कठोपनिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

कठोपनिषद कृष्ण यजुर्वेदीय शाखा को अन्तर्गत एक उपनिषद हो। यो उपनिषद संस्कृत भाषामा लिखित छ। येसको रचियता वैदिक काल को ऋषिहरु हुन् भन्ने मानिन्छ तर मुख्यत वेद व्यासलाई उपनिषदहरूको लेखक मानिन्छ। यो उपनिषद दुई अध्यायमा विभक्त छ । प्रत्येक अध्याय तीन तीन खण्डमा विभाजन गरिएको छ । जसलाई वल्लि भनिएको छ । पहिलो अध्यायको पहिलो वल्लीका २९ श्लोकमा वाज्रश्रवापुत्र उद्दालकको यज्ञ र त्यसमा नचिकेताका प्रश्न तथा पिताको क्रोधदेखि यमराजसँग भेट गर्न गएको रोचक कथा छ । यसले ब्रहमविद्याको पृष्ठभूमिलाई व्याख्या गर्छ । कठ उपनिषदका यम मृत्युका देवता मात्र होइनन् ज्ञानका देवता पनि हुन् । दोस्रो वल्लीमा २५ मन्त्रहरु छन् । आत्मा परमात्मा विषयक उत्तर १५ औं मन्त्रदेखि सुरु हुन्छ । तेस्रो वल्लीमा १६ मन्त्रहरु छन् । यसमा आत्म तत्त्वको थप व्याख्या र यस उपनिषदको महात्म्य वर्णन गरिएको छ । अध्याय दुईको प्रथम वल्लीमा १५, द्वितीय वल्लीमा १५, र तृतीय वल्लीमा १८ मन्त्र छन् । अध्याय एकको प्रथमवल्लीमा बालक नचिकेतालाई पिताले क्रोधित भएर यमराजकहाँ पठाएको कथा छ । त्यहाँ यमराजले तीवटा वरदान दिन चाहन्छन् । नचिकेताले पिताको प्रसन्नता, स्वर्गको प्राप्ति र अध्यात्म ज्ञान तीन कुरा माग्छन् । यमराले बालकलाई ज्ञानको सट्टा धन सम्पत्ति र सुखका साधनको माग गर्न भन्छन् । दोस्रो वल्लीयदेखि आत्म परमात्मा सम्बन्धी विविध पक्ष ज्ञान दिन्छन् । तेस्रोमा पनि त्यही ज्ञान दिन्छन् । अध्याय दुईका तीनवटै वल्लीहरुमा परमेश्वर प्राप्तिमा बाधा, बाधाहरुको निराकरण, हृदयमा प्रदेशमा परमात्माको अवस्थिति र सर्वत्र व्यापकताको अश्वत्थ वृक्षको उदाहरण दिएर व्याख्या, योग साधना तथा मोक्षको वर्णन छ । अन्तमा ब्रहमविद्याको प्रभावले नचिकेताले ब्रहम प्राप्त गरेको उल्लेख छ ।

शान्ति मन्त्र[सम्पादन गर्ने]

यो उपनिषदको शान्तिपाठ मुनि उल्लेख गरिएको छ:

ॐ सह नाववतु |
सह नौ भुनक्तु |
सह वीर्यं करवावहै |
तेजस्विनावधीतमस्तु मा विद्विषावहै॥
ॐ शान्तिः शान्तिः शान्तिः॥

अध्याय एक[सम्पादन गर्ने]

प्रथम वल्ली[सम्पादन गर्ने]


कठ उपनिषद दस प्रमुख उपनिषदमध्ये एक यो उपनिषद् कृष्ण यजुर्वेदको कठ शाखा अन्तर्गत पर्दछ । आफ्नो आकार र विषय वस्तु दुवै कारणले गर्दा यो बढी प्रचलित छ । सर्वप्रथम युरोपेली भाषामा अनूदित भएको उपनिषद् कठोपनिषद हो । यस कारणले गर्दा पनि यो उपनिषद बढी प्रचलित भएको हो । अन्य उपनिषदनिकै सुगठित र व्यवस्थित पनि छ । अर्को कुरा यसको विषय वस्तु पनि हो जुन आत्म विषयक कुरामा केन्द्रित छ । कठ उपनिषदको पृष्ठभूमि अत्यन्त रोचक छ । नचिकेताका पिता वाज्रश्रवाले यज्ञको दक्षिणामा वृद्ध गाईहरु (निरर्थक वस्तु) दान गरेको देखेर नचिकेताले पितालाई यथार्थ बोध गराउनका लागि प्रश्न गर्यो– हजुरले मेरो दान कसलाई गर्नु हुन्छ ? पिताले क्रोधित भएर भने– यमराजलाई ।
त्यस पछि बालक आफैं यमकहाँ पुग्छ । तर यमराजको ढोका बन्द रहेको हुन्छ । उनी तीन दिन ढोकामा भोकै तिर्खै बस्छन् । यमराजले अतिथिलाई भोकै राखेकोमा प्रायश्चित्त स्वरुप तीन वर माग्न भन्छन् ।
बालक नचिकेताले दुई वरमा आफ्ना पिताको रीस शान्त भएर पुत्र प्रति प्रसन्नता र अर्कोमा स्वर्ग प्रदान गर्ने अग्निविद्या माग्छन् । तेस्रो वरमा उनले आत्मविद्याको चाहना गर्छन् । यो अमरता अध्यात्मविद्याबाट प्राप्त हुन्छ । यमराजले दुई वर सजिलै दिन्छन् तर तेस्रो वरका सट्टा धन सम्पत्ति, राज्य अनेक कुरा दिन चाहन्छन् तर नचिकेता विचलित हुँदैनन् । यसरी यमराज र बालक नचिकेताको अध्यात्म विषयक संवाद सुरु हुन्छ । यो नै कठ उपनिषदको विषय वस्तु हो ।
अबोध नचिकेता अत्यन्त विवेकशील, वैराग्यवान् र शरणशीलता– अनित्यतालाई बुझेका साधक देखिन्छन् । यमले सांसारिक किसिमका सुखभोग र स्वर्गका ऐश्वर्य भोगको बारेमा वर माग भनेर फेरि आग्रह गर्दछन् । तर सांसारिक विषयका दुइ वर यमराजबाट पाए तापनि नचिकेता आत्मा परमात्मा विषयमा उत्तर पाउन दृढ रहन्छन् । ब्रह्मवेत्ता यमले जिज्ञासु साधकको पहिचान गर्न विभिन्न दृष्टिकोणले परीक्षा गरेको पाइन्छ । नचिकेताले मृत्यु पछिको अवस्था आत्मा परमात्मा ईश्वर ब्रह्मको बारेमा सबै किसिमको प्रलोभनबाट मुक्त भएर प्रश्न गरि नै रहन्छन् । यमराजलाई मृत्युको देवताको रुपमा जनमानसमा धारणा रहे पनि वैदिक र औपनषिदिक चिन्तनमा विश्व नियन्ता, ब्रह्माण्ड नियन्ताशक्ति संझनु पर्दछ र विश्व चैतन्यले आफ्नो स्वरुपको बारेमा बताइरहेको बुझ्नु पर्ने हुन्छ ।

द्वितीय वल्ली[सम्पादन गर्ने]

यस वल्लीको सुरुमा ब्रह्मात्म विद्याको खोजी गरेका नचिकेताको प्रशंसा तथा भौतिक सुखमा लागिरहने मानिसहरु जन्म मरणको चक्रमा घुमिरहनु पर्छ भन्ने कुरा बताइएको छ । परमात्म सम्बन्धी चर्चा गरिएको पहिलो मन्त्र निम्नलिखित छ–
सर्वे वेदा यत्पमदमामनन्ति
तपा ँ सि सर्वाणि च यत् वदन्ति ।
यदिच्छन्तो ब्रह्मचर्यो चरन्ति
तत्ते पदं संग्रहेण ब्रवीम्योमित्येतत् ।। १.२.१५।।
सबै वेदहरुले जसको (परमपदको) बारम्बार उल्लेख गर्छन् । तपस्याको फलको रुपमा जो अनुभवमा आउँछ, जसलाई प्राप्त गर्न साधकहरुले ब्रहमचर्य व्रत पालन गर्छन् । त्यस पदलाई ॐ भन्दछन् । यस पछिका १० वटा मन्त्रहरुमा भिन्न भिन्न कोणबाट त्यही ॐ कै व्याख्या गरिएको छ । ॐ ध्वनि निराकार र सर्वलौकिक ९गलष्खभचकब०ि भएकोले यो चैतन्यस्वरुप छ । यो अक्षर ब्रहम हो । यसैको अवलम्बन गर्नु पर्दछ । ब्रह्माण्डको आधार नै यही हो । यसलाई अनुभवमा ल्याए पछि जन्म मृत्यु दुवै रहंदैनन् ।
त्यो ॐ रुप चैतन्य ध्वनि, ब्रह्म ध्वनि अणु भन्दा पनि अणु, महान भन्दा पनि महान छ तापनि प्रत्येक प्राणीको हृदयमा त्यो सदा विराजमान छ । ईश्वर कृपाले तथा वैराग्य भावद्वारा प्राप्त गर्न सकिन्छ । यमले स्पष्ट रुपमा भनेका छन्– हे नचिकेता, यसलाई सबैले अनुभव गर्न सक्दैनन् । जिज्ञासु साधक, तत्ववेत्ता गुरु, र ईश्वर कृपा यी तीनको संयोग भएमा आत्मज्ञान, ब्रहमज्ञान, ओं ज्ञान, तत्वज्ञान प्राप्त हुन सक्दछ । धेरै पढेर, उपदेश गर्नाले, बुद्धिले आत्मा परमात्मा अनुभव आउने होइन । ईश्वर कृपा अहंशून्यको स्थितिले मात्र आत्मा महिमाको ऐश्वर्य अनुभव गर्न सकिन्छ ।।१.२.२३।।
प्रत्येक कार्यका लागि पूर्व तयारी गरे जस्तै आत्मा परमात्मा अनुभवमा ल्याउनको लागि केही आवश्यक पूर्व शर्तहरु छन् । ती शर्तहरु यस प्रकार छन्–
१.साधक, असत्य, असत् आचणबाट मुक्त हुनु पर्दछ ,
२.मन अशान्त हुनु हुदैन ,
३.संसार सुख प्राप्त गर्ने थलो हो जसरी पनि संग्रह हुनु पर्दछ, गर्नु पर्दछ, भन्ने भावनाग्रस्त मन हुनु हुन्न,
४.पांच ज्ञानेन्द्रियहरु नियन्त्रित हुनु पर्दछ ।
स्थिर बुद्धि, प्रज्ञाले मात्रै यसलाई प्राप्त गर्न र अनुभवमा ल्याउन या त्यस चैतन्यमा प्रतिष्ठित हुन सकिन्छ । परमेश्वर यस्तै छ । यो नै छ, यति नै छ भनेर भन्ने वा मान्ने कुरा होइन । पहिलो अध्यायको द्वितीय वल्ली यमको यति उपदेशले पूर्ण हुन्छ ।

तृतीय वल्ली[सम्पादन गर्ने]


तृतीय वल्ली पहिलो मन्त्रमा के स्पष्ट गरिएको छ भने मानिसको शरीर दुर्लभ छ र यो श्रेष्ठ कर्मको प्रतिफल हो । यो नश्वर छ तर आत्मा परमात्माको अनुभवका क्षमता यसै शरीरमा हुन्छ । तेस्रो श्लोकमा डो सुन्दर तुलना गरिएको छ–
आत्मान ँरथिनं विद्धि शरीर ँरथमेव तु ।
बुद्धिं तु सारथिं विद्धि मनः प्रग्रहमेव च ।। १.३ ३ ।।
शरीर रथ (वाहन) हो । बुद्धि सारथी हो । मन लगाम हो । इन्द्रियहरु रथका घोडा हुन् । दृश्य जगत विषयहरु हुन् । रथको मध्य भागमा बसेको रथी, आत्मा चैतन्य जीवात्मा हो । बुद्धिले मनलाई, मनले इन्द्रियलाई नियन्त्रण राखेको छ भने दुर्घटना हुन सक्दैन । अन्यथा भएमा जन्म मृत्युको बारम्बार घटना नै रहन्छ । सारथी बुद्धिमान् छ, मन शुद्ध छ, गन्तव्य ठीक छ भन्ने पुनः भवचक्रमा पर्नु पर्दैन । आत्मा–परमात्मा अत्यन्त गूढ रहस्यमय भएकोले सबैले अनुभव गर्न चाहन्नन् । अत्यन्त सूक्ष्म बुद्धिले मात्र आत्मा–परमात्मको विषयमा निर्णय गर्न सकिन्छ । आत्मा–परमात्मा शब्द, स्पर्श, गन्ध, रुप, रस रहित छ । अनगन्ती र अनन्त अचल छ । त्यसको अनुभव गरे पछि मात्र जन्म र मृत्युको अनुभवबाट मुक्त हुन सकिन्छ । जिज्ञासा हुनु पर्यो । त्यसलाई कदम चाल्नु पर्यो । तत्वदर्शी महापुरुषहरुको सम्पर्क र निर्देशनमा चल्नु पर्यो ।
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।। १.३.१४।।
(हे मानिस हो) जाग, उठ अनि श्रेष्ठ ज्ञानीहरुकहाँ गएर ज्ञान प्राप्त गरेर परमात्त्म तत्त्वलाई जान । यो बाटो छुराको धारमा हिंड्नु जस्तो कठिन छ, यो कुरा विद्वान्हरुले बताएका छन् ।
यस ब्रहमको अनुभव गर्नेले अमरता प्राप्त गर्छन् । तथा यस संवादको पाठ भनेर वा सुनेर मनन गर्ने मानिस ब्रह्मलोकमा प्रतिष्ठित हुन्छ । ब्रह्म सभा वा श्राद्धकालमा यसको पठन पाठन श्रवण गर्नाले व्यक्तिको व्यष्टित्व समष्टिमा रुपान्तरित हुन्छ । तृतीय वल्लीका १५ देखि १७ सम्मका मन्त्रका यिनै महात्म्यका साथ पहिलो अध्याय समाप्त हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


गीताप्रेस्, वि.सं. २०६५,ईशादि नौ उपनिषद, गोरखपुर,गीता प्रेस ।
आचार्य श्रीराम, २०१०, १०८ उपनिषद्, ज्ञानखण्ड, मथुरा ः युगनिर्माण योजना ।
उपाध्याय जगदीश र बाबुराम ज्ञवाली, विसं.२०६४, ॐ ज्ञानज्योति त्रैमासिक माघ–चैत २०६५,पृ.१०–१२, रुपन्देही ः विश्व हिन्दु महासंघ

बाह्य कडीहरू[सम्पादन गर्ने]

मूल ग्रन्थ[सम्पादन गर्ने]

अनुवाद[सम्पादन गर्ने]