नेवारी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेवारी भाषा
नेपाल भाषा
मूलभाषीनेपाल
क्षेत्रदक्षिण एसिया
मातृभाषी वक्ता८ लाख ६० हजार
आञ्चलिक भाषाहरू
  • काठमाडौँ
  • दोलखाली
  • भक्तपुर
  • ललितपुर
  • बनेपा
  • धुलिखेल
  • चित्लाङ्ग
  • किर्तिपुर
  • सिन्धुपाल्चोक
  • पनौति
देवनागरी, कुटाक्षरी लिपि, रञ्जना लिपि, 𑐥𑑂𑐬𑐔𑐮𑐶𑐟 𑐮𑐶𑐥𑐶, ब्रह्मी लिपि, गुप्त लिपि, भुजिँमोल लिपि, गोलमोल लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
 नेपाल,
सिक्किम  भारत
नियामक संस्थानेपाल भाषा परिषद
भाषा सङ्केतहरू
आइएसओ ६३९-२new (एनइडब्लु)
आइएसओ ६३९-३new (एनइडब्लु)
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

नेवारी भाषा नेवार समुदायले बोल्ने प्रादेशिक भाषा (नेवारीमा नेवाःभाय्) नेपालको एउटा प्रमुख समृद्ध भाषा हो। नेपालभाषा भनेको नेवा: साहित्यको ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं साहित्यिक उपनाउँ हो। चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समूहमा पर्ने यस भाषा किराँत भाषामा विभिन्न भाषाहरू मिसिएर विकसित भई मल्लकाल देखि साहित्यिक रूपमा फल्दैफुल्दै आएको छ। राजधानीबासीले अाफ्नो प्रकारलाइ प्रधान मानेतापिन दोलखाका नेवारहरूले दोलखालाइ नै नेवारीको उद्गम मान्ने गरेका छन । आफ्नै विभिन्न लिपि भएको यस भाषा देवनागरी लिपिमा पनि लेखिने एउटै मात्र चिनी-तिब्बती परिवारको भाषा पनि हो।

वर्गिकरण[सम्पादन गर्नुहोस्]

मिति वि.सं. २०।७।२०१७ को ‘नेपाल भाषा पत्रिकाˈ दैनिक पत्रिका

यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ।

लिपि[सम्पादन गर्नुहोस्]

नेवारी भाषा धेरै लिपिहरूमा लेखिन्छ। ती मध्ये प्रमुख लिपिहरू रञ्जना लिपि, प्रचलित, ब्राह्मि, भुजिमोल हुन्। यी सबै लिपिहरू देब्रेबाट दायाँतर्फ लेखिन्छन्, तर कुटिला लिपि लिपि भने माथिबाट तल लेखिन्छ। यी सबै लिपिमा स्वरमाला र व्यंजनमाला गरी दुई प्रकारका अक्षरहरू हुन्छन्। नेवारी भाषाका चौधवटा लिपि हुन्:-

भाषिका[सम्पादन गर्नुहोस्]

विकासक्रम[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपाः उपत्यकाको मौलिक भाषा हो। यसको उत्पत्ति काठमाडौँ उपत्यकामा भएकोमा विद्वहरूको सहमति छ। काठमाडौँ उपत्यकामा किरांत शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो। तिब्बतसँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ। लिच्छवी काल र मल्ल कालमा बध्दो संस्कृतको तथा शाहकालमा खस (नेपाली) भाषाको प्रभाव यो भाषामा देखिन्छ।

तिब्बती-बर्मेली भाषा परिवारको भाषा भए पनि वर्षोसम्मको भारोपेली भाषा परिवार भाषासँगको सम्बन्धले गर्दा नेवारी भाषाको स्वरूप विशेष गरी नामपद अलि भारोपेली जस्तो छ।

शाहकालमा तथा राणाकालमा राष्ट्रद्वारा नेपाली भाषालाई दिईएको प्राथमिकता तथा पञ्चायती व्यवस्थाको "एक भाषा" नीतिले यो भाषाको विकासक्रममा केही सुस्तायो। प्रजातन्त्र पुनर्स्थापना पश्चात् नेपाली मिडियामा निजि क्षत्रको संलग्नताले यस भाषाको विकासमा सघाएको छ।

साहित्य[सम्पादन गर्नुहोस्]

राजा महिन्द्र मल्ल (शासन १५६०–१५७४) जसलाई नेपालभाषाको आदिकवि भनिन्छ।

नेवारी भाषा साहित्य कहिले सुरू भयो भन्ने बारेमा कुनै ऐतिहासिक प्रमाण छैन। यसको विकास तथा विस्तार लिच्छवी तथा मल्ल कालमा भएको थियो भन्ने तथ्यलाई तत्कालिन समयमा रचित विभिन्न नाटक, गीत, काव्य तथा तत्कालीन शिलालेखहरूले पुष्टि गर्दछन्। नेपालभाषाका महाकवि सिद्धिदास महाजु हुन्। यस भाषाबाट लेखिएको प्रथम अभिलेखको रूपमा ई.सं. १११४ को ललितपुर रुद्रवर्ण महाविहारस्थित ताड पत्रलाई लिइएको छ। मल्लकालको उदयसँगै राजकीय मान्यता पाएपछि यस भाषाले राम्ररी फल्ने फुल्ने मौका पायो। यही अनुरूप १४औँ शताब्दीमा आएर हरमेखला, नारद संहिता, अमरकोश, गोपालराज वंशावली आदिजस्ता महत्त्वपूर्ण ग्रन्थहरू रचिए भने तत्कालीन आवश्यकता र शासकहरूको रुचि अनुसार विविध विषयको प्रशस्त वाङ्मय ग्रन्थहरूको रचना भए। फलतः नेपालमा संस्कृत पछि प्राचीन वाङ्मय ग्रन्थको बढी रचना नेवारी भाषाबाटै भयो। ई.सं. १५०५ को भागवत् पुराण ग्रन्थदेखि यस भाषाको साहित्यिक इतिहास सुरू हुन्छ।<<[१]>>

१) प्राचीन काल -ई.सं. १५०५-१८४७

२) माध्यमिक काल -ई.सं. १८४७-१९४१

३)आधुनिक काल -ई.सं. १९४१ देखि हालसम्म

१) प्राचीन काल -ई.सं. १५०५-१८४७[सम्पादन गर्नुहोस्]

नेवारी भाषाको साहित्यिक इतिहासमा मल्लकाललाई स्वर्ण युग मानिन्छ। तत्कालीन शासकहरू स्वयंले यस भाषाबाट गीत, नाटक नाटिका आदि रचेर नेवारी भाषा साहित्य उत्थानको निमित्त महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। यस समयमा विकास भएका प्रमुख साहित्यिक विधा कथा, गीत तथा नाटक हुन्।

कथा[सम्पादन गर्नुहोस्]

प्राचीन कथाहरू विशेषतः स्वतन्त्र लेखन नभई अरू भाषाको अनुवादको रूपमा रहे पनि रचनाकारहरूले तत्कालीन धर्म संस्कृतिलाई प्रतिबिम्बित गरेर आफ्ना सिर्जनशीलता देखाएका छन्। यस्ता प्राचीन कथाहरूमा पुराण, अवदान, जात, तीर्थव्रत महात्म्य आदि जस्ता धार्मिक कथाहरू, पुराण, जातक, तीर्थव्रत माहात्म्य आदिजस्ता धार्मिक कथाहरू, हितोपदेश -ई.स‌ १५७१) तन्त्राख्यान -ई.स. १५१८) जस्ता औपदेशिक कथाहरू, बेताल पंचविंशति - ई.सं. १६२०) शुकबहत्तरी जस्ता लौकिक मनोरञ्जनात्मक कथा तथा महाभारत रामायण सम्बन्धी भित्ते चित्र कथाहरू प्रमुख छन्।

गीति काव्य[सम्पादन गर्नुहोस्]

प्राचीन साहित्यमा सङ्ख्यात्मक रूपले मात्र नभई सबभन्दा बढी सिर्जनात्मक सशक्तता प्रतिबिम्बित भएको विधा गीति काव्य हो। हालसम्मको प्रमाणित तथ्य अनुसार ई.सं. १५६९ को वीर रस प्रधान प्रणमति जुगपति नामक गीतलाई नेवारी भाषाको सबभन्दा पहिलो काव्य तथा राजा महिन्द्र मल्ललाई -ई.सं. १५६०-१५७४) आदिकविको रूपमा लिइएको छ। अरू प्रमुख कविहरूमा-राजा जगतप्रकाश मल्ल, सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, प्रताप मल्ल, रानी ऋद्धी लक्ष्मी, रणजित मल्ल, वृद्धिलक्ष्मीˌ जयप्रकाश मल्ल तथा जनसाधारणमा, केशव उदास, जगत्केशरी आदि प्रमुख छन्। त्यस्तै काव्यको विषयको रूपमा भक्ति तथा, श्रृगार नै मुख्य छन्।

नाटक[सम्पादन गर्नुहोस्]

नाटक लेखनमा पहिले नेवारी भाषालाई निर्देशनको माध्यमको रूपमा मात्र प्रयोग गरिएको थियो भने ई.सं. १६०८ मा आएर सिद्धिनरसिंह मल्लका एकादशी व्रतजस्ता एकाङ्की तथा ई.सं. १६६५ मा जगतप्रकाश मल्लको मूलदेव शशीदेवपाख्यान जस्ता पूर्णाङ्की पनि यस भाषामा देखा पर्न थाले। तत्कालीन शासकहरूले आफैले नाटकहरूको रचना गर्ने मात्र नभई विवाह व्रतवन्ध जस्ता महत्त्वपूर्ण पर्वहरूमा प्रदर्शन गरेर नाटक साहित्यको विकासलाई महत्त्वपूर्ण टेवा पुर्‍याएका थिए। राजा सिद्धिनरसिंह मल्ल, ˌश्रीनिवास मल्ल,ˌ जगत्प्रकाश मल्लˌ भूपतिन्द्र मल्ल, रणजित मल्ल, जयप्रकाश मल्ल आदि त्यस बेलाका प्रमुख नाटकारहरू हुन् भने सङ्गीत नृत्य आदि तत्कालीन नाटकका अभिन्न अङ्ग हुन्।

यसरी मल्लकालमा असाध्यै मौलाएको नेवारी भाषा साहित्य मल्ल शासनको अन्त्यसँगै यसको विकासमा गतिरोध आयो तर पहिले जस्तै साहित्य लेखनमा राजारानीहरू सरिक नभए पनि केही भाइ भारदार तथा अज्ञात कविहरूले मन्द गतिमा भए पनि यसको क्रमलाई टुट्न दिएनन्। उक्त कविहरूले भजन, मुक्तक तथा गीति कथाका रूपमा तत्कालीन जनताले भोग्नु परेका घात-प्रतिघातलाई निर्भीक निडरतापूर्वक अभिव्यक्त गरेका छन्। शिलु तिर्थ, ˌशितलामाजु गीति कथा यसका ज्वलन्त उदाहरण हुन्।

२) माध्यमिक काल -- ई· स‍ं· १८४७-१९४१[सम्पादन गर्नुहोस्]

माध्यमिक कालको पहिलो चरणलाई अन्धकार युग पनि भनिन्छ। नेवारी भाषालाई प्रत्यक्षरूपले दमन गर्ने कार्य यही समयदेखि भयो। ई.सं. १८४७ मा भएको भयानक कोत पर्वले भाइ-भारदारहरूमा डर-त्रास उब्जायो भने तत्कालीन सन्त महन्तको अर्ति उपदेशले पनि उनीहरूमा गहिरो प्रभाव पारेको थियो। फलतः स्वामी अभयानन्द, हरिभक्त माथेमा, मानलाल मास्के आदि जस्ता भाइ-भारदारहरूबाट उपदेशात्मक प्रवृत्तिको भक्ति काव्य सिर्जना भयो। उता तात्कालीन शासकहरूको भाषिक दमनले साहित्यिक प्रवाहमा गतिरोध ल्याए पनि त्यसको प्रतिरोध गर्ने युग पुरूषहरू पनि समयले जन्माएका थिए। साथै छिमेकी देश भारतमा भएको तत्कालीन भाषिक, सांस्कृतिक जागरणले पनि यहाँका युवाहरूमा गहिरो प्रभाव पारेको थियो। फलस्वरूप यी युग पुरुषहरूबाटै नेवारी भाषा साहित्यको पुनर्जागरणको थालनी भयो।

पण्डित निष्ठानन्द बज्राचार्यले हस्तलिखित परम्परालाई तोडी मुद्रण परम्पराको थालनी गरे भने ललितविस्तर जस्ता ग्रन्थहरू रचेर धार्मिक तथा भाषिक जागरण ल्याए। महाकवि सिद्धिदासले सिद्धिरामायण, सत्यसती, सज्जन हृदयाभरण जस्ता काव्य रचेर नेवारी भाषालाई विविध विधा, विविध विषयबाट सम्पन्न गराए, नैतिकमूलक उपदेशात्मक प्रवृत्तिको काव्यको थालनी गरे। कवि योगवीर सिंहले काव्य मार्फत भाषिक तथा सांस्कृतिक जागरणका स्वरहरू घन्काए। मास्टर जगतसुन्दर मल्लले मातृभाषामा शिक्षा दिने पाठ सिकाए। शहीद शुक्रराज शास्त्रीले 'नेपालभाषा व्याकरण' जस्ता पुस्तक लेखी स्तरीय भाषा बनाउनमा सहयोग पुर्‍याए। धर्मादित्य धर्माचार्यले 'बुद्धधर्म र नेपालभाषा' नामक पत्रिका प्रकाशन गरेर पत्रिकाको परम्परा बसाले। त्यस्तै सिद्धिदासको 'शिवविलास', निष्ठानन्दको 'ललितविस्तर', धर्मादित्य धर्माचार्यको 'नेपालभाषा व थ्वया साहित्य' जस्ता गद्य लेखनले तत्कालीन गद्य विधालाई नै स्तरीय बनाए।

३. आधुनिक काल -- ई.सं. १९४१ देखि हालसम्म[सम्पादन गर्नुहोस्]

Chittadhar Hridaya, sketched in jail, ca. 1944. He was sentenced to six years for writing a poem.

नेपालभाषा साहित्यले आधुनिक मोड लिनुमा तत्कालीन भाषिक साहित्यिक गतिविधिहरूको पनि ठूलो भूमिका रहेको छ। वि.सं. १९९७ सालको काण्डमा जेलमा परेका कवि लेखकहरू तथा देश निकाला गरिएका तत्कालीन भिक्षुहरूको साहित्यिक योगदान ‘धर्मदूत, धर्मोदय, नेपालˈ आदि पत्र पत्रिकाको प्रकाशन, च्वसापासा, नेवारी भाषा परिषद् आदि जस्ता सङ्घ, संस्थाको स्थापना, तत्कालीन प्रजातन्त्रको खुला वातावरण आदिले नयाँ-नयाँ साहित्यिक विधाहरू नेवारी भाषा साहित्यमा पनि भित्रिए भने पहिले भएका विधाहरूले पनि आधुनिक रूप लिए। फलतः नेवारी भाषा साहित्यले आधुनिक युगमा प्रवेश गर्‍यो। त्यस्तै पञ्चायती व्यवस्थाको भाषिक दमनको विरुद्ध भएको साहित्यिक क्रियाकलाप, वि.सं. २०४६ तथा वि.सं.२०६२/६३ को जनआन्दोलन, विश्वमा देखापरेको उत्तर आधुनिकवादको लहर, साइबर संस्कृतिको विकास आदिले यस आधुनिक क्रमलाई अझ अगाडि बढाए।

काव्य[सम्पादन गर्नुहोस्]

नेवारी भाषामा स्वच्छन्दतावादी धाराको प्रयोग ई.सं. १९२८ नै कवि बैकुण्ठप्रसाद लाकौलले गरिसकेका भए पनि यसलाई अधि बढाउने काम आधुनिक कालको प्रारम्भसँगै भयो। यसको अग्रणी भूमिका सिद्धिचरणले निर्वाह गरे भने दुर्गालाल, ˌनारायणदेवी जस्ता थुप्रै कवि कवयित्रीहरूले यसलाई साथ दिए। त्यस्तै ई.सं. १९६० को दशकमा ˈगाजलं दाःगु चा, सरासुˈ जस्ता काव्य सङ्ग्रहको प्रकाशनले नेवारी भाषामा पनि आधुनिक कविताको सूत्रपात गरे। पूर्णबहादुर वैद्य, ˌश्यामसुन्दर सैजु, ˌबुद्ध सायमि, योगेन्द्र प्रधान, आनन्द जोशी यस प्रवृत्तिका अगुवा सर्जकहरू हुन् भने अरू थुप्रै नयाँ पुस्ताका कविहरूमा गिरिजाप्रसाद जोशी, त्रिरत्न शाक्य, भगतदास श्रेष्ठ, सुदन खुसः, नर्मदेश्वर प्रधान, प्रतिसरा सायमि, केशवमान शाक्य, नवीन चित्रकारˌ नारद वज्राचार्य, राजभाइ जकःमिˌ सुरेश किरण, ईश्वरी मैया आदि छन्। त्यस्तै परबन्ध काव्यतर्फ चित्तधर हृदयको ˈसुगत सौरभˈ महाकाव्यलाई यस आधुनिक कालको एक प्रमुख उपलब्धि मान्नु पर्दछ।

कथा[सम्पादन गर्नुहोस्]

नेवारी भाषामा आधुनिक कथाको सुरूवात चित्तधर हृदयको ˈखुपु बाखंचाˈदेखि -ई.सं.१९४७ आरम्भ भएको मानिन्छ। प्रारम्भमा बढी कथाहरू सामाजिक सुधार तथा नेवारी सांस्कृतिक परिवेशमा केन्दि्रत छन् भने नयाँ पुस्ताका कथाकारहरू सूक्ष्म, साङ्केतिक तर बृहत् समाजलाई सङ्गालेर कथा लेख्नमा प्रयत्नशील छन्। चित्तधर 'हृदय', मोतिलक्ष्मी, पूर्णदास श्रेष्ठ, माधवलाल कर्माचार्य, पूर्ण पथिकˌ हितकरवीर सिंह त्यस्तै नयाँ पुस्तामा मथुराकृष्ण सायमि, राजा शाक्य, लक्ष्मण राजवंशी, सुवर्ण केशरी, शशिकला, ˌनारद वज्रचार्य, केदार सितु आदि यस विधाका प्रमुख सर्जकहरू हुन्।

निबन्ध[सम्पादन गर्नुहोस्]

नेवारी भाषामा वास्तविक निबन्धको थालनी रत्नध्वज जोशीको तत्कालीन हस्तलिखित नेपाल -ई.सं. १९४५ पत्रिकामा प्रकाशित ˈच्वय्गु छाय??? ˈबाट भएको छ भने वस्तुपरक निबन्धको विकासमा पनि रत्नध्वज जोशीको योगदान उल्लेखनीय छ। त्यस्तै निजात्मक निबन्धको थालनी प्रेमबहादुरको न्हूपुखू देखि भयो भने यस प्रवृत्तिको निबन्धलाई अझ फराकिलो र विस्तार गर्ने काम पद्मरत्न तुलाधरˌ, मङ्गलप्रसाद, पूर्णबहादुर वैद्य आदिबाट भयो तर नेवारी भाषामा देखापरेका निबन्धहरू विषयगत हिसाबले संस्कृतिसम्बन्धी नै बढी छन्। यस विधामा देखा परेका अरू सर्जकहरू हुन्- ˌमोतिलक्ष्मी, ˌठाकुरलाल मानन्धर, फणिन्द्ररत्न बज्राचार्य, युवा पुस्तामा विजयश्वर वैद्य, रमेशकाजी स्थापितˌ सौरभ शाक्य आदि।

नाटक[सम्पादन गर्नुहोस्]

आधुनिक नाटकको प्रारम्भ पनि यही आधुनिक कालमा आएर मात्र भयो। राणाकालीन समयमा इन्द्रजात्रा तथा अरू पर्वमा नेपाल ˌभाषाबाट डबली नाच देखाउने यथेष्ट परम्परा भए पनि त्यसलाई लिखितरूपमा राख्ने चलन भएन। फलतः प्रकाशनको हिसाबले एकाङ्कीमा ई.सं. १९४७ ˌको चित्तधर हृदयको शक्यानी तथा पूणरङ्कीमा ई.सं. १९५४ ˌको सुदर्शन श्रामणेरको अम्वपालीलाई मान्नुपर्दछ। सुदर्शन श्रामणेर, हेमलाल जोशी तथा सत्यमोहन जोशीले विशेष गरेर ऐतिहासिक तथा पात्र प्रधान नाटकको विस्तार गरेका छन् भने ईश्वरानन्द श्रेष्ठाचार्यले फसंपू लप्ते, थाःगु छेँजस्ता नाटक लेखेर समस्यामूलक नाटकको अभावपूर्ति मात्र गरेको नभई यसको विकासको निमित्त पनि महत्त्वपूर्ण सधाउ पुर्‍याएको छ। अरू नाटककारहरूमा वाशु शशि, गिरिजाप्रसाद जोशी, दुर्गालाल श्रेष्ठ, राम शेखर, पद्मरत्न तुलाधर, विजयबहादुर मल्ल, दिनेश भुजु, राजभाइ जकःमि आदि उल्लेखनीय छन्।

उपन्यास[सम्पादन गर्नुहोस्]

ई.सं. १९५४ ˌमा प्रकाशित धुस्वां सायमीको ˈमिसाˌदेखि नेपाल ˌभाषामा उपन्यासको आरम्भ भयो। विश्व साहित्यमा उपन्यास विधा धेरै विकसित भइसकेपछि मात्र नेपाल ˌभाषामा यस विधाले प्रवेश गरेको हुनाले आफ्नो आगमनको साथै यसले उन्नत रूप देखाएको थियो। धुस्वां प्रथम उपन्यासकार मात्र नभई नेपाल ˌभाषाको उपन्यासको अर्को नाम भने पनि हुन्छ। त्यस्तै अरू उल्लेखनीय उपन्यासकारहरूमा ईश्वरानन्द श्रेष्ठाचार्य, धर्मरत्न यमि, चिनियालाल बज्राचार्य, रत्नबहादुर सायमि, ˌजगदीश चित्रकारˌ मथुराकृष्ण सायमि, शशीकला मानन्धर आदि छन्।

समालोचना[सम्पादन गर्नुहोस्]

नेपाल ˌभाषामा पहिलो सिर्जनात्मक कृतिको समालोचना ई.सं.१९७९ ˌमा प्रकाशित रत्वध्वज जोशीको धर्मोदया कहानित हो भने समालोचना साहित्यको राम्ररी विकास नेपाल ˌभाषा विषयको पठन ˌपाठन कलेजमा भइसकेपछि -ई.सं. १९६२ मात्र भएको देखिन्छ। यस विधामा कलम चलाउने धेरै जसो प्राध्यापन पेसामा संलग्न शिक्षकहरू नै छन् तथा समालोचनाका विषयहरू पनि बढी पाठ्यपुस्तक ˌसम्बन्धी नै छन्। रत्नध्वज जोशी, माधवलाल कर्माचार्य, कृष्णचन्द्रसिंह, प्रधान, माणिकलाल श्रेष्ठ, कमलप्रकाश मल्लˌ डा. जनकलाल वैद्य, नर्मदेश्वर प्रधान, इन्द्र माली आदि यस विधाका उल्लेखनीय हस्तीहरू हुन्।

प्रसिद्ध साहित्यकारहरू[सम्पादन गर्नुहोस्]

नेवारी भाषा देवनागिरी लिपिमा[सम्पादन गर्नुहोस्]

स्वर वर्ण[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपालीमा उच्चरण
अ: लामो "अ"
आ: लामो "आ"
लमो "ऋ"
लृ लृ
लॄ लामो "लृ"
अँ अँ
अं लामो "अँ"
अय् लमो "ए"
आय् अयाय्
एय् धेरै लामो "ए"

व्यञ्जन वर्ण[सम्पादन गर्नुहोस्]

नेवारी भाषाका व्यञ्जन वर्णहरूको उच्चरण नेपालीमा जस्तो हुन्छ। नेवारी भाषामा नेपली भन्दा बढी व्यञ्जन वर्णहरू हुन्छन्।

ङ्ह
न्ह
म्ह
ह्य ह्र ल्ह व्ह

नेवारी भाषामा प्रयोग नहुने तर संस्कृत तथा पालि भाषा अथवा कुनै विदेशी भाषा नेवाःहरूले आफ्नै लिपिमा लेख्नुपर्दा प्रयोग गर्ने वर्णहरू:

क्ष त्र
ज्ञ

नेवारी भाषा व्याकरण[सम्पादन गर्नुहोस्]

नेवारी भाषाको पनि आफ्नै व्याकरणात्मक नियमहरू छन्

लिङ्ग[सम्पादन गर्नुहोस्]

नेवारी भाषामा केवल नाम शब्दमा मात्र लिङ्ग भेद गरिन्छ। सर्वनाम, विशेषण र क्रियापदहरूमा लिङ्ग भेद हुँदैन

  1. शब्द परिवर्तन गरी : काय् - म्ह्याय्, दाजु - तता, किजा - केहेँ
  2. पछाडी 'नी'थपी : दांगदर - दांगदरनी, सँमि - सँमिनी, माकः - माकःनी
  3. अगाडि 'बा' को सट्टा 'मा' राखेर : बासल - मासल, बाहेँय् - माहेँय्
  4. अगाडि 'थु' को सट्टा 'मा' राखेर : थुसा - मासा, थुम्येय् - माम्येय्

वचन[सम्पादन गर्नुहोस्]

नेवारी भाषामा केवल नाम शब्दमा मात्र वचन भेद गरिन्छ

  1. सम्बन्धवाचक शब्दमा 'पिं'(काठमाडौँ/ललितपुर)/'पुं'(भक्तपुर) थपेर : किजा - किजापिं/किजापुं, माजु - माजुपिं/माजुपुं
  2. विशेषण शब्दमा 'पिं'/'पुं' थपेर : तुयु - तुयुपिं, भ्वासि - भ्वासिपिं
  3. अरु सबैमा 'त' थपिन्छ : खिचा - खिचात, मचा - मचात (मस्त), देगः - देगःत, मिखा - मिखात
  4. 'मिजं, 'मिसा', 'मिथु', 'मिखे', 'मिस्जं' शब्दहरूमा 'पिं'र 'त' दुबैमा जुन पनि राख्न सकिन्छ
  5. द्रव्यवाचक नाममा वचन भेद हुँदैन

व्याकरणात्मक कण[सम्पादन गर्नुहोस्]

नेपाली नेवारी भाषा
नाम नां / नाङ
सर्वनाम मंकाः नां, पलेनां
विशेषण ब्वाय्‌सु
क्रियापद यासु

आदर[सम्पादन गर्नुहोस्]

नेवारी भाषामा आदरलाई 'बचं तयेगु' भनिन्छ :

  1. सामान्य आदर - छं याना ला ( तिमीले गर्यौ र)
  2. आदर राखेर बोल्नु - छिसं यानादिया ला ( तपाईंँले गर्नुभयो र)
  3. दिव्य आदर - छिकप्वलं यानाबिज्याना ला ( हजुरले गरिबक्सनु भयो र)

चलनचल्तीका केही शव्द तथा वाक्यहरू[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपाली
ज्वजलपा नमस्ते
छिगु नां छु खः? तपाईंँको नाम के हो?
जिगु नां … खः। मेरो नाम … हो।
न्हूगु / न्हू दँया भिन्तुना! नयाँ वर्षको शुभकामना!
गुथि संस्था
छेँ घर
मनू मान्छे
वासः औषधी
बुखँ समाचार
बुँख्याःचा खेतमा चरा तर्साउन राखिएको मान्छेजस्तो नमुना
ख्वाःपाः मुकुन्डो
प्याखं नृत्य
स‌ंकिपा चलचित्र
दबू स्टेज / दवली
लाय्‌कू दरबार / राजकूल
ज्यास: कार्यालय
पस:/ पसल पसल
चुक चोक
न्ह्यपु दिमाग
नुगः मुटु
सुभाय् धन्यबाद
लसंहना बधाई
मतिना माया
खः हो
मखु होइन
जिउ / ज्यू हुन्छ
मजिउ / मज्यू हुन्न

बाेला - पर्म

सम्बोधन[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपाली
जि
झी हामी
छिः तपाईंँ
तिमी / तँ
भाजु श्रीमान्
मयजु श्रीमाती
वयकः वहाँ
थन यहाँ
उ /उनी
थो यो
हुँ त्यो
अन / आकन त्यहाँ

खानेकुरा[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपाली
जाकि चामल
वा धान
छ्व गहुँ
कःनि / लाजा / लाब्जा मकै
मुस्या भटमास
माय् मास
जा भात
छुचुं / छुचुङ पीठो
मरि / मारि / मधि रोटी
बजि / बै चिउरा
सुकू ला सुकुटी
धौ दही
ल: / नाः पानी
ला मासु
म्येय् ला राँगाको मासु
खाया ला कुखुराको मासु
दुकुचा / दुगु या ला बोकाको मासु
फाँया ला ब‌‌ंगुरको मासु
लाभा / लाबा / लबा लसुन
हलू हलेदो
जी जिरा
चि नुन
बेचि विरेनुन
मल्ता खुर्सानी
मलय् मरीच
अय्‌लाः रक्सी
थ्वँ जाँड
बजां / बझां हुक्का तम्माखु

सम्बन्ध[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपाली
मां / अमा / मा आमा
अबु / बा / अब्वा बुवा
अजि / बज्यय् हजुरआमा
अजा / बाज्या हजुरबुवा
पासा साथी
दाजु दाइ
किजा भाइ
तता / अता दिदी
केहेँ बहिनी
कलाः / मिसा / तिरिमयेजु श्रीमती
भाःत श्रीमान्
पाजु मामा (आमापट्टीको दाजुभाइ) फूपाजु (बुवापट्टीको दिदीबहिनीको श्रीमान्)
मलेजु / मल्जु माइजु
निनि फूपु
त:मा ठूली आमा
चमा / चाँ कान्छी आमा
त:बा ठूलो बुबा
कका सानो बुबा
काय् छोरा
म्ह्याय् छोरी
काय्‌चा भतिजा
म्ह्याय्‌चा भतिजी
भि‌न्चा भान्जा / भान्जी
छय् नाती / नातीनि
भौ बुहारी
सस:मा / सस्मां सासु आमा
सस:बा / सस्बा सासु बुवा / ससुरा
सस: ससुराली
जिलाजं ज्वाइँ

रङ[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपाली
तुयुगू / तुयू सेतो
हाकुगु / हाकु कालो
ह्याँगू रातो
वाउँ हरियो
वँचु नीलो
म्हासु पहेँलो
सियुगु / सियु खैरो

शरीर[सम्पादन गर्नुहोस्]

नेवारी भाषा नेपाली
म्ह शरीर
छ्यं टाउको
सँ /साँ कपाल
न्ह्यपु दिमाग
कपः /कपाः निधार
मिखा आँखा
ख्वाः / ख्वः अनुहार
न्यताः गाला
न्हाय् नाक
म्हुतु मुख
वा दाँत
म्येँ जीवो
मन्चा चिउँदो
ल्हाः हात
पातिं / पतिं औँला
पस / पासः अन्जुली
ब्वःल / बोहोल कुम
प्वाः पेट
तुति खुट्टा
लुसि नङ
जँ / जाँ ढाँड
खम्पा तिघ्रा

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]