ऋषिपञ्चमी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ऋषिपञ्चमी
ऋषिपञ्चमी
पाशुपत क्षेत्रमा नाचगान गर्दै महिलाहरू
यो पनि भनिन्छ तीज
समुदाय हिन्दु महिला
Liturgical Color रातो
महत्व वर्षभरिको पापबाट मुक्ति
पर्वहरू सप्तऋषिको पूजा, स्नान, नाचगान, व्रत

ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ ।

पौराणिक कथन[सम्पादन गर्ने]

श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। यसै रजस्वलाबाट नै नारीहरूमा सन्तानोत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ। सम्पूर्ण मानवीय चक्रको सुरूआत नै नारीको मासिक रजस्वलाबाट सुरू हुन्छ।

पश्चात्कालीन प्रबन्ध ग्रन्थ व्रतार्क, व्रतराज[१] आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विविध विषयवस्तु प्रस्तुत गरेका छन्, यी पुस्तकमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई सुनाउनु भएको एउटा कथा पनि प्रस्तुत गरिएको छ।

पौराणिक प्रसङ्गअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्‍यो। त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो:- (१) अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), (२) नदी (वर्षाकालको गाँज र मैलोयुक्त पानी), (३) पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र (४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)। अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ।

व्रतकथा[सम्पादन गर्ने]

एकपटक विदर्भ देशमा उत्तङ्क नामका ब्राह्मण आफ्नी पतिव्रता पत्नीका साथमा निवास गर्दथे। उनको परिवारमा एउटा पुत्र र एउटी पुत्री थिए। पुत्रको नाम सुविभूषण थियो, नामजस्तै ऊ बुद्धिद्वारा विभूषित थियो। ब्राह्मणले आफ्नी छोरीको विवाह एकजना असल ब्राह्मणसँग गरिदिएका थिए तर भाग्यवश उनकी पुत्री विधवा हुन पुगेकी थिइन्। उनी आफ्नो वैधव्य माइतमैं बसेर गुजार्दै थिइन्। उत्तङ्क ब्राह्मण आफ्नो आउँदो वृद्धावस्था र दुःखी कन्यालाईसमेत लक्षित गरी पुत्रलाई घरव्यवहार जिम्मा लगाएर आफ्नी स्त्री र पुत्रीका साथमा गङ्गाका तटमा आश्रम बनाएर बस्न थाले। कन्याले पनि आफ्ना वृद्ध मातापिताको सेवाका साथै आफूलाई ईश्वर आराधनामा लगाउन थालिन्। एक दिन दिनभरि काम गरेर थाकेकी ती ब्राह्मणपुत्री आश्रम नजीकै एउटा ढुङ्गोमा अडेस लागेर आराम गर्ने उद्देश्यले पल्टिइन्। आधा रातमा ती कन्या निदाएकै बेला उसको शरीरमा किरा उत्पन्न भए। बिहान बिउझँदा आफ्नी छोरीको शरीरमा किरा परेको देखेर ब्राह्मणी असाध्यै विलाप गरी रुन थालिन् र रूँदारुँदै बेहोस भइन्। होश फर्किएपछि कन्यालाई बोकेर आफ्ना पति ब्राह्मण उत्तङ्क ॠषि भए ठाउँमा लिएर गइन् अनि पुत्रीको अवस्था किन त्यस्तो हुन गयो भनी अनुरोध गरिन्। ब्राह्मणीका कुरा सुनेर उत्तङ्कले आफ्ना आँखा थुनी ध्यानदृष्टिले विचार गरी भने- हाम्री छोरी पूर्वजन्ममा कुनै एउटी ब्राह्मणी थिइन्। यिनले एक पटक रजस्वला हुँदा घरका समस्त भाँडाकुँडा चलाउनुका साथै स्पृश्यास्पृश्यको ख्यालै राखिनन्। यत्ति दोषका कारण यस जन्ममा यिनको शरीरमा किरा परेका हुन्। शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनीसमान हुने गर्दछन् र चौथो दिन स्नानपश्चात् शुद्ध हुने गर्दछन्। घरव्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौ दिनमा पितृकार्यका निमित्त योग्य हुने गर्दछन्। पछि जब ऋषिपञ्चमीको व्रतको अवसर प्राप्त भयो र आफ्ना सँगीसाथीले व्रत लिन सुझाव दिँदा समेत वास्ता गरिनन्। व्रत र पूजाआजाको दर्शन मात्रले गर्दा यिनले ब्राह्मण कुल प्राप्त गरिन्। तर यिनले व्रत लिन तिरस्कार गरेकी हुनाले यिनको शरीरमा किरा परे। ब्राह्मणीले पतिका कुरा सुनेपछि यस्तो आश्चर्यमय व्रतका बारेमा, जुन लिनासाथ पाप नष्ट हुने गर्दछ, हजुरले कृपा गरी मलाई बताउनुहवस्। त्यसपछि श्री कृष्णले युधिष्ठरलाई सुनाउनुभएको कथा ब्राह्मणले पत्नी र पुत्रीलाई सुनाए।

सत्ययुगमा विदर्भ नगरीमा श्येनजित नामक राजा सुखपूर्वक राज्य गर्दथे। ती ॠषितुल्य थिए। उनको राज्यमा एक जना सुमित्र नामका कृषक थिए। किसानकी पत्नीको नाम जयश्री थियो, उनी अत्यन्त पतिव्रता थिइन्। एकपटक वर्षा ॠतुमा खेतीको काममा व्यस्त रहेका बेला ती रजस्वला भइन्। उनले आफू नछुने भएको त थाहा पाइन् तर त्यसलाई वास्ता नगरी उनी आफ्नो काममा खटी रहिन्, छोइछिटोमा पनि यादै गरिनन्। समय बित्दै गयो। आयु पूर्ण भएपछि ती दुबै मृत्युवरण गर्न पुगे। अर्को जन्ममा रजोवती हुँदा नियम र मान्यतालाई पालना नगरेकाले जयश्रीले कुकुर्नी भएर र परसरेकी स्त्रीको सम्पर्कमा आउनाले सुमित्रले गोरु भएर जन्मनु पर्‍यो। बास्तबमा ॠतुदोषबाहेक ती दुबैले केही अपराध र पापकर्मा गरेकै थिएनन्। उनीहरूलाई पूर्वजन्मका समस्त विवरणको सम्झना थियो। संयोगले ती दुबै कुकुर्नी र गोरुका रूपमा आफ्नै छोरो सुचित्रका घरमा बस्नथाले। उनीहरूको छोरो धर्मात्मा थियो। ऊ शास्त्रीय मर्यादालाई पालना गर्नुका साथै समस्त जीवजन्तुमा समेत दयाभाव राख्दथ्यो। एकपटक आफ्ना पिताको श्राद्धका दिन उसले ब्राह्मणभोजनका लागि ब्राह्मणहरूलाई निमन्त्रणा गरेको थियो र उसकी पत्नी उक्त प्रयोजनका लागि अनेक परिकार तैय्यार गर्न व्यस्त थिई। त्यसै समयमा उसकी स्त्री कुनै काम विशेषले भान्साबाट बाहिरिएकै अवसरमा एउटा सर्पले भान्साघरमा प्रवेश गर्‍यो र पायस पकाएको भाँडोमा विष वमन गरेर अलप भयो। उता कुकुर्नीका रूपमा ढोकामा बसेकी सुचित्रकी आमाले त्यो घटनालाई नियाली रहेकी थिइन्। आफ्ना छोराबुहारीलाई ब्रह्महत्याको पापबाट जोगाउन त्यस कुकुर्नीले बुहारी भान्सामा फिर्ता आएपछि उसले देख्दादेख्दै त्यस खिरको भाँडोमा मुख गाडिदिई। सुचित्रकी पत्नी चन्द्रवतीले कुकुर्नीको त्यो कृत्य देख्न सकिन र उसले चुलोबाट बल्दै गरेको दाउरो झिकेर त्यस कुकुर्नीलाई हिर्काई। कुटाइ र पोलाईबाट तिलमिलाएकी त्यो कुकुर्नी यताउता कराउँदै कुद्न थाली। सम्पूर्ण पक्वान्न फ्यालेर सुचित्रकी पत्नीले पुनः खाद्यसामग्री तयार गरी ब्राह्मणभोजन गराई। ब्राह्मणहरू आशीर्वाद प्रदान गर्दै ती जोइपोइसित विदावारी भैइ आआफ्ना गन्तव्यतर्फ लागे। उता दिनभरि व्यस्तरहँदा र कुकुर्नीको कृत्य सम्झँदै त्यस दिन कुकुर्नीलाई खान पनि दिएनन् भने गोरुलाई पनि घाँस हाल्न बिर्सिए ।राती भोक र प्यासले व्याकुल भई त्यो कुकुर्नी गोरुका रूपमा अहेका आफ्ना पतिसामु गई बिलौना गर्न थाली- हे स्वामी! आज म असाध्यै भोकाएकी छु, हुन त मेरो छोरू सधैं मलाई बोलाएर खानेकुरा दिने गर्थ्यो, तर आज सम्झँदा पनि सम्झिएन। छोराबुहारीलाई ब्रह्महत्याको दोष नलागोस् भनेर मैले विषयुक भोजनमा जुठो हालेकाले वास्तविकता नबुझी बुहारीले पनि बेस्सरी कुटी। पत्नीका कुरा सुनेर त्यस गोरुले भन्यो- हे भद्रे! तेरा पापका कारणले नै म पनि आज यस योनिमा जन्मन पुगें अनि भारी बोक्दाबोक्दा हत्तुहैरान भैसकें। आज त अझ बढी भारी बोक्नु परेकाले मेरो कम्मरै भाँचिएको छ। अझ मैले यस्तो अवस्थामा समेत आज दिनभरि हलो जोत्नु पर्‍यो। कार्यव्यस्तताले हो कि किन हो आज मलाई घाँसपात समेत दिएको छैन। विचरा उसले हामीलाई चिनेको छैन, हाम्रै लागि गरेको आजको श्राद्ध पनि हाम्रो अपकार भएकाले निष्फल हुनेभयो। सुचित्र धर्मात्मा थियो, ऊ पशु बोलीलाई बुझ्दथ्यो। उसले कुकुर्नी र गोरुको संवादलाई प्रष्ट सुन्यो र ती दुई त आफ्ना बाबुआमा भएको थाहा पायो। त्यसपछि सर्वप्रथम उसले दुबैसित क्षमायाचना गर्दै पेटभरि खान दियो। अनि मातापिताको दुःख निवारणको उपाय पत्ता लगाउन ऊ वनतर्फ प्रस्थान गर्‍यो। वनमा गएर ॠषिहरूसँग जिज्ञाशा राख्यो- मेरा मातापिता कुनकुन कर्मका कारणले यस्तो नीच योनिमा प्राप्त भएका हुन् र अब कसरी वहाँहरूले छुटकारा पाउन सक्नुहुनेछ। किसानपुत्र सुचित्रका जिज्ञाशा सुनेपछि ऋषिसमूहमा व्यापक चिन्तनमनन भयो। अन्त्यमा ती मध्ये एकजना सर्वतमा नामक ॠषिले भने- हे भद्र! तिमी आफ्ना मातपिताको मुक्तिका निमित्त पत्नीसहित भई ॠषिपञ्चमीको व्रत लेऊ र त्यसको फल आफ्ना माता-पितालाई अर्पण गरिदेऊ। भाद्र महिनाको शुक्लपक्षको पञ्चमीका दिन शुद्धाचरण गरी मध्यान्हकालमा नदीको पवित्र जलमा स्नान गर्नु र नयाँ रेसमी लुगा लगाएर अरूधन्तीसहित सप्तॠषिहरूको पूजा गर्नु। ऋषिका यस्ता आज्ञा प्राप्त गरेपछि सुचित्र आफ्नो घर फर्कियो र आफ्नी पत्नीसहित विधिविधानपूर्वक पूजा र व्रत गर्‍यो। यसको पुण्य मातापितालाई समर्पण गरेपछि ती दुबै पशुयोनिबाट मुक्त भए।

त्यसैले जुन स्त्रीले श्रद्धापूर्वक ॠषिपञ्चमीको व्रत लिने गर्दछिन्, ती समस्त सांसारिक सुखलाई भोग गरी अन्त्यकालमा वैकुण्ठ पुग्दछिन्। जुन स्त्रीले रजस्वला हुँदा घर नित्यकर्ममा संलग्न हुने गर्दछिन् तिनले नरक जानुपर्दछ किनकि पूर्वजन्ममा वृत्रासुरको बधको परिणामले इन्द्रलाई ब्रह्महत्याको महान् पाप लागेको थियो। त्यस समय ब्रह्माजीले इन्द्रमाथि कृपा गर्दै त्यस पापलाई चार स्थानमा बाँडे। पहिलो अग्निमा (धुँवामिश्रित प्रथम ज्वालामा), दोस्रो नदीमा(वर्षाकालको गाँज र मैलोयुक्त पानी), तेस्रो पर्वतमा(जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र चौथो स्त्रीमा (रजस्वला अर्थात् मासिक धर्ममा)। स्त्रीमा रहेको यही ब्रह्महत्याको दोष निवारण गर्न प्रत्येक स्त्रीले ॠषिपञ्चमीको व्रत गर्नु अनिवार्य छ। पतिदेवका मुखारविन्दबाट ऋषिपञ्चमीको महात्म्य सुनेर ती ब्राह्मणी र उनकी छोरी दुबैजनाले विधिविधानपूर्वक ऋषिपञ्चमीको व्रत लिए र उक्त व्रतको प्रभावले कन्याको शरीर स्वस्थ भयो। तिनीहरूले जीवनभरी सुखसम्मृद्धि पाउनुका साथै मरणोपरान्त उत्तमलोक प्राप्त गरे।

पर्व[सम्पादन गर्ने]

यस पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर, चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन्। ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन। सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ। ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ।

यस उपलक्ष्यमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिर क्षेत्रमा विशेष मेला लाग्छ। मन्दिरमा पूजा-आराधनाका लागि लामो लाईन बस्नुपर्ने हुनाले कतिपय महिला घरैमा ब्राह्मण बोलाई पूजा थन्क्याउने गर्छन। पञ्चमीको पूजा थन्क्याएपछि तीजको सम्पूर्ण व्रत सकिन्छ।[२]

व्रतविधि[सम्पादन गर्ने]

भाद्रपद महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत सम्पादन गरिन्छ। प्रथमत: सबै वर्ण र व्यक्तिका निमित्त यो व्रत प्रतिपादित थियो, तर हिजोआज अधिकांश नारीहरूले मात्र यस व्रतलाई लिने प्रचलन छ। यस व्रतको प्रसङ्गलाई हेमाद्रि[३] ले ब्रह्माण्ड पुराणलाई उद्धृत गर्दै विशद विवरण उपस्थापन गरेको छ। व्यक्तिले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातैजना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपूर आदि लगाउनु पर्छ, पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा पूजा गर्नुपर्दछ र मन्त्रसहित अर्घ्य दिनुपर्दछ।

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम:। जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:। गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥

— हेमाद्रि (व्रत, भाग १, पृ0 ५७१); स्मृतिकौस्तुभ (पृ0 २१७); व्रतराज (पृ0 २००)

अर्थ: प्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै - मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजीकै स्थापना गरिएको पाइन्छ।[४]

यस व्रतमा केवल शाकादि(सागपात)को प्रयोग गर्ने विधान छ र ब्रह्मचर्यको पालन गर्न अनिवार्य मानिएको छ। यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दु:खबाट मुक्ति हुन्छ, तीन किसिमका दु:ख यी हुन्- आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक।

आध्यात्मिकादि मैत्रेय ज्ञात्वा तापत्रयं बुध:। उत्पन्नज्ञानवैराग्य: प्राप्नोत्यात्यन्तिकं लयम्॥

— विष्णुपुराण ६/५/१

अर्थ: आध्यात्मिक दु:ख भनेका शारीरिक (रोगादि) एवं मानसिक (चिन्ता, ईर्ष्यादि)हुन्, आधिभौतिक दु:ख भन्नाले पशु, मनुष्य, पिशाचादिद्वारा उत्पन्न हुने दुःखलाई मानिन्छ, आधिदैविक दु:खको उत्पत्ति तुषारापात, हावाबतास, वर्षादिबाट उत्पन्न हुन्छ तथा सौभाग्यको अभिवृद्धि हुन्छ। अझ नारीले यस व्रतलाई सम्पादन गर्दा उसले आनन्द, शारीरिक-सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता-प्राप्ति हुन्छ।

यस व्रतलाई विधिविधान पूर्वक लिन चाहने रजोवती भइ सकेका स्त्रीहरूले गर्ने संकल्प यस्तो छ-

अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।।

मैले जानीनजानी रजस्वला भएका बेलामा छोइछिटो र सम्पर्कजन्य दोषबाट मुक्त हुन ऋषिपञ्चमीको व्रत गर्दछु)।

यति सङ्कल्प गरेर अरून्धतीका साथै सप्तर्षिहरूको पूजा गर्नुपर्दछ।[५] व्रतराज[६] का मतमा यस व्रतमा केवल सागपात, साँमा (श्यामाक), कन्द-मूल वा फलको सेवन गर्नु आवश्यक मानिन्छ। यस दिन हलोबाट उत्पन्न भएका अन्न खानु हुँदैन। हिजोआज पुरुषले पनि यस व्रतलाई पालना गर्दछन्, पुरूषकै आग्रहमा समेत कतिपय स्त्रीले छुवाछुतमा संलग्न हुनु पर्दछ, त्यसैले पुरूषले समेत व्रत गर्नु सान्दर्भिक मानिन्छ। वैदिक मन्त्रपूर्वक ऋषिहरूको पूजा गरिन्छ।

उक्त पूजनक्रममा कश्यप,[७], अत्रि,[८], भारद्वाज,[९], विश्वामित्र,[१०], गौतम,[११], जमदग्नि,[१२] एवं वसिष्ठ [१३] तथा अरून्धतीको[१४] पूज गरिन्छ। स्त्रीहरूले आफ्नो मासिक धर्मको प्रारम्भ भएको वर्षदेखि मासिक धर्म बन्द नहुञ्जेल यो व्रत लिनु पर्ने उल्लेख छ, यद्यपि व्रत लिन सुरू गरेपछि कम्तीमा सात वर्षसम्म लिनु अनिवार्य छ। सप्तर्षिको पूजाका क्रममा सातवटा कलशमा छ्ट्टाछुट्टै सातजना ऋषिको सुन वा चाँदीको प्रतिमा राखी प्रतिष्ठा गरिन्छ र अरुन्धतीलाई भने वशिष्ठसँगै स्थापना गरिन्छ। सातै जना ब्राह्मणहरूद्वारा कार्य सम्पादन हुन्छ। अन्त्यमा निमन्त्रित ब्राह्मणहरूमध्ये मुख्य आचार्यलाई वशिष्ठ र अरुन्धतीको कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा एवं अन्य ब्राह्मणहरूलाई बाँकी कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा समेत राखी छुट्टाछुट्टै सिधा(सिद्धान्न) प्रदान गर्नुपर्दछ। यदि एउटामात्र कलशको स्थापना गरी सम्पूर्ण ऋषिको प्रतिमा राखिएको छ भने त्यो कलश मुख्य आचार्यलाई र अन्य ब्राह्मणलाई वस्त्रालङ्कार दान गर्नु पर्दछ।

ऋषिपञ्चमी व्रतको निर्णय गर्नुपर्दा भाद्र महिनाको शुक्लपक्षको जुन पञ्चमी तिथि मध्याह्न समयमा हुन्छ, त्यस दिन ऋषिपञ्चमी व्रत हुन्छ, पञ्चमी तिथि टुटेको रहेछ भने चतुर्थीयुक्त पञ्चमीलाई ग्राह्य मानिन्छ। यद्यपि यो निर्णय विवादरहित चाहिँ छैन।[१५] सम्भवत: सृष्टिकालको आरम्भमा ऋषिपञ्चमीको व्रत मानवमात्रबाट हुनसक्ने ब्रह्महत्यादि समस्त पापराशिबाट मुक्तिप्राप्तिका निमित्त गर्ने गरी व्यवस्थित गरिएको थियो, तर पछि यो स्त्रीहरूको मासिक धर्मसँग सम्बद्ध मानिन थाल्यो। यो व्रत भारतको सौराष्ट्र क्षेत्रबाहेक अन्यत्र बसोबास गर्ने समस्त सनातन धर्मावलम्बीहरूले पालना गर्दछन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. भविष्योत्तर, पृष्ठ २००-२०६
  2. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल
  3. ब्रह्माण्डपुराण व्रत, भाग १, पृ0 ५६८-५७२
  4. वराहमिहिर, बृहत्संहिता (१३/५-६)
  5. व्रतार्क
  6. भविष्योत्तर पृष्ठ २०१
  7. ऋग्वेद ९।१४।२
  8. ऋग्वेद ५।७८।४
  9. ऋग्वेद ६।२५।९
  10. ऋग्वेद १०।१६७।४
  11. ऋग्वेद १।७८।१
  12. ऋग्वेद ३।६२।१८
  13. ऋग्वेद ७।३१।११
  14. अत्रेर्यथानसूया स्याद् वसिष्ठस्याप्यरून्धती। कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि॥
  15. काल निर्णय (पृ0 १८६), हेमाद्रि, व्रतमाधव, निर्णयसिन्धु आदि।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]