घण्टाकर्ण चतुर्दशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घण्टाकर्ण चतुर्दशी
मितिसाउन कृष्ण पक्षको चतुर्दशी
घण्टाकर्ण

घण्टाकर्ण चतुर्दशी साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो । यस दिन शिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । काठमाडौं उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन् । 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ । वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र 'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्‍ने गरिन्छ ।

दन्त्यकथा[सम्पादन गर्ने]

घण्टाकर्ण चतुर्दशीका बारेमा एउटा किंवदन्ती प्रचलित छ-

नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो । त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र सम्मृद्धका तुलनामा मगन्तेहरू उसका मन पर्ने मानिसहरू हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निउँमा उसले मारिदिने गर्दथ्यो । त्यस नरभक्षी राक्षसले बाटामा हिंड्ने महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो । आतङ्क उसको दिनचर्या जस्तै बनेको थियो । एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो । भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो । उसले मौका यही हो भन्दै धाप (भासभएको जमिन)तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर देखायो। राक्षस भ्यागुतोले देखाएको ठाउँतिरै लाग्यो । त्यस ठाउँमा पुग्नासाथ ऊ धापमा ग्वाम्मै खस्यो । उसले आफ्नो विशाल शरीरलाई त्यस भासबाट प्रशस्त उपाय गर्दा पनि निकाल्न सकेन । साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे । कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ । रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ । बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफासुग्घर बनाइन्छ । केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन् । देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । यो पर्व नेवार समुदायमा महत्वका साथ मनाउने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ । यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]