पृष्ठ अर्द्ध-सुरक्षित

नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल

आदर्श वाक्य: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी (संस्कृत)
"आमा र जन्मभूमि स्वर्गभन्दा ठूला हुन्छन्"
राष्ट्रिय गान: सयौं थुँगा फूलका हामी
एसियामा नेपाल
एसियामा नेपाल
राजधानी
र सबैभन्दा ठूलो सहर
काठमाडौँ[१]
२८°१०′उ॰ ८४°१५′पू॰ / २८.१६७°N ८४.२५०°E / 28.167; 84.250निर्देशाङ्कहरू: २८°१०′उ॰ ८४°१५′पू॰ / २८.१६७°N ८४.२५०°E / 28.167; 84.250
आधिकारिक भाषाहरूनेपाली[२]
मान्यता प्राप्त राष्ट्रिय भाषाहरूनेपालमा बोलिने सबै मातृभाषा[३]
(नेपालका भाषाहरू हेर्नुहोस्)
धर्म
(वि.सं. २०६८)
रैथाने(हरू)नेपाली
सरकारसङ्घीय संसदीय गणतन्त्र
विद्यादेवी भण्डारी
नन्दकिशोर पुन
शेरबहादुर देउवा
अग्नीप्रसाद सापकोटा
चोलेन्द्रशमशेर ज.ब.रा.[४]
व्यवस्थापिकानेपालको सङ्घीय संसद
राष्ट्रिय सभा
प्रतिनिधि सभा
स्थापना
१८२५ असोज १३[५][६]
१८७२ फागुन २४
१९८० पुस ६
२०६५ वैशाख २६
२०७२ असोज ३
क्षेत्रफल
• जम्मा
१,४७,५१६ किमी (५६,९५६ वर्ग माइल) (९३औँ)
• पानी (%)
२.८
जनसङ्ख्या
• सन् २०२२ अनुमानित
वृद्धि २,९१,९२,४८०[९] (४९औँ)
• वि.सं. २०६८ जनगणना
२,६४,९४,५०४[१०]
• घनत्व
१८० /किमी2 (४६६.२ /वर्ग माइल) (५०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
वृद्धि $१२२.६२ अर्ब[११][१२][१३] (८४औँ)
• प्रति व्यक्ति
वृद्धि $४,१९९[११] (१४४औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२१ लगत
• जम्मा
वृद्धि $३६ अर्ब (९८औँ)
• प्रति व्यक्ति
वृद्धि $१,२३६[११] (१५८औँ)
गिनी (सन् २०१७)०.४७[१४][१५]
न्यून · ११५औँ
मानव विकास सूचकाङ्क (२०१९)०.६०२[१६]
मध्यम · १४२औँ
मुद्रारुपैयाँ (रू) (एनपीआर)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०५:४५ (नेपालको प्रमाणिक समय)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+९७७
आईएसओ ३१६६ सङ्केतएनपी
इन्टरनेट डोमेनडटएनपी

नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो।[१७] यो राष्ट्र २६°२२′ देखि ३०°२७′ उत्तर अक्षांश र ८०°४′ देखि ८८°१२′ पूर्वी देशान्तरसम्म फैलिएको छ भने यसको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर छ।[१८][१९] यो क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ। लन्डनस्थित ग्रिनविच मान समयभन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६°१५′ पूर्वी देशान्तरलाई आधार मानेर नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ।[१९]

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्बाइ ८८५ किलोमिटर छ।[२०] उत्तरदेखि दक्षिणको चौडाइ भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाइ २४१ किलोमिटर र न्यूनतम चौडाइ १४५ किलोमिटर रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ किलोमिटर रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ।[२०] नेपालका लगभग ८१% नागरिक हिन्दू धर्मावलम्बी छन्, यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो।[२१] यसबाहेक बौद्ध, इस्लाम, किराँत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्।[२२] एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्।[२३] संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो।[२४][२५] नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। काठमाडौँ, ललितपुरभक्तपुर जिल्लारूलाई काठमाडौँ उपत्यका भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज पर्दछन्।[२६]

नेपाल शब्दको उत्पत्ति बारेमा ठोस प्रमाण उपलब्ध नभएतापनि एक प्रसिद्ध किंवदन्ती अनुसार मरिची ॠषिका पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको विश्वास छ।[२७][२८][२९] निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डको एकीकरण वि.सं. १८२४ मा गोरखाका राजा पृथ्वी नारायण शाहले थालेका थिए।[३०] वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गरिएको थियो।[३१][३२] वि.सं. २०६३ को लोकतान्त्रिक जनआन्दोलनपश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरेका थिए।[३३] वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाको ऐतिहासिक बैठकले राजतन्त्रलाई प्रतिस्थापन गर्दै नेपाललाई एक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।[३४] वि.सं. २०७२ असोज ३ गते नेपालको संविधान जारी[३५] भएपश्चात् प्रशसनिक रूपमा सात प्रदेशमा विभाजन गरि[३६] नेपाललाई एक धर्मनिरपेक्ष सङ्घीय संसदीय गणतन्त्र कायम गरिएको छ।

नामाकरण

समुद्रगुप्तको इलाहाबाद स्तम्भ शिलालेखमा ब्राह्मी लिपिमा लेखिएको "नेपाल" शब्द।

नेपालको एकीकरण हुनुभन्दा अघि काठमाडौँ उपत्यकालाई नेपाल भनेर चिनिन्थ्यो। नेपाल शब्दको वास्तविक उत्पत्ति अनिश्चित छ। नेपाल शब्द चौथो शताब्दी इसापूर्वमा पुरानो भारतीय साहित्यिक ग्रन्थहरूमा देखा परेको थियो।[३७] सबैभन्दा पुरानो ग्रन्थहरूमा अज्ञात योगदानहरू भएको मानिन्छ जुन प्रारम्भिक आधुनिक अवधिभन्दा अगाडि हो। तथापि, यसले एक पूर्ण कालक्रम स्थापना गर्न सक्दैन। इतिहासमा पूर्ण चित्रको अभाव, भाषाविज्ञान वा सान्दर्भिक भारोपेली र भोट-बर्मेली भाषाहरूको अपर्याप्त ज्ञानको अभावले एक व्यावहारिक सिद्धान्त प्रदान गर्ने शैक्षिक प्रयासहरू यसमा बाधक बनेका छन्।[३८]

हिन्दू पौराणिक कथा अनुसार नेपालले यसको नाम ने भन्ने पुरातन हिन्दू ऋषिबाट लिएको प्राप्त गरेको थियो, जुन विभिन्न प्रकारले 'ने मुनि' वा 'नेमी' भनेर चिनिन्छन्। पशुपति पूर्णाका अनुसार नेद्वारा सुरक्षित गरिएको स्थानको रूपमा हिमालयको मध्य भागमा रहेको देशलाई नेपाल भनेर चिनिन्थ्यो। नेपाल महात्म्यका अनुसार, पशुपतिले नेमीलाई देशको सुरक्षामा खटाएका थिए।[३९] बौद्ध पौराणिक कथा अनुसार, मञ्जुश्रीले काठमाडौँ उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर बस्ती बसालेको किंवदन्ती पाइन्छ भने नेले यहाँ बसोबास गर्ने समुदायको हेरचाह गर्ने घोषणा गरेका थिए। ने ऋषिले पालन अर्थात् संरक्षण गरेको हुनाले यो भूभागको नाम नेपाल रहन गएको मानिन्छ। नेपाली दस्तावेज अनुसार सन् १३०० ताका तयार पारिएको गोपाल राजवंशावली र सोही समयका अन्य वंशावलीमा ‘नेपाल’ को व्याख्या पाइँदैन, तर पछि आउने स्थानीय वंशावली (मुख्यतः १८२०–१८८० को समय) मा भने ‘नेपाल’ नामको व्याख्या र विश्लेषण पाउन सकिन्छ। पछिल्ला हिन्दू र बौद्ध दस्तावेजमा ‘नेपाल’ शब्दको उत्पत्ति 'ने' नाम गरेको गाई या यसै नामको आदिबुद्धबाट भएको भन्ने दाबी रहेको छ।[४०]

नर्वेली संस्कृत विद्वान क्रिश्चियन लासेनले, नेपाल, निपा (पहाडको फेद) र आला (अलायको सङ्क्षिप्त प्रत्यय) अर्थात् निपालयबाट आएको भन्ने कुराको प्रस्ताव गरेका थिए र यसको अर्थ ;पहाडको फेदमा बस्नु' भन्ने हुन्छ।[४१] उनले ने मुनिको संरक्षणबाट नेपाल शब्द आएको हो भन्ने मिथकलाई तथ्यसङ्गत ढङ्गले खारेज गरेका थिए। फ्रान्सेली विद्वान सिल्भा लेभीले लासेनको सिद्धान्तमाथि असन्तुष्टि जनाएका थिए र आफूले कुनै पनि प्रस्ताव जारी भने गरेका थिएनन्। उनका अनुसार ‘नेवार’ शब्दको उत्पत्ति ‘नेपाल’ बाट भएको हो, या त स्थानीय नाम संस्कृतिकरणद्वारा ‘नेपाल’ भएको हो भन्ने मान्यता राखेका थिए। नेपा तिब्बती-बर्मेली शब्द हो जुन ने (गाईवस्तु) र पा (संरक्षक) मिलेर बनेको छ भन्ने कुराको प्रस्ताव पनि गरिएको छ र यसले उपत्यकाका प्रारम्भिक बासिन्दाहरू गोपाल (गोठालाहरू) र महिस्पाल (भैँसी बथान) थिए भन्ने कुरा झल्काउँदछ। सुनिति कुमार चटर्जी भने नेपाल शब्द भोट-बर्मेली जराबाट उत्पन्न भएको हो भन्ने विश्वास गर्छन्।[४०] निष्कर्षमा, सिल्भा लेभी, राल्फ टर्नर, सुनितिकुमार चटर्जी र बाबुराम आचार्य लगायतका विद्वानहरू नेपाल शब्द ‘नेवार’ को संस्कृतिकरणद्वारा भएको भन्नेमा सहमत छन्। नेपालका भोट–बर्मेली भाषाहरूमा ‘ने’ भन्नाले चौपाया, गाई या भैँसी, र ‘पा’ ले मानवलाई जनाउँदछ।[४२] ने (गाई, भैँसी, चौपाया) र पा (वासी, रखवाला) दुई मिलेर ‘नेपा’ बन्छ भने ‘नेपा’ को संस्कृतिकरणद्वरा नेपाल भएको मानिएको छ।[४०][४३]

इतिहास

प्राचीन र मध्यकालीन नेपाल

चाँगुनारायण मन्दिर नेपालको सबैभन्दा पुरानो मन्दिर हो।

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाडौँ उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवतः भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।[४४]

इसापूर्व १५०० तिर हिन्द-आर्य जातिहरू उपत्यका प्रवेश गरेका थिए। इसापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बन्न पुगेका थिए। सिद्धार्थ गौतम (इसापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भएका हुन्। इसापूर्वको २५० सम्ममा यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्‍यो र पछि चौथो शताब्दीमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औँ शताब्दीको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरेका थिए। ८औँ शताब्दीको उत्तरार्धमा लिच्छवीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, यद्यपि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औँ शताब्दीको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका कर्नाट वंशको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।

१३औं शताब्दीको पूर्वार्द्धमा संस्कृत शब्द 'मल्ल' थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरेका थिए। १४औं शताब्दीको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आउन पुगेको थियो तर यो एकीकरण छोटो समयसम्म मात्र टिकेको थियो। सन् १४८२ मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशवण्डामा काठमाडौँ उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो– कान्तिपुर, पाटन, र भादगाउँ – जसको बीचमा शताब्दीयौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।

एकीकरण

वि.सं. १७६५ मा, गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाएर छिमेकी राज्यहरू, खास गरेर लमजुङ, कास्कीतनहुँको तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निमित्त अघि बढेका थिए। धेरै रक्तरञ्जित लडाईंहरूपश्चात्, उनी ३ वर्षपछि काठमाडौँ उपत्यकालाई विशाल नेपालभित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरेका थिए। यद्यपि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको कान्तिपुर (काठमाडौँ) राज्यलाई जित्ने क्रममा कुनै युद्ध गर्नु परेन। पृथ्वीनारायण शाहले आफ्ना सेनाहरू लिएर काठमाडौँतर्फ अग्रसर हुँदा काठमाडौँ उपत्यकाका सबै जनताहरू इन्द्रजात्रा मनाइरहेका थिए र खासै कुनै मिहिनेत बिना उपत्यकालाई कब्जा गरी आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरेका थिए। यस प्रकार नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि गोरखाली सेना पूर्वमा पल्लो किराँत लिम्बुवान राज्य पुगेका थिए। लिम्बुवान राज्यमा १७ पटकसम्म हमला गरेपछि वि.सं. १८३१ श्रावण २२ गते लिम्बुवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखेर सन्धि भएको थियो। यसले वर्तमान नेपालको जन्मको आधारशिला तय गरेको थियो।

तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नु परेको थियो। नेपालको सीमा नजीकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको इस्ट इन्डिया कम्पनीसँगको दुश्मनीका कारण रक्तरञ्जित नेपाल अङ्ग्रेज युद्ध (सन् १८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदीको पश्चिम तथा मेची नदीको पूर्वका आफ्ना क्षेत्रहरू गुमाउनु परेको थियो। आफ्नो स्वाधीनताका लागि नेपालले इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम, दार्जिलिङ पनि गुमाउनु परेको थियो। ती क्षेत्रहरू हालको भारतको उत्तराखण्डहिमाञ्चल प्रदेशमा पनि पर्दछन। काँगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीबीच सीमित हुन पुग्यो, तर पनि पछि सन् १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भएर अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए।

राणा शासन

राजपरिवारबीचको गुटबन्दीका कारण युद्धपछि पनि अस्थिरता कायम रहिरह्यो। सन् १८४६ मा शासन गरिरहेकी रानीका सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुगेको थियो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ-भारदारहरूबीच मार-काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भएको थियो। जङ्गबहादुरले जितेपछि राणा वंश सुरू गरे र राणा शासन लागू गरेला थिए। राणाहरूले राजालाई नाममात्रमा सीमित गरि प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरेका थिए। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई सन् १८५७ को सिपाही विद्रोह (भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम) र पछि दुवै विश्वयुद्धहरूमा सघाएका थिए। सन् १९२३ मा संयुक्त अधिराज्य र नेपालबीच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्वीकार गरेको थियो।

सन् १९४० को दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रेका थिए। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्म शमशेरले नेपाल सरकारको वैधानिक कानुन २००४ लागू गरेका थिए। त्यसैताका चीनले सन् १९५० मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। यसैको फलस्वरूप राजा त्रिभुवनलाई भारतले समर्थन गरि सन् १९५१ मा सत्तामा फर्काए र नयाँ सरकारको निर्माण भयो, जसमा धेरैजसो नेपाली कांग्रेसको सहभागिता थियो। नेपालको अन्तरिम शासन विधान २००७ लागू गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् राजा महेन्द्रले वि.सं. २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरेका थिए जस अनुसार संसद्को निर्वाचन भयो र नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याई विश्वेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा एकमना सरकार बन्यो।

समकालीन इतिहास

वि.सं. २०१७ साल पुष १ गते राजा महेन्द्रले एक घोषणा मार्फत लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलीय" पञ्चायत व्यवस्था लागू गरी सत्ता आफ्नो हातमा लिए र निर्वाचित संसद र मन्त्रीमन्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे। तत्पश्चात नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो।

पञ्चायती व्यवस्था लागू भएदेखि नै देशमा यसको विरुद्धमा आन्दोलनहरू भए। वि.स‌ं. २०१८ मा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्यो। कम्यूनिस्ट युवाहरूले वि.स‌ं. २०२८ मा गरेको झापा क्रान्तिले नेकपा मालेको स्थापना गर्यो। वि.स‌ं. २०३६ मा विद्यार्थी आन्दोलन भएपछि राजाले बहुदल कि निर्दल भनी छान्न जनमत सङ्ग्रह गराए। वि.स‌ं. २०४२ मा पनि सत्याग्रह आन्दोलन भयो। अन्तत वि.स‌ं. २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चा मिलेर गरेको आन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्था ढाल्यो। सन् १९८९ को जनआन्दोलनले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो।[४५] फलतः नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो। सन् १९९१ मे मा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान नेपाल अधिराज्यको संविधान २०४७ अंगीकरण गरियो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कांग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने।

राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत् सात राजनीतिक पार्टीहरूबीच वि.सं. २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँ दिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। नेपालको अन्तरिम संविधान २०६३ लागू गरियो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो। माओवादी समेत सम्मिलित संयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गराइयो। वि.सं. २०६५ जेठ १५ गते बसेको संविधान सभाको बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादवउपराष्ट्रपतिमा परमानन्द झा चुनिए। वि.सं. २०७२ असोज ३ गते गणतन्त्र नेपालको संविधान घोषणा गरिए पश्चात् नेपाललाई सात प्रदेशमा विभाजन गरी हरेक प्रदेशको आफ्नै व्यवस्थापिकाको स्थापना गरियो।

नेपालका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली हुन्।

भूगोल

नेपालको भौगोलिक नक्सा
सुक्खा हिमाली पृष्ठभूमि

नेपाल मोटामोटी चारकुने आकारको छ । नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० माइल) र चौडाई २०० किलोमिटर (१२५ माइल) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ वर्ग माइल)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराई। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन्। तराई क्षेत्र र पहाडी क्षेत्रका बीच दक्षिणमा चुरे तथा उत्तरमा माहाभारत शृङ्खलाले घेरिएका विभिन्न सात वटा उपत्यकाहरूको समूह छ जसलाई भित्री मधेस पनि भनिन्छ। भारतसँग जोडिएको तराइ फाँट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त छ । नेपाल र बङ्गलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल) को एउटा सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन् । यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।

पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फिट) उचाईका पर्वत पर्दछन् । यो क्षेत्रमा महाभारत लेक र सिवालिक शृङ्खला (चुरिया) नामका दुई साना पहाडी शृङ्खला मुख्य शृङ्खला हुन्। पहाडी क्षेत्रमा काठमाडौँ उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा सहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमशृङ्खलाहरू पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वनविनास एक मुख्य हो जसले गर्दा भूक्षय र परिस्थितिकीय प्रणाली विनास हुन्छ। संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सीमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी पर्वतपृष्ठ (ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३ र ४) अन्नपूर्ण शृङ्खलामा पर्दछन् ।

नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन्। उष्ण तथा उपोष्ण क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, शीतोष्ण क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), उप-आर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र उत्तरी ध्रुवीय क्षेत्र ४,४०० मिटर(१४,४०० फिट) भन्दा माथि। नेपालमा छ ऋतुहरू छन्: ग्रीष्म, वर्षा, शरद्, शिशिर, हेमन्त र वसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसुनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् ।

अर्थतन्त्र

नेपालमा कृषिले जनसङ्ख्याको ७६% जनसङ्ख्या धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ । देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५ मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सबै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।[४६]

नेपालको भूपरिवेष्ठित स्थिति र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली सङ्घ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक वर्ष २००५/०६ मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। वर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६ मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नैतिका कारण विदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दीर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।

जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।

नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषि उत्पादनहरू —— मुख्यतया भारत सीमा नजीकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषि प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरूप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनीतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेशिया कामका नया श्रोतहरू हुन। गरीबी चर्को छ। भारतीय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानी गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्शियन खाडी र मलेशिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्,बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारीमा छ।

सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यतः गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरी कूल ८२.२ करोड डलरको छ। आयात मुख्यतः सुन, मशीनरी तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरी जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन् :-

प्रशासनिक विभाजन

नेपालको सङ्घीय संरचना

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेशस्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरेको छ ।[४७][४८][४९] वि.सं. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधान २०७२को अनुसूची ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ ।[५०][५१][५२] यसै प्रकार नेपालमा ७५३ स्थानीय तह रहेको छ जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका) रहेको छ ।[५३][५४][५५][५६][५७][५८]

# प्रदेश राजधानी प्रदेश प्रमुख मुख्यमन्त्री जिल्ला क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(२०११)
जनघनत्व
(व्यक्ति/किमी)
प्रदेश नं. १ बिराटनगर सोमनाथ अधिकारी प्यासी शेरधन राई १४ २५,९०५ किमी ४५,३४,९४३ १७५
मधेश प्रदेश जनकपुर राजेश झा मोहम्मद लालबाबु राउत ९,६६१ किमी ५४,०४,१४५ ५५९
बागमती प्रदेश हेटौंडा विष्णु प्रसाद प्रसाइ डोरमणि पौडेल १३ २०,३०० किमी ५५,२९,४५२ २७२
गण्डकी प्रदेश पोखरा अमिक शेरचन पृथ्वी सुब्बा गुरूङ ११ २१,५०४ किमी २४,१३,९०७ ११२
लुम्बिनी प्रदेश बुटवल धर्मनाथ यादव शंकर पोखरेल १२ २२,२८८ किमी ४८,९१,०२५ २१९
कर्णाली प्रदेश वीरेन्द्रनगर गोविन्द प्रसाद कलौनी महेन्द्रबहादुर शाही १० २७,९८४ किमी ११,६८,५१५ ४१
सुदूरपश्चिम प्रदेश धनगढी सर्मिला कुमारी पन्त त्रिलोचन भट्ट १९,५३९ किमी २५,५२,५१७ १३०
जम्मा नेपाल काठमाडौँ राष्ट्रपति प्रधानमन्त्री ७७ १,४७,१८१ किमी २,६४,९४,५०४ १८०

खाना

नेपालीको सामान्य खाना भनेको दाल, भात, तरकारी र बढिमा अचार हो। यस प्रकारको खाना नेपालीहरू एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको जम्मा दुई पटक खान्छन् । यी खानाहरूको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा फापर, गहुँ, मकै, कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरू सेवन गर्दछन्।

जनसाङ्ख्यिकी

नेपालका राष्ट्रिय चिन्हहरू
झण्डा नेपालको झण्डा
चिन्ह नेपालको निशान छाप
राष्ट्रिय पंक्षी डाँफे
राष्ट्रिय जनावर गाई
राष्ट्रिय गान सयौँ थुङ्गा फूलका हामी
आदर्श वाक्य जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
फूल लाली गुराँस
खेल भलिबल
भाषा नेपाली भाषा
रङ्ग सिम्रिक

नेपालका नागरिकहरूलाई नेपाली भनेर चिनिन्छ। नेपालीहरू भारत, तिब्बत र उत्तर बर्माबाट तीन प्रमुख प्रवासका सन्ततिहरू हुन्। प्रारम्भिक बासिन्दाहरूमध्ये पूर्वी क्षेत्रका किराँत, काठमाडौँ उपत्यकाका नेवार, तराई-मधेसका आदिवासी, थारु र सुदूरपश्चिमका पहाडी भेगका खस पहाहीहरू पर्दछन्। हालैका वर्षहरूमा जनसङ्ख्याको एक महत्वपूर्ण भाग तराईमा बसाइँसराइ गरेर गएता पनि अधिकांश नेपालीहरू अझै पनि मध्य उच्च भूभागमा बसोबास गर्छन् र उत्तरी पहाडहरूमा थोरै मात्र बसोबास गर्छन्।[५९]

नेपाल बहुसांस्कृतिक र बहुजातीय देश हो। यस देशमा १२५ विभिन्न जातजातिहरू बसोबास गर्दछन् जसले १२३ विभिन्न मातृभाषाहरू बोल्दछन्। हिन्दु, बौद्ध, इस्लाम र इसाई धर्मको अतिरिक्त यसका मानिसहरू विभिन्न आदिवासी तथा लोक धर्महरूको अनुसरण गर्दछ। २०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख भन्दा बढी थियो। २०५८ भन्दा नौ लाखको झन्डै तीन गुणा बढी थियो। वि.सं २०५८ देखि २०६८ सम्म औसत परिवारको आकार ५.४४ बाट घटेर ४.९ पुगेको थियो।[६०] यस जनगणनामा २०५८ को तुलनामा झन्डै १९ लाख मानिसहरू अनुपस्थित थिए र यो २०५८ मा भन्दा एक लाखभन्दा बढी थियो। २०६८ मा, यौन अनुपात ९९.८ बाट ९४.२ मा घटेको थियो। २०५८ देखि २०६८ को बीचमा वार्षिक जनसङ्ख्या वृद्धि दर १.३५% थियो जबकि २०१८ देखि २०५८ को बीचमा औसत २.२५% जनसङ्ख्या अनुपस्थित थियो।[६१]

नेपाल सबैभन्दा कम सहरीकरण भएका दश देशहरू मध्ये एक हो र यो विश्वको सबैभन्दा द्रुत गतिमा सहरीकरण हुने दश देशमध्ये एक समेत हो। २०७१ सम्म अनुमानित १८.३% जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्दथे। सहरीकरण दर तराइमा उच्च छ भने भित्री तराईका मध्य पहाड र उच्च हिमालयमा जनसङ्ख्या कम रहेको छ। त्यस्तै, मध्य र पूर्वी नेपालमा पनि यो दर बढी रहेको छ। राजधानी काठमाडौँलाई "मन्दिरहरूको सहर" भन्ने उपनाम दिइएको छ। यो देशकै सबैभन्दा ठूलो सहर र सांस्कृतिक तथा आर्थिक क्षेत्र हो।[६२] नेपालका अन्य ठूला सहरमा पोखरा, विराटनगर, ललितपुर, भरतपुर, वीरगञ्ज, धरान, हेटौँडा र नेपालगञ्ज रहेका छन्। तीव्र गतिमा बढ्दै गइरहेको सहर, सबैभन्दा प्रमुख काठमाडौँ उपत्यकामा सवारी चाप, प्रदूषण र पिउने पानीको अभाव केही प्रमुख समस्याहरू हुन्।

शिक्षा

नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानी पोखरी किनारको भानु मावि)बाट भएको हो। यसभन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो। आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन। तर देशका विभिन्न भागमा केही विद्यालय दरबार हाइस्कुलको सुरुवात सँगै खुल्न सुरु भए। नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौँमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र शम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनीतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्‍यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन्।

नेपाल वि.सं २००७ मा आधुनिकतामा प्रवेश गरेको थियो। तात्कालिक समयमा, साक्षरता दर ५% थियो भने ३०० विद्यालयमा करिब १० हजार विद्यार्थी भर्ना भएका थिए। २०७४ सम्ममा, ३५,६०१ विद्यालयहरूमा ७० लाख भन्दा बढी विद्यार्थीहरू भर्ना भएका थिए। समग्र साक्षरता दर (५ वर्ष र त्यसभन्दा माथिको जनसङ्ख्याको लागि) २०५८ मा ५४.१% बाट बढेर सन् २०६८ मा ६५.९% पुगेको थियो। २०८४ सम्ममा प्राथमिक भर्ना दर ९७% पुगेको थियो, तथापि, माध्यमिक तह (कक्षा ९ –१२) मा ६०% भन्दा कम र तृतीयक तहमा लगभग १२% जतिले भर्ना लिएका थिए। समग्र साक्षरता दरमा उल्लेख्य लैङ्गिक असमानता भएता पनि बालिकाहरूले सबै तहको भर्नामा बालकहरूलाई उछिन्ने गरेका छन्। नेपालका ११ विश्वविद्यालयहरू र चार स्वतन्त्र विज्ञान प्रतिष्ठानहरू छन्। २०७७ मा ग्लोबल इनोभेसन इन्डेक्समा नेपाल ९५औँ स्थानमा परेको थियो। यो सन् २०७६ मा १०९औँ स्थानमा रहेको थियो।

उचित पूर्वाधार र शिक्षण सामग्रीको अभाव र उच्च विद्यार्थी–शिक्षक अनुपातका साथै विद्यालय व्यवस्थापन समितिहरूको राजनीतिकरण र विद्यार्थी र शिक्षक दुवैबीच पक्षपाती मिलन प्रगतिको बाधक हो। संविधानमा नि:शुल्क आधारभूत शिक्षाको प्रत्याभूति गरिएको छ तर कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहायताको अभाव रहेको छ। सरकारले बालिका तथा अपाङ्गता भएका विद्यार्थीका साथै सहिद, सीमान्तकृत समुदाय र गरिबका बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ। राम्रो शिक्षा र कामको खोजीमा हरेक वर्ष दशौँ हजार नेपाली विद्यार्थी देश छाड्छन्। तीमध्ये आधा विद्यार्थी कहिल्यै फर्किँदैनन्

भाषा

नेपालका विविध भाषिक सम्पदाहरू तीन प्रमुख भाषा समूहहरूबाट आवद्ध छन् जसमा हिन्द-आर्य, भोट-बर्मेली र विभिन्न आदिवासी भाषाहरू पर्दछन्। नेपालको प्रमुख भाषाहरू (मातृभाषाको रूपमा बोलिने) २०६८ को जनगणना अनुसार नेपाली (४४.६%), मैथिली (११.७%), भोजपुरी (६.०%), थारु (५.८%), तामाङ (५.१%), नेवारी (३.२%), बज्जिका (३.०%) र मगर (३.०%), डोटेली (३.०%), उर्दू (२.६%), अवधी (१.८९%) पर्दछन्। नेपालमा कम्तीमा पनि चारवटा स्वदेशी साङ्केतिक भाषाहरू छन्।

संस्कृतको वंशाणुगत, नेपाली भाषा देवनागरी लिपिमा लेखिएको छ। यो देशको आधिकारिक भाषा तथा सरकारी कामकाजको भाषा हो। क्षेत्रीय भाषाहरू मैथिली, अवधी र भोजपुरी दक्षिणी तराई क्षेत्रमा बोलिन्छ। उर्दू नेपाली मुस्लिममाझ प्रचलित छ। तिब्बती भाषाका किसिमहरू उच्च हिमालमा र उत्तरमा बोलिन्छ जहाँ धार्मिक शिक्षा हासिल गर्नेहरूले मानक साहित्यिक तिब्बती भाषालाई व्यापक रूपमा बुझेका छन्। तराई र पहाडका स्थानीय उपभाषाहरू प्रायजसो देवनागरी वा रोमी वर्णमालामा थुप्रै लेख्नका लागि प्रणाली विकास गर्ने प्रयासमा लेखिएका छैनन्।

स्वास्थ्य

नेपालमा धेरै पहिले देखिनै आयुर्वेदिक प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर तथा सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधिका स्रोतहरू नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि दरबार भित्र सुरु भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थाको रूपमा राणा प्रधानमन्त्री वीर शमशेरको पालमा काठमाडौँमा सन १८८९ मा स्थापित वीर अस्पताल नै हो। त्यसपछि चन्द्र शम्शेरको पालामा स्थापित त्रि-चन्द्र सैनिक अस्पताल हो। हाल नेपालका अस्पतालहरू सामान्यतया आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा गरी सरकारी सेवा विद्यमान छ। नेपालमा २०६२।६३ मा अस्पतालको सङ्ख्या ८९, प्रथामिक स्वास्थ्य चौकी १८०, स्वास्थ्य चौकी ६९९, उपस्वास्थ्य चौकी ३१३१, आयुर्वेदिक औषधालय २९३, प्रति डाक्टर जनसङ्ख्या २०,९९१ र प्रति अस्पताल सैया ३८८९ उपलब्ध छ ।[६३]

नेपालमा स्वास्थ्य सेवा सार्वजनिक र निजी दुवै क्षेत्रले प्रदान गर्ने व्यवस्था गरिएको छ। औसत आयु २०७४ सम्म ७१ वर्षको अनुमान गरिएको छ। विश्वमा नेपाल औसत आयुको अनुसार १५३औँ स्थानमा रहेको छ जुन २०४० को दशकमा ५४ वर्ष वृद्धि हुँदै २०६८ मा, ७१ पुगेको थियो। दुई तिहाई मृत्यु सरुवा नहुने रोगका कारणले गर्दा हुन्छ जसको प्रमुख कारण हृदय रोग हो। असन्तुलित जीवनशैली, असन्तुलित आहार र सुर्ती र मादक पदार्थ सेवनले गैर-सरुवा रोगहरूको वृद्धिमा योगदान पुऱ्याएको भए तापनि शिक्षा, जागरूकता र स्वास्थ्य सेवा सेवाहरूको पहुँचको अभावले गर्दा खराब सरसफाइ र कुपोषणका कारण धेरैले उपचार योग्य रोगहरूको कारण आफ्नो ज्यान गुमाउनु परेको छ।

नेपालले मातृ तथा बाल स्वास्थ्यमा ठूलो प्रगति गरेको छ। ९५% बालबालिकामा आयोडिन युक्त नुनको सुविधा रहेको छ भने ६– ५९ महिनाका ८६% बालबालिकाले भिटामिन ए प्रोफिलेक्सिस पाउँछन्। पाँच वर्षमुनिका बालबालिकाहरूमा ४३% कुपोषण अत्यधिक मात्रामा रहेको छ। २०६८ देखि २०७३ को बीचमा महिला तथा बालिकामा रक्त अल्पता बढेर क्रमशः ४१% र ५३% पुगेको थियो। जन्ममा कम तौल २७% रहेको छ भने स्तनपान ६५% रहेको छ। नेपालले २०४० को दशक यता, ९०१ बाट मातृ मृत्युदर २२९ मा झारेको छ। शिशुहरूको मृत्युदर १३९.८ को तुलनामा प्रति हजार जीवित जन्म ३२.२ सम्म घटेको छ। गर्भ निरोधक व्यापकता दर ५३% रहेको छ तर ग्रामीण र सहरी क्षेत्रहरूबीच चेतनाको कमी र सजिलै पहुँच नहुने भएकाले असमानता दर उच्च रहेको छ। सरकारी र गैरसरकारी संस्थाको सहयोगमा सरकारले गरेको बलियो पहलका कारण स्वास्थ्य क्षेत्रमा प्रगति भएको हो। जनस्वास्थ्य केन्द्रले ७२ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ। यसबाहेक २०७३ मा सुरु गरिएको जनस्वास्थ्य बीमा योजनामा एक परिवारका पाँच सदस्यका लागि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार समेटिएको छ। प्रतिवर्ष २५०० रुपैयाँ लागि यो योजना सञ्चालनमा आएको छ। यसले सीमित सफलता पाएको छ। यसको विस्तार हुने अपेक्षा गरिएको छ। विद्यालयमा खाना खाने कार्यक्रमले बालबालिकामा शिक्षाका साथै पोषणमा सुधार आएको छ। महत्वाकांक्षी "एक घर-एक शौचालय" कार्यक्रम अन्तर्गत शौचालय निर्माण अनुदानले २०७६ मा शौचालयको व्यापकता दर ९९% पुगेको देखिएको छ। यो २०४० को दशकमा मा ६% मात्र रहेको थियो।

धर्म

नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो, जुन नेपालको संविधान २०७२ को (भाग १, धारा ४) ले घोषणा गरेको छ। धर्मनिरपेक्षताको अर्थ 'धर्मको संरक्षणसँगै धार्मिक, सांस्कृतिक स्वतन्त्रता हो। धर्म सनातन कालदेखि हस्तान्तरण गरिएको संस्कृति मानिन्छ। २०६८ को जनगणना अनुसार नेपालमा सबैभन्दा धेरै अनुयायी भएको धर्म हिन्दू धर्म (जनसङ्ख्याको ८१.३%) हो। त्यसपछि बौद्ध धर्म (९%); बाँकी इस्लाम (४.४%), किराँत (३.१%), इसाई धर्म (१.४%) र प्रकृति (०.५%) पर्दछन्। जनसङ्ख्याको प्रतिशत अनुसार नेपालमा विश्वको हिन्दुहरूको सबैभन्दा धेरै जनसङ्ख्या छ। नेपाल २०६३ भन्दा अगाडि सम्म आधिकारिक रूपमा हिन्दू अधिराज्य थियो र शिवलाई देशको संरक्षक देवता मानिएको थियो। नेपालको संविधानले कुनै पनि व्यक्तिलाई अर्को धर्ममा रुपान्तरण गर्ने अधिकार कसैलाई दिएको छैन तथापि धर्म परिवर्तन भने भइरहेको पाइन्छ। नेपालले २०७४ मा पनि धर्म परिवर्तन विरोधी कानुन पारित गरेको थियो। नेपालमा भारतपछि विश्वमा हिन्दुहरूको दोस्रो ठूलो सङ्ख्या रहेको छ।

आप्रवासी र शरणार्थी

नेपालमा आप्रवासी र शरणार्थीलाई स्वीकार गर्ने लामो परम्परा रहेको पाइन्छ। आधुनिक समयमा तिब्बती र भुटानीहरूले नेपालमा धेरै जसो शरणार्थीको रूपमा बसोबास गर्दै आएका छन्। तिब्बती शरणार्थीहरू वि.सं २०१४ मा आउन थालेका थिए र हरेक वर्ष अरू थुप्रैले नेपाल प्रवेश गरेका थिए। भुटानी शरणार्थीहरू २०३० को दशकमा नेपाल प्रवेश गर्न थालेका थिए र २०५७ सम्ममा १,१०,००० भन्दा बढी सङ्ख्यामा शरणार्थीहरू नेपालमा रहेका थिए। तिनीहरूमध्ये धेरैजसो तेस्रो देशमा बसोबास गर्न थालेका थिए। वि.सं २०७५ को अन्त्यतिर नेपालमा जम्मा २०,८०० जनाले शरणार्थीको पुष्टि गराएका थिए। तीमध्ये ६४% तिब्बती र ३१% भुटानी थिए। २०७५/७६ मा करिब २ हजार आप्रवासी, जसमध्ये आधा चिनियाँले वैदेशिक श्रमको लागि निवेदन दिएका थिए। नेपालमा बस्न र काम गर्न अनुमति नचाहिने भएकाले भारतीय आप्रवासीको तथ्याङ्क सरकारसँग छैन। भारत सरकारले नेपालमा गैर-आवासीय भारतीयहरूको जनसङ्ख्या ६,००,००० रहेको तथ्याङ्कमा जनाएको छ।

संस्कृति

समाज

परम्परागत नेपाली समाजलाई कहिलेकाहीँ सामाजिक समूहले परिभाषित गर्दछ। नेपालको जातीय प्रथाले धेरै जसो सामाजिक स्तरोन्नती र दक्षिण एसियामा पाइने धेरै सामाजिक बन्देजहरूलाई मूर्तरूप दिन्छ। सामाजिक वर्गलाई एक सयभन्दा बढी स्वजातीय विवाहको वंशानुगत समूहहरूले परिभाषित गरेका छन्। नेपालले २०१८ मा अछूतलाई अवैध घोषित गरेको थियो र त्यसपछि यसले अन्य भेदभाव विरोधी कानून तथा सामाजिक कल्याण पहलहरू लागू गरेको थियो। सहरी नेपालका कार्यस्थल र शैक्षिक संस्थामा जातिसँग सम्बन्धित पहिचानले निकै महत्व गुमाएको छ।

नेपाली परम्परामा पारिवारिक मूल्य मान्यता महत्वपूर्ण छ। बहुपुस्तागत पितृसत्तात्मक संयुक्त परिवार नेपालमा सामान्य भएको छ। यद्यपि, सहरी क्षेत्रमा एकल परिवार सामान्य हुन थालेको छ। धेरै जसो नेपालीहरू आफ्नो सहमति वा सहमति बिना नै विवाहको गर्ने गरेका छन्। नेपालमा विवाह जीवनभरका लागि हुने अनुमान गरिएको छ। यहाँ सम्बन्ध विच्छेदको दर न्यून छ। एक हजार विवाहमा एकजनाभन्दा कमले मात्र सम्बन्ध विच्छेदको अन्त्य गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा बालविवाह गर्ने प्रचलन हालसम्म पनि चलिआएको छ र १८ पुग्नुअघि थुप्रै स्त्रीहरूले विवाह गर्ने गरेका छन्।

धेरै नेपाली पर्वहरू धार्मिक मूलका छन्। सबैभन्दा बढी चर्चित पर्वहरूमा दशैँ, तिहार, तीज, छठ, माघी, साकेला, होली, ईद उल-फित्र, क्रिसमस, नेपाली नयाँ वर्ष पर्दछन्।

प्रतीक

नेपालको प्रतीकमा हिमाल, जङ्गली पहाड र उर्वर तराइलाई चित्रण गरिएको छ। लालिगुराँस नेपालको राष्ट्रिय फूल हो। नेपालको निशान छापको अग्रभूमीमा राष्ट्रिय झण्डा राखिएको छ। यसको तल नेपालको सादा सेतो चुच्चे नक्सा रहेको छ। पुरुष र महिलाको दाहिने हातले लैङ्गिक समानताको सङ्केत गरेको छ। पुछारमा राष्ट्रिय आदर्श वाक्य रहेको छ। देवनागरी लिपिमा लेखिएको संस्कृत भाषाको जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीको अर्थ "स्वर्गभन्दा आमा र मातृभूमि प्यारो छ" भन्ने हुन्छ।

नेपालको झन्डा विश्वको एक मात्र राष्ट्रिय झण्डा हो जुन आयताकार छैन। नेपालको संविधानमा यसको आधिकारिक वर्णन अनुसार, झण्डामा भएको रातो रङ्ग युद्ध वा साहसमा विजयको लागि खडा छ, र यो लालिगुराँसको रङ पनि हो। झण्डाको निलो सिमानाले नेपाली जनताको शान्तिको चाहनालाई जनाउँछ। झण्डामा चन्द्रमा नेपालीहरूको शान्त र शान्त स्वभावको प्रतीक हो भने सूर्यले नेपाली योद्धाहरूको आक्रामकताको प्रतिनिधित्व गर्दछ।

सहिदहरू देशभक्तिको प्रतीक हुन्। बेलायत–नेपाल युद्धका कमाण्डर अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुँवरलाई युद्ध नायक मानिन्छन्। नेपालको प्रतिष्ठामा असाधारण योगदान पुर्‍याएकोमा नेपालको इतिहासबाट १६ जनालाई 'राष्ट्रिय विभूति' को विशेष पदवी प्रदान गरिएको छ। आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहलाई धेरैले उच्च सम्मान र "राष्ट्रका पिता" मानेका छन्।

सन्दर्भ सामग्रीहरू

  1. पोखरेल, विश्वमणि, "काठमाडौं : सहर न सुविधा", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  2. प्याकुरेल, भवनाथ, "नेपाली भाषा र स्तरवृद्धिको अवस्था", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  3. "हाम्रो अपेक्षित भाषानीति", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  4. "प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर सिफारिस", बिबिसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  5. "'गोर्खा' इतिहासको घाउ", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  6. "दुई समकालीन देशहरू : एउटा समृद्ध अर्को अझै अन्योलमा", स्वदेश नेपाल (नेपालीमा), २०२०-०१-१३, अन्तिम पहुँच २०२१-१२-१४ 
  7. "कसरी भयो सुगौली सन्धि ?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  8. "१९२३ को ‘नेपाल–बेलायत’ सन्धिलाई किन बनाइयो नेपाल भारतमैत्री ?", केन्द्रबिन्दु (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  9. "जनगणना २०७८ :नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० घरपरिवार", kantipur news (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  10. "नेपालको जनसङख्या २ करोड ६४ लाख ९४ हजार ५०४", समुद्रपारी (नेपालीमा), २०१२-११-२६, अन्तिम पहुँच २०२१-१२-१३ 
  11. ११.० ११.१ ११.२ "Report for Selected Countries and Subjects", आइएमएफ, अन्तिम पहुँच १५ अप्रिल २०२० 
  12. "जिडिपी मापनको आधार वर्ष फेरियो, अर्थतन्त्रको आकार बढ्ने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  13. "कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको के हाे ?", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  14. "अग्लिँदै आर्थिक असमानता", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  15. भुसाल, हुमराज, "नेपालको वर्तमान आर्थिक अवस्था", ग्लोबल आवाज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  16. "मानव विकास सूचकांकमा नेपालको पाँच स्थान सुधार", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  17. "नेपाल : भूपरिवेष्ठित कि भूजडित ?", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  18. "नयाँ नक्सासँगै नेपालको क्षेत्रफल कति ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  19. १९.० १९.१ ढकाल, केशवराज; ढकाल, युवराज, भूगोल, कक्षा १० (pdf) (नेपालीमा), नेपाल सरकार, पृ: ६-७, अन्तिम पहुँच २०२१-१२-१३ 
  20. २०.० २०.१ "नेपालको भूगोलबारे लोकसेवामा सोधिने सम्पूर्ण प्रश्नहरू", एभरेस्ट दैनिक (नेपालीमा), २०१७-१०-२८, अन्तिम पहुँच २०२१-१२-१३ 
  21. "यसकारण हिन्दू राष्ट्र र हिन्दू राजा !", देशसञ्चार (नेपालीमा), २०१८-१२-०६, अन्तिम पहुँच २०२१-१२-१३ 
  22. "विभिन्न धर्म सम्बन्धि जानकारी", आमसञ्चार (नेपालीमा), २०१७-०६-२४, अन्तिम पहुँच २०२१-१२-१३ 
  23. "चुरेको जैविक विविधता मासिँदै", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  24. "विश्वका ८ अग्ला हिमाल, जुन नेपालमै छन् !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  25. "सगरमाथा ८८४८.८६ मिटर अग्लो", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  26. आचार्य, पुरञ्जन, "के नेपाल सहरै सहरको देश हो ?", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  27. "‘नेपाल’ शब्दको पुरातत्व", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  28. "कसरी भएको थियो हाम्रो देशको नामाकरण ‘नेपाल’", नयाँ पुस्ता (नेपालीमा), २०१७-०६-०९, अन्तिम पहुँच २०२१-१२-१३ 
  29. "नेपाल नामको खोजी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  30. "पृथ्वीनारायण शाहद्वारा स्थापित पाँच सैन्य एकाइ कुन हुन् र अहिले कहाँ छन्", बिबिसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  31. "नेपालमा स‌ंवैधानिक विकासक्रम र संविधानका विशेषता", इन्फो पाना (नेपालीमा), २०२१-०२-१६, अन्तिम पहुँच २०२१-१२-१३ 
  32. "नेपालका संविधान कस्ता", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  33. "जनआन्दोलन : इतिहास र अब", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  34. "संघीय लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव संसदबाट पारित", बिबिसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१३ 
  35. "नयाँ संविधान प्रारम्भ भएको घोषणा", बिबिसी नेपाली (नेपालीमा), २०१५-०९-२०, अन्तिम पहुँच २०२१-१२-१३ 
  36. "अब सात प्रदेश: प्रमुख तीन दल", बिबिसी नेपाली सेवा (नेपालीमा), २०१५-०८-२१, अन्तिम पहुँच २०२१-१२-१३ 
  37. "यस्तो छ नेपालको नामाकरणदेखि २०७२ सम्मको इतिहास"काठमाडौँ टुडे। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  38. "नेपाल शब्दको उत्पत्ति"। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  39. Prasad, Ishwari (१९९६), The Life and Times of Maharaja Juddha Shumsher Jung Bahadur Rana of Nepal, New Delhi: Ashish Publishing House, आइएसबिएन 817024756X – Google Booksद्वारा। 
  40. ४०.० ४०.१ ४०.२ कनकमणि दीक्षित। "'नेपाल' शब्दको पुरातत्व"। हिमाल खबर। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  41. "नेपाल उपत्यकाको उत्पत्ति"लोकसेवा सहयोगी। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  42. "उसबेलाको नेपाल"। नेपाल पत्रिका। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  43. Levi, Sylvain (१९०५), Le Nepal : Etude Historique d'Un Royaume Hindou (फ्रान्सेलीमा) 1, Paris: Ernest Leroux, पृ: 222–223। 
  44. "A Country Study: Nepal" (अङ्ग्रेजीमा), Federal Research Division, Library of Congress, अन्तिम पहुँच २०१८-०३-१८ 
  45. "Nepal profile - Timeline" (अङ्ग्रेजीमा), २०१८-०२-१९, अन्तिम पहुँच २०१८-०३-१८ 
  46. "The World Factbook — Central Intelligence Agency", www.cia.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१८ 
  47. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ 
  48. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १० 
  49. "नेपालका नगरपालिकाहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४ 
  50. "नेपालमा ७ प्रदेश बनाउने दलहरुबीच सहमति", everesttimes.net, अन्तिम पहुँच २०१८-०३-१८ 
  51. पत्रिका, अनलाइन, "७ प्रदेशको नयाँ नेपाल: कुन जिल्ला कुन प्रदेशमा ?", onlinepatrika.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-१८ 
  52. "सङ्घीय नेपालका सात प्रदेश: एक चर्चा", अन्तिम पहुँच २०१८-०३-१८ 
  53. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  54. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ 
  55. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  56. "९ स्थानीय तह थपिँदै कहाँ कति थपियो?" (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-१० 
  57. "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८ 
  58. "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  59. 2011 National Census, पृष्ठ 3.
  60. 2011 National Census, पृष्ठ 4.
  61. "Population situation analysis of Nepal", UNFPA, २०१७, अन्तिम पहुँच ४ डिसेम्बर २०१९ 
  62. Bakrania, S. (2015). Urbanisation and urban growth in Nepal (GSDRC Helpdesk Research Report 1294) (Report). University of Birmingham, Birmingham: UK:GSDRC. 
  63. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदन २०६४

Nepalको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्धरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट

बाह्य कडीहरू

नेपालको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्धरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट

सरकार

साधारण जानकारी