धर्मशास्त्र
धर्मशास्त्र कानुन र आचरणका बारेमा लेखिएका संस्कृत पौराणिक स्मृति ग्रन्थहरू हुन्, जसले धर्म सम्बन्धी शास्त्र वा निबन्धहरूलाई जनाउँछन्। वेदमा आधारित धर्मसूत्रहरू जस्तै, यी ग्रन्थहरू पनि वेदमा आधारित विस्तृत कानुनी टिप्पणीहरू हुन् र धर्मसूत्रहरूबाटै विकसित भएका हुन्। धर्मशास्त्रहरू धेरै सङ्ख्यामा छन्, जसको अनुमान १८ देखि १०० भन्दा बढी गरिएको छ।[note १] यी प्रत्येक ग्रन्थका धेरै फरक संस्करणहरू अस्तित्वमा छन् र प्रत्येकको जरा ईसापूर्व पहिलो सहस्राब्दीका धर्मसूत्र ग्रन्थहरूमा आधारित छ, जुन वैदिक कालको कल्प अध्ययनबाट उत्पन्न भएका थिए।[२][३]
धर्मशास्त्रका पाठहरू काव्यमय श्लोकहरूमा रचना गरिएका छन्[४] र यी हिन्दु स्मृतिका भाग हुन्।[५] यसमा नीतिशास्त्र, विशेष गरी कर्तव्यहरू, आफू र परिवारप्रतिको जिम्मेवारीका साथै समाजको सदस्यका रूपमा आवश्यक पर्ने दायित्वहरूका बारेमा विभिन्न टिप्पणी र निबन्धहरू समावेश छन्। ग्रन्थहरूमा आश्रम (जीवनका चरणहरू), वर्ण (सामाजिक वर्ग), पुरुषार्थ (जीवनका उचित लक्ष्य), व्यक्तिगत गुण र कर्तव्यहरू जस्तै सबै जीवित प्राणीहरू विरुद्ध अहिंसा, न्यायपूर्ण युद्धका नियमहरू र अन्य विषयहरूको चर्चा गरिएको छ।[६]
प्रारम्भिक बेलायती प्रशासकहरूले यसलाई भारतीय उपमहाद्वीपका सबै गैर-मुस्लिमहरू (हिन्दु, जैन, बौद्ध, शिख) का लागि देशको कानुनका रूपमा लागू गरेसँगै आधुनिक औपनिवेशिक भारतको इतिहासमा धर्मशास्त्रहरू प्रभावशाली बनेका थिए। यो निर्णय सम्राट औरङ्गजेबले आफ्नो सङ्ग्रह फतावा-ए-आलमगिरी अन्तर्गत मुस्लिमहरूका लागि स्वीकार गरिसकेको शरीयत कानुनको निरन्तरताका रूपमा गरिएको थियो।[७][८]
इतिहास
[सम्पादन गर्नुहोस्]
धर्मशास्त्रहरू प्राचीन धर्मसूत्र ग्रन्थहरूमा आधारित छन्, जुन आफैँमा ईसापूर्व दोस्रो सहस्राब्दीदेखि पहिलो सहस्राब्दीको सुरुवाती शताब्दीहरूमा रचना गरिएका वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद) को साहित्यिक परम्पराबाट उत्पन्न भएका हुन्। यी वैदिक शाखाहरू सम्भवतः भूगोल, विशिष्टीकरण र विवाद जस्ता विभिन्न कारणहरूले गर्दा अन्य विभिन्न विद्यालयहरूमा (शाखाहरूमा) विभाजित भएका छन्।[३] प्रत्येक वेदलाई थप दुई श्रेणीमा विभाजन गरिएको छ: संहिता (मन्त्रहरूको सङ्ग्रह) र ब्राह्मण (गद्य ग्रन्थ जसले संहिताका श्लोकहरूको अर्थ व्याख्या गर्दछ)।
ब्राह्मण तहको विस्तार हुँदै वैदिक अनुष्ठानहरूका पछाडि लुकेका अर्थहरू खोजी गर्ने केही नयाँ रहस्यमय तहहरूलाई आरण्यक र दार्शनिक खण्डहरूलाई उपनिषद् भन्न थालिएको थियो।[९] धर्म साहित्यको वैदिक आधार वेदको ब्राह्मण तहमा पाइन्छ।
धर्मसूत्रहरू
[सम्पादन गर्नुहोस्]धर्मसूत्रहरू धेरै सङ्ख्यामा थिए, तर आधुनिक युगसम्म केवल चारवटा ग्रन्थहरू मात्र अस्तित्वमा रहेका छन्।[१०] यीमध्ये सबैभन्दा महत्त्वपूर्ण ग्रन्थहरू आपस्तम्ब, गौतम, बौधायन र वसिष्ठका सूत्रहरू हुन्। यी उपलब्ध ग्रन्थहरूले १७ जना आधिकारिक विद्वान्हरूको मतलाई उद्धृत गरेका छन्, जसले यी ग्रन्थहरू रचना हुनुअघि नै धर्मसूत्रको एक समृद्ध परम्परा रहेको सङ्केत गर्दछ।[११]
उपलब्ध धर्मसूत्रहरू संक्षिप्त सूत्र शैलीमा लेखिएका छन्।[१२] यिनीहरूको वाक्य संरचना धेरै छोटो र अपूर्ण हुने भएकाले बुझ्न गाह्रो हुन्छ र पाठकले आफ्नै तरिकाले व्याख्या गर्नुपर्ने धेरै ठाउँ रहन्छ।[१०] धर्मशास्त्रहरू भने धर्मसूत्रहरूबाटै साभार गरिएका कृतिहरू हुन्, जसमा श्लोक (आठ अक्षरका चार पाउ हुने अनुष्टुप छन्दको कविता) प्रयोग गरिएको छ, जुन तुलनात्मक रूपमा स्पष्ट छन्।[१०][४]
धर्मसूत्रहरूलाई धर्मको 'मार्गदर्शक पुस्तिका' भन्न सकिन्छ किनभने यसमा व्यक्तिगत र सामाजिक व्यवहार, नैतिक मापदण्डका साथै व्यक्तिगत, देवानी र फौजदारी कानुनका दिशानिर्देशहरू समावेश छन्।[१०] यसमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास जस्ता जीवनका विभिन्न चरणहरूमा मानिसका कर्तव्य र अधिकारहरूको चर्चा गरिएको छ। यी चरणहरूलाई आश्रम पनि भनिन्छ। यसमा राजाहरूको कर्तव्य, न्यायिक मामिलाहरू, र विवाह तथा उत्तराधिकार जस्ता व्यक्तिगत कानुनका विषयमा पनि छलफल गरिएको छ।[१३] यद्यपि, धर्मसूत्रहरूले सामान्यतया धार्मिक अनुष्ठान र समारोहहरूको चर्चा गर्दैनन्, जुन विषयहरू कल्पका श्रौतसूत्र र गृह्यसूत्र ग्रन्थहरूमा समेटिएका छन्।[१०]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पाण्डुरङ्ग वामन काणेले भारतमा मध्ययुगसम्म १०० भन्दा बढी विभिन्न धर्मशास्त्र ग्रन्थहरू ज्ञात रहेको उल्लेख गरेका छन्, तर तीमध्ये धेरैजसो इतिहासमा हराइसकेका छन्। तिनीहरूको अस्तित्व भाष्य र सङ्ग्रहहरूमा गरिएका उद्धरणहरूबाट अनुमान गरिन्छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ काणे, पी.वी. History of the Dharmaśāstras Vol. 1 p. 304
- ↑ James Lochtefeld (2002), "Dharma Shastras" in The Illustrated Encyclopedia of Hinduism, Vol. 1: A-M, Rosen Publishing, पृ. १९१–१९२
- 1 2 Patrick Olivelle 1999.
- 1 2 Robert Lingat 1973, पृष्ठ 73.
- ↑ Patrick Olivelle 2006, पृष्ठ. 173, 175–176, 183.
- ↑ Patrick Olivelle (2005), Manu's Code of Law, Oxford University Press, पृ. ३१–३२, ८१–८२, ३५६–३८२
- ↑ Rocher, Ludo (जुलाई–सेप्टेम्बर १९७२), "Indian Response to Anglo-Hindu Law", Journal of the American Oriental Society 92 (3): 419–424।
- ↑ Werner Menski (2003), Hindu Law: Beyond tradition and modernity, Oxford University Press, Chapter 1
- ↑ Robert Lingat 1973, पृष्ठ. 7–8.
- 1 2 3 4 5 Patrick Olivelle 1999, पृष्ठ. xxiv–xxv.
- ↑ Robert Lingat 1973, पृष्ठ. 19–22.
- ↑ Patrick Olivelle 2006, पृष्ठ 178.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;Patrick Olivelle 1999नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन