बुटवल उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बुटवल

बटौली[१]
बुटवल खस्यौली[२]
बुटवल उपमहानगरपालिका
बुटवल उपमहानगरपालिका
बुटवल is located in लुम्बिनी प्रदेश
बुटवल
बुटवल
नक्सामा बुटवलको अवस्थिति
बुटवल is located in नेपाल
बुटवल
बुटवल
बुटवल (नेपाल)
निर्देशाङ्क: २७°४२′००″N ८३°२७′५८″E / २७.७०°N ८३.४६६°E / 27.70; 83.466निर्देशाङ्कहरू: २७°४२′००″N ८३°२७′५८″E / २७.७०°N ८३.४६६°E / 27.70; 83.466
देश नेपाल
प्रदेशलुम्बिनी
जिल्लारुपन्देही जिल्ला
नगरपालिकावि.सं. २०१६ कार्तिक १२[३]
समावेश इलाकाबुटवल खस्यौली
उपमहानगरपालिकावि.सं. २०७१ पुस २८[४]
समावेश (गाविस)सेमलाल तथा मोतिपुर
सम्मिलित (मिति)वि.सं. २०७१ पुस २८
सरकार
 • प्रकारबुटवल उपमहानगरपालिका
 • मेयरशिवराज सुवेदी
 • उप मेयरगुमादेवी आचार्य
क्षेत्रफल
 • जम्मा१०१.६१ किमी (३९.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,३८,७४२
 • घनत्व१,४००/किमी (३,५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
३२९०७
क्षेत्रीय सङ्केत(हरू)+०७१
वेबसाइटबुटवल उपमहानगरपालिका

बुटवल (पुरानो नाम: बटौली, बुटवल खस्यौली) नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको एक उपमहानगरपालिका हो।[४] यो सहर तिनाउ अथवा तिलोत्तमा नदीको किनारमा अवस्थित रहेको छ। रुपन्देही जिल्लाको तत्कालिन बुटवल खस्यौली इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१६ कार्तिक १२ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो।[३] तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुस २२ गते[५] नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि बुटवल खस्यौली नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'बुटवल खस्यौली नगरपञ्चायत' भएको थियो।[६] वि.सं. २०३५ माघ ८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यसको नामबाट खस्यौली झिकेर 'बुटवल नगरपञ्चायत' कायम गरिएको थियो।[७]

बुटवल नगरपालिकालाई तत्कालिन मन्त्रिपरिषदको विकास समितिले गरेको सिफारिसको आधारमा नेपाल सरकारले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि यसलाई नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन सेमलाल तथा मोतिपुर गाउँ विकास समितिलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो। बुटवलको २२ किलोमिटर दक्षिणमा भैरहवा सहर रहेको छ। यो नगर पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ। यो नगर महेन्द्र राजमार्ग तथा सिद्दार्थ राजमार्गद्वारा नेपालको पूर्व पश्चिम तथा उत्तर दक्षिण जोडिएको छ। यातायातको सुविधा तथा भौगोलिक अवस्थितिको कारणले बुटवल पश्चिम नेपालको एक प्रमुख वाणिज्य केन्द्रको रूपमा विकास भइरहेको छ।

यो नगर पहाडतराईको सङ्गममा बसेको छ। एक लाख बीस हजार जनसङ्ख्या रहेको बुटवल द्रुतगतिमा विस्तारित भइरहेको छ।

नगर नामाकरण[सम्पादन गर्नुहोस्]

यस नगरको नामाकरण सम्बन्धमा विभिन्न जनश्रुतिहरू सुन्न पाइन्छ। विभिन्न ठाँउहरूबाट मानिसहरू बटुलिएर बसेको हुनले 'बटौली'[८][९] भनिएको र अपभ्रंस भई 'बुटवल' भएको भनिन्छ। यस सहरलाई पहिले खस्यौली नामले पनि चिनिन्थयो।[१०]

नगर प्रशासन[सम्पादन गर्नुहोस्]

वि.सं. २०१६ मा बुटवल खस्यौली नगरपालिका स्थापना भएपछि हालसम्म १३ जनाले यस नगरपालिकाको नेतृत्व प्रदान गरिसकेका छन्। वि.सं. २०१७ मा बहुदलीय व्यवस्था विघटन भएपछि यो इलाका बुटवल खस्यौली नगर पञ्चायतको रूपमा रहेको थियो। बहुदलीय व्यवस्था पुनःस्थापना भए पश्चात् यसको नाम बुटवल नगरपालिका राखिएको थियो। वर्तमान नेपालको प्रशासनिक व्यवस्था अनुसार यो उपमहानगरपालिका सहर हो।

बुटवल नगरका नगर प्रमुखहरू
क्र.सं. नाम राजनीतिक दल कार्यकाल पद कैफियत
मुन्नीलाल शाक्य[११] - वि.सं. २०१६-२०१७ चेयरम्यान
ओमशङ्कर श्रेष्ठ[८] - वि.सं. २०१९-२०२३ प्रधानपञ्च
परीक्षितप्रसाद लाकौल - वि.सं. २०२४-२०२६ प्रधानपञ्च
सरस्वतीप्रसाद शेरचन - वि.सं. २०२६-२०२८ प्रधानपञ्च
हरिबहादुर सिंह - वि.सं. २०२८ प्रधानपञ्च चार पटकसम्म निर्वाचित भएका थिए।
पत्रकार सूर्यलाल - वि.सं. २०३० प्रधानपञ्च
सरस्वतीप्रसाद शेरचन - वि.सं. २०३३-२०३६ प्रधानपञ्च
बृजमान श्रेष्ठ - वि.सं. २०३६-२०३९ प्रधानपञ्च
सू्र्यप्रसाद प्रधान[१२] नेपाली कांग्रेस वि.सं. २०४९-२०५३ मेयर
१० भोज प्रसाद श्रेष्ठ[१३] नेपाल कम्युनिष्ट पार्टी वि.सं. २०५४-२०५९ मेयर
११ पुनाराम पोखरेल[१४] - वि.सं. २०६० मेयर तत्कालिन सरकारद्वारा मनोनित
१२ रुपसिंह थापा[१५] - वि.सं. २०६० मेयर तत्कालिन शाही सरकारद्वारा गरिएको स्थानीय निर्वाचनमा निर्वाचित
१३ शिवराज सुबेदी[१६] नेपाल कम्युनिष्ट पार्टी वि.सं. २०७४-वर्तमान मेयर सङ्घीयता स्थापनापछि पहिलो निर्वाचित मेयर

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार बुटवलको जनसङ्ख्या १,३८,७४२ रहेको छ।[१७] यस मध्ये लगभग ५०% पुरुष र ५०% महिला रहेका छन्। कुल जनसङ्ख्या मध्ये ६८,२८८ जना पुरुष र ७९,४५४ जना महिला रहेका छन्। यस नगरमा जम्मा २९,६८७ परिवार रहेका छन्। यस उपमहानगरलाई १९ वडामा विभाजन गरिएको छ। बुटवल नगरपालिकामा बसोबास गर्ने मुख्य जातिमा नेवार, ब्राम्हण, क्षेत्री, मगर, गुरुङ, ठकुरी, थारु, कसौधन, अग्रवाल, सुनुवार, थकाली, मुस्लिम, दमाई तथा धर्मावलम्बीमा हिन्दू, बौद्ध, मुस्लिम, सिखइसाई छन्।

भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]

बुटवल उपमहानगरपालिकाको कुल क्षेत्रफल १०१ वर्ग किलोमिटर रहेको छ। बुटवल उपमहानगरपालिका समुद्र सतहदेखि १ सय ८३ मिटरको उचाइमा अवस्थित छ।

महत्वपूर्ण स्थानहरू[सम्पादन गर्नुहोस्]

यहाँका महत्त्वपूर्ण धार्मिक स्थलमा सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, निलकण्ठ बाबा धाम, कालिका मन्दिर, राममन्दिर, बाघभैरव भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा र पद्म चैत्य विहार छन्। बुटवलका ऐतिहासिकस्थलमा रामपिथेकस अवशेषस्थल, जीतगढी किल्ला, मणिमुकुन्द सेन दरबार र पर्यटकीयस्थलमा मणिमुकुन्द सेन उद्यान, हिल पार्क, सिद्धबाबा धाम र पद्म चैत्य विहार छन्।

विविध[सम्पादन गर्नुहोस्]

बुटवल नगरपालिकाको सडकमा सवारी चाप र सँगै देखिएको चुरे पहाड

तिलोत्तमा नदीको तटमा अवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गमस्थल यो नेपालको प्रसिद्ध व्यापारिक केन्द्र हो। केही वर्षअघिसम्म व्यापारिक पेसामा संलग्न हुने र उक्त क्षेत्रबाट रोजगारीको अवसर बढी प्राप्त हुने दृष्टिकोणबाट विशेष गरी पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत, अर्घाखाँची आदिबाट मानिस बसाइसराई गरी यहाँ आउँथे, तर २०४० सालपछि उक्त नगरको शैक्षिक क्षेत्रमा भएको प्रगतिको फलस्वरूप अध्ययन र अध्यापन पेसाको अवसरमा उल्लेखनीय वृद्धि भएको कारणले पनि बुटवलनगर एउटा शैक्षिक केन्द्रको रूपमा परिचित छ। नेपाल वातावरण प्रतिवेदन २००१ ले सबैभन्दा बढी फोहर उत्पन्न नेपालका सहरमध्ये बुटवल छैटौँ स्थानमा पर्दछ। प्रतिवेदनमा बुटवलमा प्रत्येक वर्ष ९ हजार ६८९ टन फोहरमैला उत्पन्न हुने उल्लेख छ। भौगोलिक बनावटको आधारमा हेर्दा बुटवल निकै असुरक्षित देखिन्छ। एक करोड ५० लाख वर्ष पहिले बनेका चुरे पहाडको धरातलीय बनावट निकै कमजोर किसिमको छ। चुरे क्षेत्रको भूक्षय समस्या बुटवल नगरपालिकाको लागि गम्भीर चुनौती बनेको छ। वि.सं. २०५५ भाद्र १९/२० गते वडा नं पाँच ज्योतिनगरमा विनाशकारी पहिरो जाँदा एकजनाको मृत्यु हुनुका साथै १ सय १ घर र १९ घडेरी वगरमा परिणत भएको थियो। यहाँ प्रत्येक वर्ष पहिरोले केही न केही दुःख दिइरहेको छ। बुटवलमा २०३२ सालमा औद्यौगिक क्षेत्रको स्थापना गरियो। कुल ४३४ रोपनी क्षेत्रफल ओगटेको उक्त क्षेत्रको ३६० रोपनी जमीन उद्योगको लागि र ६४ रोपनी जमीन अन्य प्रयोगका लागि छुट्याइएको छ।

उल्लेखनीय व्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बटौलीदेखि बुटवलसम्म", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  2. "घिउसँग नुन साट्ने ‘बटौली बजार’मा सम्भावनाको खोजी गरिँदै", नागरिक खबर (नेपालीमा), २०२१-१२-२६, अन्तिम पहुँच २०२२-०२-१० 
  3. ३.० ३.१ "बुटवल इलाका नगरपालिका भएको र ४ किल्ला नगरपालिकाको इलाका तोकेको", नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१६ कार्तिक १२, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  4. ४.० ४.१ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  5. "पञ्‍चायतले छोडेको लिगेसी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  6. सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१० 
  7. "बुटवल खस्यौली नगर पञ्चायतलाई बुटवल नगर पञ्चायत नामाकरण गरी हेरफेर गरेको" (pdf), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०३५ माघ ८, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  8. ८.० ८.१ "बुटवलले खर्लप्पै निलेको बटौलीको इतिहास", खबरकुरा (नेपालीमा), २२ जेष्ठ २०७७, बिहीबार, अन्तिम पहुँच २०२२-०२-१० 
  9. "गुल्जार बन्दैछ बटौली", दैनिक लुम्बिनी (नेपालीमा), २०२१-१२-०५, अन्तिम पहुँच २०२२-०२-१० 
  10. "बन्दीपुरे आँखाले बटौली हेर्दा", न्युज बुटवल टुडे (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  11. "दैनिक लुम्बिनी" (pdf) (नेपालीमा), सिद्धार्थ पब्लिकेसन प्रालि, २०२०-०६-०६, पृ: ४, अन्तिम पहुँच २०२२-०२-१० 
  12. "बुटवल उपमहानगरको मेयरमा राज : खेलराज कि शिवराज?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  13. "लुम्बिनी प्रदेशका लोभी सांसद : अर्बौँका मालिकले छाडेनन् सामान्य उपचार खर्च", युकेरा (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  14. "दैनिक लुम्बिनी" (pdf) (नेपालीमा), सिद्धार्थ पब्लिकेसन, पृ: १, अन्तिम पहुँच २०२२-०२-१० 
  15. "बुटवलका ६१ वर्ष: फैलिदै बजार, थपिंदै पूर्वाधार", लुम्बिनी टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  16. "बुटवल उपमहानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  17. "नेपालको जनसङ्ख्या (२०६८)", जनसङ्ख्या तथ्यांक, राष्ट्रिय तथ्यांक बिभाग,नेपाल, अन्तिम पहुँच ६ डिसेम्बर २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]