुनै–कुनै ठाउँहरूमा भेजा उठाएर कोटहरूमा पूजा गरिन्छ । वलिदिएको वस्तुलाई बनाएर घरधुरीको हिसावमा बराबरी भाग लगाएर बाँडिन्छ । चैते दशैंको पूजालाई कोट पूजा , मौला पूजा पनि भनिन्छ ।

यस चाडमा पनि विवाह भैसेका चेलीहरूलाई बोलाएर खुवाउने चलन रहेको छ । पूर्वी नेपालको मगर गाउँहरूमा चैते दर्शैको अन्य विधिहरू नगरे पनि दशैंको अष्टमीको दिन चाहिं गाउँघरहरूमा सामूहिक रूपमा कुनै घरको सुङ्गुर काटी आ–आफ्नो घरमा लगेर खाने परम्परा रहेका पाइन्छ ।

चण्डी पूर्णिमा : यो चाड मगर जातिको संस्कृति झल्काउने महत्वपूर्ण चाड हो । वैसाख महिनामा पर्ने चण्डी पूर्णिमा मा वौद्धमार्गीहरूले वुद्ध जयन्ती मनाँउदछन् । अन्य मगरहरूले चण्डी देवीको पूजा गर्दछन् । केही मगरहरूले आफ्नो कुलको पनि पूजा गर्ने  गरिन्छ । चण्डी पूर्णिमालाई चण्डीभेजा, न्याय पाउने चाडको रूपमा पनि मनाउँदछन् ।

चण्डी पूजागर्न आवश्यक राँगा, कुखुरा, सुङ्गुर, जाँड, रक्सी आदि सवै  सामग्री जुटाउन सामूहिक सहयोग रकम उठाएर सामान किन्ने र पूजा गरेपछि समान रूपमा घर धुरी अनुसार प्रसाद वितरण गरिन्छ ।

पश्चिम नेपालमा घाटु , कौह्रा, झाम्रे  र पूर्वि नेपालमा सोरठी र हुर्रा नाच नाचेर चण्डी पूर्णिमा चाड मनाउने गरिन्छ ।

साउने, राँके  सक्राटी : मगर जातिले मनाउने अर्को वर्षे चाड साउने वा राँके सक्राटी हो । यस चाडलाई ठाउँ अनुसार सामान्य र विषेश रूपमा मनाउने गरेको पाइन्छ । पश्चिम नेपालमा सक्राटीको दिन विहानै भलायो, कुश ढोका माथि सिउरिने गरिन्छ । गाउँघरमा सङ्ुगुर काटेर खाने गरिन्छ ,  साँझमा चारै कुनामा अगुल्ठो फालिन्छ । जस्लाई लुतो फाल्ने भनिन्छ । रोल्पा जिल्लातिर यस दिनलाई साउनी पनि भन्ने गरिन्छ ।

बडा दशैं : बडादशैं मगर जातिले मनाउने अर्को महत्वपूर्ण चाड हो । मगर समुदायमा मगर जातिको आन्तरिक भिन्नताले दशैं मनाईमा पनि केहि भिन्नता रहेको पाइन्छ  । पश्चिमेली मगरहरूले अन्य चाडको तुलनामा कम महत्व दिएको पाइन्छ । तापनि स्थानीय प्रकृतिका देवी, मौला पूजाको रूपमा सामूहिक राँगाको बली दिनुको साथै बली दिएको राँगाको रगत आ–आफ्नो घरमा लगी हात–हतियार र कृषि औजारहरूमा सेउलाले रगत छर्केर लगाउने गरिन्छ  ।

साथै मौला थानमा भेला भएर नाँचगान पनि गरिन्छ  । पूर्वी नेपालका मगरहरूले चाहिं बडादशैलाई ठूलो चाड सम्झी मनाउने गरेको पाइन्छ । बडा दशैंको षष्ठीको दिन केही थरी मगरहरूले आफ्नो कुलपितृहरूलाई कुखुरा  बली चढाएर विभिन्न परिकार बनाएर चढाउने गर्दछन् भने केही थरी मगरहरूले आफ्नो कुलपूजा साथै देवी दुर्गा भवानीको लागि बोका पूजागर्ने गरेको पाइन्छ ।  त्यस्तै केही थरी मगरहरूले चाहिँ सुङ्गुर नै मार (बली) दिने पनि गर्दंछन् । मारवली दिने मगरहरू केहीले अष्ठमीको दिन र  केही थरी मगरहरूले नवमीको दिन बोकाको मारबली दिएको पाइन्छ ।

यसरी फरक आउनुमा दुर्गा भवानी मान्नेहरूले नवमीको दिन र दुर्गाभवानी नमान्ने मगरहरूले अष्टमीको दिन मारवली दिने देखिन्छ । साथै पहिले तालुकदारी समयमा दशैको कोसेली समयमा पुर्‍याउन नसकेको हुनाले अष्टमीको दिन नै मारवली चढाउन बाध्य पारिएको कथा पुलामी राना मगरहरूमा रहेको पाइन्छ ।(कुल पुजारी रणबहादुर राना मगर चौदण्डी —८ उदयपुरसँग गरिएको कुराकानीबाट साभार ) ।

मारबली दिने मगरहरूले अघिल्लो दिनदेखि नै उपवास बसी राति १२ बजे कटेपछि कुलको लालि भेटीभाले चढाउने र विहान सवेरै बोका वा सुङ्गुर मार हान्ने गरिन्छ । यसरी उपवास वस्ने कुलपुजारी कम्तिमा ३२ घण्टा पानीबाहेक निराहार वस्ने गरिन्छ । (लेखक स्वयं नै कुलपुजारी रहेको, साथै छिमेकका मगरहरूको कुलपूजाको प्रत्यक्षदर्शी रहेको । )

कुलपूजामा मार नहान्ने मगरहरूले नवमीको दिन भीमसेन पूजा (कुखुराको भालेको बली दिएर ) मान्ने गरेको पाइन्छ । मगरहरू मध्ये अधिकांशले अष्टमीकै दिन बडादशैंको सुङ्गुर काटेर मनाउने गर्दछन् । शहरी क्षेत्रमा भन्दा पहाडी गाउँ क्षेत्रमा प्रत्येक घर–घरमा सुङ्गुर काट्ने गरेको पाइन्छ ।  

बडादशैंको दशमीको दिन घरको जेठो सदस्यबाट घटस्थापनाको दिन राखेको जमरा र सेतो टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन  छ । घरको टीका ग्रहण गरेपछि मात्र आफ्नो माइती मावली जाने गर्दछन् । माइती तथा मावली जाँदा कोसेलीको रूपमा सुङ्गुरको फिला अथवा कुखुरा भाले, रक्सी लाने गरिन्छ । कोसेलीलाई मगरहरूले शिसार भन्दछन् । दशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन रहेको छ भने पश्चिमी मगर समुदायमा एक दिन मात्र लाउने गरिन्छ ।

दशैंचाडलाई कतिपय अवस्थामा हिन्दुहरूको महानचाड भन्ने गरेको पाइएता पनि यो चाड समग्र नेपालीहरूको चाडको रूपमा स्थापित भएको पाइन्छ । अझ मगर जातिले सवैभन्दा ठूलो चाडको रूपमा मनाउने गरेको पाइन्छ । मगर जातिले बडा देवताको पूजा गर्ने भएकोले दशैंलाई पनि बडा (ठूलो) उपाधि दिएर मान्ने गरेको हुन सक्दछ ।  अहिले पछिल्लो समयमा बडादशैं मनाउन केही कमी आएको देखिन्छ । किनकी मगर जातिको साझा संस्था नेपाल मगर संघले दशैं र रातो टीका मगर जातिको होईन भन्ने अभियाननै चलाएको हुँदा केही कमी आएको जस्तो देखिएता पनि रातो रङको सट्टा दही अक्षताको मात्र टीका प्रयोग गरी दशैं मनाउने गरेको पाइन्छ ।

   

मौलिक संस्कार संस्कृतिमा धनी जाति

नेपालको जनसंख्याको हिसावमा तेस्रो स्थानमा रहेको मगर जाति मंगोल प्रजातिको एक शाखा रहेको मानिन्छ । धेरै मगर जाति सम्वन्धी अध्ययन गर्ने विद्वानहरू मध्ये धेरैले मगर जातिको उद्गमस्थल नेपाल बाहिरै रहेको उल्लेख गरिएको हुुुँदा तथ्यात्मक प्रमाणहरू प्राप्त नभएसम्म मगर जाति अन्यत्र स्थानबाट बसाई सर्दै आएको मान्नु पर्ने देखिन्छ ।

मगर शव्दको उत्पती वारेमा पनि धेरैले कथा, श्रुतीहरू उल्लेख गरेर मगर शव्दलाई प्रमाणित गर्ने प्रयास गरेको भएपनि मगर शब्दको मूल अक्षरहरू, महाराजिक, महरा,महर, मगरा, मंगोल, मंगल, मङ्गर  वा मगध, मगप्पा आदिबाट अपभं्रश भएर मगर शव्दको उत्पती भएको मान्नु पर्दछ, किनकी शव्दहरू कठीनबाट सरलीकृत हुँदै आउने हुँदा मगर शव्द पनि त्यसरी नै हुनसक्दछ । मगर समुदाय जातिगत रूपमा सानोठूलो भन्ने फरक नभएपनि विभिन्न कारणबाट मगर जातिभित्र भिन्नता रहेको देखिन्छ ।

मगर जातिभित्र जन्मदेखि मृत्यूसम्म गरिने संस्कारहरूमा धार्मिक रूपमा हिन्दू, वौद्ध, वोन हुँदै हाल आएर इसाई धर्मको पाटोबाट सम्पन्न गर्ने गरेको पाइए पनि मगराँती मौलिक परम्पराहरू पनि केही अंशमा मिसिएको पाइन्छ ।

त्यस्तै चाडपर्वहरूमा पनि कुल देउधर्म अनुसार सम्पन्न गर्नुको साथै बाह्य जातीय र धार्मिक प्रभावहरू पनि परेको देखिन्छ । मगर जातिलाई बली पूजकको रूपमा मान्नु पर्ने  देखिन्छ । किनकी हरेक प्रकारको शुभ कार्यहरूमा बली दिनु पर्ने र साथै आफ्नो माइतीहरूलाई शीर उठाउनु पर्ने विधि पनि मगर जातिको संस्कृतिमा जीवित रहेको पाइन्छ । त्यस्तै हरेक शुभ कार्यहरूमा निम्तालुलाई साञ्चेप खुवाउनु  पर्ने र सघाउनी दिनु पर्ने  परम्परा अन्य जातिहरूमा भन्दा पृथक रहेको देखिन्छ ।

मगर समुदायभित्र गरिने हरेक कर्म संस्कारहरू वर्तमान अवस्थामा दुई धारबाट सम्पन्न हुने गरेको देखिन्छ । एकातर्फ ब्राह्मणमा पुरेतबाट र अर्कोतर्फ मगर वापा, मापा तथा भुषालबाट ।

अधिकांंश मगर समुदाय हिन्दु वैदिक परम्पराप्रति आस्था रहँदारहँदै पनि वर्तमान समयमा मुख्य ३ वटा कारणहरूले मगर समुदायमा आफ्नै पुरेतको विकास भएको देखिन्छ ।  

१, आर्थिक कारण : हिन्दु बैदिक परम्परावाट संस्कार गर्दागर्दै पनि कतिपय ठाउँहरूमा पुरेतले भने अनुसारको दक्षिणा र अन्य सामग्रीहरू साथै मृत्यु संकारमा गाई दान, लत्ताकपडा, भाँडाकुँडा, खाट लगायतका सामग्री अनिवार्य रूपमा दिनुपर्ने हुन्छ । यसरी दिनुपर्ने भएकोले आर्थिक अवस्था कमजोर भएका मगरहरू ब्राह्मण पुरेतबाट भन्दा मगर वापा, मापा तथा भुषालबाट संस्कार गर्दा कम आर्थिक भार पर्ने भएकोले मगरांती परम्परा अनुसारको संस्कारतर्फ ध्यान गएको देखिन्छ ।

२, ब्राह्मण पुरेतको अभाव तथा पुरेतहरूले खुल्लापन अवलम्वन गर्नु : वर्तमान समयमा गाउँबस्तीबाट वसाई सराईले मगर समुदाय भन्दा खसआर्य समुदायको बसाई सराईमा तिव्रता आएको हुनाले गाउँघरमा पुरेतको अभाव सिर्जना भएको देखिन्छ । साथै पुरेतहरू पनि सोझा मगरहरूले सोचे र देखे जस्तो भन्दा  खानपानमा तथा घरायसी कार्यहरूमा खुल्लापन अवलम्वन गर्न थालेको हुँदा  पुरेतप्रतिको विश्वासमा कमी आउनु पनि मगरहरू आफ्नै मगर पुरेतप्रति आकर्षित हुँदै गएको  देखिन्छ ।

३, नेपाल मगर संघको भूमिका : मगर जातिको साझा संस्था नेपाल मगर संघले मगर जातिको धर्म बौद्ध हो भनि वौद्ध परम्पराको मगराँती संस्कार विधिलाई मान्यता दिई लागू गराउन लागेको छ ।  साथै मगर जातिको हरेक  कर्म संस्कार मगर वापा, मापा, भूसालले पनि सम्पन्न गर्नु आदि ।

अन्त्यमा : मगर जाति नेपालको आदिम जाति, सामाजिक सहिष्णुताको विशेषतायुक्त मौलिक संस्कार संस्कृतिले धनी जाति  हो । यसैले  मगर जातिलाई  विश्वासमा साथ लिएर अघि बढ्न सकेमा नेपालको प्रगति र विकाश साथै धार्मिक, सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न  सकिन्छ । यसैले मगर जातिलाई सदैव अग्र स्थानमा रहन सक्ने गुण भएको जातिको रूपमा लिन सकिन्छ ।

समाप्त

साभारः उदघाेष दैनिक , विराटनगर ( २०७६ असार ), लेखकः उपप्राध्यापक ढकबहादुर मगर

उपश्रेणीहरू

यो श्रेणीका जम्मा ३७ श्रेणीहरू मध्ये निम्न ३७ उपश्रेणीहरू छन्।

  • जाति(१ C (श्रे), ३४ P (पृ))

  • धर्म(१६ C (श्रे), ४०० P (पृ))

  • भाषा(१३ C (श्रे), १४३ P (पृ))

"संस्कृति" श्रेणीमा भएका लेखहरू

कुल ७९२ मध्ये यो श्रेणीमा २०० पृष्ठहरू रहेका छन्।

(अघिल्लो पृष्ठ) (अर्को पृष्ठ)

(अघिल्लो पृष्ठ) (अर्को पृष्ठ)