शीतला अष्टमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शीतलाष्टमीबाट अनुप्रेषित)
शीतला अष्टमी
मितिकृष्ण पक्ष को अष्टमी (चैत्र, बैशाख, ज्येष्ठअसार)

सनातन हिन्दू धर्ममा प्रकृतिका शाश्वत पक्षमा आधारित चाडपर्व र व्रत सम्पादन गर्ने पद्धति रहीआएको छ । हुरीबतास र वर्षातको मौसममा देखिने विभिन्न प्राकृतिक प्रकोप र रोगव्याधिबाट टाढा रहने उद्देश्यले भगवती शीतलाको भक्ति र आराधना गरी शीतला अष्टमी व्रत गर्ने शास्त्रीय विधान छ । यो आराधना खासगरी वसन्त र गृष्म ऋतुका चैत्र, बैशाख, ज्येष्ठअसार महिनामा गर्ने प्रचलन छ । ती महिनामा पर्ने प्रत्येक कृष्ण पक्ष को अष्टमी तिथिका दिन शीतला भगवतीलाई प्रसन्न तुल्याई प्राकृतिक प्रकोप र रोगव्याधिबाट छुटकारा दिलाउन बिन्ती बिसाउने परम्परा रही आएको छ । त्यसैले यस व्रतलाई शीतलाष्टमी भन्ने गरिन्छ । बासी खानेकुरा चढाउने र बासी खानेकुरा प्रसादका रूपमा ग्रहण गरी मनाइने हुँदा यस व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाण्डौ उपत्यकामा बासेरा पनि भन्ने गरिन्छ । यस व्रतलाई सम्पादन गर्नाले व्रतालुका घरपरिवारमा अग्निप्रकोप र ज्वरो एवं घाउखटिराजन्य रोगको प्रकोपबाट मुक्तिप्राप्त हुन्छ भन्ने विश्वास लिइन्छ । यस दिनको व्रत सम्पादन गर्न प्रात:कालमा स्नानादिबाट निवृत्त भई श्रद्धा-भक्तिपूर्वक विधिविधान सहित भगवती शीतला देवीको पूजा गर्नुपर्दछ । पूजा सम्पादन गर्न एकदिन अघि नै तैयार गरिएको प्रसाद र नैवेद्य माता शीतलालाई भोग लगाउने चलन छ । शीतलताकी प्रतिमूर्ति माता शीतलाको आराधना र व्रत सम्पादन गर्ने व्यक्तिका घरमा उक्त दिन चूलो बाल्न प्रतिबन्ध रहेको मानिन्छ र त्यसदिन कुनै पनि खानेकुरा पकाउन र तुल्याउन निषेधित मानिन्छ । त्यसैले पूजा सम्पन्न गर्न समेत बासी खानेकुरालाई नैवेद्यका रूपमा भगवतीलाई अर्पण गर्ने गरिएको हो । भगवतीलाई नैवेद्य अर्पण गरेपछि घरका सबै सदस्य उपस्थित भएर भगवती शीतलासँग परिवारका सबै सदस्यको आरोग्य र सुस्वास्थ्यको कामना गर्ने गरिन्छ ।[१]

शीतला व्रतसँग जोडिएको लोकआहान[सम्पादन गर्नुहोस्]

कुनै एउटा गाउँमा एक जना महिला बस्ने गर्दथिइन् । ती असाध्यै दुःखी र गरिब थिइन् । घरमा खानेकुराको अभाव थियो । गाउँका अन्य मानिसले पनि उनलाई हेला गर्ने गर्दथे । कसैले उनलाई बोक्सी र डायनको संज्ञा दिएका थिए भने कोही उनलाई पागल र बहुलाही भन्दथे । उनले गाउँका मानिसले फालेका र मिल्काएका खानेकुरा खानुपर्दथ्यो । त्यति धेरै दुःखपीडा र कष्ट भएपनि उनमा आध्यात्मिक चेतना भने विद्यमान थियो । गाउँका हुनेखानेले मिल्काएका फोहोर, जूठो र बासी खानेकुराबाट मात्र उनको जीविका चलेपनि उनी भोजन गर्नुअघि भगवती शीतलाको स्मरण गरी उनलाई आफूले पाएको जुठो, फोहोर र बासी खानेकुरा समर्पण गरेर मात्र खाने गर्दथिइन् । यसरी नै उनको दैनिकी सञ्चालित थियो । चैत वैशाखको हावाहुरीको मौसम चल्दै थियो । त्यस्तै बेलामा एक पटक गाउँमा अचानक आगलागी भयो । गाउँका सबै घरहरू अग्निदहनको चपेटामा पर्यो तर ती बृद्ध महिलाको आश्रयस्थलमा केही पनि भएन । गाउँमा आगलागी पछि सबै हुनेखानेको हरिबिजोग भयो । जसैतसै त्यस सङ्कटबाट मुक्त भयो र पूर्ववत् गाउँको जनजीवन यथावत् चल्न थाल्यो । अर्को वर्ष फेरि चैत्र महिना आयो । त्यस वर्ष गाउँका सबै केटाकेटी र बुढाबुढी ठेउला, दादुरा, ज्वरो र लू जस्ता रोगले थलिए । धेरै मानिसहरूको मृत्यु भयो, झण्डै गाउँ नै सखाप हुने स्थिति आयो । बाँचेकाहरूले पनि तङ्ग्रिन लामो समयसम्म प्रतीक्षा गर्नु पर्यो । तर ती बृद्ध महिलालाई केही पनि भएन । तेस्रो वर्ष उक्त मौसम सुरु हुनुअघि नै त्यस गाउँका ठूलाबडा र भद्रभलादमी जम्मा भएर अब हुने प्राकृतिक प्रकोपबाट कसरी जोगिने भन्ने विषयमा छलफल गर्न थाले । त्यस छलफलमा तिनले यस स्थितिबाट पूर्ण रूपमा जोगिन गाउँ नजिकै वनमा तपस्या गरेर बस्ने गर्दभ ऋषिलाई सोधेर स्थायी उपाय अवलम्बन गर्ने सहमति भयो । सल्लाह गरेर एकदिन सबै गाउँले जम्मा भएर ऋषि गर्दभको आश्रममा गए । ऋषिलाई साष्टाङ्ग दण्डवत् गरेर तिनले आफूहरू आश्रममा आउनु परेको वास्तविकता बिन्ती गरे । गाउँलेका जिज्ञासा सुनेपछि ऋषि गर्दभले मौसमी प्रकोपबाट जोगिन माता शीतलाको पूजा गर्ने सल्लाह दिनुभयो । पुनः गाउँलेले पूजाको प्रक्रिया र विधिविधानका बारेमा जिज्ञासा राख्दा ऋषिले भने माता शीतलाकी परम भक्त तिमीहरूकै गाउँको एकान्तमा बस्ने बृद्धा स्त्री छन् । तिनलाई सोधेर व्रतसम्पादन गर्दा हुन्छ । ऋषिका कुरा सुनेर गाउँलेहरू दङ्ग परे । आफूहरूले सँधै घृणा र हेला गरेकी ती बुढी आमैबाट नै आफ्ना समस्या हल हुने कुरामा तिनलाई विश्वासै भएन । गाउँलेहरू छक्क परेको देखेर ऋषिले तिनलाई सम्बोधन गर्दै पुनः भने प्राचीनकालदेखि नै शीतला माताको महात्म्यको ठूलो महिमा रही आएको छ । स्कन्द पुराणमा माता शीतलाको वाहन गधा रहेको बताइएको छ । तिनले आफ्ना चारवटा हातमा क्रमशः कलश, नाङ्ग्लो, कुचो, र नीमवृक्षको पात लिएको नग्नावस्थाको स्वरूप धारण गरेकी हुन्छिन् । घाउ खटिरा, बिफर, ठेउला र अतिसार जस्ता रोगको निवारण गर्न शीतला देवीले ठूलो सघाउ पुर्याउँछिन् । त्यसैले यिनले धारण गरेका चिजबिजले शीतलताको प्रतीकात्मक अर्थ बहन गरेको देखिन्छ । यिनको आराधना गर्ने क्रममा स्कन्द पुराणमा लेखिएको शीतलाष्टक स्तोत्रको पाठ गर्ने विधान छ । यसको रचना भगवान् शिवजीले लोककल्याणका लागि गर्नु भएको हो । यस स्तोत्रले भगवती शीतलाको महिमागान गरेको छ, साथै यसका माध्यमबाट उनको उपासनाका निम्ति प्रेरणा समेत प्राप्त हुन्छ । वन्दे,हंशीतलांदेवीं रासभस्थांदिगम्बराम्॥ मार्जनीकलशोपेतां सूर्पालंकृतमस्तकाम्॥ भन्ने मन्त्रको पाठ गर्ने गरेमा समेत यिनले अग्निजन्य प्राकृतिक प्रकोप र तापजन्य रोगबाट मुक्ति प्रदान गर्ने गर्दछिन् । यस मन्त्रको अर्थ हुन्छ - गधाको पिठ्युँमा आसीन, दिगम्बरा, हातमा कुचो, र कलश धारण गर्ने भएकी, टाउकामा नाङ्गलो बोकेकी भगवती शीतलाको म वन्दना गर्दछु । यस मन्त्रको मात्र मनन गर्दा समेत के स्पष्ट हुन्छ भने माता शीतला स्वच्छताकी प्रतिमूर्ति हुन् र हामीले मूलतः सावधानी र स्वच्छताको व्यवस्थापन गर्नसक्यौं भने सुस्वास्थ्य र सुशान्ति प्राप्त गर्न सघाउ पुग्छ । त्यसैले तपाईँहरू आफ्नै गाउँमा बसोबास गर्ने ती बृद्धाका शरणमा गई माता शीतलाको पूजाआराधना र व्रत सम्पादन गर्ने योजना बनाउनुहोस् र निष्ठापूर्वक कार्यसम्पन्न गर्नुहोस् । समस्त प्राकृतिक प्रकोपबाट छुटकारा पाउनु हुनेछ । ऋषिको आज्ञा पाएपछि सबै गाउँले घर फर्किए । भोलिपल्ट आआफ्ना घरमा भएका खाद्यसामग्री र फलफूल तथा वस्त्रालङ्कार बोकेर ती सबै ती बृद्धाका घरमा गई सर्वप्रथम आफूहरूले जीवनभरि तिनलाई घृणा र हेला गरेकोमा एकै स्वरले क्षमा याचना गरे र शीतलादेवीको व्रत सम्पादन गर्न विधि र नियम उल्लेख गर्न अनुरोध गरे । ती बृद्धाले गाउँले आग्रहलाई स्वीकार गर्दै आफूले जानेका विधिविधान बताईन् । उनले भनिन् माता शीतलाको उपासना गर्नाले देवी प्रसन्न रहने गर्दछिन् र व्रतालुका कुलमा दाहज्वर, पीतज्वर, विस्फोटक, दुर्गन्धयुक्त घाउखटिरा, आँखाका समस्त रोग, बिफर, ठेउला, डण्डीफोर र छालाका अन्य रोग नाश हुने गर्दछन् । शीतला माताको व्रतका दिन घरमा चुलो बाल्नु हुँदैन । सामान्यतया चैत्र, वैशाख, ज्येष्ठ र आषाढ महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन यिनको पूजा-अर्चनाका निम्ति उपयुक्त हुन्छ । त्यसैले यी दिनहरू शीतलाष्टमीका नामले प्रख्यात छन् ।[१]

मनाउने तरिका[सम्पादन गर्नुहोस्]

यस व्रतका दिन भान्सा कोठाको भित्तामा घिउको लेपन गरी पाँचै औंला देखिने हत्केलाको छाप हान्ने गरिन्छ । यस हत्केलाको छापमा अबिर र अक्षता दलेर शीतला माताको स्तुतिको पाठ गर्नु पर्छ । रातभरि घिउको बर्तनमा दियो बाली जागरण समेत गर्नु पर्दछ । एउटा काँसाको थालीमा बासी नैवेद्य राखेर घरका सबै सदस्य सम्मिलित भई शीतला माताको मन्दिरमा भोग लगाउनु पर्दछ । पूजाको अन्त्यमा घरबाहिर दोबाटो वा चौबाटोमा बासी पानी खन्याएर पृथ्वीको पूजासमेत गर्नुपर्दछ । त्यसपछि व्रतालुले मातापिता वा घरका वयोबृद्ध सदस्यको सम्मान गरी आशीर्वाद ग्रहण गर्नु पर्दछ । तदुपरान्त गाउँका असहाय, निर्धन र दुःखी वयोबृद्ध व्यक्तिहरूलाई निमन्त्रणा गरी भोजनादि गराएर व्रतको समापन गर्नु पर्दछ । ती बृद्धाका यस्ता कुरा सुनेपछि सबै गाउँले मिलेर सामूहिक रूपमा शीतला देवीको व्रत सम्पादन गरे । उक्त आयोजनाको अगुवाई तिनै बृद्धाले गरिन् । समारोहमा गर्दभ ऋषिसमेत उपस्थित भए । त्यसपछि गाउँमा फेरि कहिल्यै पनि त्यस्ता प्राकृतिक प्रकोपहरू भएको सुन्नमा आएन । सबै सुखी, सम्मृद्ध भए । रोगव्याधिले गाउँमा प्रवेश पाएन ।[१]

शीतलाष्टकको मूलपाठ[सम्पादन गर्नुहोस्]

ॐ श्री शीतलायै नमः॥[१]

विनियोगः[सम्पादन गर्नुहोस्]

ॐ अस्य श्रीशीतलास्तोत्रस्य महादेव ऋषिः, अनुष्टुप् छन्दः, श्रीशीतला देवता, लक्ष्मी (श्री) बीजम्, भवानी शक्तिः, सर्व-विस्फोटक-निवृत्यर्थे जपे विनियोगः ॥[१]

ऋष्यादि-न्यासः[सम्पादन गर्नुहोस्]

श्रीमहादेव ऋषये नमः शिरसि॥

अनुष्टुप् छन्दसे नमः मुखे॥

श्रीशीतला देवतायै नमः हृदि॥

लक्ष्मी (श्री) बीजाय नमः गुह्ये॥

भवानी शक्तये नमः पादयो॥

सर्व-विस्फोटक-निवृत्यर्थे जपे विनियोगाय नमः सर्वाङ्गे॥[१]

ध्यानः[सम्पादन गर्नुहोस्]

ध्यायामि शीतलां देवीं, रासभस्थां दिगम्बराम्।

मार्जनी-कलशोपेतां शूर्पालङ्कृत-मस्तकाम्॥[१]

मानस-पूजनः[सम्पादन गर्नुहोस्]

ॐ लं पृथ्वी-तत्त्वात्मकं गन्धम्॥

श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥

ॐ हं आकाश-तत्त्वात्मकं पुष्पं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥

ॐ यं वायु-तत्त्वात्मकं धूपं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥

ॐ रं अग्नि-तत्त्वात्मकं दीपं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥

ॐ वं जल-तत्त्वात्मकं नैवेद्यं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥

ॐ सं सर्व-तत्त्वात्मकं ताम्बूलं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥[१]

मन्त्रः[सम्पादन गर्नुहोस्]

ॐ ह्रीं श्रीं शीतलायै नमः॥

(यस मन्त्रलाई एघार पटक जप गर्नुपर्छ)[१]

मूल-स्तोत्र[सम्पादन गर्नुहोस्]

॥ईश्वर उवाच॥

वन्दे,हं शीतलां-देवीं, रासभस्थां दिगम्बराम् ।

मार्जनी-कलशोपेतां, शूर्पालङ्कृत-मस्तकाम् ॥१॥

वन्दे,हं शीतलां-देवीं, सर्व-रोग-भयापहाम् ।

यामासाद्य निवर्तन्ते, विस्फोटक-भयं महत् ॥२॥

शीतले शीतले चेति, यो ब्रूयाद् दाह-पीडितः ।

विस्फोटक-भयं घोरं, क्षिप्रं तस्य प्रणश्यति ॥३॥

यस्त्वामुदक-मध्ये तु, ध्यात्वा पूजयते नरः ।

विस्फोटक-भयं घोरं, गृहे तस्य न जायते ॥४॥

शीतले ! ज्वर-दग्धस्य पूति-गन्ध-युतस्य च ।

प्रणष्ट-चक्षुषां पुंसां , त्वामाहुः जीवनौषधम् ॥५॥

शीतले ! तनुजान् रोगान्, नृणां हरसि दुस्त्यजान् ।

विस्फोटक-विदीर्णानां, त्वमेका,मृत-वर्षिणी ॥६॥

गल-गण्ड-ग्रहा-रोगा, ये चान्ये दारुणा नृणाम् ।

त्वदनुध्यान-मात्रेण, शीतले! यान्ति सङ्क्षयम् ॥७॥

न मन्त्रो नौषधं तस्य, पाप-रोगस्य विद्यते ।

त्वामेकां शीतले! धात्री, नान्यां पश्यामि देवताम् ॥८॥[१]

फल-श्रुति[सम्पादन गर्नुहोस्]

मृणाल-तन्तु-सदृशीं, नाभि-हृन्मध्य-संस्थिताम् ।

यस्त्वां चिन्तयते देवि ! तस्य मृत्युर्न जायते ॥९॥

अष्टकं शीतलादेव्या यो नरः प्रपठेत्सदा ।

विस्फोटकभयं घोरं गृहे तस्य न जायते ॥१०॥

श्रोतव्यं पठितव्यं च श्रद्धाभाक्तिसमन्वितैः ।

उपसर्गविनाशाय परं स्वस्त्ययनं महत् ॥११॥

शीतले त्वं जगन्माता शीतले त्वं जगत्पिता ।

शीतले त्वं जगद्धात्री शीतलायै नमो नमः ॥१२॥

रासभो गर्दभश्चैव खरो वैशाखनन्दनः ।

शीतलावाहनश्चैव दूर्वाकन्दनिकृन्तनः ॥१३॥

एतानि खरनामानि शीतलाग्रे तु यः पठेत् ।

तस्य गेहे शिशूनां च शीतलारुङ् न जायते ॥१४॥

शीतलाष्टकमेवेदं न देयं यस्यकस्यचित् ।

दातव्यं च सदा तस्मै श्रद्धाभक्तियुताय वै ॥१५॥

॥इति श्रीस्कन्दपुराणे शीतलाष्टकं सम्पूर्णम् ॥[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]