श्राद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Pinda.jpg
श्राद्ध
पर्वको_नाम: बार्षिक श्राद्ध
मानिने_क्षेत्रहरु: भारत नेपाल
आरम्भ: प्राचीन समय
अनुयायी: हिन्दू
तिथि: सबै तिथि
पर्वको प्रकार: सामान्य
अनुष्ठान: पिण्डदान तर्पण आदि

श्राद्ध हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई भनिन्छ। कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ। हेमाद्रीको श्राद्धखण्डको भनाईअनुसार ब्राह्मणभोजन, पिण्डदान गराउनु श्राद्ध हो ।[स्रोत नखुलेको]

यस शृङ्खलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शनशास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
श्रीमद्भगवद गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

शाब्दिक अर्थ[सम्पादन गर्ने]

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो- पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ। वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो |

श्रद्धया क्रियते इति श्राद्धः |अतःआफ्ना पुर्खाद्वारा ग्रहण गरिएको वेदशाखा सम्बद्ध गृह्यसूत्र निर्देशित भएर गरिने कार्यलाई नै श्राद्ध भनिएको हो |पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते- पितृकार्य अन्य देवकार्यको तुलनामा अतिश्रद्धापूर्वक गर्नुपर्ने विशेष कर्म भएकोले पनि भौतिक तथा पारलौकिक सफलताका प्राप्तिकालागि पितृहरूको उपासना गर्न वेदादि शास्त्रहरूले निर्देशन दिएका हुन्। यसकारण दुधआदि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नैं श्राद्ध हो। यसैगरी पितृहरूको स्मरण गर्दै पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा आफ्ना घर आएका ब्राह्मणहरूलाई पितृहरूलाई प्यारो लाग्ने वस्तु दान गर्नु वा प्रियभोजन गराउनु पनि श्राद्ध नैं हो। आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेद नै मान्दछन्। ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धर्म सम्प्रदायलाई रोकावट छैन। विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ। श्राद्धको निमित्त पवित्र इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ। पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूका निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दु धर्मले दिएको छ।अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र दिव -स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ।पहिलो पुस्ता पिता-माताव सुस्वरुप,दोस्रोपुस्ता हजुरबुवा-हजुरआमा रूद्रस्स्वरूप,तथा तेस्रोपुस्ता बुढोहजुरबुवा-बुढीहजुरआमा आदित्यस्वरूप भएर श्राद्धकर्म स्विकार गर्दछन् र श्राद्धको फलबाट दिवलोकमा पुगी दीर्घकालसम्म सुख पाउँछन् र आफ्ना सन्ततिहरूलाई इच्छित फल प्रदान गर्दछन् भन्ने कुरा वेदमा प्रष्ट्याइएको छ।

श्राद्धका प्रकार[सम्पादन गर्ने]

शास्त्रमा विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु पर्ने उल्लेख छ। शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध/सोह्र श्राद्ध, आभ्युदयिक श्राद्धतीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन्। एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्धलाई एकोद्दिष्ट भनिन्छ। धेरै पितृको सम्झनामा गरिनेलाई पार्वण वा महालय श्राद्ध भनिन्छ। विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध/वृद्धि श्राद्ध भनिन्छ। यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो। यस बाहेक आफ्नो इच्छा पूरा गर्न गरिनेलाई काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टि श्राद्ध, देशान्तरमा जाँदा सफल हुन घ्यूले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ। जुनसुकै कठिनाई वा आपत-विपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु नहुने कुराको उल्लेख श्रुति-स्मृति-पुराणमा पाइन्छ।मा.वा.शु.य.वेदशाखासँग सम्बद्ध हुने वैदिक सनातन वर्णाश्रमधर्म मान्नेहरू यस शाखाका गृह्यसूत्रानुगामी कात्यायन श्राद्धकल्पसूत्र अनुसार एकोद्दिष्ट, पार्वण, सपिण्डी र आभ्युदयिक नामका श्राद्धहरू गर्दछन् |

एकोद्दिष्ट श्राद्ध[सम्पादन गर्ने]

पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध। यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस विपरित पार्वण श्राद्धमा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीनपुस्तालाई पिण्ड दिइन्छ। विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामा लगायतलाई पिण्ड दिइने गरेको पाइन्छ । पार्वण श्राद्धमा तर्पण प्राप्त गर्ने जति पितृहरू सबैलाई पिण्ड दिने चलन पनि छ ।कात्यायनश्राद्धकल्पसूत्रमा श्राद्धका दिन सँधै गरिने ब्रह्मयज्ञ र तदंग तर्पण गर्न निषेध गरिएको छ| त्यस दिन तर्पण गर्दा त्यो दिनको श्राद्धआशुर हुने र त्यस दिन पितृका नाममा दिएको पानी रगत समान हुने भनी वर्णन गरिएको छ |अतः परम कल्याण चाहनेले सँधै सन्ध्यावन्दना पछि नित्यतर्पण गरोस् |यसो गर्न न सक्नेको शरीरबाट देवता तथा पितृहरूले रगत पिउछन् |त्यसैले वर्षदिनको श्राद्धका दिन छाडी अघि पछि अवश्य तर्पण गर्नु पर्दछ |यस विचारलाई पुष्टि गर्ने निर्णयसिन्धु पृ.३४६मायस्तो वचन छ- पित्रोःक्षयाहेसम्प्राप्तेयःकुर्यान्नित्य तर्पणम्| आसुरं तद्भवेच्छ्राद्धंतत्तोयं रुधिरं भवेत्|| सर्वदा तर्पणं कुर्याद् ब्रह्मयज्ञपुरस्सरम्| क्षयाहे नैवकर्तव्यंलकृतंचेन्निष्फलं भवेत्||

श्राद्धका अङ्ग[सम्पादन गर्ने]

कात्यायनश्राद्धकल्पसूत्रमा श्राद्धको प्रमुख अंगका रुपमा ब्राह्मणपूजन तथा भोजन,पिण्डदान र दक्षिणादान हुन्, तर यति मात्र हुन् भन्ने होइन। अन्य अङ्ग पनि त्यति नै महत्त्वपूर्ण छन्। ब्राह्मणहरूले भोजन गरी रहुन्जेल कर्ताले वा प्रतिनिधि ब्राह्मणले भोजन गर्ने ब्राह्मणको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ। यसो गर्न वा गराउन नसक्नेले आफ्ना गायत्रीमन्त्र जप्ने विधान छ|हिन्दू धर्म संस्कृति समयको दृष्टिले अति प्राचीन, स्वभावको दृष्टिकोणले अति उदार र विस्तारको दृष्टिकोणले अति फैलिएको स्पष्ट छ। यसमा भूखण्डका बहुविधासँग मात्र नभई स्वर्गका देवता, पातालका नागजाति, पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको छ। त्यसैले नित्यब्रह्मयज्ञमा ब्रह्मादि विश्वेदेव,सनकादि दिव्यमनुष्य, कव्वाडनलादिदिव्यपितृगण र आफ्ना दिवंगत पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रह्मस्तम्वपर्यन्त अर्थात् ब्रह्मादेखि किरा पतङ्गसम्मको तृप्तिको कामना गरिएको हुन्छ | कात्यायन त्रिकण्डिकास्नानसूत्रमा स्नान,सन्ध्योपासना र ब्रह्मयज्ञको वर्णन गर्दै ब्रह्मयज्ञ(यथाशक्तिवेदवेदांग पारायण वा त्यसका अभावमा गायत्रीमन्त्रको यथाशक्ति जप)लगत्तै पूर्वोक्त विश्वेदेव, दिव्यमनुष्य,दिव्यपितृ र स्वपितृ हरूलाई नित्यतर्पण गर्नुपर्दछ | अन्यथा अतर्पिताः देहाद्रुधिरं पिवन्ति अर्थात् नित्य तर्पण गर्न न सक्दा देवपितृहरूले शरीरबाट रगत पिउँछन् भनेर तर्पणलाई नित्य कर्मको रूपमा मानिएको छ |श्राद्धका दिन पञ्चमहायज्ञहरू मध्ये मात्र ब्रह्मयज्ञ निषिद्ध मानिएको छ | अतःवेदोक्त नियम मान्नेहरूले श्राद्ध सकिने वित्तिकै पञ्चमहायज्ञमा ब्रह्मयज्ञ छाडी अन्य ४ यज्ञहरू नित्य गर्ने गरेको भए देवयज्ञ भूतयज्ञ पितृयज्ञ र मनुष्ययज्ञ सम्पन्न गरी पितृ प्रसाद ग्रहण गर्न पर्दछ | श्राद्धका दिन बाहेक अन्य दिन नित्य ब्रह्मयज्ञपश्चात् वा यथाशक्ति गायत्रीजप पश्चात् तर्पण गर्नु शास्त्रीय आदेश छ| जस्तै -

आब्रह्मस्तम्बपर्यन्तं देवर्षिपितृमानवाः,
तृप्यन्तु पितरः सर्वे मातृमातामहादयः ।
पितृवंशे मृता ये च मातृवंशे तथैव च,
गुरुश्वशुरबन्धूनां ये चान्ये बान्धवाःमृताः ।
तेतृप्तिमखिलायान्तुयेचास्मत्तायेकाङ्क्षिणः,
येबान्धवाsबान्धवावायेsन्यजन्मनिबान्धवाः
ते सर्वे तृप्तिमायान्तु मद्दत्तेनाम्बुनाखिलाः
देवासुरास्तथा यक्षा नागाः गन्धर्वराक्षसाः ।

पिशाचाःगुह्यकाःसिद्धाःकूष्माण्डास्तरवःखगाः

जलेचराभूमिचरा वाय्वाहारश्चजन्तवः ।
तेतृप्तिमखिलायान्तु मद्दत्तेनाम्बुनाखिलाः|
नरकेषु समस्तेषु यातनासु च ये स्थिताः
तेषामाप्यायनायैतद्दीयते सलिलं मया ।

अतीतकुलकोटीनाम् सप्तद्वीपनिवासिनाम्, आब्रह्मभुवनाँल्लोकानिदमस्तुतिलोदकम्||

यसरी नित्य लामो तर्पणविधि गर्न देश,काल र शारीरिक अवस्थाका असमर्थ हुनेका लागि शुक्लयजुर्वेदका ज्ञाता तथा स्मृतिकारको शंख-लिखित स्मृतिमा दैनिक तीन अञ्जलि तिलकुशजल प्रदान गर्दा शास्त्रोक्त दोषबाट मुक्ति मिल्ने हुन्छ| "ब्रह्मादिस्तम्वपर्यन्तजगत् तृप्यतु" यस्तो संक्षिप्ततर्पणविधि बताइएको छ | यसरी नित्य देवता,ऋषि दिव्यपितृ र आफ्ना पितृहरूलाई तृप्त पार्न सकिन्छ | संस्कृत वाक्य प्रयोग गर्न न सक्नेले तिल वा कुश मध्ये एक न छुटाई" ब्रह्मा देखि स्तम्व(अतिसूक्ष्म जीव)सम्म सबैलाई मैले दिएको तिलकुशजल मिलोस् "भनेर नित्य तर्पण गर्न सकिने कुरा स्मृतिहरूमा पाइन्छ |

सामान्य अर्थमा पिण्ड भनेको डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राख्छ। गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ। त्यो त्यस्तो वस्तु हो जुन् अग्नौकरण(होम)गरी शेष रहेको श्राद्धपाक र पितृस्वरुप आमन्त्रित ब्राह्मणभोजनशेषबाट निर्मित गोलाकार वस्तु हो | यो पितृहरूका लागि अति प्रिय खाद्यवस्तु मानिन्छ|शास्त्रोक्त विधिले एकोद्दिष्टश्राद्धमा ठूलो वेल जत्रो स पार्वणश्राद्धमा ठूलो अमला जत्रो तथा तीर्थश्राद्धमा शमीपत्र प्रमाणको बनाई पिण्डवेदीमा दोब्र्याएको कुशमाथि तुलसीपत्र कालो तिलमधु घृत मिसाई श्राद्धविधान अनुसार कर्ताले साहिलीऔंलाको मध्यमपर्वमा कुश को पवित्र लगाई पितृको नामगोत्र प्रवर र वसुरुद्रादित्य स्वरूप उल्लेख गरी पिण्डवेदीमा अर्पण गरिन्छ। श्राद्धको होमलाई "अग्नौकरण" भनिन्छ।

 शुक्लयजुर्वेद माध्यन्दिनीय शाखाको मन्त्रभाग४०अ.शतपथब्राह्मणभाग१००अ.कात्यायन श्रौतसूत्र२६अ. पारस्करगृह्यसूत्र३का. कात्यायन नवकण्डिक श्राद्धकल्पसूत्र र कात्यायन त्रिकण्डिका स्नानसूत्र आदि धर्म ग्रन्थहरूका आधारमा विधिपूर्वक धार्मिक अनुष्ठान तथा श्राद्ध गर्दा शास्त्रोक्त पूर्णफल पाइन्छ |श्राद्धको निमित्त शुद्ध वस्त्र र शुद्धभोजन अनिवार्य छ। श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश [[मुण्डन संस्कार|] गरी एक छाक मात्र खानुपर्दछ। केश मुण्डन एकभक्तको नियम ग्रहण गरे पछि श्राद्धारम्भ भएको मानिन्छ |यस पछि घरबाहिरका जुठो-सुत्केरो परे पनि श्राद्ध कर्म गर्ने कर्तालाई कुनै दोष लाग्दैन वा श्राद्ध गर्न कुनै बाधा पर्दैन|एकभक्तका दिन मुण्डन गर्नु शास्त्रोक्त आचार विचारमा न बस्ने व्यक्तिलाई शुद्ध्याउने नियम हो |श्राद्ध शुरु गर्नु भन्दा अघि श्राद्ध गर्ने अधिकार मिलोस् भनेर प्रायश्चित्तगोदान गर्ने विधान छ|श्राद्धमा भोजनबनाउने व्यक्तिको शुद्धताको खुब ख्याल गर्नु पर्दछ| एकभक्त बसेका ब्राह्मणव्यक्तिकी विवाहिता पत्नीबाट श्राद्धपाक हुनुपर्दछ |श्राद्धकर्ता ब्राह्मण नभएर क्षत्रीय,वैष्य भएमा श्राद्धपाकब्राह्मणलाई खुवाउने र पिण्डदान पनि श्राद्धपाकबाटै गर्ने हो भने (१)श्राद्धकर्ता (२)भोजननिर्माता (३)भोजन गर्नेब्राह्मण र (४)श्राद्धका मन्त्रवचन पढी श्राद्ध गराउने गरी कम्तिमा ४ ब्राह्मण निमन्त्रणा गर्नु पर्दछ |अन्यथा काँचो अन्नको सीदादान र काँचै अन्नको पिण्डदान गर्नु पर्ने शास्त्रीय व्यवस्था छ |यी सबै कुराहरूको विधिविधान मिलाई श्राद्ध गर्नेले श्राद्धको पूर्ण फल प्राप्त गर्ने कुरा शास्त्रमा व्यवस्था छ |   एकोद्दिष्ट(तिथिश्राद्ध)रोकिएमा लगत्तै आउने अर्को महिनाको त्यही तिथिमा, कृष्णपक्षको एकादशी तिथिमा वा अमावास्या (औंसी)तिथिमा गर्ने चलन छ भने पार्वण(महालय)रोकिएमा जुन कारणले रोकिएको हो त्यो फुक्नासाथ गर्ने चलन छ। शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने बताइएको छ। यसैगरी श्राद्धमा भोजन गर्ने ब्राह्मण र गराउने अर्थात् कर्ताका प्रतिनिधि भई श्राद्धमा प्रयोग हुने मन्त्रवाक्यहरू उच्चारण गर्ने(पुरोहित) ब्राह्मण पनि उत्तिकै सदाचारी हुनुपर्दछ। श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ। श्राद्धगर्नेकी पत्नी शास्त्रोक्त विधिद्वारा विवाहिता न भएको भए पकाएको अन्नले श्राद्ध गर्न हुन्न काँचोअन्नको सीदादान गर्न पर्छ|श्राद्धमा ब्राह्मणभोजन गर्ने ब्राह्मण र कर्ता (यजमान)अतिशुद्ध हुनुपर्ने हुन्छ | श्राद्धमा विधपूर्वक निमन्त्रणा स्विकार गरी यजमानका घर आएर पिण्डदान भन्दा अघि विधिपूर्वक भोजन गर्ने ब्राह्मण न पाइएमा कुशवटुक थापना गरी काँचो अन्नको सीदा बनाई श्राद्ध गर्नु पर्दछ |कुशवटुकलाई प्रदान गरिएको काँचो अन्नको सीदा,पिण्डादि बुढो गोरु बुढो बोको अग्नि जलमा विसर्जन गरिदिने वा कुनै  अन्य ब्राह्मणलाई यथा समयमा दिन हुने शास्त्रीय व्यवस्था छ |जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाई भन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइएको छ|

ब्राह्मणश्रुतिसम्पन्न स्वधर्म निरतस्सदा | सःवदेत वैदिकंमन्त्रंलौकिकं नकदाचन|| देवीभावत-११|३|१२ देवताहरूभन्दा पितृ रिझाउन कठिन कार्य हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने र आचार शुद्धिमा विशेष ख्याल राख्नुपर्ने कुरामा जोड दिइएको छ ।

श्राद्ध गुठी[सम्पादन गर्ने]

कतिले श्राद्ध चलाउन गुठी नै राखिदिने गरेका छन्। तत्कालीन राजा रणबहादुर शाहको श्राद्ध सप्तमी गुठीले गर्दछ। तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले पनि आफ्नो श्राद्धको निमित्त गुठी छुट्याएका थिए र त्यसै गुठीले आज पनि उनको श्राद्ध गर्ने गर्दछ। मल्ल राजाहरूको पनि श्राद्ध चलिरहेकै छ भन्ने सुनिन्छ। पशुपतिनाथको मन्दिरमा चाँदीको ढोका स्थापना गर्ने कुलानन्द झाको श्राद्ध पनि भएकै छ। सामान्य जनको लागि पनि तीर्थहरूमा श्राद्ध गुठी राख्ने प्रचलन छ तर त्यसको अनुगमन एक पुस्ता पछि नहुने भएकोले त्यसको निरन्तरता हुन्छ कि हुदैन भन्न कठिन छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुस[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]