जमदग्नी ऋषि
| जमदग्नी ऋषि | |
|---|---|
परशुरामले आफ्ना मृत पिता जमदग्निको बदला लिँदै। | |
| आबद्ध | सप्तर्षि |
| अस्त्र | शारङ्ग |
| धर्मग्रन्थहरू | महाभारत, पुराण |
| वंशावली | |
| अभिभावकहरू | ऋचीक (पिता), सत्यवती (माता) |
| जीवनसाथी | रेणुका |
| सन्तानहरू | रुमण्वान्, सुहोत्र, वसु, विश्वावसु र परशुराम |
जमदग्नि[१] हिन्दु साहित्यका एक ऋषि हुन्। उनलाई हिन्दु परम्परामा वर्तमान मन्वन्तरका सात वैदिक ऋषिहरू (सप्तर्षि) मध्ये एक मानिन्छ।[२]
उनी सृष्टिकर्ता भगवान ब्रह्माद्वारा सिर्जित प्रजापतिहरू मध्येका एक, ऋषि भृगुका वंशज हुन्। जमदग्निका आफ्नी पत्नी रेणुकाबाट पाँच सन्तान थिए, जसमध्ये कान्छा परशुराम भगवान विष्णुका अवतार हुन्।
पौराणिक कथाहरू
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]भागवत पुराणका अनुसार, राजा गाधीले ऋषि ऋचीकसँग सत्यवतीसँग विवाह गर्नका लागि काला कान भएका एक हजार सेता घोडाहरू माग्छन्। ऋचीकले भगवान वरुणको सहयोगमा ती घोडाहरू ल्याउाछन् राजाले ऋचीकलाई सत्यवतीसँग विवाह गर्न अनुमति दिन्छन्।
विवाहपछि सत्यवती र उनकी आमा दुवैले सन्तान प्राप्तिका लागि ऋचीकसँग आशीर्वाद माग्छन्। ऋषिले दुवैका लागि एउटा ब्राह्मण मन्त्रले युक्त (सत्यवतीका लागि) र अर्को क्षत्रिय मन्त्रले युक्त (सासूका लागि) गरी दूधमा पकाएको चामल (चरु) तयार पार्छन्। ऋषि नुहाउन गएका बेला सत्यवतीकी आमाले झुक्याएर चरु साट्न लगाउँछिन्। ऋचीकले यो कुरा थाहा पाउँछन् र उनले सासूको गर्भबाट जन्मने बच्चा ब्राह्मण हुने बताउँछन्, तर सत्यवतीको छोरा भने उग्र योद्धा भन्ने र संसारमा रक्तपात मच्चाउने भनिन्छ। सत्यवतीले यो परिणाम बदल्न प्रार्थना गर्छिन्, जसका कारण उनको छोरा (जमदग्नि) ब्राह्मण ऋषिका रूपमा जन्मिन्छन्, तर उनका नाति (परशुराम) भने भयानक योद्धाका रूपमा जन्मिन पुग्छन्।
यसरी ऋचीक र सत्यवतीबाट जमदग्निको जन्म हुन्छ।[३] जमदग्निको जन्मकै समयतिर गाधीकी पत्नी (सत्यवतीकी आमा) बाट कौशिका नामक छोराको जन्म हुन्छ। उनै कौशिका पछि प्रसिद्ध ऋषि विश्वामित्र बन्छन्, जो जन्मले क्षत्रिय भए पनि पछि आफ्नो तपस्याले ब्रह्मर्षि बनेका थिए।[४]
गृहस्थ जीवन
[सम्पादन गर्नुहोस्]हुर्कँदै जाँदा जमदग्निले कडा अध्ययन गर्दै वेदहरूमा पाण्डित्य प्राप्त गर्छन्। ऋषिको दर्जा प्राप्त गरेपछि जमदग्निले धेरै पवित्र स्थलहरूको भ्रमण गर्छन् र अन्ततः सूर्यवंशका राजा प्रसेनजितको दरबारमा पुग्छन्। त्यहाँ उनकी छोरी राजकुमारी रेणुकालाई देखेपछि उनी प्रेममा पर्छन् र राजासँग विवाहको प्रस्ताव राख्छन्। उनीहरूको विवाह हुन्छ र रुमण्वान्, सुहोत्र, वसु, विश्वावासु र राम (जो पछि परशुरामका रूपमा चिनिए) गरि पाँच छोराहरू जन्मिन्छन्।[३] पछि यो दम्पतीले नर्मदा नदीको किनारमा तपस्या गर्न थाल्छन्।
जमदग्निले आफ्ना पिता ऋचीकबाट भगवान विष्णुको दिव्य धनुष 'शारङ्ग' प्राप्त गरेका थिए।
रेणुकाको मृत्यु
[सम्पादन गर्नुहोस्]
ब्रह्माण्ड पुराणका अनुसार, एक पटक रेणुका पानी लिन नर्मदा नदीको किनारमा जान्छिन्। त्यहाँ उनले साल्व राज्यका राजालाई आफ्नी रानीसँग पानीमा खेलिरहेको देख्छिन्। त्यो दृश्यको सुन्दरताले उनी मोहित हुँदै हेरिरहन्छिन्। उनी आश्रम फर्कँदा निकै ढिलो भइसकेको हुन्छ। जमदग्नि ढिलो हुनुको कारण सुनेर क्रोधित भहुँदै आफ्ना छोराहरूलाई पालैपालो आफ्नी आमाको वध गर्न आदेश दिन्छन्। जेठा चारै छोराले आमालाई मार्न अस्वीकार गर्छन्। तर, कान्छा छोरा परशुराम अघि बढ्छन् र एकै प्रहारमा आमाको टाउको काटिदिन्छन्। आज्ञा पालन नगरेका कारण ऋषिले जेठा चार छोरालाई वनमा निर्वासित गरिदिन्छन्। परशुरामको भक्तिबाट प्रसन्न भई जमदग्निले उनलाई वरदान माग्न अनुरोध गर्छन्। परशुरामले आफ्नी आमालाई जीवित गराउन माग्छन् र जमदग्निले रेणुकालाई पुनर्जीवित गरिदिन्छन्।[५]
सूर्यबाट वरदान
[सम्पादन गर्नुहोस्]महाभारतका अनुसार, एक पटक जमदग्नि सूर्यको अत्यधिक तापबाट हैरान भएका हुन्छन्। उनले आकाशमा धेरै तिरहरू प्रहार गर्छन् जसबाट सूर्य डराउँछन्। त्यसपछि सूर्य ब्राह्मणको भेषमा ऋषि कहाँ आउँछन् र मानव जातिलाई तापबाट बच्न मद्दत गर्ने जुत्ता र छाता गरि दुई आविष्कारहरू उपहार दिन्छन्।[६]
मृत्यु
[सम्पादन गर्नुहोस्]एक पटक हैहय राजा कार्तवीर्य अर्जुन आफ्ना सैनिकहरूसहित जमदग्निको आश्रममा आउँछन्। ऋषिले दिव्य गाई कामधेनुको सहयोगमा उनीहरूलाई भव्य भोज गराउँछन्। राजाका मन्त्री चन्द्रगुप्तले सो गाई किन्नका लागि करोडौँ गाई वा आधा राज्यको प्रस्ताव गर्छन् तर जमदग्निले उक्त प्रस्तावलाई अस्वीकार गर्छन्। त्यसपछि मन्त्री र उनका मानिसहरूले जबरजस्ती गाई लिएर जान्छन्। आफ्नी प्रिय गाईलाई बचाउन खोज्दा मन्त्रीले जमदग्निको हत्या गरि गाईलाई राजधानी माहिष्मती लिएर जान्छन्।
रेणुकाले आफ्ना पतिलाई रक्ताम्मे अवस्थामा मृत प्रायः फेला पार्छिन् र छातीमा २१ पटक पिट्दै विलाप गर्छिन्। जब परशुरामले यो थाहा पाए, उनले संसारलाई २१ पटक घुमेर सबै अन्यायी क्षत्रिय राजाहरूको विनाश गर्ने सङ्कल्प गर्छन्। जमदग्निको दाहसंस्कार गर्ने बेला ऋषि शुक्राचार्यले आएर 'मृतसञ्जीवनी' मन्त्रद्वारा उनलाई पुनर्जीवित गरिदिन्छन्।
परशुराम र उनका चेला अकृतव्रण माहिष्मती गएर कार्तवीर्य अर्जुन र उनको सेनाको वध गरी कामधेनुलाई फिर्ता ल्याउँछन्। जमदग्निले आफ्नो छोरालाई पाप पखाल्न महेन्द्रगिरीमा तपस्या गर्न पठाउँछन्। परशुराम तपस्यामा गएका बेला कार्तवीर्य अर्जुनका छोरा शूरसेन र उनका मानिसहरूले आश्रममा आएर जमदग्निको टाउको काटेर बदला लिन्छन्। परशुरामले फर्केर आएपछि जमदग्निको अन्त्येष्टि गर्छन् र उनकी पत्नी रेणुका सती जान्छिन्। त्यसपछि परशुरामले पिताको 'शारङ्ग' धनुष लिएर क्षत्रिय राजाहरूको विनाशका लागि २१ वटा अभियानहरू सुरु गर्छन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Illustrated Weekly of India (अङ्ग्रेजीमा), Published for the proprietors, Bennett, Coleman & Company, Limited, at the Times of India Press, १९७५, पृ: 11।
- ↑ Avalon, Arthur (Sir John Woodroffe) (1913, reprint 1972) (tr.) Tantra of the Great Liberation (Mahāanirvāna Tantra), New York: Dover Publications, ISBN 0-486-20150-3, p. xli.
- 1 2 Subodh Kapoor (2004). A Dictionary of Hinduism. Cosmo Publications. p. 185. ISBN 978-81-7755-874-6.
- ↑ भागवत पुराण, स्कन्ध ९, अध्याय १५-१६
- 1 2 www.wisdomlib.org (2019-01-28). "Story of Jamadagni".
- ↑ The Mahabharata, Book 13: Anusasana Parva: Section XCVI