पापमोचिनी एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पापमोचिनी एकादशी
मितिचैत्र कृष्ण एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि । पूर्णिमा पछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । चैत्र महिनाको कृष्ण एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ ।

पापमोचिनी एकादशी व्रत कथा[सम्पादन गर्नुहोस्]

पुराण-अनुसार चैत्र कृष्ण पक्षको एकादशी पाप मोचिनी हो अर्थात पापलाई नष्ट गर्ने सामर्थ्य भएको । स्वयं भगवान श्रीकृष्णले यसबारेमा अर्जुनलाई बताउनु भएको छ । कथा-बमोजिम भगवान अर्जुन सँग भन्नुहुन्छ, राजा मान्धाताले एक समयमा लोमश ऋषिसित 'मनुष्य जसले जानी नजानी पाप कर्म गर्दछ त्यसबाट कसरी मुक्त हुन सक्ला' भनी प्रश्न गर्नुभयो । राजा मान्धाताको यस प्रश्नको उत्तरमा लोमश ऋषिले राजालाई एउटा कथा सुनाउनु भयो,जुन यस प्रकार छ । जो यस प्रकार रहेको छ :-

चैत्ररथ नामक सुन्दर वनमा च्यवन ऋषिका पुत्र मेधावी ऋषि तपस्यामा लीन थिए । एक दिन मंजुघोषा नामकी अप्सराको दृष्टि ऋषिप्रति आकर्षित हुन पुग्यो र तीमाथि अप्सरा मोहित भइन् अनि ऋषिलाई आफूतर्फ आकर्षित गर्ने प्रयत्न गर्न थालिन । कामदेव पनि त्यति बेला त्यही बाटो कतै जाँदै थिए, कामदेवको नजर अप्सरामा पर्‍यो र उनको मनोभावनालाई बुझ्दै कामदेव अप्सराको सहायता गर्न थाले । अप्सरा आफ्नो प्रयासमा सफल भईन् र ऋषि कामपीडित हुन पुगे । कामपीडित भएर ऋषिले भगवान शिवको तपस्या बिर्सिए र अप्सरासँग रमण गर्न थाले । धेरै वर्षपछि जब उनको चेतना जाग्यो अनि उनलाई अनुभव भयो कि उनी शिवको तपस्याबाट विमुख भई सकेका छन् । त्यस पछि उनलाई ती अप्सरासित साह्रै रिस उठ्यो र तपस्या भंग गर्ने दोषी मानेर ऋषिले अप्सरालाई श्राप दिए-'तिमी पिशाचिनी बन'। श्रापबाट दु:खी भएर ती अप्सरा ऋषिका गोडामा शरणमा परिन् र श्रापबाट मुक्ति पाउन अनुनय गर्न थालिन् । मेधावी ऋषिले अप्सरालाई विधिपूर्वक चैत्र कृष्ण एकादशीको व्रतको पालना गर्न भने । भोगमा निमग्न भएका कारण ऋषिको तेज पनि लोप भएको थियो अत: ऋषिले पनि यस एकादशीको व्रत गरे जसबाट उनको पाप नष्ट भयो । उता अप्सरा पनि यस व्रतका प्रभावले पिशाच योनिबाट मुक्त भइन् र उनलाई सुन्दर रूप प्राप्त भयो । त्यसपछि अप्सरा स्वर्गतर्फ लाग्दी भइन् ।

व्रत विधान[सम्पादन गर्नुहोस्]

यस व्रतका विषयमा भविष्योत्तर पुराणमा विस्तारपूर्वक वर्णन गरिएको छ । यस व्रतमा भगवान विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ । व्रत लिनेले दशमी तिथिका दिन एक पटक मात्र सात्विक भोजन गर्नुपर्छ र मनबाट भोगविलासको भावनालाई त्यागेर हरिमा मन लगाउनु पर्छ । एकादशीका दिन सूर्योदय कालमा स्नान गरेर व्रतको संकल्प गर्नुपर्छ । संकल्प-उपरान्त षोडशोपचार विधि सहित श्री विष्णुको पूजा गर्नुपर्छ । पूजा-पश्चात भगवानको प्रतिमा वा चित्रका सामुन्ने बसेर भगवत् कथाको पाठ अथवा श्रवण गर्नुपर्छ । एकादशी तिथिका दिन जागरण गर्नाले धेरै गुणा पुण्य प्राप्त हुन्छ, अत: रात्रिमा पनि निराहार रहेर भजन कीर्तन गर्दै जागरण गर्नुपर्छ । द्वादशीका दिन प्रात: स्नान गरी विष्णु भगवानको पूजा गर्नुपर्छ त्यसपछि ब्राह्मणलाई भोजन गराएर दक्षिणा सहित विदा गर्नुपर्छ र आफूले पनि भोजनादि गर्नुपर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]