स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ओंकार[सम्पादन गर्ने]

ॐकारको चित्र
ॐकारको चित्र

ओंकारका तीन अक्षर हुन्छन् अ, उ, र म् । अकारलाई सृष्टिकर्ता ब्रह्मा (Generator) को प्रतीक, उकारलाई स्थितिकर्ता विष्णु (Operator) को प्रतीक तथा मकारलाई संहारकर्ता शिव (Destroyer) को प्रतीक मानिन्छ । त्यसैले अ, उ, म् अलग अलग पनि परमात्मा हो र ॐकार रुपमा परमात्मा वा ब्रह्म (GOD) को रुपमा तीन देवताको परमब्रह्म स्वरुप पनि हो ।[१] अ, उ, र म् लाई ऋक्, साम, र यजुर्वेदको प्रतीक पनि मानिन्छ । सत्व, रज, र तम तीन गुणको प्रतीक पनि मानिन्छ । परमात्मा सृष्टि, स्थिति, र प्रलय तीनवटै पनि हो र तीनवटैभन्दा अतीत पनि हो । ऊ भुत, वर्तमान, र भविष्य तीनकाल पनि हो र कालातीत पनि हो । आत्माका तीन भेद विश्व (स्थूलस्वरुप), तेजस (प्रकाशस्वरुप), र प्राज्ञ (चेतनस्वरुप) लाई तीन चरण वा पाउ वा अवस्थाहरु मानिएको छ । आत्मा जाग्रत, स्वप्न, र सुषुप्ति तीनवटै अवस्थाको अनुसन्धानकर्ता र अनुभवकर्ता हुन्छ । यसैकुरालाई माण्डूक्य उपनिषदमा परमात्माको चौथो अवस्था भनी व्याख्या गरिएको छ ।[२]

बौद्ध, जैन, सिख सम्प्रदायहरुमा ॐकार[सम्पादन गर्ने]

ॐकार यस्तो शब्द हो जसको कुनै न कुनै रुपमा सबै धर्म सम्प्रदायहरुमा प्रयोग भएको छ । बौद्ध, जैन, सिख लगायत अनेक सम्प्रदायहरुमा यस शब्दलाई अवतार पुरुषहरुले उच्च सम्मान दिएका छन् । गुरु नानकले त इक ओमकार सतिनाम भनेर यसलाई मूल मन्त्रको रुपमा यसको महत्व बयान गरेका छन् । यसलाई देवनागरीमा, गुरमुखीमा, तिब्बतीमा, चीनीयां भाषामा, बाली भाषामा संकेत लेख्ने गरिन्छ । ॐकार शब्द नभएर चिन्ह हो । स्वस्तिक र ॐकारलाई एक अर्काको पर्यायवाची पवित्र चिन्ह मानिन्छ भने क्रस चिन्ह र स्वस्तिक चिन्हको उत्पत्ति आधार ॐ हो भन्ने खप्तड बाबाको विचार छ ।[३] आर्य समाजीहरुले ओ३म् लेख्ने गर्दछन् । जैन धर्ममा ओम् (AAUM) ले अरिहन्त, आश्री, आचार्य, उपाध्याय र मुनिको संयुक्त स्वरुपलाई जनाउंछ । बौद्ध धर्मको विद्यासदाक्षरी मन्त्र ओम् मणि पद्मे हुं लगायत अन्य अनेक महत्वपूर्ण मन्त्रहरुमा यसको प्रयोग गरिन्छ ।[४]

सृष्टिको अनुकम्पन[सम्पादन गर्ने]

अ, उ, र म लाई पूर्ण शक्ति लगाएर अलग अलग उच्चारण गर्दा नाभि, छाति र सिरमा अलग अलग अनुकम्पन अनुभव गर्न सकिन्छ । तीनवटैको समवेत स्वरलाई नादब्रह्म भनिन्छ । यो मात्र एक यस्तो अनौठो शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोल कहीं नछोइ उच्चारण गर्न सकिन्छ । आचार्य रजनीशका अनुसार, सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यसबेलाको कल्पना गर्दछन् जब पृथ्वी एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा ध्वनि थियो । यस शब्दको आधार शंखभित्रको त्यस ध्वनिलाई मानिन्छ जसमा समुद्र लहराइरहेको सुनसान निस्तब्ध संसारको झलक पाइन्छ । त्यस भित्र पनि एक प्रकारको ध्वनि पाइन्छ जुन ओंकार नाद संग मिल्छ । प्राचीन शास्त्रहरुमा र वैदिक मन्त्रहरुमा ॐकार महत्वपूर्ण मानिएको छ । ओंकारलाई मन्त्रहरुको सेतु भनिएको छ । यो एकाक्षर मन्त्र हो तथा गम्भीर भाव र अर्थले भरिएको छ । परब्रह्मको प्रतीक हुनाले ब्रह्मको स्वरुप हो । प्रतीक भनेको कुनै वस्तु वा पदार्थको चित्र वा प्रतिमा हो । ब्रह्म सामान्य मनुष्यहरुको लक्ष्यमा आउन कठिन छ । त्यसलाई छोटकरीमा लक्ष्य गराउने एकाक्षर मन्त्र ॐ कार हो । यसैलाई बुझाउन स्वस्तिक आदि चिन्हहरुको आविष्कार गरिएका छन् । मन्तव्य वा विचारलाई मन्त्र भनिन्छ । ओंकार नै वास्तविक विचार गर्न योग्य वा बुझ्न योग्य छ । सब मन्त्रहरुमा ओंकारलाई पहिले लगाउनाले अर्थ भाव चमत्कारी हुन्छन् । खप्तडबाबाका अनुसार ओंमय ब्रह्माण्डको अधिष्ठान समेत ॐ हो । ब्रह्माण्डका व्यक्तिहरुको पृथक पृथक भाव भावको अन्तिम गति परब्रह्म हो । त्यसकारण त्यस परब्रह्मको ध्यान गर्दै अन्य मन्त्रहरुको भावार्थ सिद्ध गर्नु पर्छ । यस उच्च आशयद्वारा नै सब मन्त्रहरुको जप गर्नाले ॐकारको जुन आत्मा स्वरुप हो त्यसका संस्कारहरुलाई दृढ गर्दै लैजान्छ । ॐ एकाक्षर मन्त्र भए तापनि वर्णातीत र शब्दातीत भनिन्छ । एकाक्षर मन्त्रको सूक्ष्म अर्थ हो नाश नहुने यस्तो जो एक अद्वितीय ब्रह्म हो । त्यहीनै एकाक्षर ब्रह्म हो ।[५]

ॐकारमा चार पाद[सम्पादन गर्ने]

माण्डूक्य आदि उपनिषदहरुले ॐकारमा चार पाद पहिल्याएका छन् । ॐकारको वर्णाकृति जो शास्त्रहरुमा देखिएको छ, त्यसमा पाद वा मात्राहरु को भाव यस प्रकार छ – देब्रेतिरबाट जुन अद्र्धचन्द्राकार छ, त्यो अकार हो त्यसको तलतिर जो यस्तै नै दोस्रो अर्ध चन्द्राकार जुन प्रथम संग मिलेको उकार हो र बीचबाट जोडिएको अगाडि जुन किन्दु छ, त्यो मकार स्वरुप हो । अकार सहित उकार हो र बीचबाट जोडिएको अगाडि जुन बिन्दु छ त्यो मकार स्वरुप हो । अकार सहित उकार हो र उकार सहित मकार हो । अकार, उकार, र म कार तीनवटै ध्वनि जोडिंदा ॐकार बन्छ । म को नाके स्वर हुंदै मधुरो हुंदै गएको ध्वनिलाई चौथो पाउ मानिएको छ । जे मा व्यष्टि र समष्टि भ्रान्तिले प्रतीत हुन्छन् त्यही ॐ हो । यसलाई प्रणव पनि भनदछन् । नम्रता साथ जसको स्तुति गरिन्छ जसले अथवा भक्तद्वारा जसको उत्तमता साथ स्तुति गरिन्छ त्यो प्रणव हो । यो ॐ नै हो । ॐ र प्रणवमा थोरै अन्र छ त्यो के हो भने प्रणव ध्यानस्वरुप हो भने ॐ नादस्वरुप हो । वर्ण र शब्द मायाका संज्ञा हुन् । तिनीहरु लक्ष्यको लागि मायामा छन् । तापनि अधिष्ठान स्वरुप मायातीत छन् । नाम नहुने यस्तो एक नै परब्रह्म एकाक्षर ॐ हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विवेकानन्द (सन १९९०). [www.chennaimath.org/istore/product/vivekananda-sahitya-set-hindi/ विवेकानन्द साहित्य]. चेन्नाइ: रामकृष्ण मठ. www.chennaimath.org/istore/product/vivekananda-sahitya-set-hindi/. 
  2. ज्ञवाली बाबु राम , वि.सं.२०६७, माण्डूक्य उपनिषद, कालिका अंक २, कालिका भगवती अर्घाखांची, पृ. २१–२५
  3. खप्तड स्वामी, ,सं. चूडानाथ भट्टराय (वि.सं.२०५१). धर्मविज्ञान, सार संक्षेप. काठमाडौं: बबी शाह. 
  4. https://en.wikipedia.org/wiki/Om
  5. खप्तड स्वामी, ,सं. चूडानाथ भट्टराय (वि.सं.२०५१). धर्मविज्ञान, सार संक्षेप. काठमाडौं: बबी शाह. 


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहय लिङ्क[सम्पादन गर्ने]

"https://ne.wikipedia.org/w/index.php?title=ૐ&oldid=616987" बाट निकालिएको