अत्रि ऋषि
| अत्रि ऋषि | |
|---|---|
| आबद्ध | ब्रह्मर्षि |
| वंशावली | |
| अभिभावकहरू |
|
| जीवनसाथी | अनसूया |
| सन्तानहरू | दुर्वासा, चन्द्र र दत्तात्रेय |
अत्रि एक वैदिक ऋषि हुन्, जसलाई अग्नि, इन्द्र र हिन्दु धर्मका अन्य वैदिक देवताहरूका लागि धेरै श्लोकहरू रचना गरेको श्रेय दिइन्छ। अत्रि हिन्दु परम्परामा सप्तऋषि (सात महान् वैदिक ऋषिहरू) मध्ये एक हुन्, र ऋग्वेदमा सबैभन्दा बढी उल्लेख गरिएका ऋषि हुन्।[१]
ऋग्वेदको पाँचौं मण्डललाई उनको सम्मानमा 'अत्रि मण्डल' भनिन्छ, र यसमा भएका ८७ श्लोकहरू उनलाई र उनका वंशजहरूलाई श्रेय दिइन्छ।[२]
अत्रिको उल्लेख पुराण, हिन्दु महाकाव्यहरू रामायण र महाभारतमा पनि गरिएको छ।[३][४]
पौराणिक कथाहरू
[सम्पादन गर्नुहोस्]
अत्रि वर्तमान वैवस्वत मन्वन्तरका सात महान् ऋषिहरू (सप्तऋषि) मध्ये एक हुन्। यस मण्डलका अन्य ऋषिहरूमा अगस्त्य, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र रहेका छन्।[१][५][६] अत्रि एक मानसपुत्र हुन्, अर्थात् उनी ब्रह्माको मनबाट जन्मिएका हुन्। बृहदारण्यक उपनिषद्का अनुसार प्रत्येक सप्तऋषिले ब्रह्माको एउटा इन्द्रिय वा अङ्गको प्रतीक मानिन्छन्। अत्रिले जिब्रोको प्रतिनिधित्व गर्छन्, जसले उनको बुद्धिमत्ता र वेदको ज्ञानलाई जोड दिन्छ।[७]
वैदिक कालका पौराणिक कथाहरूका अनुसार, अत्रिको विवाह अनसूया देवीसँग भएको थियो, जसलाई सात महान् पतिव्रता नारीहरू मध्ये एक मानिन्छ। दत्तात्रेय, दुर्वासा र चन्द्र गरि उनीहरूका तीन छोराहरू थिए।[८] भागवत पुराणका अनुसार, जब ब्रह्माले विश्वको सृष्टिमा योगदान दिन निर्देशन दिन्छन्, तब अत्रिले अनुसूयासँगै ऋक्ष पर्वत शृङ्खलामा कठोर तपस्या गर्छन्। उनीहरूको भक्ति र प्रार्थनाबाट प्रसन्न भई हिन्दु त्रिमूर्ति (ब्रह्मा, विष्णु र शिव) दम्पतीको अगाडि प्रकट हुन्छन् र वरदान माग्न भन्छन्। अत्रिले तीनै देवतालाई आफ्नो पुत्रको रूपमा जन्म लिन प्रार्थना गर्छन्। फलस्वरूप, चन्द्र ब्रह्माको अंशका रूपमा, दत्तात्रेय विष्णुको अंशका रूपमा र दुर्वासा शिवको अंशका रूपमा जन्मिन्छन्।[९] अर्को कथा अनुसार, अनसूयाले आफ्नो सतीत्वको बलले तीनै देवताहरूलाई बचाएकी थिइन् र त्यसको बदलामा उनीहरूले अनुसूयाको कोखबाट जन्म लिएका थिए।[७]
अत्रिको उल्लेख विभिन्न धर्मग्रन्थहरूमा गरिएको छ, जसमा ऋग्वेद सबैभन्दा उल्लेखनीय छ। उनी विभिन्न युगहरूसँग पनि जोडिएका छन्, जस्तै त्रेता युगको समयमा रामायणमा उनले र अनसूयाले राम र उनकी पत्नी सीतालाई सल्लाह दिएका थिए। शिव पुराणमा उल्लेख भए अनुसार यस जोडीले नै गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराएको श्रेय पनि दिइन्छ।[७]
वाल्मीकि रामायणका अनुसार, उनी दक्षिण क्षेत्रका निवासी थिए। पौराणिक परम्पराले पनि यस कुरालाई समर्थन गर्दछ।
ऋग्वेदका द्रष्टा
[सम्पादन गर्नुहोस्]
अत्रि ऋषि ऋग्वेद को पाँचौँ मण्डलका द्रष्टा हुन्। अत्रिका धेरै छोराहरू र शिष्यहरू थिए जसले ऋग्वेद र अन्य वैदिक ग्रन्थहरूको सङ्कलनमा योगदान दिएका छन्। पाँचौँ मण्डलमा ८७ श्लोकहरू छन्, जुन मुख्यतया अग्नि र इन्द्रका लागि समर्पित छन्। यसका साथै विश्वेदेव ("सबै देवताहरू"), मरुत, मित्र-वरुण र अश्विनहरूका लागि पनि श्लोकहरू रचिएका छन्।[१०] दुई-दुईवटा श्लोकहरू उषा (मिर्मिरे बिहानी) र सविता (सूर्य) का लागि समर्पित छन्। यस मण्डलका अधिकांश श्लोकहरू अत्रि वंशका रचनाकारहरूलाई श्रेय दिइन्छ, जसलाई 'आत्रेय' भनिन्छ।[४]
ऋग्वेदका अत्रि मण्डलका श्लोकहरू तिनीहरूको सुमधुर संरचनाका साथै पहेलीका रूपमा प्रस्तुत गरिएका आध्यात्मिक विचारहरूका लागि महत्त्वपूर्ण छन्। यी श्लोकहरूमा संस्कृत भाषाको लचकता प्रयोग गर्दै शब्दगत, वाक्यगत र व्याकरणगत चमत्कारहरू देखाइएको छ।[११] अत्रि मण्डलको ऋग्वेद ५.४४ श्लोकलाई गेल्डनर जस्ता विद्वानहरूले सम्पूर्ण ऋग्वेदकै सबैभन्दा कठिन पहेली श्लोक मान्दछन्।[१२] यी मन्त्रहरू प्राकृतिक घटनाहरूलाई ईश्वरीय प्रेरणाले भरिएका कविताहरू मार्फत सुन्दर ढङ्गले प्रस्तुत गर्नका लागि पनि चिनिन्छन्, जस्तै श्लोक ५.८० मा उषालाई एक हँसिलो महिलाको रूपमा काव्यात्मक रूपमा प्रस्तुत गरिएको छ।[११]
यद्यपि पाँचौं मण्डल अत्रि र उनका सहयोगीहरूलाई श्रेय दिइएको छ, ऋषि अत्रिको नाम वा योगदान ऋग्वेदका अन्य मण्डलहरूमा पनि उल्लेख गरिएको छ।[१३]
रामायण
[सम्पादन गर्नुहोस्]रामायणमा, राम, सीता र लक्ष्मणले आफ्नो चौध वर्षको वनवासको क्रममा अत्रि र अनसूयाको आश्रमको भ्रमण गर्दछन्। अत्रिको कुटी चित्रकूटमा रहेको वर्णन गरिएको छ,[४] जुन दिव्य सङ्गीत र गीतहरू गुञ्जने एक तलाउ नजिकै थियो। उक्त तलाउको पानी फूलहरू र हरिया जलस्पतिहरूले भरिएको थियो र त्यहाँ धेरै "बकुल्ला, माछा मार्ने चरा, कछुवा, हाँस, भ्यागुता र गुलाबी रङका हाँसहरू" थिए।[३] भ्रमणको क्रममा, अनसूयाले सीतालाई वरदान माग्न भन्छिन्। यद्यपि, सीताले केही पनि इच्छा नगरेपछि अनसूयाले उनलाई "स्वर्गको कपडाबाट बनेको बहुमूल्य र दुर्लभ वस्त्र" का साथै केही शुद्ध र दिव्य गहनाहरू उपहारस्वरूप दिन्छिन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Antonio Rigopoulos (१९९८), Dattatreya: The Immortal Guru, Yogin, and Avatara, State University of New York Press, पृ: 2–4, आइएसबिएन 978-0-7914-3696-7।
- ↑ Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 659–660, आइएसबिएन 978-0-19-937018-4।
- 1 2 Alf Hiltebeitel (२०१६), Nonviolence in the Mahabharata: Siva’s Summa on Rishidharma and the Gleaners of Kurukshetra, Routledge, पृ: 55–56, 129, आइएसबिएन 978-1-317-23877-5।
- 1 2 3 Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: ४९, आइएसबिएन 978-0-14-341421-6।
- 1 2 Wilkins, William Joseph (१८८२), Hindu Mythology, Vedic and Purānic (अङ्ग्रेजीमा), Thacker, Spink & Company, पृ: 307–311।
- ↑ Archive, Internet Sacred Text, "The Vishnu Purana: Book III: Chapter I | Sacred Texts Archive", Internet Sacred Text Archive (Englishमा), अन्तिम पहुँच २०२५-०८-१०।
- 1 2 3 Sathyamayananda, Swami, Ancient sages, Mylapore, Chennai: Sri Ramakrishna Math, पृ: 17–20, आइएसबिएन 81-7505-356-9।
- ↑ Antonio Rigopoulos (१९९८), Dattatreya: The Immortal Guru, Yogin, and Avatara, State University of New York Press, पृ: 1–3, आइएसबिएन 978-0-7914-3696-7।
- ↑ Motilal Banarsidass Publishers, Bhagavata Purana Motilal English Full।
- ↑ Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 659–771, आइएसबिएन 978-0-19-937018-4।
- 1 2 Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: ६६०, आइएसबिएन 978-0-19-937018-4।
- ↑ Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 660, 714–715, आइएसबिएन 978-0-19-937018-4।
- ↑ Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 1622–1623, आइएसबिएन 978-0-19-937018-4।