षट्तिला एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
षट्तिला एकादशी
मितिमाघ कृष्ण एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । यसै गरी माघ महिनाको कृष्णपक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ ।

षट्तिला एकादशीको व्रत कथा[सम्पादन गर्नुहोस्]

नारद मुनि त्रिलोकको भ्रमण गर्दै भगवान विष्णुको धाम वैकुण्ठ पुगे । त्यहां पुगेर उनले वैकुण्ठपतिलाई प्रणाम गर्दै उनीसित आफ्नो जिज्ञासा व्यक्त गर्दै प्रश्न गरे- प्रभु ! षट्तिला एकादशीको कथा कस्तो छ र यस एकादशीको व्रत लिदा केकस्तो पुण्य प्राप्त हुन्छ ? देवर्षिद्वारा विनित भावले यसरी प्रश्न सोधिए पछि लक्ष्मीपति भगवान विष्णुले आज्ञा गर्नुभयो- प्राचीन कालमा पृथ्वीमा एउटी ब्राह्मणी बस्दथिइन् । ब्राह्मणीको मप्रति असाध्यै श्रद्धा एवं भक्ति थियो । तिनले मेरा निमित्त सम्पूर्ण व्रत लिने गर्थिन् । एक पटक तिनले एक महिनासम्म व्रत बसेर मेरो आराधना गरिन् । व्रतको प्रभावले स्त्रीको शरीर त शुद्ध भयो तर तिनले कहिल्यै पनि ब्राह्मण एवं देवताका निम्ति अन्न दान गर्दिनथिन् अत: मैले विचार गरे यी महिला बैकुण्ठमा बसेर पनि अतृप्त नै रहनेछिन्, त्यसैले म स्वयं एक दिन भिक्षा ग्रहण गर्न जानु पर्‍यो । मैले ती वृद्धा ब्राह्मणीका घरमा पुगेर भिक्षाको याचना गरे, अनि उनले एउटा माटोको डल्लो उठाएर मेरा हातमा राखिन् । म त्यो डल्लो लिएर आफ्ना धाममा फर्किए । केही समय पछि ती स्त्री पनि देह त्याग गरी मेरा लोकमा आइन । यहाँ उनले एउटा एक कुटी र आँपको रुख प्राप्त गरिन् । खाली कुटीलाई देखेर ती महिला अत्तालिदै म सामु आइन र भनिन्- म त धर्मपरायण छु, अनि मेरा भागमा चाहि किन खाली कुटी प्राप्त भएको हो प्रभु ! अनि मैले उसलाई बताए कि यो अन्नदान नगरेकाले तथा मलाई माटोको डल्लो दिएको परिणाम हो । त्यसपछि मैंले त्यस ब्राह्मणीलाई भने- जब देव कन्याहरू तिमीलाई भेट्न आउनेछन त्यस बेला आफ्नो कुटिको दैलो खुल्ला राख्नू, उनीहरूले तिमीलाई षट्तिला एकादशीको व्रतको विधान बताउनेछन् । स्त्रीले त्यसै गरिन् र जुन विधि देवकन्याले बताए त्यस विधिले ती ब्राह्मणीले षट्तिला एकादशीको व्रत लिइन् । व्रतको प्रभावले उसको कुटी अन्नधनले भरिपूर्ण भयो । त्यसैले हे नारद ! जो व्यक्तिले यस एकादशीको व्रत लिन्छ र तिल एवं अन्न दान गर्दछ त्यसलाई मुक्ति र वैभव प्राप्ति हुने गर्दछ ।

व्रत विधान र महत्त्व[सम्पादन गर्नुहोस्]

व्रतविधानका सम्बन्धमा जुन विषयवस्तु पुलस्य ऋषिले दलभ्य ऋषिलाई बताएकाथिए त्यो यहाँ प्रस्तुत गरिन्छ । ऋषि भन्दछन- माघको महिना पवित्र र पावन मानिन्छ, यस महिनामा व्रत र तपको ठूलो महत्त्व छ । यस महिनामा कृष्णपक्षमा आउने एकादशीलाई षट्तिला भन्दछन । षट्तिला एकादशीका दिन मनुष्यले भगवान विष्णुका निमित्त व्रत लिनुपर्छ । व्रत लिने व्यक्तिले गंध, पुष्प, धूप, दीप, ताम्बूल सहित विष्णु भगवानको षोड्षोपचार विधिले पूजा गर्नुपर्छ । मासतिल मिश्रित खिचडी पकाएर भगवानलाई लगाउनु पर्छ । रात्रिको समयमा तिलले १०८ पटक "ॐ नमो भगवते वासुदेवाय स्वाहा" यस मन्त्रले हवन गर्नु पर्छ । यस एकादशीको व्रतमा तिललाई ६ किसिमले उपयोग गर्नु उत्तम फलदायी मानिएको छ । जुन व्यक्तिले जति किसिमले तिलको उपयोग गर्दछ त्यसलाई त्यति हजार वर्ष स्वर्गप्राप्ति हुन्छ । ऋषिवरले जुन ६ किसिमको उपयोग बताउनुनु भएको छ त्यो यस प्रकार छ-

  • १. तिलमिश्रित जलले स्नान गर्नु,
  • २. तिलले शरीरको मालिश गर्नु,
  • ३. तिलको तिलक लगाउनु,
  • ४. तिलमिश्रित जल-पान गर्नु,
  • ५. तिलको भोजन र
  • ६. तिलद्वारा हवन।

यी वस्तुलाई आफूले स्वयं ग्रहण र उपयोग त गर्नै पर्छ तथा कुनै श्रेष्ठ ब्राह्मणलाई बोलाएर उनलाई पनि यी वस्तु उपभोग हुने गरी दानादि गर्नुपर्छ। यस प्रकार जसले षट्तिला एकादशीको व्रत लिन्छ, भगवानले उसलाई अज्ञानतापूर्वक गरेभएका सम्पूर्ण अपराधबाट मुक्त बनाई दिनुहुन्छ र पुण्य प्रदान गरेर स्वर्गमा स्थान प्रदान गर्नुहुन्छ। यस कथनलाई सत्य मानेर जो भगवद्भक्तले यो व्रत विधिवत लिन्छ त्यसको प्रभुले निश्चय नै उद्धार गर्नुहुन्छ

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]