जमरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमरा

दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकैजौका लामा आँकुरा।विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो ।[१] भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।[२]

शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र -बडादसैँ)को पहिलो दिन दसँैघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरूपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आˆना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दसैंमा किन प्रसाद स्वरूप जौको अङ्कुर जमरा लगाइन्छ त ? के महत्त्व छ त जमराको ?

इतिहास[सम्पादन गर्नुहोस्]

नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान-इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको हुन सक्छ। युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापकका अनुसार दक्षिण एसियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ । [३]

महत्त्व[सम्पादन गर्नुहोस्]

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्त्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइर्ं उनीहरूको छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तìव भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्तुव लनात्मक रूपमा धेरै नै बढी छ । अमेरिकाका अन्य विशेषज्ञले पनि जमरालाई प्रयोगको रूपमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको बताएका थिए । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।

विधि[सम्पादन गर्नुहोस्]

  • शुद्ध बिजको प्रयोग गर्ने ।
  • शुद्ध तथा अध्याँरो ठाउँ चयन गर्ने ।
  • जौं(यद्यपी मकै, गहुँ, धान, मकै) को बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
  • कुनै टपरी/ गमलामा थोरै बालुवा(माटो) राख्ने ।
  • बिजलाई बालुवा(माटो) मा बराबर मात्रामा राख्ने ।
  • हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
  • उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो । [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]