मोक्षदा एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोक्षदा एकादशी
मितिमार्ग शक्ल एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । मार्ग शक्ल एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । यो दिनलाई नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दु धर्मावलम्बीहरूले पर्वको रूपमा मनाउने गर्दछन् ।

मोक्षदा एकदशीको व्रत कथा[सम्पादन गर्नुहोस्]

पद्मपुराणको एउटा प्रसङ्गमा भगवान श्रीकृष्ण धर्मराज युधिष्ठिर सँग भन्नुहुन्छ- मार्गशीर्ष शुक्ल एकादशीका दिन तुलसीको मञ्जरी, धूप-दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्छ। मोक्षदाएकादशी ठूला-ठूला पातकहरूको नाश गर्ने सामर्थ्य राख्दछ। यस दिन उपवास गरेर श्रीहरिको नाम-संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्छ। मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको हो। अत: यो तिथि गीता जयन्तीका नामबाट पनि विख्यात छ। यस दिनदेखि गीता-पाठको अनुष्ठान प्रारम्भ गर्नुपर्छ तथा प्रतिदिन यथासम्भव गीता पढ्नुपर्छ। गीतारूपी सूर्यको प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुन्छ। भगवान भन्नुहुन्छ यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने मानिन्छ। यस सन्दर्भमा लीलाधारी श्रीकृष्णले जुन कथा धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको थियो त्यो प्रसङ्ग उल्लेख गर्न योग्य छ। भगवान भन्नु हुन्छ एकजना वैखानस नाम गरेका राजा थिए उनको राज्यमा सबै सुख-शान्ति पूर्वक बस्दथे। योगी, मुनि, सिद्ध, सन्त सहित सबै जीवजन्तु बिना कुनै भय आआफ्ना कर्ममा लिप्त थिए। यी प्रजापालक राजाले एक रात स्वप्नमा आफ्ना पिता नर्कको यातना भोगिरहेको दृश्य देखे। राजा आफ्ना पिताको त्यो अवस्था देखेर छट्पटिए र रातभरि निदाउन सकेनन। बिहान क्षितिजमा सूर्यको लालिमा देख्नासाथ उनी ज्ञानी पण्डित र विद्वानको शरणमा पुगे र जेजस्तो स्वप्नमा देखेका थिए त्यो विवरण सुनाए। राजाका कुरा सुनेर पण्डितहरूले उनलाई त्रिकालदर्शी ऋषि पर्वतसमक्ष जाने सल्लाह दिए। राजा पर्वतका कुटीमा पुगे र विनम्रता पूर्वक उनीसँग आफ्नो समस्या बताए। राजाको अधीरता र छट्पटीलाई देखेर महाज्ञानी पर्वतले उनलाई भने-हजुरका पिता आफ्नो एउटा गल्तीको सजाय भोग्दै हुनुहुन्छ। उनलाई नरकबाट मुक्त बनाउन हजुरले मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात मोक्षदा एकदशीको व्रत लिनु पर्छ। यस एकादशीको पुण्य हजुरले आफ्ना पितालाई दिनुपर्छ अनि तपाईका पिता नर्कबाट मुक्त हुनु हुनेछ। राजाले विधिपूर्वक एकादशीको व्रत गरे र प्राप्त पुण्य पिताजीलाई अर्पित गरिदिए। राजा वैखानसका पिता यस पुण्यको प्रभावले तुरुन्त नर्कबाट मुक्त भए र स्वर्गमा उनले स्थान प्राप्त गरे।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]