करवा चौथ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी भारतको पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेशराजस्थान प्रान्तमा र फाटफुट रूपमा नेपालको तराई लगायत विश्वभरि नै मनाउने गरिन्छ । यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । यो पर्वलाई विशेष गरी सौभाग्यवती (पति जीवित भएकी सधवा) स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन् । सामान्यतया कार्तिकको महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि (चन्द्रोदयव्यापिनी चतुर्थी) पर्दछ, त्यसै दिनको विहान ब्रह्म मूहुर्त (करिब बिहानको चार बजे)बाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ । करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ । यस बाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन्, यद्यपि बहुसंख्यक महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्दछन् । नेपालमा मनाइने तीजको व्रत जस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । १२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्यापन (उपसंहार) गर्ने नियम छ । तर कतिपय सधवा स्त्रीहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछन् ।

व्रतको विधिविधान र नियम[सम्पादन गर्ने]

पतिको दीर्घायु तथा अखण्ड सौभाग्यप्राप्तिका लागि यस दिन भालचन्द्र भगवान् गणेशको पूजा-आराधना गरिन्छ । कार्तिक कृष्ण पक्षको चन्द्रोदयव्यापिनी चतुर्थीका दिन एकाबिहानै ब्रह्ममूहुर्तमा उठेर स्नान गरी आफ्नो सौभाग्य(पति)को दीर्घायु, सुस्वास्थ्य र अटल सौभाग्यको कामना गर्दै दिनभरि निराहार रहेर व्रत सम्पादन गर्नुपर्दछ । यस दिन दियो, कलश र गणेशको स्थापना गरी ऋद्धिबुद्धि समेत भगवान् गणेश, चन्द्रमा, शिव, पार्वती र कार्तिकेयको पूजा गर्नुपर्दछ । पूजाका लागि आवश्यक नैवेद्य तैयार गर्दा शुद्ध गाईको घिउमा गहुँको पीठोलाई भुटेर त्यसमा चिनी वा गुड मिसाएर विवाह व्रतबन्धमा बनाइने कसार जस्तै लड्डु बनाउनु पर्दछ । त्यस्तै कालो माटोमा चिनीको चासनी (पाक) मिसाएर एउटा वा इच्छाइएको संख्यामा (आआफ्नो सामर्थ्यअनुसार १०/१३ आदि) करुवा बनाउनु पर्दछ । कालो माटोबाट निर्माण गर्न नसकेमा तामाको करुवा किनेर पनि काम चलाउन सकिन्छ । पूजा सम्पन्न गर्नका निमित्त सेतो बालुवा वा सेतो माटोको वेदी बनाएर त्यसमाथि प्रत्येक देवीदेवताका लागि बेग्लाबेग्लै कलश र थाली राखी माथि उल्लिखित देवीदेवताको मूर्ति वा प्रतिमा स्थापना गर्नु पर्दछ, तर मूर्ति वा प्रतिमाको अभावमा सुपारीमा धागो बाँधेर पनि राख्न सकिन्छ । पूजा गर्दा सम्भव भएसम्म योग्य पुरोहितको सहायताले वैदिक वा पौराणिक मन्त्रहरूको प्रयोग गरी षोडशोपचार पद्धतिले गर्न/गराउन सकिन्छ, तर पण्डितजीको अभावमा क्रमशः भगवान् गणेशलाई ॐ ऋद्धिबुद्धिसहिताय श्री मन्महागणाधिपतये नमः भनेर पूजासामग्री अर्पण गर्नु पर्दछ, यसै गरी चन्द्रमालाई ॐ चन्द्रमसे नमः, शिवजीलाई ॐ नमः शिवाय, पार्वतीलाई ॐ पार्वत्यै नमः र कार्तिकेयलाई ॐ षण्मुखाय नमः भन्दै पूजा गर्नु पर्दछ । पूजाको समापनमा कम्तीमा एउटा अम्खोरा (लोटा), एउटा करुवा र वस्त्र दान गरी आरती, पुष्पाञ्जली र दक्षिणा गर्नुपर्दछ । दिनभरि निराहार रहँदै करवाचौथको कथा सुन्ने वा वाचन गर्ने, भजनकीर्तन गर्ने गरी बस्नुपर्दछ र सायंकाल चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा र दर्शन गरेर अर्घ्य दिनुपर्दछ । यसपछि ब्राह्मण, सौभाग्यवती (सधवा) स्त्रीहरू, सासूससुरालाई भोजनादि गराउनु पर्दछ र भोजनपछि ब्राह्मणहरूलाई यथाशक्ति दक्षिणा दिनुपर्दछ । करवा चौथको अन्त्यमा सासूलाई पूजाको वेदीमा राखिएकामध्ये कुनै एउटा लोटा, वस्त्र र करुवा समर्पण गर्नु पर्दछ, यदि सासू जीवित हुनुहुन्न भने सासूकै उमेरकी कुनै स्त्रीलाई दिए हुन्छ । यसपछि मात्र आफूले भोजनादि ग्रहण गर्नुपर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]