कोजाग्रत पूर्णिमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोजाग्रत पूर्णिमा
कोजाग्रत पूर्णिमाको दिन चन्द्रमा
प्रकारहिन्दु
उत्सवव्रत र राती जाग्राम बसेर पूजा गर्ने
मितिआश्विन शुक्ल पूर्णिमा

दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ?' भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ ।

अनुष्ठान[सम्पादन गर्नुहोस्]

प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिन्छ । दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ । कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको वडादशै समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।

कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ । तराईमा यस पर्वमा खास गरेर नवविवाहित मैथिल ब्राह्मण र कायस्थको घरमा ससुरालीबाट पानमखान सहितको पाहुर जाने गर्छ । यस क्रममा साला र भिनाजुबीचको पासा खेल रोचक हुने गर्छन ।

त्यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दुःखदर्द नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरू आउने गर्छन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]