भक्ति
भक्ति भारतीय धर्महरूमा प्रचलित एक अवधारणा हो जसको अर्थ लगाव, अनुराग, श्रद्धा, विश्वास, निष्ठा, उपासना वा प्रेम भन्ने हुन्छ।[१] भारतीय धर्महरूमा, यसले कुनै साकार भगवान् (जस्तै कृष्ण वा देवी), निराकार परमसत्य (जस्तै निर्गुण ब्रह्म वा शिख धर्मका वाहेगुरु) वा कुनै ज्ञान प्राप्त प्राणी (जस्तै बुद्ध, बोधिसत्त्व वा गुरु) प्रतिको प्रेमपूर्ण श्रद्धालाई जनाउन सक्छ।[२][३] भक्ति प्रायः भक्त र भक्तिको पात्रबीचको सम्बन्धमा आधारित एक गहिरो भावनात्मक अनुराग हो।[४] भक्तिको मार्गमा लाग्ने व्यक्तिलाई भक्त भनिन्छ।
यस अवधारणाको प्रारम्भिक उपस्थिति प्रारम्भिक बौद्ध ग्रन्थ थेरगाथा मा 'भत्ति' शब्दको माध्यमबाट पाइन्छ।[५] श्वेताश्वतर उपनिषद् र भागवद गीता जस्ता प्राचीन ग्रन्थहरूले भक्तिलाई योगकै एउटा रूपमा ईश्वरको चिन्तन गर्ने माध्यमका रूपमा वर्णन गरेका छन्।[६]
भक्तिका विचारहरूले भारतका धेरै लोकप्रिय ग्रन्थहरू र सन्त-कविहरूलाई प्रेरित गरेका छन्। उदाहरणका लागि, भागवत पुराण कृष्णसँग सम्बन्धित एक महत्त्वपूर्ण ग्रन्थ हो जुन हिन्दु धर्मको भक्ति आन्दोलनसँग जोडिएको छ।[७] भक्ति भारतमा प्रचलित अन्य धर्महरूमा पनि पाइन्छ र यसले आधुनिक युगमा इसाई र हिन्दु धर्मबीचको अन्तरक्रियालाई समेत प्रभाव पारेको छ। 'निर्गुणी भक्ति' (गुणरहित परमात्माप्रतिको भक्ति) हिन्दु धर्मका साथै शिख धर्ममा पनि पाइन्छ।[८] भारत बाहिर, केही दक्षिणपूर्वी एसियाली र पूर्वी एसियाली बौद्ध परम्पराहरूमा पनि भावनात्मक भक्ति पाइन्छ।
तमिल आलवार र नयनार सन्तहरूले सुरु गरेको भक्ति आन्दोलन ईस्वी संवत्को पहिलो सहस्राब्दीको उत्तरार्धमा विष्णु (वैष्णव), शिव (शैव) र देवी (शाक्त) देवताहरूको वरिपरि विकसित भएको थियो।[२][९]
शब्दावली
[सम्पादन गर्नुहोस्]संस्कृत शब्द 'भक्ति' क्रिया मूल 'भज्-'बाट बनेको हो, जसको अर्थ "उपासना गर्नु, शरण लिनु, वा सेवा गर्नु" भन्ने हुन्छ।[७][१०] यस शब्दले लगाव, निष्ठा, अनुराग, श्रद्धा, विश्वास वा प्रेम, र आध्यात्मिक मुक्ति वा मुक्तिको साधनका रूपमा कुनै धार्मिक सिद्धान्तप्रतिको पवित्रतालाई पनि जनाउँछ।[१]
'भक्ति' को अर्थ कामसँग मिल्दोजुल्दो भए पनि यो फरक छ। 'काम' ले भावनात्मक सम्बन्ध, कहिलेकाहीँ इन्द्रियजन्य आसक्ति र कामुक प्रेमलाई बुझाउँछ। यसको विपरीत, 'भक्ति' आध्यात्मिक हुन्छ: यो धार्मिक अवधारणा वा सिद्धान्तहरू प्रतिको प्रेम र निष्ठा हो, जसमा भावना र बुद्धि दुवै समावेश हुन्छन्।[११] करेन पेचेलिसका अनुसार भक्तिलाई केवल भावनाका रूपमा मात्र नभई 'प्रतिवद्ध संलग्नता' का रूपमा बुझ्नुपर्छ।
वैदिक संस्कृत साहित्यमा 'भक्ति'को सामान्य अर्थ "पारस्परिक लगाव, निष्ठा वा अनुराग" भन्ने हुन्थ्यो, जस्तै मानवीय सम्बन्धहरूमा प्रेमी-प्रेमिका, मित्र-मित्र, राजा-प्रजा, वा आमाबाबु-सन्तान बीचको सम्बन्ध।[७] यसले आध्यात्मिक गुरुप्रतिको भक्ति (गुरु-भक्ति), साकार ईश्वरप्रतिको भक्ति, वा निराकार (निर्गुण) अध्यात्मप्रतिको भक्तिलाई पनि जनाउन सक्छ।
हिन्दु धर्ममा 'भक्ति' लाई मोक्ष (आध्यात्मिक स्वतन्त्रता वा मुक्ति) प्राप्त गर्ने वैकल्पिक आध्यात्मिक मार्गहरूमध्ये एक मानिन्छ,[१२][१३] र यसलाई 'भक्ति मार्ग' वा 'भक्ति योग' भनिन्छ।[१४] अन्य मार्गहरूमा 'ज्ञान मार्ग' (ज्ञानको बाटो), 'कर्म मार्ग' (कार्यको बाटो), र 'राज मार्ग' (चिन्तन र ध्यानको बाटो) पर्दछन्।
हिन्दु धर्ममा सगुण र निर्गुण (गुणसहित वा गुणरहित परमात्माप्रतिको भक्ति) दुवै विचारहरू प्रचलित छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 हेर्नुहोस् Monier-Williams, Sanskrit Dictionary, १८९९।
- 1 2 Bhakti, Encyclopædia Britannica (सन् २००९)
- ↑ Karen Pechelis (२०११), "Bhakti Traditions", in The Continuum Companion to Hindu Studies, Bloomsbury, आइएसबिएन ९७८-०८२६४९९६६०, पृ. १०७–१२१
- ↑ Hans G. Kippenberg (१९९०), Concepts of Person in Religion and Thought, Walter de Gruyter, पृ: २९५, आइएसबिएन 978-3-11-087437-2।
- ↑ Dayal 1970, पृष्ठ 32.
- ↑ John Lochtefeld (२०१४), The Illustrated Encyclopedia of Hinduism, Rosen Publishing (New York), आइएसबिएन ९७८-०८२३९२२८७१, पृ. ९८–१००।
- 1 2 3 Cutler, Norman (१९८७), Songs of Experience, Indiana University Press, पृ: 1, आइएसबिएन 978-0-253-35334-4।
- ↑ Lorenzen 1995, पृष्ठ. 1-2.
- ↑ Rinehart, Robin (२००४), Contemporary Hinduism: Ritual, Culture, and Practice, ABC-CLIO, पृ: ४५, आइएसबिएन 978-1-57607-905-8।
- ↑ Pechilis Prentiss, Karen (1999). The Embodiment of Bhakti. Oxford University Press. p. 24.
- ↑ Karen Pechelis (2014), The Embodiment of Bhakti, Oxford University Press, pp. 19-21
- ↑ John Martin Sahajananda (2014), Fully Human Fully Divine, Partridge India, आइएसबिएन ९७८-१४८२८१९५५७, page 60
- ↑ KN Tiwari (2009), Comparative Religion, Motilal Banarsidass, आइएसबिएन ९७८-८१२०८०२९३३, page 31
- ↑ Klostermaier, Klaus (1989). A survey of Hinduism. SUNY Press. pp. 210–212.