महाशिवरात्रि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
महाशिवरात्रि
Worshipers in pashupati.jpg
महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरू
अवलोकितहिन्दूहरू
प्रकारहिन्दू
महत्त्वशिवजी तथा पार्वतीको महाविवाहको दिन
परिपालनव्रत, शिवलिङ्गको पूजा
मितिफाल्गुण कृष्ण चतुर्दशी तिथि
२०२२ dateफाल्गुण २७ [१]
आवृत्तिवार्षिक

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरोबेलपत्र चढाउने गर्दछन्।

यस पर्वका दिन उपवास गरी " ॐ नमः शिवाय" मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ। शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ। फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाइन्छ। सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्।

इतिहास[सम्पादन गर्नुहोस्]

तीन सय वर्ष अघि माघ कृष्णपक्षको चतुर्दशीको मध्यरात महाशिवरात्रिको रूपमा मनाइएको बताइए पनि यकिनका साथ बताउन सकिन्न । [२]

विधान[सम्पादन गर्नुहोस्]

यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिव लिङ्गमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो। यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ। परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ।

विधि
  • यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।
  • राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।
  • व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-

॥शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥

विशेष

चतुर्दशी तिथिका स्वामी शिव हुन्। अत: ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ। तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अत: महाशिवरात्रिमा सरल उपाय गर्दा मत्र पनि इच्छित सुखको प्राप्ति हुन्छ ।

ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चन्द्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ। जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ।

आयोजन अनुष्ठान मेला[सम्पादन गर्नुहोस्]

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनीपिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किरातेश्वर, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनको भीड लाग्दछ। यस अवसरमा भारत लगायत विश्वको विभिन्न स्थानहरूबाट जोगी, योगी एवं भक्तजन पशुपति मन्दिरमा आउँछन् ।[३]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हिन्दू धर्मावलम्वीको मुख्य पर्व महाशिवरात्रि आज, पशुपतिनाथमा घुइँचो", नेपाल प्रेस, अन्तिम पहुँच २७ फाल्गुन २०७७ 
  2. नयाँ पत्रिका, मंगलबार ५ फागुन, २०७१, पृष्ठ ६
  3. http://www.reportersnepal.com/nep/index.php?action=news&id=4580

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]