सोह्र श्राद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पितृ पक्ष (सोह्र श्राद्ध)
अनुयायी हिन्दू
उद्देश्य पितृ उद्धार
आरम्भ प्राचिन कालदेखि
तिथि पूर्णिमादेखि जमरे औंसीसम्म
अनुष्ठान तर्पण, पिण्डदान
समान पर्व -

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ। यी प्रमुख तिथिहरू यस प्रकार छन्-

प्रमुख तिथिहरू

  • आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध - यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन्।
  • आश्वीन कृष्णपक्ष नवमी श्राद्ध - यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्। यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।
  • आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध - यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ।
  • आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध - यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै- दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि।
  • आश्वीन कृष्णपक्ष अमावस्या - कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ।
  • आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा - यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धिको प्राप्ति पनि हुन्छ।

पर्व अर्थात औंसीमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिछ । वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने निति उल्लेख छ। यथार्थमा यहि औंसी तिथिमा गर्नु पर्ने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ। तर समय व्यस्तता र ब्यवहार नमिल्ने हुनाले र विविध कारणले गर्न नसकेका कारण समग्रमा असोज महिनामा प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध नै मानिने शास्त्रमा उल्लेख छ। शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि तिनैको तिथिलाई आधार मानेर प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ। पूणिर्मा तिथिमा गर्नुपर्ने श्राद्ध पनि औंशीमा गर्ने परम्परा छ। औंसीमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथि मानिएकोले यसमा गरिने श्राद्धलाई सोह्र श्राद्ध पनि भनिन्छ।

पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्ने गर्दछन्। यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ। पितृपक्षमा प्रतिपदादेखि औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ। एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको -शास्त्र, अस्त्रद्वारा झुण्डिएर डुबेर आदि ) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ। पार्वण श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

विधि

श्राद्धको लागि पिण्ड तयार पारिंदै

यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो। दुवै पट्टी दुई/दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राहृमण भनिन्छ। अन्य श्राद्धको विधि जस्तै सुरूमा देव-मनुष्य-दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ ( पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो) ब्राहृमण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राहृमणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ।सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन- तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ।

पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। साथै ज्वाइँ, भानिज, नाति नातिना र ब्राहृमण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन्। हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ। यो लोकपरम्परा हो।

श्राद्धमा के गर्ने के नगर्ने

प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।पितृपक्षमा श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ । श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन्:- छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् :- बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ । श्राद्धमा प्रयुक्त पवित्र मन्त्र यी हुन् -[१]

ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।

श्राद्धमा गर्न नहुने काम

पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु । महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषिद्ध छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।[१]

कसले कुन दिन श्राद्ध गर्ने ?

पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई एेच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन । तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।[१]

पितृपक्षमा गर्नै पर्ने र नगर्ने कामहरू 
-:

पितृपक्ष सूर्य दक्षिणायन भएको वेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् । भनिन्छ, त्यसैले पनि पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्तति (छोरा, नाति, पनाति) हरूबाट आफ्नो उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् । तर यसरी श्राद्ध गर्दा केही नियमहरूको पालना गर्नु पर्दछ ।[१]

१ – श्राद्धकाल –

पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्ने गर्नु पर्दछ । तर एकोद्दिष्ट श्राद्ध (मरेको वार्षिक तिथिका दिन गरिने) श्राद्धमा दिनको दोस्रो पहरलाई लिने गरिन्छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिकश्राद्ध प्रातःकालमा गर्ने विधान छ ।[१]

२ – श्राद्ध गर्ने ठाउँ –

प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । त्यस्तै कुनै कामना विशेषले गरिने श्राद्ध तोकिएको ठाउँमा गर्नु पर्दछ । कूर्मपुराणमा पुत्रले पितृमुक्तिको कामनाका साथमा विभिन्न तीर्थस्थलमा गई श्राद्ध गर्नु वाञ्छनीय छ भनी उल्लेख गरेको छ :- गङ्गायामक्षयं श्राद्धं प्रयागेऽमरकण्टके । गायन्ति पितरो गाथां कीर्तयन्ति मनीषिणः ॥एष्टव्या बहवः पुत्राः शीलवन्तो गुणान्विताः । तेषां तु समवेतानां यद्येकोऽपि गायां व्रजेत् ॥गयां प्राप्यानुषङ्गेण यदि श्राद्धं समाचरेत् । तारिताः पितरस्तेन स याति परमां गतिम् ॥वराहपर्वते चैव गङ्गायां वै विशेषतः । वाराणस्यां विशेषेण यत्र देवः स्वयं हरः ॥गङ्गाद्वारे प्रभासे च बिल्वके नीलपर्वते । कुरुक्षेत्रे च कुब्जाम्रे भृगुतुङ्गे महालये ॥केदारे फल्गुतीर्थे च नैमिषारण्य एव च । सरस्वत्यां विशेषेण पुष्करेषु विशेषतः ॥नर्मदायां कुशावर्ते श्रीशैले भद्रकर्णके । वेत्रावत्यां विपाशायां गोदावर्यां विशेषतः ॥एवमादिषु चान्येषु तीर्थेषु पुलिनेषु च । नदीनां चैव तीरेषु तुष्यन्ति पितरः सदा ॥कूर्मपुराण[१]

३ – श्राद्ध गर्नाले पितृदोषको शान्ति

जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ, त्यस्तो कुण्डली भएको व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवङ्गत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ ।[१]

४ – पितृको दिशा दक्षिण

तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो, अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर (अपसव्य भई) दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।[१]

५ – श्राद्धका सात चीज

कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।

६ – श्राद्धका भाँडाकुँडा

श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामर्थ्यअनुसार श्राद्धमा सुन, चाँदी, झर्का (काँसा) वा तामाका पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न सकिन्छ ।[१]

७ – माङ्गलिक कार्य र किनमेल निषेध
 

श्राद्धपक्षका पन्ध्र दिन कुरो छिन्ने, विवाह/व्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ । श्राद्ध पक्षमा दीर्घ उपयोगका लागि धनलगानी गर्नु पनि अशुभ मानिन्छ । जस्तै मोटरवाहन, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । सामान्यतया नयाँ व्यापार, व्यवसाय र उद्योगधन्दा वा कलकारखानाको सुरु पनि यस अवधिमा गर्ने गरिंदैन । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन । तर श्राद्धाधिकार नभएका (पुरूषका लागि बाबुआमा र स्त्रीका लागि सासुससुरा ज्युँदै भएका) व्यक्तिले किनमेल र यात्रा जस्ता विषय बारिरहनु पर्दैन ।[१]

८ – श्राद्धको खानपान र काम

सोह्रश्राद्धमात्र होइन, अन्य एकोद्दिष्टादि सामान्य श्राद्धमा पनि श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिनअगाडिको दिनलाई एकछाकी भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । त्यस्तै हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुबै दिन शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।[१]

९- श्राद्धमा पिण्डदान 

श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने पार्वण श्राद्धमा पिण्डदान गर्न हुँदैन ।[१]

१०- श्राद्धका दिन पितृकर्म प्रमुख
 

पितृश्राद्धका दिन पिण्डदानको कार्य पूर्ण नहुन्जेलसम्म हवनादि कार्य, भिक्षादान, देवपूजा, ब्रह्मचारी, तपस्वी र अभ्यागतहरूको आतिथ्यादि कुनै पनि काम गर्नु हुँदैन । श्राद्धका दिन पितृकर्म नै मुख्य र विशेष काम हो, त्यसैले पहिलो प्राथमिकता पितृकर्मलाई दिनु उपयुक्त हुन्छ, त्यसैले त्यस दिन पिण्डदानअघि अन्य समस्त कर्म प्राथमिकताका क्रममा राख्नु हुँदैन ।[१]

११- श्राद्धमा ककसलाई डाक्ने वा नडाक्ने 
 

यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन ।

१२- श्राद्धमा चढाउने फूलपाती 
 

श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृ्ङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि पुष्पहरू ग्राह्य मानिन्छन् भने केत्तकी, करवीर, वकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन ।[१]

१३- श्राद्धको पितृप्रसाद वितरण 
 

श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ । सोह्र श्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई पालना नगरेमा मृतपितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले वास गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर विधिवत नियम र निष्ठाका साथमा पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ । भनिएको पनि छ :-

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः॥ [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू