उपनिषद्
अन्तर्गत एक शृङ्खलाको भाग |
हिन्दु धर्म |
---|
![]() |
उपनिषदको परिचय[सम्पादन गर्नुहोस्]
उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजिकआसनमा बस्नु । उपनिषदहरूलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरूलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरूलाई आरण्यक पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ । उपनिषदहरु हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । [१][२]
सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद्, र सबैभन्दा सानो माण्डूक्य उपनिषद् हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ।
पुराना उपनिषद्हरू मध्ये ऐतरेय र कौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीय र बृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्न र मुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन् ।
महावाक्य[सम्पादन गर्नुहोस्]
रामकृष्ण मठका संस्थापक मध्ये एक स्वामी परमानन्दका अनुसार उपनिषदहरूमा प्रतिपादन गरिएका दुइ मुख्य महावाक्य छन्ः तत् त्वम् असि र अहं ब्रह्मास्मि ।[३]
रचनाकाल र रचनाकार[सम्पादन गर्नुहोस्]
उपनिषद, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ । विद्वानहरूले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन् । कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन् । वेदका मन्त्रद्रष्टा ऋषिको नाम पाइन्छ । पुराण र स्मृतिहरूमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन । यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन् । उपनिषदहरूमा ज्ञान प्राप्तिका लागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसै प्रकारको विधि ग्रीक दार्शनिक प्लेटोले आफ्ना व्याख्यानहरूमा प्रयोग गरेका छन् । [४]
उपनिषदको अनुवाद[सम्पादन गर्नुहोस्]
प्रारम्भिक अनुवाद[सम्पादन गर्नुहोस्]
अरबी दार्शनिक अल–बिरुनीले ११ औँ शताब्दीमा हिन्दुहरुका धर्म ग्रन्थ अध्ययन गरेको प्रमाण पाइन्छ । किनभने उनले हिन्दु दार्शनिक ग्रन्थ गीतोपनिषदको मुक्त कण्ठले प्रशंसा गरेका छन् । शाहजहांको जेठो छोरा दाराशिकोहले काश्मीरका पण्डितहरूको मद्दतले सन् १६४४ देखि सन् १६५० को अवधिमा ५० वटा उपनिषदको फारसी भाषामा अनुवाद गराएका थिए । संभवतः यो नै पहिलो अनुवाद थियो । सन् १५५६ मा अकबरले पनि केही उपनिषदको अनुवाद गराएका थिए तर पनि सन् १७७५ सम्म कुनै पनि यूरोपियन विद्वानले उपनिषदहरुतिर ध्यान दिएको पाईंदैन ।
अयोध्याको नवाब सुजाउद्दौलाको राजसभाका पर्सियन रेजीडेन्ट एम गेन्टिलले सन् १७५५ मा प्रसिद्ध फ्रेञ्च दार्शनिक र विश्व यात्रु एन्क्वेटिल डुपेर्रिनलाई दाराशिकोहद्वारा गराइएको उपनिषदको पर्सियन अनुवाद उपलब्ध गराए । एन्क्वेटिलले सन् १७५५ देखि १७६१ सात वर्ष पान्डिचेरी, वाराणसी, अयोध्या आदि विभिन्न स्थानमा हिन्दु दर्शनको अध्ययनका लागि भ्रमण गरेका थिए । भनिन्छ एन्क्वेटिलले एक अर्को प्रति पनि कतैबाट भेटाएका थिए । अनि उनले पहिलो पटक युरोपियन भाषाहरु अर्थात् ल्याटिन र फ्रेन्चमा अनुवाद गरेर प्रकाशित गरे । तथापि सन् १८०१–२ मा ल्याटिन अनुवाद औपनिखत OPNIKHAT नामले प्रकाशित भयो तर फ्रेन्च अनुवाद बजारमा आउन सकेन । यसरी यो युरोपका विचारकहरूको जानकारीमा आयो तर अनुवादको पनि अनुवाद भएकोले ज्यादै दुर्बोध्य थियो जसलाई धेरैले बुझन सकेनन् । जर्मन दार्शनिक शोपेन हावरले परिश्रमपूर्वक त्यस उपनिषदको अध्ययन गरे । त्यसलाई पढेर उनी ज्यादै प्रभावित भए । यो कठ उपनिषद थियो । उनले आफ्ना लेखहरूमा भनेका छन्- उपनिषदका ऋषिहरूले गरे जति उच्च, पवित्र र गम्भीर चिन्तन विश्वमा अरु कसैले गर्न सक्दैन । उपनिषद ग्रन्थहरूको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरूको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
यूरोपेली भाषामा अनुवाद[सम्पादन गर्नुहोस्]
सन् १८४४ मा बर्लिनमा साहित्यकार शेलिंग महोदयको प्रवचनमाला सुनेर म्याक्समूलरको ध्यान उपनिषदतर्फ आकर्षित भएको हो । म्याक्समुलर[५] रामकृष्णका जीवन र उपदेशबाट ज्यादै प्रभावित थिए । भनिन्छ, त्यसबेला बेलायतका एक जना साहित्यका प्राध्यापकले बङ्गालमा रामकृष्णको प्रवचन सुनेर उनको अलौकिकता अनुभव गरिसकेका थिए । संभवतः शेलिंग उनै साहित्यकार थिए ।
म्याक्समुलरले उपनिषदको सांगोपांग अध्ययन गर्न संस्कृत भाषाको गहिरो अध्ययन गरे । उनले मूल संस्कृतका पुस्तक पढेर तिनीहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेका थिए । म्याक्स मुलरसंग स्वामी विवेकानन्द कति प्रभावित थिए भने उनले म्याक्स मुलरसंग उनका घर गइ भेट गरेर सम्मान व्यक्त गरेका थिए । सन् १८७९ मा म्याक्स मुलरले युरोपेली पाठकका लागि कठ उपनिषदको पहिलो बोधगम्य अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । तर यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अंग्रेजी, र फारसीका विद्वान राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन् । समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बङ्गाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो ।
त्यस पछि यस उपनिषदका अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले कठ उपनिषदको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरु पाएको जानकारी दिएका छन् । रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषद्को मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९मा ब्रिटिश शिष्यहरूलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रूपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो ।
ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरूको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । यूरोपेली विद्वानहरूले प्रशंसा गरेकोले उपनिषद्हरूको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरू धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । [६] राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अङ्ग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता त्रि वि मा अङ्ग्रेजीको पाठ्यक्रममा राखिएको छ ।
१०८ उपनिषद्[सम्पादन गर्नुहोस्]
उपनिषदहरूको संख्या १२८० बताइए पनि अधिकांश उपनिषद् अहिले प्राप्त छैनन् । पं. श्रीराम शर्मा आचार्यले यसबाट १०८ उपनिषद सङ्कलन गरी उचित सम्पादन तथा हिन्दी भाषाको बोधगम्भय अनुवाद सहित प्रकाशन गरेर सर्वसाधारणका लागि सुलभ गराउन स्तुत्य कार्य गरेका छन् । यो तीन खण्डको प्रकाशन युगनिर्माण योजना, मथुराले गरेको छ ।[७]
नेपाली अनुवाद[सम्पादन गर्नुहोस्]
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं. २०३० मा नौ प्रमुख उपनिषदहरूको अनुवाद प्रकाशित गरेको छ ।[८] यसका अनुवादक माधव प्रसाद देवकोटा हुन् । यस पछि प्रतिष्ठानले छान्दोग्य र बृहदारण्यक उपनिषदको पनि अनुवाद प्रकाशित गरेको छ । समय समयमा विद्वानहरूले विभिन्न उपनिषदहरु अनुवाद र व्याख्या प्रकाशित गरेका छन् । नेपाली विद्वानहरूले पनि उपनिषदहरूमा निकै रुचि राख्नु भएको कुरा यी अनुवादहरूले स्पष्ट गर्दछन् ।
वि. सं. २०७२ मा डिकुरा पब्लिकेसनले प्रा. डा. रामचन्द्र भट्टले लेख्नुभएको उपनिषदमा के छ ? भन्ने धेरै सारगर्भित पुस्तक प्रकाशन गरेको छ ।
उपनिषदको महत्त्व[सम्पादन गर्नुहोस्]
प्रसिद्ध दार्शनिक हयूमले भनेका छन्, सोक्रेटिज, एरिस्टोटल, प्लेटो आदि धेरै दार्शनिकका ग्रन्थहरु मैले पढें तर जस्तो शान्तिदायिनी विद्या मैले उपनिषदमा पाएं त्यस्तो अन्यत्र कहीं मैले भेटिनं । मुगल सम्राट शाहजहां पुत्र दाराशिकोहले भनेका छन्, मैले कुरान, तौरेत, इञ्जील, जबुर आदि ग्रन्थ पढेको छु । तिनीहरूमा ईश्वर सम्बन्धी जुन वर्णन छ त्यसले मनको तिर्खा मेटिएन । त्यस पछि हिन्दुहरुका ग्रन्थ पढें । तिनीहरु मध्ये उपनिषदको ज्ञान कस्तो छ भने त्यस ज्ञानले आत्मालाई शाश्वत शान्ति र सच्चा आनन्द दिन्छ । हजरत नवीले पनि एक आयतमा गरेको सङ्केत यिनै पुस्तकहरुका लागि हो । आचार्य रजनीशले भनेका छन्, संसारका सबभन्दा अनौठा पुस्तकहरु हुन्–उपनिषद, त्यसमध्ये सबभन्दा अनौठो कठ उपनिषद । सत्य साई बाबाले उपनिषदलाई हिन्दु संस्कृतिका सर्वाधिक अमूल्य निधि बताएका छन् ।
दर्शन[सम्पादन गर्नुहोस्]
अद्वेत वेदान्तमा उपनिषद्को सारंश एक वाक्यांमा लेखिएको छ : तत् त्वं असि (तिमी त्यही हौ)। र निचोडमा निराकार व्रह्म तथा आत्म एकै हुन् भनिएको छ।
उपनिषद्ले ओम् शब्द एक आलौकिक शब्द भएको भन्ने सबैभन्दा राम्रो तरिकाले परिभाषित गरेको छ र यसले उत्पन्न गराउने कम्पनले परमात्मा सँग एक गराउँदछ भन्ने उल्लेख गरेको छ। ईशा उपनिषद्ले आत्मको बारेमा यसरी उल्लेख गरेको छ :
जसले आत्ममा सम्पूर्ण जीवहरू देख्दछ तथा सम्पूर्ण जीवहरूमा आत्म, आत्मबाट कहिल्यै हट्दैन।
ओम् शान्ति शान्ति शान्ति यो मन्त्र, जसले आलौकिक शान्तिको निम्ता गर्दछ, उपनिषद्मा सबैभन्दा पहिले भेटिन्छ।
उपनिषदहरूको संख्या[सम्पादन गर्नुहोस्]
उपनिषदहरूको ठीक संख्या संख्या कति छ यस बारेमा स्पष्ट भन्न सकिंदैन । व्यासले माण्डूक्य उपनिषदलाई शुक्ल यजुर्वेदबाट पृथक गर्दा के स्पष्ट गरेका छन् भने वेदको प्रत्येक शाखाबाट एउटा उपनिषद् बनेको छ । ऋग्वेदका कुल २१ शाखाहरु छन् जसबाट २१ एपनिषद् बने । यजुर्वेदका १०९ शाखाबाट १०९ उपनिषद बने । सामवेदका १००० शाखाबाट त्यति नै उपनिषद बने तथा अथर्ववेदबाट ५० उपनिषद बनेका छन् । यसरी उपनिषदहरूको संख्या ११८० हुन आउंछ । तर अधिकांश उपनिषद्हरु लोप भएका छन् । आस्तिक तथा वेद पण्डितहरूको मनमा के शंका र भय उत्पन्न भएको छ भने बांकी उपनिषद्हरु पनि अप्राप्त हुन गए भने ज्ञानका अतुल भण्डार मात्र समाप्त हुने छैनन् धर्मको पनि लोप हुन जाने छ । [९] जर्मन संग्रालयमा २६० उपनिषद छन् भनिन्छ तथापि सन्त, विद्वान र ज्ञानपिपासुहरूले खोजी गरेर हाल १०८ उपनिषदहरु सुरक्षित राखेका छन् । आदि शंकराचार्यले १०८ उपनिषद्मध्ये १०वटा उपनिषदहरूको भाष्य गरेर तिनीहरूलाई सुरक्षित राख्ने काम गरे पछि यी १० उपनिषदहरु ज्यादै प्रसिद्ध भएका छन् । [१०] यिनै १० उपनिषद्हरूलाई १०८ उपनिषदका आधार मानिन्छ
मुख्य उपनिषद्[सम्पादन गर्नुहोस्]
निम्नलिखित १० उपनिषद्लाई मुख्य उपनिषद् भनिन्छ ।
- १. बृहदारण्यक
- २. छान्दोग्य
- ३. ईश
- ४. केन
- ५. कठ
- ६. माण्डूक्य
- ७. मुण्डक
- ८. तैत्तिरीय
- ९.ऐतरेय
- १०. श्वेताश्वतर
अन्य उपनिषद्[सम्पादन गर्नुहोस्]
शेष ९८ उपनिषदहरु यस प्रकार छन् [११]–
१.ब्रह्म | २.कैवल्य | ३.श्वेताश्वतर | ४.जाबालि | ५.हंस | ६.गर्भ | ७.अरुणि | ८.परमहंस | ९.अमृतनाद | १०.नारायणि |
११.अमृतबिन्दु | १२.अधर्वशिखा | १३.अधर्वशिर | १४.कासितार | १५.मैत्रायणि | १६.नृंिसहंतथिगनि | १७.बृह्मजाल | १८.मैत्रेयि | १९.कालाग्निरुद्र | २०.सुलभ |
२१.मांत्रिक | २२.क्षिति | २३.निरालम्ब | २४.सर्वहर | २५.वज्रसूचिका | ६.शुभरहस्य | २७.तेजोबिन्दु | २८.नादबिन्दु | २९.ध्यानबिन्दु | ३०.ब्रह्मविद्या |
३१.आत्मबोधक | ३२.योगतत्व | ३३.नारदपरिव्राजक | ३४.ब्राह्मण | ३५.सीता | ३६.योगचूडामणि | ३७.निर्वाण | ३८.मण्डल | ३९.दक्षिणामूर्ति | ४०.स्कन्द |
४१.शरभ | ४२.अद्वैत | ४३. तारक | ४४.महानारायण | ४५.सौभाग्यलक्ष्मि | ४६.सरस्वतीरहस्य | ४७. मुक्तिक | ४८.भावरिच | ४९.रामतपन | ५०.रामरहस्य |
५१.मुदगलि | ५२.वासुदेव | ५३.पिंगल | ५४.शाण्डील्य | ५५.महाभिक्षुक | ५६.योगशिक्षा | ५७.संन्यास | ५८.तुरियातीत | ५९.परमपरिव्राजक | ६०.नृसिंह |
६१.अक्षमालिका | ६२.अन्नपूर्णा | ६३.एकाक्षर | ६४.अक्षिक | ६५.अध्यात्म | ६६.प्रश्न | ६७.सूर्य | ६८.कुण्डिकादृव्य | ६९.आत्मा | ७०.सावित्रि |
७१.परब्रह्म | ७२.पाशुपत | ७३.त्रिपुरतपन | ७४.अवधूत | ७५.त्रिपुर | ७६.देवि | ७७.भावन | ७८.कथ | ७९.योगकुण्डलि | ८०.रुद्रहृदय |
८१.रुद्राक्ष | ८२.भस्म | ८३.दर्शन | ८४.गणपति | ८५.ताहशव | ८६.महावाक्य | ८७.पंचब्रह्म | ८८.गोपालतयनि | ८९.प्राणाग्निहोत्र | ९०.गरुड |
९१.कृष्ण | ९२.दत्तात्रेय | ९३.वराह | ९४.याज्ञवल्कय | ९५.सत्यायन | ९६.अव्यक्त | ९७.हयग्रीव | ९८.कलिसन्तरण |
उपसंहार[सम्पादन गर्नुहोस्]
उपनिषदहरूको अनुवाद एक जटिल र श्रम साध्य कार्य हो । दर्शन, कला, विज्ञान, प्रविधि, र भाषाका क्षेत्रमा भएका अनेकौँ प्रगति र उपब्धि भए तापनि उपनिषदको विषय वस्तुको प्राविधिक शब्दावली आज पनि आफ्नै मूल स्वरूपमा रहेको छ । यसको सान्दर्भिकता उसको आफ्नै भाषा शैलीमा छ । यसले उपनिषदको विषय वस्तु र प्रस्तुतिकरण देश, काल, र समयभन्दा अतीत छ भन्ने कुरा पुष्टि गर्छ ।
सम्बन्धित लेखहरू[सम्पादन गर्नुहोस्]
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौँ, वि.सं २०५१ ।
- ↑ सांस्कृतिक संवीक्षण, डा. टीकाराम पन्थी, विश्व शिन्दु महासङ्घ, रुपन्देही, वि.सं. २०६३ ।
- ↑ फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।
- ↑ ॐ ज्ञानज्योति त्रैमासिक, अंक २१, विश्व हिन्दु महासङ्घ, रुपन्देही ।
- ↑ https://en.wikipedia.org/wiki/Max_M%C3%BCller
- ↑ धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौँ, वि.सं २०५१ ।
- ↑ एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।
- ↑ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नौ उपनिषद वि.सं. २०३०
- ↑ उपनिषद् वाहिनी, अमृतमय ब्रह्म ज्ञानोपदेश– भगवान श्री सत्य साईबाबा, सत्य साईबाबा बुक्स एन्ड पब्लिकेशन्स ट्रस्ट, दिल्ली, मिति उल्लेख नभएको ।
- ↑ उपनिषद्स– सी राजगोपालाचारी, द हिन्दुस्तान टाइम्स लिमिटेड, दिल्ली, सन् १९४९ ।
- ↑ एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।