मगर भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पा जिल्लादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत अथार मगरात क्षेत्रका मगरले खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने ३ वटै मगर भाषा बोल्दैनन्। आफ्नो भाषा नबोल्नुको कारण भने नेपाल एकिकरणको समयपछि मगरात राज्यहरु माथिको आक्रमणपछि मगर भाषा बोलेमा दण्ड जरिवाना हुने डरले त्यो क्षेत्रको मगरहरूले भाषा बोल्न छाडेको कुरा उल्लेख छ। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ जस्तै म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोस्, म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। 'म्ह्याक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङडीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्ह्याक्डी) विर्सिएको पानी र मूल्यवान (मीराङडी) मूल्यवान् पानी भनेर आफ्नो भाषामा नामाकरण गरे।

मगर
ढुट, मगर भाषा
मूलभाषीनेपाल
क्षेत्रनेपाल
रैथाने(हरू)१९ लाख
मातृभाषी वक्ता८४०,०००
चिनियाँ-तिब्बती
सरकारी दर्जा
आधिकारिक भाषा
नेपाल
सिक्किम, भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-३कुनै:
mgp – पूर्वी मगर
mrd – पश्चिमी मगर
ग्लोटोलगmaga1261[१]

वर्तमान अवस्था[सम्पादन गर्ने]

जनगणना २०५८को तथ्याङ्क अुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि 'एथ्नोलग-२००५'ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ। नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ। जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ। कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन्। नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ। कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो। मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ। विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ।

साहित्य[सम्पादन गर्ने]

मगर भाषा साहित्यको प्रारम्भ काल २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापामगरद्वारा 'मगर भाषाङ ल्ङीङ र टुक्काउ किताब' 'मगर कुराङ पि्रय टुक्का ल्हिङ' प्रकाशित भयो। त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगर (पाल्पा)को 'मगर कुरा कुटजाटम ङाक्के' नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगर (तनहूँ)को सम्पादनमा 'सेहेच लामाङ ह्वाईङ' प्रकाशित भयो। मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रह्यो। मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ। अथार मगरात क्षेत्रमा खामपाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन। यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो।

आधुनिक काल[सम्पादन गर्ने]

२०३९ सालबाट सुस्ताएको मगर भाषा साहित्यले २०४९ सालपछि पुनः अगाडि बढेको देखिन्छ। खासगरी लोकबहादुर थापामगरद्वारा मगरभाषा लेखेर आम मगर समुदायलाई जागरण ल्याउन हिँडेका थिए। यही कारण राज्यको चरम दमन सहन नसकेर बेपत्ता भएका मगर भाषा साहित्यका आदिकवि जितबहादुर सिजाली मगरको जीवनी प्रकाशनमा आएपछि भने मगर भाषामा लेख्ने साहित्यकारहरूमा एक किसिमको उत्साह छायो। 'बैरागी' नाता मगरको 'छीनीकूङ प्रूङ' कविता संग्रह २०४८ र 'मोइओ मीराप' खण्डकाव्य यो नै मगर भाषा साहित्यमा लेखिएको प्रथम खण्डकाव्य हो। यहीँबाट मगर भाषा साहित्यको आधुनिक काल सुरु हुन्छ। २०४८ सालभन्दा पहिले मगर भाषा साहित्यमा कविता मात्रै लेखिएको पाइयो।

गद्य कविता/गीत गजल[सम्पादन गर्ने]

२०४८ सालमै झुस्या मगरको 'रङ्सीचकूङ ल्ङीङ' प्रकाशन भयो। त्यसै वर्ष शिवलाल थापामगरको 'ग्याहोट लख छान्नी' प्रकाशन भयो। २०४७ सालदेखि नै रोल्पाका बमकुमारी बुढामगरको सम्पादनमा 'कोन्जा मोरुम' साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको छ जसमा विभिन्न मगर भाषामा फुटकर कविता प्रकाशन हुँदै आएका छन्।

मगर भाषामा कविता सङ्ग्रह लेखेर प्रकाशन गर्ने अन्य कविहरूमा 'बैरागी' नाता मगर (तनहुँ) 'छीनीकूङ प्रुङ' (आजको कोपिला -२०४८), 'मोईओ मीराप' (आमाको रोदन- २०४९), 'लीस' - (देश-२०६१), खड्क आलेमगर 'सेन टाहाके ?' (कहिले पुग्ने ?), रुद्र हितान मगर (कास्की) 'लाङ्घाके आरमेट्नाङ' (गाउँलाई सम्झँदा-२०५०) स्व. रेखबहादुर थापामगर (नवलपरासी) 'फुन्च ठलके' (जन्म भूमिलाई-२०५१) सन्तोष बुढामगर 'मोई' (आमा-२०५३), सन्जोग लाफामगर (उदयपुर) 'जीव-सीम' (बाँच्नु-मर्नु-२०५५) रुद्र सन्देशमगर (स्याङ्जा) 'बीकोलेसा' (दुख्दो रहेछ-२०६५) झुस्यामगर (स्याङजा) बुढा ईम (बुढो घर-२०५७) उजीर रानामगरको 'माम्याक्नी' (नबिर्स-२०५८) र ए डाजे डईको (ए दाजु दिदीहरू-२०६४) उमेश थापा हीस्की 'लाटो' मगर (रूपन्देही) 'उमेसओ सीरजनाको' (उमेशको सिर्जनाहरू-२०६१) जीतबहादुर सिन्जाली मगर (स्याङ्जा) 'ल्हेस्म राहानाङ' (फर्किएर आउँदा), मीन थापामगर (तनहुँ) 'जीह्च ङऊ लीस' (तड्पिएको मेरो देश-२०६३), पूर्ण थापामगर 'ङा मगर' (म मगर २०६४) (तनहूँ), मेकबहादुर पुनमगर रूपन्देही 'भड्कोसचको' (बाँच्न चाहनेहरू-२०६४), कवियत्री मनु ठाडामगर (धनकुटा) 'काट लीसार' (एउटा कोपिला-२०६४), सहीडकूङ मानाम (सहिदको सपना-२०६५), बेग आलेमगर नाम्खान (धनकुटा) 'मीकडीयाङ फोरझोच रीक्मा' (आँसुमा उफ्रिएको कलम-२०६४), पुर्ण बहादुर राना मगर 'माम्हीन्च'को 'नाङ सेन राहाले? - (तिमी कहिले आउंछौ? - २०६६), नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति, ललितपुरले २०५३ सालदेखि आफ्नो वार्षिक उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। प्रथम जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिताका सहभागी कविताहरूको सङ्ग्रह (२०६४) प्रकाशित गरेको छ। फूटकर कबिता लेखनमा तनहूँका भाबुक मगर उर्फ रिखुराम थापा मगर छन्।

मगर भाषामा कविताहरूको सँगालो 'बैरागी' नाता मगरको संयोजनमा मगर भाषाका आदिकवि स्व. रेख ब. थापामगरको स्मृतिमा 'मगर रील्हीङ गोमक' मगर भाषा कविताहरूको सँगालो (२०६३) प्रकाशित छ। जीतबहादुर सिन्जालीमगर साहित्य प्रतिष्ठानद्वारा आयोजित सञ्जोग लाफामगरको संयोजनमा प्रथम राष्ट्रव्यापी मगर भाषा कविता प्रतियोगितामा सहभागी कविताहरूलाई सङ्ग्रहित गरी पाहुर (कोसेली-२०६३) प्रकाशित गरिएको छ। मगर खामपाङमा रोल्पाका जीवन रोक्कामगर र तारा माझिलीको संयुक्त कविता सङ्ग्रह गिन्मी (ङाता कोस्याली २०६२) सङ्ग्रहको रूपमा प्रकाशित छ भने काईके मगर भाषामा कविता संग्रह प्रकाशित भएको छैन। त्यसका अलावा २०५५ सालमा रोल्पाका बमकुमारी बुढामगरद्वारा लिखित खस नेपाली भाषामा प्रकाशित कविता संग्रह जीतहारमा ३ वटा मगर खामपाङमा प्रकाशित छ। रूपन्देहीका मेजन पुनमगरको भडकोसचको कविता संग्रहमा गरिएको मगर कविताले मगर खामपाङमा लेख्न हौस्याएको छ।

खामपाङमा रोल्पाको नवीन रोकामगरद्वारा लिखित 'वकी' (मगर जातिको ऐतिहासिक भूमि) कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ। मगरहरूको समारोहमा फाट्टफुट्टरूपमा डोल्पाकी टीना रोकामगरले काईकेमा कविता वाचन गरेर काईकेको प्रतितिधित्व जनाएबाहेक खासै कविताहरू लेखिएको छैन।

मगर खामपाङ र मगर काईकेभन्दा मगर ढुटमा साहित्यिक लेखन सङ्ख्यात्मक रूपमा अगाडि देखिए पनि मगर जातिको सङ्ख्याको दृष्टिकोणले मगर भाषा साहित्यको अवस्था नाजुक नै रहेको छ।

विगतको तुलनामा मगर भाषा साहित्यमा मगर ढुटमा लेख्ने मगर भाषी साहित्यकारको उपस्थिति उत्साहजनक देखिए पनि मगर काईके र मगर खामपाङ भाषा साहित्यलाई कसरी सँगै डोर्‍याउन सकिन्छ गम्भीर चिन्ताको विषय बनेको छ।

बालकविता[सम्पादन गर्ने]

मगर भाषामा बालबालिकाको निमित्त भनेर बाल कविता सङ्ग्रह लेखेर प्रकाशित गरिएको छैन। 'बैरागी' नाता मगरले 'लीस' मगर भाषाको कविता सङ्ग्रहमा तीनवटा बच्चालाई गीत गाउँदै भुलाउने बालगीतलाई समावेश गरेको छ। पाठ्यक्रम विकास केन्द्रद्वारा मगर भाषाको पाठरयपुस्तक कानूङ मगर ढूटमा अनुवाद गरिएका र केही बालकविता समावेश गरिएको छ। बालबालिकाको लागि नै फुटकर रूपमा कविता लेख्ने कविहरूमा हेमबहादुर थापामगर (रामेछाप), राजु दर्लामीमगर (रामेछाप), राकेश दर्लामीमगर (रामेछाप) रहेका छन्।

खण्डकाव्य कविता[सम्पादन गर्ने]

मगर भाषामा लिखित खण्डकाव्य सङ्ग्रह हालसम्म 'बैरागी' नाता मगरद्वारा लिखित 'मैयो मीराप' (आमाको रोदन-२०४९) मात्र रहेको छ। शीर्षक मगर भाषा राखेर नेपालीमा शोषित मगर परिवारको कथावस्तुलाई आधार मानी लेखिएको 'बोई' (बाऊ) प्रगतिवादी कवि रामचन्द्र भट्टराईले लेखेका छन्। मगर भाषाका केही शब्दलाई मात्र प्रयोग गरिएको छ। अथार मगरात क्षेत्रका खाम मगर र काइके मगर भाषामा खण्डकाव्य लेखिएको छैन।

श्रव्य गीत[सम्पादन गर्ने]

'बैरागी' नाता मगरको संयोजन र नेत्र बहादुर थापाको नेतृत्वमा 'मगर ढूटो ल्हीङ्' (मगर भाषाको गीत -२०४९) नै मगर भाषामा स्वरबद्ध गरिएको पहिलो गीतिसङ्ग्रह (एल्बम) भएको मानिन्छ। मगर भाषाको श्रव्य गीततर्फ मन बहादुर बगालेमगर (सुर्खेत)को 'कानूङ मेयोङ' (हाम्रो बेदना - २०५०), छविलाल चिडीमगर र टेकचन्द्र गाहामगरको सङ्कलनमा 'सेनिस है लाफाको' (सुन्नुस् है साथीहरू - २०५१) गीतिसङ्ग्रह पहिलो व्यबसायिक गीतिसंग्रह मानिन्छ। मगर भाषाको गीति एल्बमको रूपमा देखा परेको गीतकार गणेश ठाडामगरको 'लाङघौ रोह' (गाउँको माया - २०६२) अडियो एल्बम र सीडीसहित प्रकाशित रहेको छ। गीतकार मन बहादुर बगालेमगर (सुर्खेत)को 'वाटा ग्याच सार' (फुल्यो रातो फुल - २०६४) गीतसंग्रह (एल्बम) प्रकाशित छ। संगीतकार भीम रानामगरको गीति एल्बम लाङघौ झामर्‍या(२०६५) बजारमा आएको छ। फुटकर रुपमा मन बहादुर बगालेमगरको 'काँक्रेबिहाराङ' (काँक्रेबिहारमा -२०६६) दोहोरी गीत रेकर्डिङ गरिएको छ।

मगर भाषाको पहिलो चलचित्र 'लङ्घन' (प्रयास)को गीतहरू गीतकार सञ्जोग लाफामगरको संयोजनमा गीतकार लीला पुलामीमगर र गौमाया थापामगरको गीतलाई रेकर्डिङ गरी 'लङ्घन' गीति सङ्ग्रहको रूपमा प्रकाशित गरिएको छ। गीतकार सञ्जोग लाफामगरको गीति अडियो एल्बम र सीडीसहितको 'रोहसार' (प्रेमफूल­), बुद्ध भगवान्को स्तृतिमा आधारित मनु थापामगरको संयोजनमा 'बुद्धऔँ चरणाङ' (बुद्धको चरणमा) शीला आलेमगर र बलिसरा थापामगरको संयुक्त रूपमा जुहारी गीतसहितको 'जोडी भाह्लेसा' (जोडी छुटेछ) र दुर्गा रायमाझीको संयोजनमा 'भूर्मह्वाच ग्वाजा' (उडिरहने चरी) गीति एल्बम रहेको छ। उजीर रानामगरको मगर ढूटमा गीति एल्बम आउँदैछ।

मगर भाषामा गीत लेखी रेकर्डिङ गरी सामाजिक, सांस्कृतिक, जातीय चेतनासहित व्यावसायिक रूपमा उन्मुख हुन थाल्नुले गीत-सङ्गीतप्रति मगरहरूको गाढा सम्बन्ध रहेको आभास पाइन्छ। मगर खाम-पाङ भाषामा केही गीत रेडियो नेपालमा रेकर्ड गरिएको छ भने मगर काइके भाषामा गीत रेकर्डिङ गरिएको छैन। खाम-पाङ र काईके मगर भाषामा गीति एल्बम प्रकाशन भएको छेैन।

गजल[सम्पादन गर्ने]

मगर भाषामा मेकबहादुर रानामगरको 'बीक्च गीन' (दुखेको मन-२०६४) पहिलो गजल सङ्ग्रह हो। नवलपुरका जनक माकिम मगरको 'गालाम फोईङ' गजल सङ्ग्रह २०६५ प्रकाशित छ। नवलपुरकै अर्का गजलकार हेमा आले 'बोगी'को 'रीक्मा' (कलम - २०६६) गजल संग्रह प्रकाशित छ । दिनमान गूर्मछान मगर दिगुद्वारा लिखित मगर भाषा 'मगर भाषा गजल सङ्ग्रह' प्रकाशोन्मुख छ। आशीष सूर्यवंशी मगर निर्दोष (नवलपरासी), रोहितकुमार रानामगर (रूपन्देही) गजलकार भएर पत्रपत्रिकामा देखा परेका छन्।

हाइकु[सम्पादन गर्ने]

उजीर राना मगरले फुटकर रूपमा २०६२ सालमा मगर भाषाका हाइकु प्रकाशन गरेका छन्। तनहुँका मीन थापामगरले 'मगर ढूटाङ १०१ हाइकु' मगर भाषामा १०१ हाईकु (२०६४)मा प्रकाशन गरेका छन्। यो नै मगर भाषाको पहिलो हाइकु सङ्ग्रह हो । यसबाहेक मगर भाषामा हाइकु लेखिएको पाइएको छैन।

मुक्तक[सम्पादन गर्ने]

मगर भाषामा मुक्तक सङ्ग्रहको रूपमा प्रकाशित भएको देखिँदैन। रुद्रबहादुर हितानमगरद्वारा लिखित 'लाङघाके आरमेट्नाङ-२०५०' कविता संग्रहभित्र केही मुक्तकहरू रहेका छन्। उनकै मुक्तकहरू पत्रपत्रिकामा छापेर मगर भाषाको मुक्तकले मुक्तकको प्रतिनिधित्व गरिरहेका छन्। फुटकर रूपमा टिकाटोली थापामगर (उदयपुर) गणेश ठाडामगर (धनकुटा) का मुक्तक प्रकाशित छन्। गीतकार शिवशङ्कर थापामगरको 'पाइतालाका डोबहरू' (मीहीलऊ मीठापको-२०६३) मुक्तक संग्रह मगर भाषामा अनुवादसहित प्रकाशित भएको छ। जनक माकीम मगरको गालाम फोईङ मुत्तक प्रकाशोन्मुख छ।

कथा[सम्पादन गर्ने]

मगर भाषामा लेखिएको टेकबहादुर सारुमगरद्वारा लिखित बडहरे साहिंली (बडहरे साईली-२०५०) मगर भाषाको कथा सङ्ग्रहको रूपमा पहिलो रहेको छ। 'बैरागी' नातामगरको सम्पादनमा नेपाल मगर संघ जिल्ला कार्यसमिति तनहुँद्वारा प्रकाशित मगर कथा संग्रह "मगर ढुटओ आहान गोहोमोक, -मगर भाषाको कथा सङ्गालो (२०६४) र विष्णुकुमार सिञ्जालीमगरको 'ल्हुङ' (ढुङ्गा- २०६४), 'बैरागी' नातामगरद्वारा लिखित 'फेरफेन ङ नमखान' (पूर्व र घाम-२०६४), उजीर रानामगरको 'मोई झाओ रोहाङ' (जन्मभूमिको मायामा-२०६४), शिवलाल थापामगरको 'लुप्च रह' (गहिरो दह २०६५), दुर्गा ढेंगाको सम्पादनमा 'याँभु' (इन्द्रेणी - २०६९), हेमा आले 'बोगी' (नवलपुर) 'लर्फूओ मिच्याट' (पछ्यौरीको एक टुक्रा - २०७०), दुर्गा ढेंगा (पाल्पा)को 'छेटेन' (बन्दुक - कथा संग्रह -२०७३) सहित गरी ८ वटा कथासङ्ग्रह प्रकाशित भएका छन्। सञ्जोग लाफामगरको 'फोक्सिङ वाट्नाङ (साल फुल्दा) कथासङ्ग्रह प्रकाशोन्मुख छ। फुटकर कथा विभिन्न पत्रिकामा प्रकाशित गरेर कथा विधामा योगदान दिनुहुने कथाकार तनहूँका भाबुक मगर हुन्।

खाम-पाङ भाषामा फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। खाम-पाङ र काईके मगर भाषामा कथासङ्ग्रह प्रकाशित भएको छैन।

बालकथा[सम्पादन गर्ने]

मगर भाषामा लेखिएको हेमा आले 'बोगी' (नवलपुर) 'बोपरा खुया' (बिचरा खुया - २०७१) बालकथा संग्रह प्रकाशित छ । बालमनोविज्ञानलाई लिएर यो भन्दा अर्को कुनै बालकथाकृति प्रकाशन भएको पाइएको छैन ।

लघुकथा[सम्पादन गर्ने]

मगर भाषामा लेखिएको छोटा कथा, लघुकथा संग्रह प्रकाशित भएको देखिँदैन। फुटकर रूपमा अमृता थापामगर, सिंह रानामगर (स्याङजा) टिकाटोली थापामगर (उदयपुर)का लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित भएका छन्।

लोककथा[सम्पादन गर्ने]

'बैरागी' नातामगरद्वारा लिखित 'खीस्सा ङेराहान ड पीहिनी, २०५५'मा केही लोककथा संग्रहित छन्। मगर दन्त्यकथा मगर भाषामध्ये रणप्रसाद घर्तीमगरद्वारा लिखित खाम-पाङ मगर भाषामा खाम मगर दन्त्य कथा (२०६२) रहेको छ। अन्य मगर ढुट र काईके मगर भाषामा प्रकाशन भएको छैन।

उपन्यास (नामरीही)[सम्पादन गर्ने]

मगर भाषाको उपन्यास सञ्जोग लाफामगर 'रेवस' (चलन, २०५१), 'माहाञ्जौ लुमरा' (स्वास्नीको चिहान, २०५६), झुस्या मगर 'जजा वखत' (बाल्यावस्था, २०५२), फूलकुमारी थापामगरको 'यीटन लेसा मास्टोकुङ कथा र व्याथा' (यस्तै रहेछ महिलाहरूको कथा-व्यथा, २०५७), 'आखीरीआङ भगूमान मालेलेसा' (आखिरीमा भगवान रहेनछ, २०६५), 'बैरागी' नातामगरको उपन्यास 'रोरा नीराओ काट जूग' (रोरा नीराको एक युग, २०६६), विप्लव मगरको 'लीसोबारी' (देशको लागि - २०६६) गरी ७ वटा उपन्यास प्रकाशित छन्।

खाम-पाङ मगर भाषामा नवीन रोकामगरले उपन्यास प्रकाशनको सङ्घारमा रहेको छ। मगर काइके भाषामा उपन्यास अहिलेसम्म लेखिएको छैन।

नाटक[सम्पादन गर्ने]

मगर भाषामा नाटक विधामा कसैले कलम चलाएको देखिँदैन। युवराज मास्की रानामगरद्वारा अङ्ग्रेजीमा लिखित मगर नाटकलाई कृष्णबहादुर पुलामीमगरले मगर ढुट भाषामा अनुवाद गरिएको 'मोई' (आमा-२०५०) नाटक र मोदनाथ प्रश्रितद्वारा लिखित प्रगतिशील नाटक 'पचास रूपियाँको तमसुक'लाई लोकबहादुर थापामगरले अनुवाद गरी प्रकाशित गरेको 'पीराङ् रूप्यौ लूरीक' (२०५०) अनुवादित नाटक नै मगर भाषा नाटकको रूपमा प्रतिनिधित्व गरिरहेको छ। खामपाङ मगर र काईके मगर भाषामा नाटक अहिलेसम्म लेख्न सकेको छैन।

एकाङ्की नाटककारहरूमा बैरागी नातामगर (तनहुँ), लोकबहादुर थापामगर (स्याङ्जा) रहेका छन्। खामपाङ र काईके मगर भाषामा नाटक कृतिको रूपमा प्रकाशित भएको छैन।

चलचित्र[सम्पादन गर्ने]

मगर चलचित्र २०५१मा 'लंघन' चलचित्रमा युवराज मास्की रानामगरले पटकथा लेखन, निर्देशन गर्नुभएको छ। संजोग लाफा मगरको कथामा आधारित यस चलचित्रमा अभिनय गर्ने कलाकारहरु राज थापा, नरेन्द्र आले, ईश्वर थापा, तारा थापा आदि रहेका छन्। निर्माता डीबी पुलामी मगर हुन्। त्यसयता मगर भाषा, संस्कृति र विषयमा आधारित कथानक चलचित्र ४५, वृतचित्रहरु करिब २५ र लघुचलचित्र करिव १५ निर्माण भइसकेका छन् भने निर्माणाधिन चलचित्रहरु पनि छन्।

निबन्ध[सम्पादन गर्ने]

मगर भाषामा शिवलाल थापा गुरुछानको 'मीरीक' (निबन्ध सङ्ग्रह, २०६६) प्रकाशित भएको छ। अन्य मगर निबन्धकारहरूले कलम चलाउने प्रयास गरेको देखिन्छ। लोकबहादुर थापामगर (स्याङजा), यमबहादुर आलेमगर (तनहुँ)ले निबन्ध विधामा कलम चलाएका छन्। त्यसैगरी खीम थापामगर (स्याङजा), धनसिं रानामगर (बाँके), पदमबहादुर चितौरे रानामगर (तनहुँ), पूर्णबहादुर डिसुवामगर (नवलपरासी), प्रेमबहादुर थापा तारुङमगर (तनहुँ), सोम रानामगर (धनकुटा)ले फुटकर रूपमा निवन्ध लेखेका छन्। खामपाङ मगर र काईके मगर भाषामा निबन्ध सङ्ग्रह र निबन्धहरू लेखिएको छैन।

चिनारी/जीवनी[सम्पादन गर्ने]

मगर भाषामा मगर व्यक्तिहरूको जीवनीलाई आधार मानेर चिनारी लेख्ने कामको सुरुवात गरिए पनि निरन्तरता हुन सकेको छैन। मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरलाई मगर भाषाका आदिकवि भनेर चिनारी गराउने उद्देश्यले लोकबहादुर थापामगरले 'मगराती ढूटाङ जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापामगर' पुस्तक लेखेका छन्। बीमलीक पत्रिकामा उहाँद्वारा नै लिखित मिझार रील्हीङ्या रेखबहादुर ठापामगरबारे चिनारी लेखेका छन्।

समालोचना[सम्पादन गर्ने]

समालोचना विधामा कलम चलाउनेमा यामबहादुर थापामगर (स्याङ्जा) रहेको छ। लोकबहादुर थापामगरद्वारा लिखित 'रङसीचकुङ ल्हीङ' कविता सङ्ग्रहको समालोचना हो। समालोचनाका रूपमा उनीहरुमात्र अहिलेसम्म देखिएका छन्।

उखान टुक्का/गाउँखाने कथा/चुट्किला[सम्पादन गर्ने]

मगर भाषामा पहिलो उखानटुक्का र गाउँखाने कथासङ्ग्रहको रूपमा 'बैरागी' नाता मगरद्वारा लिखित 'खीस्सा ङेराहान ड पीहिनी, २०५५' रहेको छ। मगर समाजमा उखान टुक्का गाउँखाने कथाहरू प्रशस्त मात्रामा भए पनि लिखित परम्पराको विकास नभएको कारण कतिपय उखान टुक्काहरू लोप भइसकेका छन् भने बुढाबूढीहरूको मुखमा झुन्डिएको टुक्काहरू लोपोन्मुख हुने अवस्थामा रहेको छ।

मगर भाषा 'चुट्किला' लेखेको पाइएको छैन। सङ्ग्रहको रूपमा प्रकाशन भएको पनि देखिंदैन। उदयपुरका टिकाटोली मगरले 'राहा' पत्रिकामा लेखेको एकमात्र चुट्किला लेखिएको देखिन्छ।

लिपिको विकास[सम्पादन गर्ने]

एम.एस. थापामगरद्वारा अनुसन्धान गरी प्रकाशनमा ल्याएको आख्खारिकाको विभिन्न कोणबाट विवाद हुँदै आए पनि नेपाल सरकारद्वारा मुद्रित प्राथमिक तहसम्मको मगर भाषाको पाठ्यपुस्तकमा आख्खारिका प्रकाशन भई अध्यापन गर्न थालिएको छ भने विभिन्न मगर जातीय सङ्घ संस्थाले यस लिपिमा तालीम दिई कतिपय व्यवहारमा समेत ल्याउने जमर्को गरेको पाइएको छ। अचेल यस अक्खारिका लिपि तयार पारी साहित्यिक रचनाहरुलाई लिपिमा परिबर्तित गर्ने काम थालिएको छ।

मगर शब्दार्थ र शब्दकोश[सम्पादन गर्ने]

मगर ढुटमा संकलक, लेखक तथा प्रधान सम्पादक, हिरासिंह थापा (सोमेसेन मगर); सम्पादक मण्डल, युवराज मास्की रानामगर, नारायण तारुङमगर, विष्णुकुमार सिङ्जालीमगरको सह-सम्पादनमा 'मगर (ढूट)-खस-अङ्गरेजी आखर गोम्होक, मगर (ढुट)-खस-अंग्रेजी शव्दकोश, Magar (Dhut)-khas-English Dictionary' - २०६६ असारमा नेपाल मगर संघले प्रकाशन गरेको हो।

त्यसैगरी मगर खामपाङमा रणप्रसाद घर्ती मगर र कर्णबहादुर बुढामगर (रुकुम)को A Trilingual Dictionary of the Magar Language (Athara Magarat) - २०६७, शब्दकोश प्रकाश भएको छ।

साहित्यको तुलना[सम्पादन गर्ने]

समग्रमा मगर भाषा साहित्यको तुलना गर्दा मगर ढुटमा केही मात्रामा पुस्तक प्रकाशन भई मगर ढुटको साहित्यमा विकास भएको छ। तर अथार मगर भाषामा एक दुईवटा साहित्यको पुस्तक प्रकाशनपछि खासै प्रकाशन भएको छैन। मगर काईकेमा छिटपुट कविता प्रकाशनबाहेक डोल्पाका कर्णबहादुर बुढामगर र लाजे बुढामगरको गोरखापत्रमा प्रकाशन भएको लेखबाहेक खासै साहित्य सिर्जना भएको छैन। उजीर रानामगरको संयोजनमा मगर काईकेको वर्ण पहिचान गोष्ठी गरी (२०६५)मा वर्ण पहिचान भएको पुस्तिका भने प्रकाशन भएको छ।

[२] [३]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Magar", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. विभिन्न समयमा विभिन्न व्यक्तित्त्वहरूद्धारा प्रस्तुत कार्यपत्रहरू
  3. लोकबहादुर थापा मगरद्धारा लिखित मगर भाषामा क-कसले के-के गरे ?

बाह्य सुत्र[सम्पादन गर्ने]