सफला एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सफला एकादशी
मितिपुष कृष्ण पक्ष एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । पुष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ ।

सफला एकादशी व्रतको व्रतकथा[सम्पादन गर्नुहोस्]

पद्मपुराणमा पौष महिनाको कृष्णपक्षको एकादशीका विषयमा युधिष्ठिरले बताइदिन अनुरोध गरेपछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- ठूला-ठूला यज्ञबाट पनि मलाई त्यति सन्तोष हुदैन, जति एकादशी व्रतको अनुष्ठानबाट हुन्छ । त्यसैले एकादशी-व्रतको विधिवत पालना अवश्य गर्नुपर्छ । पौष महिनाको कृष्णपक्षमा सफला नामको एकादशी पर्छ । यस दिन भगवान नारायणको विधिपूर्वक पूजा गर्नुपर्छ । यो एकादशी कल्याणकारिणी एकादशी हो । जुनसुकै एकादशी समस्त व्रतहरू मध्ये श्रेष्ठ मानिन्छ । सफला एकादशीका दिन विभिन्न नाम-मन्त्र उच्चारण गर्दै फलफूलद्वारा श्रीहरिको पूजा गर्नुपर्छ । धूप-दीपद्वारा देवदेवेश्वर श्रीहरिको अर्चना गर्नुपर्छ । सफला एकादशीका दिन दीप-दान गर्ने चलन छ । रातको समयमा वैष्णवहरूका साथमा नाम-संकीर्तन गर्दै जागरण गर्नु पर्दछ । एकादशीका दिन रात्रिमा जागरण गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो हजारौं वर्षसम्म तपस्या गर्दा पनि प्राप्त हुदैन । व्रत विधानका विषयमा भगवन श्रीकृष्ण बताउनु हुन्छ दशमी तिथिकै दिनदेखि शुद्ध र सात्विक आहार एक छाक मात्र ग्रहण गर्नुपर्छ । यस दिन आचरणमा पनि ख्याल राख्नुपर्छ र सात्विक व्यवहार गर्नु पर्छ । व्रत लिने व्यक्तिले भोग विलास एवं कामनाको भावनालाई त्यागेरा नारायणको छवि मनमा स्थापित गर्नका निम्ति राम्ररी प्रयत्न गर्नुपर्छ । एकादशी तिथिका दिन प्रात: स्नान गरेर शुद्ध वस्त्र धारण गरी निधारमा श्रीखण्ड चन्दन अथवा गोपी चन्दन लगाएर कमल अथवा वैजयन्ती फूल, फल, गङ्गाजल, पञ्चामृत, धूप, दीप सहित लक्ष्मी नारायणको पूजा एवं आरती गर्नुपर्छ । संध्या कालमा इच्छा भए दीपदानपछि फलाहार गर्ण सकिन्छ । द्वादशीका दिन भगवानको पूजापछि कर्मकाण्डी ब्राह्मणलाई भोजन प्रदान गरी जनै एवं दक्षिणा दिई विदा गरेपछि आफूले भोजन गर्नुपर्छ । जो भक्तले यसरी सफला एकादशीको व्रत गर्दछ र रात्रिमा जागरण एवं भजन कीर्तन गर्दछन, उसलाई श्रेष्ठ यज्ञ संपादन गर्नाले जुन पुण्य प्राप्त हुन्छ त्यसभन्दा पनि बढी फलप्राप्ति हुन्छ । भगवान श्रीकृष्णका यस्ता कुरा सुनेर महाराज युधिष्ठिरले पुनः प्रश्न गरे- हे जनार्दन ! पौष कृष्ण पक्षको एकादशीको नाम के हो ? त्यस दिन कुन देवताको पूजन गरिन्छ र त्यसको उदाहरण कस्तो छ ? कृपया मलाई आज्ञा गर्नुहवस् । भक्तवत्सल भगवान श्रीकृष्ण भन्न थाल्नुभयो- धर्मराज,मा तिम्रो स्नेहका कारण एउटा गोपनीय तत्त्व भन्दछु, सुन । एकादशी व्रतका अतिरिक्त म अधिकाधिक दक्षिणा प्राप्त हुने यज्ञबाट पनि प्रसन्न हुन्न । अत: एकादशीको व्रत अत्यन्त भक्ति र श्रद्धाले युक्त भई लिनुपर्छ । हे राजन ! द्वादशीयुक्त पौष कृष्ण एकादशीको माहात्म्य तिमी एकाग्रचित्त भएर सुन । यस एकादशीको नाम सफला एकादशी हो । यस एकादशीका देवता श्रीनारायण हुनुहुन्छ । विधिपूर्वक यस व्रतको पालना गर्नुपर्छ । जसरी नागहरूमध्ये शेषनाग, पक्षीहरूमध्ये गरुड, सबै ग्रहहरूमध्ये चंद्रमा, यज्ञहरूमध्ये अश्वमेध र देवताहरूमध्ये भगवान विष्णु श्रेष्ठ छन्, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीको व्रत श्रेष्ठ छ । जो मनुष्य सदैव एकादशीको व्रत लिने गर्छन, ती मेरा निम्ति परम छन् । हे राजन! अब यस व्रतको कथा सुन । चम्पावती नगरीमा महिष्मान नाम गरेका राजा राज्य गर्दथे । उनका चार पुत्र थिए । ती सबैमा लुम्पक नामको जेठो छोरो महापापी थियो । त्यो पापी सदैव परस्त्री र वेश्यागमन तथा अन्यान्य नराम्रा काममा आफ्ना पिताको धन नष्ट गर्ने गर्थ्यो । सदैव देवता, ब्राह्मण, वैष्णव आदिको निंदा गर्थ्यो । जब राजाले आफ्नो जेठो छोरो बिग्रेको थाहा पाए उनलाई असाध्यै दुःख लाग्यो र त्यसलाई उनले आफ्नो राज्यबाट निकालिदिए । त्यसपछि लुम्पक विचार गर्न थाल्यो कहाँ जाऊँ ? के गरूँ ? आदि । अंत्यमा उसले चोरी कर्मबाट जीविका चलाउने निर्णय गर्‍यो । दिउँसो वनमा बस्थ्यो र रात्रिमा आफ्नो पिताको नगरीमा चोरी गर्थ्यो तथा प्रजालाई दुःख दिई दिई मार्ने कुकर्म पनि गर्थ्यो । केही समय पछि समस्त नगरवासी भयभीत भए । ऊ उता वनमा समेत पशु आदिलाई मारेर खान थाल्यो । नागरिक र राज्यका कर्मचारी उसलाई समात्दथे तर राजाका डरका कारणले छोडदथे । वनमा एउटा अति प्राचीन विशाल पीपलको वृक्ष थियो । मानिसहरू त्यस रुखलाई भगवानसरह पूजा गर्थे । त्यसै वृक्षमुनि त्यो महापापी लुम्पक बसोवास गर्थ्यो । यस वनलाई मानिसहरू देवताको क्रीडास्थली मान्दथे । केही समयपछि पौष कृष्ण पक्षको दशमीका दिन ऊ वस्त्रहीन भएका कारण शीतकालको त्यो संपूर्ण रात सुत्न र निदाउन सकेन । त्यसका हातखुट्टा कक्रिए । सूर्‍योदय हुने बेलासम्म त ऊ मूर्छित भयो । अर्को दिन एकादशीका दिन मध्याह्नको समय सूर्यको तापले उसको मूर्छा हट्यो । लड्दैपड्दै ऊ भोजनको खोजीमा निस्क्यो । पशुलाई वध गर्न ऊ असक्त थियो अत: रुखमुनि झरेका फल उठाएर त्यसै पीपल वृक्षका मुनि आयो । त्यति बेलासम्म सूर्य अस्त भई सकेका थिए । वृक्षमुनि फल राखेर भन्नथाल्यो- हे भगवन! अब हजुरलाई नै अर्पण गर्दछु यी फल। हजुर नै तृप्त हुनुहवस् । त्यस दिन रात्रिको समयमा पनि दु:ख र कष्ट सहन नसकेर सुत्न र निदाउन पनि सकेन । त्यसको यस उपवास र जागरणले भगवान अत्यन्त प्रसन्न हुनुभयो र उसका संपूर्ण पाप नष्ट भए । अर्को दिन प्रात: कालमा एउटा अति सुंदर घोडा अनेक सुंदर वस्तुहरूद्वारा सजिएर उसका सामुन्ने आई उभियो र त्यसै समय आकाशवाणी भयो-हे राजपुत्र ! श्रीनारायणको कृपाले तेरा पाप नष्ट भए । अब तँ आफ्ना पिता समक्ष जा, आफूले गरेका कुकर्म प्रति क्षमा मागेर पश्चाताप गर र राज्य प्राप्त गर । यस्ता वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो र दिव्य वस्त्र धारण गरी ‘भगवान हजुरको जय होस’ भनेर आफ्ना पिताको दरबारमा गयो । उसका पिताले प्रसन्न भई उसलाई समस्त राज्यको भार सुम्पिदिएर वनतर्फ वानप्रस्थ आश्रमतर्फ गए । अब लुम्पक शास्त्रानुसार राज्य गर्न थाल्यो । उसका स्त्री, पुत्र आदि सारा कुटुम्ब भगवान नारायणका परम भक्त भए । वृद्ध भएपछि ऊ पनि आफ्नो छोरालाई राज्यको भार सुम्पिदिएर वनमा तपस्या गर्न गयो र अंत्यकालमा वैकुंठलोकमा गयो । अत: जो मनुष्यले यस परम पवित्र सफला एकादशीको व्रत गर्दछ उसलाई अंत्यमा मुक्ति प्राप्त हुन्छ । जसले यस दिन व्रत लिदैनन तिनीहरू पुच्छर र सिङ्ग न भएका पशु हुन । यस सफला एकादशीको माहात्म्यलाई पढ्ने अथवा श्रवण गर्ने मनुष्यले अश्वमेध यज्ञको फल प्राप्त गर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]